७ वैशाख २०८१ शुक्रबार
कला

अविश्वासको यात्रा

कविता

निर्वाचनमा
विश्वासको मत प्राप्त गरेपछि  
अविश्वासको उसको जीवनयात्रा सुरु भयो।

प्रतिपक्षीमाथिको उसको अविश्वास
सत्ताको सिँढी चढ्दै जाँदा  
कार्यकर्ता हुँदै
क्रमशः
प्रतिस्पर्धी समकालीन साथी
र, दलका प्रभावशाली नेताहरुमाथि बढ्दै गयो
सत्ताको सबैभन्दा शक्तिशाली आशनमा जब बस्यो ऊ
ज–जसले काँध दिएर उसलाई त्यहाँ पु-याए
सबै दाउपेच थाहा भएको कारण
तिनीहरूलाई नै उसले
अविश्वासको पहिलो घेरामा राखेर हेर्न थाल्यो
सुरक्षा खोज्दै जाँदा
कार्यकक्ष बाहिर राख्ने गरेको पहरा
केही दिनपछि नै
हतियारसहित आफ्नो शयनकक्ष बाहिर पनि उभ्याउन थाल्यो
छोराछोरीसँग त विचार नै मिल्दैन
अर्कैकी सन्तान हो स्वास्नी पनि
राति र रातभरि पनि काममा जुट्नुपर्ने बहानामा
भित्रबाट गजबार लगाएर छुट्टै कोठामा सुत्न थाल्यो।

सास फुल्ने समस्याले गाँजेको छ अहिले उसलाई  
चिकित्सकहरुमाथि पटक्कै विश्वास छैन
ऊ सोच्दैछ–
कसैले झुक्याएर कुनै दिन कुपथ खान दिएको त थिएन ?
होइन भने यो सास
किन उसको इच्छाको प्रतिकूल भएर आएको छ ?
सत्ताको स्वभाव नै सायद यस्तै हो–
हुने भए
आफ्नै सासलाई पनि आफूबाट अलग्याएर
अझै केही दिन
उसले सत्ताको बागडोर सम्हाल्ने थियो !

प्रकाशित: २७ मंसिर २०७७ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App