७ पुस २०८१ आइतबार
image/svg+xml
कला

नेपाली कलामा मौलिकता

नेपाली कलामा रहेको मौलिकता र यसको ‘अस्थेटिकल्ली भ्यालु’ सम्भवतः सबैका लागि खोजीको विषय हो। अब कला धर्मको एक अंग मात्र बन्नुपर्ने अवस्था छैन। नेपाली परम्परागत र लोककलाको कुरा गर्दा अहिले पनि कलाकारहरू यसबाट बाहिर आउन सकेका छैनन्। विशेषगरी आठौँ शताब्दीमा नेपालमा वज्रयानको प्रवेशपछि सम्भवतः धर्ममा भक्तिमार्गको विकास गर्न ग्रन्थचित्रको विकास भयो। यसैबेला भारतको नालन्दा र तक्षशिला बौद्धधर्मको विद्यापीठको केन्द्र बनेपछि भारतका मात्र होइन, नेपालका बौद्ध पण्डित पनि ज्ञान लिन जाने परम्परा बसेको देखिन्छ। सम्भवतः बौद्ध ग्रन्थको विकास र पछि यसैमा ग्रन्थचित्रको प्रारम्भ भएको धेरै विद्वान्को आकलन छ। यसैले धेरैजसोले ज्ञान हासिल गरेर फर्केपछि नेपाली बौद्ध पण्डितले उतैबाट ग्रन्थ र ग्रन्थचित्र नेपाल भित्र्याएको आकलन गर्छन्। तथापि आधिकारिक रूपमा भारतको भन्दा नेपालको ग्रन्थचित्र पुरानो पाइएको छ। भारतमा पाल वंशको विकास भएपछि ग्रन्थचित्रको सन्दर्भ बढी देखापर्छ। धेरैजसो विद्वान्ले यही पाल वंशको प्रभाव नेपालमा परेको कुरा गर्छन्।  

पाल वंशमा भारतमा वास्तुकला र मूर्तिकला प्रशस्तै पाइए पनि चित्र भने नगन्य रूपमा पाइएका छन्। यसैले ग्रन्थचित्रको सन्दर्भमा यो मननयोग्य छ। यसैले यसबखत भारत र नेपालमा पाइएका ग्रन्थचित्र यति मिल्दाजुल्दा छन् कि यी सबै चित्र एकै ठाउँमा बनेका जस्ता देखिन्छन्। यसैले सजिलोका लागि सबैले उतैबाट नेपाल पसेको आकलन गर्छन्। यसर्थ पनि नेपाली ग्रन्थचित्र सूक्ष्म रूपमा केलाएर हाम्रो मौलिकता खोज्ने र यसैमा पनि ‘अस्थेटिक्स भ्यालु’ खोज्ने जमर्को गर्नुपर्ने हुन्छ।

नेपालमा पछि हिन्दुधर्मबाट निर्देशित भएर ग्रन्थचित्र बनेका छन्। मूर्तिहरू, मठ–मन्दिर, स्तुपा विहार पनि बनेका छन्। जब हाडीगाउँमा जयवर्माको मूर्ति प्राप्त भयो, मूर्तिकलामा यसअघि पनि जान सकिने अवस्था सिर्जना भयो। नेपालको कला इतिहासमा ईशाको दोस्रो शताब्दीसम्म तान्न यसले आधिकारिक अभिलेख प्रदान ग¥यो। चित्रमा अहिलेसम्म आधिकारिक रूपमा प्राप्त भएको सन् ९२० ( राजा शंकरदेवको काल)मा बनेको प्रज्ञापरमिताको चित्र हो भन्ने गरिन्छ। (भारतमा ११औँ शताब्दीभन्दा पहिला ग्रन्थचित्र प्राप्त भएको देखिएको छैन।) यसबारे कलाविद् मनवज्र वज्राचार्यले स–साना कुरालाई पनि कोट्याएर विस्तारमा व्याख्या गरेका छन्। यो चित्र बौद्धधर्ममा आधारित थियो। तथापि यो चित्रमा वज्रयान तन्त्रबाट कति निर्देशित छ, यसबारे सबै विद्वान्को राय एकै प्रकारको देखिँदैन। नितान्त धर्म पण्डितहरूको निर्देशनमा बन्ने यस प्रकारका चित्रमा कलाकारको स्वतन्त्रता झन्डै शून्य हुन्थ्यो। यस बखतदेखि आजसम्म नेपाली परम्परागत कलाकार धर्मशास्त्रीबाट निर्देशित भएका रूप, आसन, आयूध, रङ, संयोजन, संगठन आदिलाई जस्ताको तस्तै मनन गरेर चित्र बनाउने परम्परा रह्यो। आज पनि अधिकांश कलाकार यसो गर्न बढी रुचाउँछन्।

