५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

जस्तालाई तस्तै ढिँडालाई निस्तै

बालकथा

प्रकाशमणि दहाल

 

त्यसदिन सुमनलाई रमनदेखि यति रिस उठ्यो, यति उठ्यो, सक्ने भए त्यसलाई त्यहीँ गोदगाद पारिदिने थियो । तर ऊ ऊभन्दा निकै ठूलो र बलियो छ । त्यसै भएर त उसलाई हेपेर कहिले टाउकामा कहिले डँडाल्नामा प्याट्टप्याट्ट पिटिरहन्छ । कहिले उसको किताबको झोला लगेर भित्ताको अग्लो किलामा झुन्डाइदिएको हुन्छ । कहिले पछाडिको बेन्चमा लगेर राखिदिएको हुन्छ । आज भने टिफिनका बेलामा रीताको गणित किताब ल्याएर उसका झोलामा हालिदिएछ । भरे पाँच घन्टीमा किताब नभेटेपछि रीताले सरलाई भनिन्, “सर मेरो गणित किताब हराएछ । यहीँ झोलामै थियो ।”

“राम्ररी हे¥यौ ? यताउति परेको, भुइँमा झरेको छ कि ?”  

“हेरेको सर । हाम्रो बेन्च र दोस्रो बेन्चमाथि, मुनि कतै छैन ।”  

सर दिक्क मानेर झर्किनुभयो, “हत्तेरिका, यो के झमेला आयो । सबैले आआफ्नो वरपर, बेन्चमुनि, माथि हेर ।”  

तुरुन्तै सबै कराए, “छैन सर यता त ।”  

सरले फेरि भन्नुभयो,“रीता र सरिता, सबै केटीका झोला जाँच गर र हरि र राजु केटाका ।”

त्यहीबेला रमनले मुसुमुसु हाँस्तै हरिलाई सुमनको झोलातिर संकेत ग¥यो । सुमन रमनसँगै दोस्रो बेन्चमा बस्थ्यो । उसको संकेतअनुसार हरिले पनि पहिले सुमनकै झोला जाँच्यो । रीताको किताब त्यहीँ रहेछ ।

“भेटियो, भेटियो किताब, सुमनका झोलामा रहेछ ।” पूरा कक्षा हल्लियो ।

किताब रीताले लिई तर सर कड्किनुभयो, “सुमन, तिमीले किन अर्काको किताब लुकायौ ? कि चोर्न खोजेको हो ?”

अगि नै छक्क परेको सुमन आत्तिएर करायो, “होइन सर, होइन । मैले चोर्न खोजेको होइन ।”

“कसरी होइन भन्छौ ? किताब तिम्रा झोलाबाट निस्केपछि तिमीले लुकाएको किन होइन ?”

“होइन सर,” ऊ रुन खोज्दै बोल्यो, “मममम मलाई केही थाहा छैन, सर कसरी मेरा झोलामा आयो त्यो किताब ।”  

उसका नजर सोभैm रमनकातिर घुमे । ऊ खुसीले गमक्क परेको देखिन्थ्यो ।

केही कुरा सोच्तै सरका नजर यताउता घुमे । उहाँलाई अघि नै हरि पहिले दोस्रो बेन्चको दोस्रो सिटमा बस्ने सुमनको झोलाचँै जाँच्न किन पुगेको होला भन्ने लागेको याद भयो ।

उहाँले सोधिहाल्नुभयो, “हरि, तिमीले किन सुमनको झोला सबभन्दा पहिले जाँचेको ? कि तिमीलाई किताब त्यहीँ छ भन्ने थाहा थियो ?”

हरिको मुख केही रातो भयो । उसले भन्यो, “सर, मलाई रमनले त्यो झोला जाँच्न संकेत गरेको थियो ।”

“एएए, रमन, तिमीलाई कसरी थाहा भयो किताब त्यहाँ छ भन्ने ?”

