सरण राई
जिन्दगीमा नशाजस्तै केही कुराहरूले केही मानिसहरूलाई एकोहोरो बनाएको हुन्छ कि त्यसबाहेक अरू सबथोक उनीहरूले बिर्सन्छन् ।
त्यस्तै एकजना मनुवा थियो । उसले उमेर भएपछि बिहे गर्यो, सन्तान जन्मायो । पारिवारिक जीवनको वंश परम्परा धान्न सबै काम–कुरा पूरा गर्यो । तर, धनको अभाव महसुस गरेर ऊ धन कमाउन निर्लिप्त भयो । धन प्रसस्त कमायो । तर, धन कमाउने एकसुर भएको उसले हाँस्नै बिर्सियो ।
मर्नुभन्दा अगाडि एकपल्ट स्वस्फूर्त हाँसो हाँसेर मर्न पाए हुन्थ्यो उसको चाहना । त्यसका लागि उसले आफूले जीवनभर कमाएको सबै सम्पत्ति खर्चिन तयार हुन्छ ।
एकजना महिला अभबैंसे हुन्छे जसले कसैको अधरमा पनि मधुर मुस्कान ल्याउन सक्छ रे भन्ने सुनेर ऊ त्यस महिलाको शरणमा पुग्छ ।
महिलाको सर्त हुन्छ – ऊ तिनीसँग रातभर बस्नुपर्छ ।
सारा जिन्दगी हाँसोको खडेरी ! ऊ तयार हुन्छ ।
सबैले बिहान देख्छन्– ऊ महिलाको काखमा मरेको हुन्छ तर उसको चेहरा र ओठमा मधुर मुस्कान खेलिरहेको देखिन्छ ।
– अनमोल मुस्कान !
प्रकाशित: २४ मंसिर २०७७ ०४:०३ बुधबार