नेपालजस्तो सानो मुलुकको कला पनि पश्चिमी कलाको सूचकमा निर्देशित भएर बन्न थाले। लोककला यसै मान्यताबाट बन्दै जाँदा अहिले समसामयिक कलामा मात्र होइन, लोककला र परम्परागत कला पनि फरक ढंगबाट सिर्जित हुन थालेका छन्। यस्तो अवस्थामा मौलिकताको खोजीमा थप जटिलता थपिन गएको छ।  

सुरुका बेलामै चित्रपटको पृष्ठभूमिमा कलाकारलाई स्वतन्त्रता छाडिएका कारण चित्रपटको मूल भागमा धर्मशास्त्र अनुसार गरिनुपर्ने देवीदेवताकै रूप अंकित गरिन्थ्यो। बाँकी भागमा अनेक बुट्टाले चित्रपट भर्ने काम हुन्थ्यो। पछिल्लो कालमा आएर यसैमा दृश्यचित्र समेत अंकित भएका छन्। जुन कलाकारको नितान्त आफ्नो सिर्जना थियो। आजको दिनमा यसको आयातन अलिकति बढेर गएको छ। धर्म–पण्डितकै निर्देशन पनि छिमेकी मुलुक भारतभन्दा के फरक देखिन आयो, कलाकारले भारतमा यसै बखत बनेका ग्रन्थचित्रभन्दा फरक ढंगबाट कस्ता रूप, संयोजन र संगठनको विकास गरे– यही हाम्रो मौलिकता खोजीको प्रारम्भबिन्दु बन्न सक्छ। सम्भवतः कलाकारको स्वतन्त्रतामा कलाकारको आफ्नोपन देखिने हुनाले हाम्रो मौलिकताको खोजी गर्न यसले सघाउँछ। नत्रभने प्रायः स्वदेशी–विदेशी विद्वान्ले भन्ने गरेको भारतको पाल शैलीबाट नितान्त प्रभावित चित्र नेपालमा विकसित भयो भन्नुभन्दा पर सोच्न सकिने अवस्था रहँदैन। यसबेलाका चित्रभन्दा १३औँ शताब्दीपछि प्राप्त भएको पौभा चित्रमा सौन्दर्यता बढी देखिन्छ भन्ने अधिकांश विद्वान्को भनाइ छ।  

