७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला

‘सिकाइ र सहयोग’ किन पढ्ने ?

कोभिड–१९ को सन्त्रासकै बीचमा एक शिक्षकले लिएको भर्चुअल कक्षा सुन्ने मौका मिल्यो। एक पक्षबाट खुसी पनि लाग्यो, किनकि हाम्रा शिक्षक यस्ता कार्यमा पनि अभ्यस्त हुँदै थिए। महामारीले सिर्जना गरेका अनेकौँ दुःखको बीचमा एउटा सकारात्मक पक्ष भनेकै प्रविधितर्फ लाग्नुपर्ने बनायो। तर अर्कोतर्फ दुःख पनि लाग्यो, किनकि लगभग एक घन्टा समय शिक्षकले अत्यन्त तनावका साथ बिताए। विद्यार्थीलाई बीचबीचमा बुझ्यौ भनेर पनि सोधे। सायद एक–दुई विद्यार्थी बोलेको पनि सुनिन्थ्यो। कक्षा सकिएपछि शिक्षक बहुत थकित देखिन्थे।  

मैले नै भर्चुअल कक्षाको आवश्यकता र औचित्यका बारेमा प्रसंग निकालेँ। यसमा सहयोग पुग्न सक्छ कि भनेर उनले नसोधे पनि सुझाएँ। सुरुमा प्रस्तुतीकरणका बुँदा तयार पार्ने, स्लाइडमा डिस्प्ले गर्ने, डिस्प्ले भएका विषयवस्तु कुनै एक विद्यार्थीलाई पढ्न लगाउने, अन्य विद्यार्थीलाई पनि यस बारेमा केही जानकारी छ कि भनेर सोध्ने र साथमा आफूले पनि व्याख्या गर्दै अरू विद्यार्थीलाई पनि बीचबीचमा अन्तक्र्रियामा तान्ने काम गरेमा शिक्षण सहज बन्न सक्छ। यस क्रममा अन्य कुरा पनि भए। दुई दिनपछिको भेटमा शिक्षक आफैँले सरले भनेको तरिका प्रयोग गर्दा धेरै सजिलो भयो भनेर बताए। खुसी लाग्यो। यहाँ भनिएको कुरा त्यति ठूलो थिएन। मात्र कौशल र सीपको थियो। यस्ता के कति सीप होलान्, जुन हामीसँग अहिले छैन, जानेमा कामलाई धेरै सजिलो र सहज बनाउन सक्छन्। यस्ता उपाय सामान्य प्रयासबाट पनि हासिल गर्न सकिन्छ।  

साथै हामीले बालबालिकासँग जानेर नजानेर गर्ने व्यवहारको उनीहरूमा के कति असर परेको होला भन्ने बारेमा कमै मात्रामा ध्यान दिन्छौँ। मसिना कुरा त हुन् भन्ने गरिन्छ। तर यसबाट सकारात्मकभन्दा नकारात्मक असर नै बढी हुन सक्छन्, जसले दीर्घकालसम्म पिरोल्न सक्छ।  

शिक्षण सिकाइ क्रियाकलापका लागि सीप हासिल गर्न होस् वा बालबालिकासँग गरिने स–साना व्यवहारमा संवेदनशील बन्नका लागि होस् वा समाजमा समावेशी व्यवहार प्रदर्शन गर्न होस् वा विद्यालय तथा कक्षाकोठालाई समावेशी बनाउन प्रस्तुत पुस्तक ‘सिकाइ र सहयोग’ उपयोगी बन्न सक्छ। पढ्नेलाई सहयोग गर्न सक्छ, जुन सिद्धान्त पढाएर होइन, अनुभवजन्य कार्यबाट गर्ने सामथ्र्य पुस्तकले राख्छ।  

बालबालिकाको सिकाइ र प्रौढ सिकाइ तरिकामा धेरै भिन्नता छ। प्रौढ सिकाइमा आत्मानुभूति आवश्यक हुन्छ, जसका लागि बायोग्राफी, जीवनी, संवाद, मनोवाद आदि उपयुक्त हुन सक्छ। यस्ता थुप्रै अनुभव पुस्तकमा पाइन्छ। लेखकका बाल्यकालदेखि नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृत हुँदासम्मका अनुभव कुनै न कुनै रूपमा यसमा समाविष्ट छन्। यो आफैँमा लेखकको बायोग्राफी पनि हो, जुन ‘बाई वन गेट वन फ्री’ भने जस्तै भयो।  