रमन निकै सकपकायो । अनि अकमकाउँदै भन्यो, “सससर, सर, टिफिनमा सुमनले त्यता, त्यता केटीहरुको झोला चचलाउँदै ...।”

तर, उसको वाक्य पूरा नहुँदै सुमन पूरा आवेशमा करायो, “होइन सर, होइन । म टिफिनमा कक्षामै थिइनँ । हामी हरि, गोपाल, किरणहरु बास्केटबल खेल्दै थियौँ ।” अनि उसले रिसले आँखा कर्काएर रमनलाई हेर्दै भन्यो, “कस्तो ढाँट छ यो रमन । त्यत्रा साथीहरूलाई थाहा भएको कुरा ।”

उसको कुरा पूरा नहुँदै पूरा कक्षा केटाहरुको ‘फटाहा रमन, ठग रमन, बदमास रमन’ भन्दै कराएको  स्वरले गुन्जिसकेको थियो ।

“साइलन्ट !” सरको स्वरले पूरा कोठा थर्किेयो र एकाएक चकमन्न भयो ।

रमनको अनुहार रातोबाट नीलो र अन्त्यमा कालो भैसकेको थियो । अनि त उसको टाउको ठुटामा झुन्डिएको पोकोजस्तै झुन्डिएर छातीमा टाँसिन आइपुग्यो ।

सरको कडा स्वर आयो, “रमन, यहाँ आऊ ।”

“यो बदमासी तिमीले गरेको हो कि होइन भनेर सोधिरहनु परेन । अरु विद्यार्थीको मनोव्यवहार र तिम्रो हालतले बताइसक्यो । अब यति भन, “किन गरयौ यो बदमासी ?”

तर रमन बोल्नै सकेन । उँधोमुन्टो लगाएर भुइँमा हेर्दै उभ्भिरह्यो । 

सरले दुखी स्वरमा थप्नुभयो, “यो पाँचौँ घन्टी व्यर्थमा खेर गयो । कोर्स कम्प्लेट गर्न हम्मे परिखेको छ । आज यो पाठ सिकाइदिन पाएको भए तिमीहरुले अभ्यास गरेर ल्याउने थियौ  । भोलि बाँकी कन्फ्युजन हटाइदिन पाइन्थ्यो र पर्सिसम्ममा यो पाठ पूरा हुने थियो । सब खेर गयो । उता सुमनलाई फोकटमा बदनाम गराउने स्थिति भएको । साँचो कुरा पत्ता नलागेको भए उनले सजाय पाउन पनि सक्थे । तिमी पनि फटाहा भन्नेमा पक्का भयो । किन ग¥यौ यस्तो बिजाईं तिमीले ?”

तर रमन बोलेन, बोल्नै सकेन । उाँधोमुन्टो लगाएर मूर्तिवत् उभ्भिरह्यो ।

“तिमीले नबोलेर धर पाउँदैनौं रमन,” सरले थर्काएर भन्नुभयो ।  

“अब ढिलो नगर । घन्टी बज्न दश मिनेट मात्र बाँकी छ । यत्तिकै भएन भने सेकेन्ड डिग्री, थर्ड डिग्री लाउनुपर्ने हुनसक्छ ।” उहाँले उसको कपालमा समातेर टाउको उठाउनुभयो, “भन, छिटो किन यस्तो फटाइँ गरयौं ?”

उहाँले टाउको छोडिदिनुभयो । उसका आँखामा आँसु आइसकेको रहेछ ।

उसले प्रयास गरेर भन्यो, “जोजोजोजोकको लागि गरेको, सर । गल्ती भयो । मामाफ पाउँ सर ।” उसको टाउको फेरि निहुरियो ।

सरले रीतालाई भन्नुभयो, अरु केही त हराएको छैन, रीता ?”

रीताले झोला खोतलखातल पारेर हेरी । सबै कुरा थियो । थप एउटा कागजको टुक्रामा अलिक ठूला अक्षरमा ‘ब्यूटफुल गाल’ लेखेको पनि थियो । त्यो रमनकै अक्षर हो भन्ने उसले चिनिहाली तर सरलाई भन्ने कि नभन्ने भनेर निधो गर्नचैँ उसलाई कठिन भयो ।  

त्यही बेला सर बोल्नुभयो, “हेरयौ रीता ? ठीक छ ?”