कलाकारको स्वतन्त्रता र व्यवसाय  
आज आएर कला क्षेत्र व्यावसायिक बन्न थालेपछि कलामा कलाकारले पाएको रचना स्वतन्त्रताको सीमा बढ्न थालेको देखिन्छ। कतैकतै त नितान्त आफ्नो परम्परा, परम्परागत चित्रको मौलिक विशेषता कम देखिन थालेको छ। त्यसैले यसलाई नितान्त समसामयिक चित्रको क्षेत्रमा राखी परम्परागत चित्र नभन्ने भनी कलाकारबाटै आवाज आउन थालेको छ। यही कलाको प्रकृति र स्वरूपलाई साक्षी राखी नेपाली कलाको खोजी गर्नुपर्छ। यहाँनेर मापनको सूचक रहन आवश्यक छ। अन्यथा यसले आफ्नो गन्तव्य पाउन सक्तैन। किनकि कहाँबाट र कुन विशेषतालाई हामी हाम्रो परम्परात मौलिक स्वरूप भन्दै छौँ ? यसैको पनि निक्र्योल हुन आवश्यक बन्न जान्छ। नेपालमा आजको दिनसम्म परम्परागत कलाका सर्जक आफूहरूबीच छलफल र बहस गर्नभन्दा पर पुगेर यसबारे अनुसन्धान गर्न र अनुन्धान गरिरहेकालाई छलफलमा समावेश गराइएको देखिँदैन। यो वातावरणले नेपाली परम्परागत कलाको आधिकारिक अभिलेख बन्न सक्ने अवस्था देखिँदैन। स्वभावतः नेपाली परम्परागत चित्रकै कुरा गर्दा पनि अधिकांश विद्वान्ले भन्ने गरेको पाल शैलीबाट प्रभावित १०औँ शताब्दीकै चित्रमा पनि कहाँनेरबाट नेपालीपन अलग्गिएको छ, यसबारे हामीसँग यथेष्ट जानकारी छैन। नेपाली कलामा सुरुवाती कालदेखि नै विशेष गरेर भारतीय कलाको गहिरो प्रभाव परी उतैकै जस्तो कलाको प्रकृतिमा विकसित भएको छ। यसकारण अहिले पश्चिमी प्रभावमा विकसित भई बनेका नेपाली कलामा हाम्रोपन (मौलिकता) नहुने कसरी हुन सक्छ भन्ने चर्को आवाज समसामयिक कलाकारको पनि छ।  

अर्कोतर्फ सामाजिक मूल्य–मान्यताबाट कलाकार र समाज पनि ग्रसित छ। यसरी जन्मेका कलामा आफ्नो मौलिकता कसरी खोज्ने भन्ने अहं प्रश्न छ। थोरै कलाकार मिथिला लोककलामा समसामयिक धारामा प्रवेश गरेर सामाजिक सवालमा प्रवेश गरी आफ्नो एक अलग्गै पहिचान बनाउन लागिपरेको देखिन थालेको छ। सम्भवतः अबका दिनमा नेपाली कलाको एक अलग्गै पहिचान बन्न आवश्यक छ। हामीले यसलाई परम्परागत कला, वा लोककला, वा उपयोगी कला जे नाम दिए पनि यसमा अन्तर्निहित कलाकारको शिल्प–दक्षता र रचना–दक्षताको खुलेरै अभिलेख राख्न र विश्लेषण हुन आवश्यक छ। अबका दिनमा पहिलेजस्तै कलाकार छायामा पर्नु हुँदैन। कमसे कम सिर्जनामा नाम समेत लेख्न नहुने, वा लेख्न नदिने परम्पराबाट कलाकार बाहिर आएका देखिन्छन्। अहिले परम्परागत कला वा लोककलामा कलाकारले आफ्नो नाम लेख्न थालेका छन्।  