बालबालिका कसरी सिक्छन् भन्नेमा सिकाइका सिद्धान्त पढ्न पाइन्छ। तर, कसरी पढाउने भन्ने सिद्धान्त पाउन सकिँदैन। शिक्षकले बालमनोविज्ञान बुझेर पढाउनुपर्छ भनिन्छ, जसका लागि शिक्षकले आफूलाई अध्यावधिक गरिरहनुपर्छ, सिकिरहनुपर्छ। यस्ता सहयोग प्रस्तुत पुस्तकबाट पाउन सकिन्छ।  

बालबालिकाको सिकाइका लागि सरकारले ठूलो धनराशि खर्च गरेको छ। घर–परिवारले पनि मनग्यै रकम खर्च गरेका छन्। यिनै बालबालिकाको सिकाइमा शिक्षक, अभिभावक र व्यवस्थापकको बुझाइ विकास गर्न र व्यवहारमा प्रयोग गर्न चाहेमा प्रस्तुत पुस्तक एकपटक पढ्दा हुन्छ। नपढ्दा के हुन्छ त ? बालबालिकाको सिकाइका लागि प्रतिविम्बन गर्न काम लाग्ने उदाहरण छुट्छन्। सिद्धान्त तथा दर्शन अन्यत्र पनि पढ्न पाइएला तर व्यावहारिक अनुभव र अभ्यासका लागि पुस्तक पढ्दा हुन्छ। यसले व्यक्ति स्वयंमा अन्तरदृष्ट्रि विकास गर्न सहयोग पुग्छ।  

पुस्तकमा जम्मा २५ वटा लेख रहेका छन्। यी आफैँमा छुट्टाछुट्टै विषय बोकेको शीर्षकमा छन्। तर यिनलाई पढ्दा क्रमबद्ध विषयजस्ता लाग्छन्। लेख एकआपसमा सम्बन्धित छन् जस्तो देखिन्छ। फरक–फरक विषयवस्तुलाई एउटै धागोमा उन्न सक्नु लेखकको कौशल मान्नुपर्छ।  

३० को दशकमा सायद कक्षा ४ देखि कक्षा ७ सम्म सबैले संस्कृत विषय पढ्नु पथ्र्यो। तर यसलाई राम्ररी बुझाइएन वा बुझ्न सकिएन वा ध्यान पुगेन। साथै घर–परिवारमा पनि संस्कृतका श्लोक कण्ठ गराउने प्रचलन पनि थिएन। विगतमा गर्न नसकेको वा गर्न नपाएको यस कार्यप्रति अहिले पनि मलाई पछुतो लाग्छ। सार्वजनिक रूपमा बोल्दा वा अन्य सन्दर्भमा संवाद गर्दा प्रसंगवश संस्कृतका शब्द र अर्थ ल्याउने वक्ताका भनाइ सुनिरहौं जस्तो लाग्छ। आफूले पनि त्यसरी नै बोल्न सके हुन्थ्यो जस्तो लाग्छ। पुस्तकको अन्तिम पाठको रूपमा रहेको ‘संस्कृतको वास्तविक महत्व’ आफैँमा अत्यन्त महत्वपूर्ण त छँदै छ। लेखक स्वयं पूर्वीय दर्शनका अध्येता हुँदा पनि उक्त पाठ पुस्तकको सुरुमा किन नराखेको होला भनेर सोध्न मन छ। यसैगरी पूर्वीय दर्शनले महत्वका साथ व्याख्या गरेको आनुवंशिकताको प्रभाव पाठ पनि मननीय, चिन्तनयोग्य र पढ्नैपर्ने पाठको रूपमा रहेको छ। सामाजिक जीवनपद्धतिलाई अनुशासित बनाउनका लागि यो आवश्यक छ भन्ने लाग्छ। सबै पाठ उपयोगी छन्।  