यन्त्रवत् उसको जिउ उठिहाल्यो, “ठीक छ सर ।”

त्यतिबेलै घन्टी बज्यो । सरले भन्नुभयो, “रमन, आफ्नो सीटमा जाऊ । आजलाई माफ भयो तिमीलाई । तर यस्तो फटाइ दोहोरियो भने आजको समेत हिसाब हुनेछ ।”

अनि सिङ्गै कक्षालाई सम्बोधन गर्दै उहाँले थप्नुभयो, “सुन सबै विद्यार्थी, आजको कुरालाई लिएर रमनलाई घोचपेच नगर्नू, है त ।”  

सर कक्षाबाट निस्किएर चारपाइला अघि पुग्नुभएको थियो होला, “सर, एक मिनेट,” रीता पछिपछि आएकी थिइन् । उनले एउटा कागजको टुक्रा थमाउँदै भनिन्, “सर यो कागज रहेछ झोलामा, हजुरले भनेर दोस्रो पटक जाँच्ता । यो पनि रमनकै काम हो । अगि नै नीलोकालो भैसकेको हुँदा मैले कक्षामा देखाइँन । तर, सरलाई भने जानकारी भैराखेकै राम्रो होला भनेर ।”

सर अलिकति मुस्काउनुभयो, “राम्रो, रीता । तिमीले बुद्धिमानी  काम गरयौ ।”

खुट्टासँगै उहाँको मन पनि हिँड्दै थियो, ‘बालकले जीवनप्रतिको प्रेम, सामाजिक व्यवहारप्रति आस्थाको भाव र तदनुसार कामकाज गर्ने चरित्र घरबाटै पाउँछ । त्यही भावले उसलाई स्कुलमा र अन्यत्र पनि राम्रो गर्ने हौसला र सीप दिलाउँछ । रमनको स्थिति हेर्दा उसका घरको परिवेश ठीक छैन भन्ने बुझिन्छ । ऊ थाँक्राबिनाको अथवा बेकामे थाँक्राका कारण भुइँमै जथाभावी लहरिन थालेको काँक्राको बेलोजस्तै भएको छ । अथवा पालकहीन भुसिया कुकुर । साँच्चै उसको लवाइ र काम पनि लथालिङ्ग नै हुन्छ । एकपल्ट उसका बाआमासँग पनि भेट गर्नुपर्ने भयो ।’

एउटा सर गएर अर्को सर आउने समयका बीचको खालि ठाउँ पनि कम महत्वपूर्ण हुँदैन । आज सुमनले रमनमाथि बुद्धिबलको नयाँ प्रयोग पनि त्यही बेला गरिदिएछ । रीता फर्किंदा रमनका हातबाट रगत बगिरहेको थियो । अरू केटाकेटी उसलाई घेरेर ताली बजाउँदै बेसमारी हाइहाईहुइहुई गरिरहेका थिए ।  तिनीहरूकै बीचमा उभिएर सुमनचाहिँ मुसुमुसु मुस्काइरहेको थियो ।  अर्को सर आइहाल्नुभएकोले कुरा सामसुम भयो । तर, रीतालाई भने अत्यन्त खुलदुली लाग्नु स्वाभाविक थियो । सरीताले बताएर उनको खुलदुली शान्त पारिदिइन् । 

“सधैंझैं रमनले आज पनि सुमनका टाउकामा प्याट्ट पारेछ । तर आज भने उसको हात सुमनका टाउकामा होइन सुमनले सुटुक्कसँग चुच्चोपट्टि ठड्याइदिराखेको पेन्सिलमा परेछ । पेन्सिल अलिक मुढिएको भएर मात्रै नत्र हत्केलो छेडिने रहेछ ।”

सरीताले मुसुमुसु हाँस्तै कुरा टुंग्याइन्, “जस्तालाई तस्तै, ढिँडालाई निस्तै, होइन ?”

समर्थनमा रीताको टाउको स्वतः हल्लियो ।

प्रकाशित: २६ मंसिर २०७७ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App