कलामा अभिलेखीकरण र विश्लेषण  
कलामा पहिला अभिलेखीकरण, त्यसपछि विश्लेषणको प्रक्रिया रहन्छ। यही विश्लेषणका क्रममा कलाको मौलिक विशेषता खोजीको प्रक्रिया रहेको हुन्छ। नेपाली कलाको व्यवस्थित अभिलेखीकरण नभएको अवस्थामा यसभित्र पनि गहन अध्ययनका साथ आफ्नो मौलिकता खोज्नु अलि परको कुरा हो, तैपनि यो क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन। यो व्यक्तिको मात्र होइन, राष्ट्रको पनि चासोको विषय हो, त्यसैले राष्ट्र पनि केही हदसम्म यसैमा लागिपरेको जस्तो देखिन्छ। तथापि कलाको मौलिकताको विशेषता भने अझै खुलस्त भएर आउन सकेको देखिँदैन। यो एउटा अन्योल जहाँको तहीँ छ। सम्बन्धित निकायबाट यसमाथि चिन्तन–मनन, बहस र छलफलको पहल गरेको देखिँदैन। नेपाली कलाका ऐतिहासिक आलेख, उहिलेदेखिकै वा प्राचीन अवस्थाकै पनि अस्थेटिक्स भ्यालु र कलाकारलाई समेत प्रकाशमा ल्याउन आवश्यक छ। हाम्रा पुर्खाले जेजति कला–सम्पदाको रूपमा मूर्ति, चित्र वा वास्तुकला छाडेर गए। हामी ती अमूल्य निधिको बाह्य आवरण मात्र देखाएर बसेका छौँ। यसभित्र रहेको कलागत तŒव केलाएर यसको महत्तालाई पस्कन सकेका छैनौँ। योभन्दा पर कलामै गहन अध्ययन अनुसन्धान गरेर यसको महत्तालाई अभिलेखका साथ प्रस्तुत हुन सकिएको छैन। अहिले पशपुति क्षेत्रमा जानुभयो भने पशुपति घाटको ब्रह्मनाल अलि वर एउटा मन्दिरअगाडि राखिएको सानो अभिलेख देख्छौँ। अपूर्ण र अव्यवस्थित त्यो छोटो आलेख सम्भवतः हालसालै राखिएको होला। त्यो आलेखमा डा. पाल एक कला समीक्षक हुन्। र, उनैको अनुसार यो मूर्ति १२औँ शताब्दीको हो भनेर लेखिएको छ। डा. पाल कला समीक्षक पनि होइनन् र उनी नेपाली पनि होइनन्। उनी भारतीय कलाविद् हुन्। नेपालका कलाविद्लाई किन बेवास्ता गरियो, यो एउटा अलग्गै रूपमा खरो प्रश्न छ। अर्कोतिर पशुपति विकास कोषलाई आफूमा भरोसा नभएर किन कसैको नाम उल्लेख गर्नुप-यो ? यति मात्र होइन, कुन मूर्तिलाई संकेत गरिएर के उद्देश्यका लागि राखिएका हुन् भन्ने पनि केही स्पष्ट छैन।  

मौलिकता खोज्ने क्रममा ‘लोकालाइजेसन’ अवधारणा अगाडि आयो। विकासको अवधारणा ‘इन्डिजिनस डेभलपमेन्ट प्रोसेस’को नजिक रहेको यो लोकालाइजेसनले पनि आफ्नो समाज, संस्कार, सदियौँदेखि विकसित भइरहेको रूप, भावना, दर्शनलाई आधारभूमि बनाएर कलाको सिर्जना गर्नुपर्छ भन्छ।

ब्रह्मनालसँगै रहेको विरुपाक्षको मूर्ति फलामे बारभित्र अस्तव्यस्त अवस्थामा छ। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, यो मूर्ति किरात कालको हो। किरातकाल भन्नेबित्तिकै इसाको पूर्वकाल भन्ने अर्थ लाग्छ। यसबारे केही लेखेर राख्नुनपर्ने कस्तो सोच हो ! अर्को कुरा पशुपति क्षेत्रभरि यस्ता अति प्राचीन सयौँ मूर्ति होलान्, यी सबैलाई यसरी नै राखिने योजना हो कि ? नबुझिने यस्ता प्रश्न धेरै छन्। यसले कलामाथिको चेत, सोच र ज्ञान कति रहेछ भनी छर्लंग हुन्छ।  

पहिचानको सन्दर्भ  
जीवनयापनका लागि कला एक अभिन्न अंग हो। यसर्थ समुदाय र संस्कारसँग आबद्ध कलालाई राष्ट्रियस्तरमै एक अलग्गै पहिचानका साथ स्थापित गर्न पनि सम्भवतः राष्ट्रको चासोको विषय हो। किनकि यही फरकपन, राष्ट्रको संस्कृति, कला–संस्कार बुझ्न र पढ्न अन्य देशका मानिस देश–प्रदेश र विदेशको भ्रमण गर्छन्। यहाँनेर कलामा मौलिकताको सन्दर्भ भनेको विशेष गरेर आफ्ना प्राचीन कलालाई त्यतिबेलाकै अवस्थामा संरक्षण गरेर हेर्न लायक अवस्थामा राख्नुसँग गाँसिएको छ। बेला मौकामा यस्ता सन्दर्भ उठेको र विवादमा पनि परेको सुनिन्छ। यस्ता कुरामा राजनीतिक व्यक्ति बढी संलग्न भएका हुन्छन्। कलाकार वा कलाविज्ञ यस विषयमा समावेश गराइएको देखिँदैन। स्वभावतः यो कलाको मौलिकता वा पहिचानको विषयबाट बांगिएर एउटा राजनीतिक सवाल मात्र बन्छ।  