हरेक व्यक्तिले जीवनमा निरन्तर रूपमा सिकिरहेको हुन्छ। जानेर वा नजानेर सिकाइ भइरहेको हुन्छ। सोको अभिलेखन र व्यवस्थापन के कति मात्रामा गरिन्छ वा हुन्छ भन्ने मात्र हो। स्वदेश वा विदेशमा घुम्दा त अझ फरक खालको सिकाइ हुन्छ। लेखक स्वयंका जापान, इजिप्ट, जेनेभा, चीन, कोरिया, भुटान आदि मुलुकमा जाँदा हासिल भएका अनुभव आफैँमा महत्वपूर्ण र सान्दर्भिक छन् नै। लेखक स्वयंले यी यात्राबाट राम्रै सिकाइ हासिल गरेको पाइन्छ। आम नेपाली उच्च ब्युरोक्याटलाई सोध्ने गरेको विदेश घुमेर के कति सिक्यौ र नेपालमा के गर्‍यौ त ? भन्ने प्रश्नबाट लेखक स्वयं पनि अछुतो रहन सक्ने अवस्था पक्कै छैन। समग्र संरचनामा एउटाले कति गर्न सक्छ र ? भन्ने तर्क एकातिर छ भने व्यक्तिले नै संरचना बदल्न सक्छ भन्ने अर्को तर्क पनि बलियै छ।  

पुस्तकमा समाविष्ट लेखलाई बाल अधिकार, लैंगिक पक्ष, संस्कृति, आचरण र व्यवहार, सांस्कृतिक एवं सामाजिक पक्ष आदिमा समूहकृत गर्न सकिन्छ। यसमा समाविष्ट साना र मसिना व्यवहार साँच्चिकै उपयोगी छन्। उदाहरणका लागि निम्ताकै बारेमा हेर्दा हुन्छ। अहिलेको युगमा उच्च पदमा पुगेका व्यक्तिलाई पक्कै पनि धेरै ठाउँबाट निम्ता आउँछन् नै। ती सबैमा जाने हो भने सरकारी काम कति बेला गर्ने त ? पक्कै पनि सबैमा जानुपर्दैन होला। कुन निम्तामा जानैपर्छ र कुनमा शिष्टाचार मात्र पूरा गरे हुन्छ भन्ने विषय जो–कोहीका लागि पनि उपयोगी नै देखिन्छ। पदीय र वैयक्तिक निम्ता छुट्याइ सोको मर्यादा र प्राथमिकता क्रमका आधारमा निम्ता मान्न जाने संस्कारले व्यक्तिलाई मीतव्ययी मात्र होइन कि समय पालक पनि बनाउन सक्छ। सामाजिक आडम्बर पनि घटाउन सक्छ।

पुस्तकमा सूक्ष्मभन्दा सूक्ष्म व्यवहार र कार्यलाई मसिनोसँग केलाइएको छ। कतिपय सन्दर्भमा लेखकले सूक्ष्म दृष्टिकोण लिएको पाइन्छ भने विदेशका आधुनिक विकास, जेनेभाको मानवअधिकार आदि जस्ता विषयमा भने लेखकको बृहत् अर्थात् म्याक्रो दृष्टिकोण देखिन्छ। दुवै दृष्टिकोणमा लेखकले आफूलाई जबर्जस्त ढंगले प्रस्तुत गरेको पाइन्छ।  

पुस्तक आकर्षक छ। भाषा सरल र प्रस्तुति राम्रो छ। तर पाठहरूको आकार एकै नासका छैनन्। शीर्षकलाई समूहकृत गर्न सकेको भए अझ राम्रो हुन सक्थ्यो। साङ्ग्रिला बुक्सले २०७६ चैतमा प्रकाशित गरेको खगराज बरालको सिकाइ र सहयोग लेखकका कृतिमध्ये दशौँमा पर्ने रहेछ। पुस्तक शिक्षक, विद्यार्थी, अध्ययन अनुसन्धानकर्ताका लागि मात्र नभएर शिक्षाभन्दा बाहिरका व्यक्तिका लागि पनि उत्तिकै उपयुक्त र उपयोगी छ।

प्रकाशित: ४ पुस २०७७ ०४:५१ शनिबार