सूर्यप्रसाद लाकाजू
बाल्यकाल मानिसको जीवनको सुनौलो समय हो भन्ने मलाई लाग्छ । कुनै चिन्ता, दायित्वबिना स्वतन्त्रतापूर्वक बिताएको बाल्यकालको स्मरण मात्रले पनि मनभरि आनन्दका फूल फुल्न थाल्दछ । साथीहरूसँग खेलेका, परिवारसँग बिताएका रमाइला क्षणहरू सम्झँदा अहिले पनि हृदयभरि प्रमोद छाउने गर्दछ । प्रायः मानिसहरू आफ्ना बाल्यकालको समयको सम्झिदै रमाइलो मान्ने गर्दछन् । त्यसमा म पनि अछुतो रहने कुरो भएन । मेरा पनि केही रमाइला सुखद बाल्यकालीन अनुभूतिहरू छन् । तीमध्ये एउटा संस्मरण यहाँहरूसँग साझा गर्न मन लाग्यो ।
हामी तीन भाइमध्ये म जेठो हुँ । मेरा दुई भाइहरू माइलो सुधन र कान्छो सुमन हुन् । हामी तीनभाइ बीच पहिलेदेखि नै गहिरो प्रेम थियो । हामी तीन दाजुभाइ मात्र थिएनौ राम्रा साथी पनि थियौं । त्यसैले कतै जान, खेल्न हामीलाई बाहिरको साथी नभए पनि चल्थ्यो । हामी सानो छँदा अहिलेको जस्तो रेडियो, मोबाइल र टेलिभिजन थिएन । मलाई अहिले पनि याद छ मेरो घरमा त विजुली बत्तीसम्म पनि थिएन । त्यसैले त्यो बेलाको हाम्रो समाजमा बाहिर खेलिने र भित्र खेलिने थुप्रै खेलहरू हुन्थे । हामी ती खेलहरू खेल्ने र रमाउने गर्दथ्यौं । स्कुल नभएको बेलामा साथीहरूसँग दिनभर इन्द्रेश्वर मन्दिरको प्राङ्गण लगायतका ठाउँहरूमा तेलकासा, गाङ्कासा, आसपास आदि खेलहरू खेल्थ्यौ । हामी त बालक न प¥यौं । दिनभर खेलेर पनि हामीलाई पुग्दैनथ्यो । दिनभर खेलेको भूत बेलुकासम्म रहन्थ्यो । कहिलेकाहीं घरमा हामी तीनभाइ पनि खेल्ने र रमाइलो गर्ने गर्दथ्यौं ।
हाम्रो घरमा माउ बाख्रा र दुईओटा पाठा थिए । कहिलेकाहीं बुबासँग बाख्रा चराउन म पनि सँगै जान्थें । खेतमा बाआमा काम गरिरहनु हुँदा बाख्रा हेर्ने जिम्मा भने हाम्रो हुन्थ्यो । हामी बाख्रा र बोकालाई चराउँथ्यो । कान्छो भाइ भने अलि सानो भएकाले माइलो र म खट्थ्यौं ।
हाम्रो खेत खोलाको किनारमा थियो । खोला तलतिर अहिले पनि बगिरहेको छ । रोसीको यात्रा रोकिएको छैन । आफ्नो बाटो बदलेको पनि छैन रोसीले । हाम्रो खेत अलि हाइटमा थियो । खेततिर केही पर्ती जग्गा पनि थियो । गहुँ काट्ने समयमा खेतका डिल र डिलभन्दा तलतिर ऐंसेलु, चुत्रो लटरम्म फलेका हुन्थे । म सानो छँदा पनौतीमा अहिले जस्तो आलु लगाउने चलन थिएन । प्रायः सबै खेतमा गहुँका बाला झुलेका हुन्थे । आफ्नो खेतमा पाकेको गहुँ काट्दै चुटिरहेका हुन्थे यहाँका किसान । बाआमा पनि गहुँ काट्ने र चुट्ने काम गरिरहनु हुन्थ्यो । म बाख्रा चराउँथे । कान्छालाई माइलो भाइले हेथ्र्यो । त्यो अलि सानो थियो । म भनें बाख्रा हेर्दै एैँसेलु टिपेर आफू पनि खान्थें भाइहरूलाई पनि खुवाउँथें । त्यो बेला एैँसेलु, चुत्रो जस्ता फल टिपेर खानुको आनन्द बेग्लै हुन्थ्यो । खेतमा पानी खानलाई लाने हामीसँग एउटा सिल्भरे अम्खोरा थियो । त्यो अम्खोराभरि ऐँसेलु टिप्थें । बाआमालाई पनि दिन्थें । हामी तीन भाइ पनि खान्थ्यौ ।
एकपल्ट सदाझै बासँग खेतमा गएको थिएँ । आमा गहुँको काम सकेर मामाघर जानुभएको थियो । मेरा दुई भाइ पनि आमासँगै मामाघर गएका थिए । घरमा बा र म मात्र थियौं । त्यसैले पनि हामी दुई बाबु र छोरा दिउँसोतिर खेत गएका थियौं । खेत पुगेर बुबा छ्वालीको कल्ली बनाउन थाल्नुभयो । म भने ऐँसेलु खोजेर खानतिर लागें । ऐँसेलु भेट्टाएर खाँदै थिएँ । एक्कासि खुट्टा चिप्लिए । म लडेर काँडाको झ्याङमा पल्टन पुगें । म रोएको आवाज सुनेर बुबा दौडेर आउनुभयो । काँडाको घारीभित्र लडिरहेको मलाई बुबाले बल्लतल्ल झिक्नुभयो । काँडाले शरीरभरि घोच्यो । काँडाले घोपेर बनेका प्वालबाट रगत बग्न थाल्यो । त्यहाँ सिस्नो पनि रहेछ । सिस्नोले पोलेर फोकाहरू उठ्न थाल्यो शरीरमा । एकातिर काँडाको घोचाइ अर्कोतिर सिस्नोको पोलाइ । दोहोरो पीडा खप्नुपरयो मैले ।
झाडीबाट बाहिर आएपछि वनमाराको झारको रस निकालेर मेरो शरीरमा दल्नुभयो बुबाले । त्यस रात पीडाले होला सायद मलाई हल्का ज्वरो आयो । भोलिपल्टदेखि ज्वरो पनि आएन । बुबाले मेरो शरीरमा दल्नुभएको त्यो वनमाराको झार त ठूलो औषधि रहेछ । पहिला शरीरमा कतै चोटपटक लाग्दा त्यही झारको रस राख्ने चलन थियो । सिस्नोको पोलाइबाट उठेका फोका त केही समयमै बिसेक भयो । केही दिनमै घाउ पनि निको हुँदै गयो । तर ऐँसेलु टिप्न जाँदा भएको त्यो घटना अनि त्यसबाट सिर्जना भएको डर मनबाट अहिले पनि गएको छैन । त्यो बेला अम्खोराभरि ऐँसेलु टिपेको सम्झना पनि हृदयमै बसेर सुखानुभूत गराइरहेको छ ।
प्रकाशित: २६ मंसिर २०७७ ०६:०३ शुक्रबार