मौलिकताको अर्को अर्थ हुन्छ– आफ्नो एक अलग्गै पहिचान, अरु ठाउँमा नभएको कुरा आफूसँग हुनु र सदियौँदेखि आफूसँग हुनु, यसको परम्परा समुदाय र राष्ट्रले आफ्नो मौलिकता गुम्न नदिई बचाइराख्नू आदि। सम्भवतः विश्वमै हरेक राष्ट्रले आफ्नो एक अलग्गै पहिचान बनाउन चाहन्छन्। यसैमा लगानी पनि गर्छन्। यस्ता कुरामा स्वभावतः प्रत्यक्ष वा परोक्ष रूपमा कला भने समावेश भएकै हुन्छ।  

कला र पर्यटनको कुरा गर्दा फ्रान्समा अवस्थित लुभ्रे म्युजियममा एक वर्षको अवधिमा मात्र झन्डै ९० लाख पर्यटक पुगेको गत केही महिनाअगाडि अखबारमा आएको थियो। अनि आगामी वर्ष यसलाई एक करोड पु¥याउने योजना बनाइँदै छ रे। विश्वभरका मानिस त्यहाँ के हेर्न आउँछन् ? स्वभावतः त्यहाँ आएर हेर्न चाहने मोनालिसाको चित्र नै हो। विश्व प्रसिद्धि पाएका लियोनार्दो दा भिन्चीले झन्डै ५०० वर्षअगाडि बनाएको मोनालिसाले गर्दा यो म्युजियम आकर्षणको केन्द्र बनेको हो। यसबाहेक हजारौँ अन्य कलाकृति यस संग्रहालयमा प्रदर्शित छन्। मोनालिसा एउटा महिलाको व्यक्तिचित्र हो। कलाकार आफैँले यो चित्रमा खास कुरा देखेपछि यो चित्र बनाउन चार वर्ष लगाए तर उनले यो चित्र ती महिलालाई दिएनन्। यो चित्र विश्वको विभिन्न भागमा घुम्दाघुम्दै आज फ्रान्सको राजधानी पेरिस आइपुगेको छ।  

यस्तैै, मिस्रको मानव निर्मित वास्तुकलाको अर्को नमुना पिरामिड हेर्न विश्वभरका करोडौँ मान्छे त्यहाँ पुग्छन्। हजारौँ वर्षदेखि यो मानव निर्मित वास्तुकला संरक्षित र व्यवस्थित भएका कारण पनि यो कलाबाट राज्यले थुप्रै पैसा कमाउन सफल भयो। विश्वभरि यस्ता उदाहरण थुप्रै छन्।  

नेपालमा पनि ०४६ को आन्दोलनपछि बिस्तारै पहिचानको सवाल मौलाउँदै आएको हो। ०६२/६३ को जनआन्दोलनपछि त यो एक राष्ट्रकै अहं मुद्दा बनेको छ। राजनीति र सामाजिक परिदृश्यमा जसरी एक भिन्नै पहिचानका सवाल उठिरहेका छन्, यसैभित्र संस्कृति, संस्कार र यसैमा आबद्ध भएर आएको कलाको पनि एक अलग्गै पहिचानको सन्दर्भ उठ्नु स्वाभाविक हो। लोककला, उपयोगी कला, व्यावसायिक कलामा मात्र यो आफ्नोपन खोजिने कुरा हुँदैन, समसामयिक कलामा पनि यो आफ्नोपन खोजिने प्रचलन विश्वभरि छ। व्यक्तिगत कलाकारको पहिचानका लागि ‘सिग्नेचर’ शब्दको उल्लेख गरिन्छ। यही मौलिकता पहिचानको रूपमा व्यक्ति र अन्ततः राष्ट्रको पहिचान र मौलिकता बन्न जान्छ। यो एउटा अलग्गै पहिचानको सन्दर्भ हामीकहाँ मात्र होइन, विशेष गरेर एसियामै एकताका चर्चाको विषय बनेको थियो।  

