सोनाम सज्जन किराती
निसंकोच एउटा हातमा लाठी छ
अर्कोमा बन्दुक
र उभिएको छ शाषक
निश्पक्षताको नाममा
इन्साफ मेटिरहेछ
शान्तिको पथमा लागेको नाटक मञ्चन गरेर
ऊ भन्छ मात्र
किन तं मेरो विरोधमा उभिन्छस्
त्यो त्याग देखेर
त्यो निस्वार्थ गन्तव्य छोडेर
खतर्नाक देख्छ आफ्नै बोल्सेभिकहरू
र
बारबार सोध्छ
तँ किन मेरोविरुद्ध बोल्छस्
यावत्– यावत् सम्झन्छन्
मित्रतामा आफू पुरिने खाल्डो देख्छ
सरसल्लाहमा आफू मरिरहेको पाउँछ
त्यही पीडामा मसला भइदिन्छ
इतिहासको भूतहरू उभिएर
अनि क्रमशः बर्बरताउन्मुख
दमनको बारुद पिस्न थाल्छ
र मित्रलाई भित्र बोलाएर
जेनेभा बिर्सन्छ
र ठोक्छ बाहिर भाषण
यही हो कानुनी राज्य
यही हो सुदृढ लोकतन्त्र
त्यतिबेलासम्म
संविधान कुल्चिएर
विधायिका अपहरण गरिदिन्छ
गणतन्त्र बेपत्तै पार्ने रे भन्छ
संघीयता ध्वस्त पार्ने भन्छ
अनि इतिहासकार के लेख्छ
हो यही देखेर लेखिसकियो कालो मसीले
उनीविरुद्ध
त्यतिबेला लाग्छ
ऊ लुटतन्त्र
माफियातन्त्र
र भड्किएको समानतन्त्र बचावमा छ
र त लाठी बन्दुकको आडमा रमाउँछ
उज्यालो हराइरहेको बखत
उसको यतिबेला विरोध गर्नु
प्रतिपक्षको सत्तागमनझै ठहर्छ
उनकोविरुद्ध उभिनु
कुर्सीबाट गलहत्याउनझै हुन्छ
हठाट मृत्युको मुखमा धकेलेर
आफूलाई बचाउने हनुमानहरूसामु भट्याइरहेछ
कुकदमको प्रशंसा गर
हरेक अपमानको तिरस्कार गर
किनभने आलोचना गर्नेहरू
सबभन्दा बढी सत्ताप्रति लालायित हुन्छन
अनि नै हो दबाउने बन्दुकको तागत लगाएर
छानीछानी दारानंग्रा भाँचिदिने हो
कालो कोठरीमा थुनेर
अनि बल्ल बलियो निरङ्कुश लोकतन्त्र सन्तुष्ट रहन्छ
तसर्थ त ऊ मृत्युुदेखि भगिरथ तर्सन्छ
उनले सक्ने भए मृत्युुलाई जितेर
सारा यामको भँड्खालो भरिरहेको हुन्थ्यो
र विरोधीहरू चारु मजुमदार बनाएर
सिङ्गो विश्व हडप्ने एउटा नयाँ हिटलर
आफै घोषित हुन्थ्यो
तर,
विपक्षमा त सत्य पो उभिरहेको छ
एउटा खलनायकको अभिनय हेरेर
जसरी नायकहरू हार्छन्
र त्यही जीत लेखाउन धुरुधुरु रुन्छन्
यस जमानाका हिटलरीय पतन ।
प्रकाशित: १७ पुस २०७७ ०५:५८ शुक्रबार