पश्चिमी कला दर्शन  
कलाको अन्तर्राष्ट्रिय रूपमा हुने गरेको बायोनाले र त्रिनाले कला प्रदर्शनीमा विशेष गरेर समसामयिक कलामा आफ्नो मौलिकता कसरी खोज्ने ? वा, ग्लोबलिजम्को सन्दर्भमा यसलाई खोजिरहनुपर्दैन भन्ने जस्ता बहस हुन थालेका छन्। पूर्वीय दर्शनमा आधारित मिथको प्रयोग आदि–इत्यादिले गर्दा विशेष गरेर यता वैकल्पिक कलाको रूपमा आफ्नो मौलिकताको आवश्यकता बोध रहेको देखिन्छ। अर्कोतर्फ यसरी कलालाई सीमामा बाँध्नु हुँदैन भन्नेहरूको लर्को पनि सानो छैन। भन्ने गरिन्छ, आजको सन्दर्भ भनेको व्यक्ति एउटा राष्ट्रमा जन्मन्छ, अध्ययन अर्कै राष्ट्रमा गर्छ र जीवनयापन गर्न ऊ अर्कै राष्ट्रमा पुगिरहेको हुन्छ। यस्तो सन्दर्भमा उनका कला पनि बाह्य सामाजिक वातावरणका कारण त्यस्तैै रूपमा सिर्जित भइरहेको हुन्छ। यस्तो अवस्थाले उसको कलामा मौलिकता कसरी खोज्ने ? मूलतः हिजोआजको कलामा प्रविधिको अत्यधिक दबदबा रहन्छ। कति कला त प्रविधि मात्र प्रयोग गरेर भावना शून्य पनि हुन्छन्। प्रविधि मूलतः बाह्य राष्ट्र वा विकसित राष्ट्रबाट आउने हुँदा जहाँ बसेर जस्तो कलाको सिर्जना जो कसैले गरे पनि सबैजसो कला एकैनासे हुने गर्छन्। यस्ता कलामा मौलिकता कसरी खोज्ने ? यसर्थ यस्ता बहस र छलफल आज भइरहेका छन्, तर यसको किनारा लाग्न सकेको छैन। बरु यही मौलिकता खोज्ने क्रममा ‘लोकालाइजेसन’ अवधारणा अगाडि आयो। विकासको अवधारणा ‘इन्डिजिनस डेभलपमेन्ट प्रोसेस’को नजिक रहेको यो लोकालाइजेसनले पनि आफ्नो समाज, संस्कार, सदियौँदेखि विकसित भइरहेको रूप, भावना, दर्शनलाई आधारभूमि बनाएर कलाको सिर्जना गर्नुपर्छ भन्छ। यद्यपि यो कलाको रूपमा देखापर्दा भने स्वरूपमा त्यस्तो फरक देखिँदैन।  

विशेषगरी कला–दर्शन, कलागत मान्यता, कला सिर्जना गर्ने तौरतरिका र यसका माध्यम पश्चिमबाट औपचारिक रूपमा आयातीत भए। औपचारिक रूपमै यसलाई पढाउन सिकाउन थालियो। स्वभावतः यो सिकाइबाट निस्केका कला पश्चिममा विकसित भएका कलाको प्रकृतिदेखि फरक भएन। स्वभावतः पश्चिमी गुणस्तरका कलाको मापनका सूचक नै कलाको गुणस्तरको कसी भयो। यही सूचकबाट यता पूर्वेली कला नापिन थालियो। यसरी नापिने सन्दर्भमा समसामयिक कला मात्र परेनन्, हजारौँ वर्षदेखि एक अलग्गै प्रकारबाट सिर्जना हुँदै आएको लोककला र परम्परागत कलामा पनि हेरिन थालियो। नेपालजस्तो सानो मुलुकको कला पनि पश्चिमी कलाको यस्ता सूचकमा निर्देशित भएर बन्न थाले। लोककला यसै मान्यताबाट बन्दै जाँदा अहिले समसामयिक कलामा मात्र होइन, लोककला र परम्परागत कला पनि फरक ढंगबाट सिर्जित हुन थालेका छन्। यस्तो अवस्थामा मौलिकताको खोजीमा थप जटिलता थपिन गएको छ।  

एकताका नेपालका घरहरूमा नेपालीपन हुनुपर्छ भन्ने हल्ला चल्यो। हरेक नयाँ बन्ने घरमा कतै न कतै पेगोडा शैलीका छानो भएको प्रकृतिलाई घुसाउनुपर्ने भयो। पेगोडा शैली मात्र नेपालीपन हो भन्नेमा यसबेला कतै विवाद भएको देखिएन। यही मौलिकताको खोजी गर्दागर्दै भूकम्पले ढालेको प्रताप मल्लकालीन रानीपोखरीको सानो मन्दिर बन्नलाई यत्तिका वर्ष लाग्यो। पेगोडा शैलीमा देखिरहेको यो मन्दिर आज शिखर शैलीमा खडा भएको छ। तर्क यस्तो छ, प्रताप मल्लले त्यसबेला यो शिखर शैलीमा बनाएका थिए रे। त्यसो भए शिखर शैली हाम्रो असली पहिचान हो त ? स्वयम्भू र बौद्ध आदिमा अतिप्राचीन कालदेखि स्तुपा शैलीका वास्तुकला छन्। यी शैली हाम्रा हुन् कि होइनन् ? पेगोडा शैली परम्परादेखि आइरहेको सन्दर्भ भनेको बाक्लो हिउँ पर्दा घर वा मन्दिरको छतमा हिउँ नजमोस् भनेर कल्पनाका साथ विकसित भएको हो। नेपाल उपत्यकामा उहिले हिउँ पथ्र्यो, घर र मन्दिर यस प्रकार पेगोडा शैलीमा बने भन्ने किंवदन्ती प्रचलनमा छ। यसर्थ पनि वास्तुकलामा मौलिकता खोज्न यसले जटिलता ल्याएको छ।  

अहिले आएर यो मौलिकता खोज्ने क्रम अझ जटिलतामा परिणत भएको छ। नेपाली कलाको परम्परागत दर्शन र कला सिर्जनाका प्रक्रियालाई औपचारिक रूपमा सिकाउने काम अझै विकसित भएको छैन। जति यस्ता कला बन्दै आएका छन्, नयाँ कलाकारलाई सिकाउँदै आएका छन्, यी सबै अनौपचारिक रूपमा हुने गरेको छ। अहिले कला स्कुलका गुरुहरू बाहिरबाट पश्चिमी कलाको शैलीमा प्रशिक्षित भएका नै छन्। आजका कला क्याम्पसका पाठ्यक्रम कपी–पेस्टभन्दा पर छैन। अन्तर्राष्ट्रिय रूपमा सजिलै यसलाई चिन्न सकिने, यसको मापन गर्न सकिने भएकाले विश्वको कतै पनि यस्ता कलाकृति प्रदर्शित हुन र पुरस्कृत हुन सजिलो भयो। यसर्थ नयाँ कलाकार यसैमा रमाए। आफू चाँडो अन्तर्राष्ट्रिय हुन वा यसको पहुँचमा जान यसले सजिलो पनि गराइदियो। यसैले कलाको दर्शन र सिर्जनाको प्रक्रियामा आबद्ध हुँदै गए। तथापि पछिल्लो कालमा हामीकहाँ आफ्नोपनको खोजी हुन थालेपछि फरक हुन विषयवस्तुमा आफ्नोपनको खोजी गरी यसैलाई मौलिकताको व्याख्या गर्न थालिएको छ।  
(लेखक कलाकार तथा कला समीक्षक हुन्।)

प्रकाशित: २७ मंसिर २०७७ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App