२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
कला

एउटा कच्चा डिस्कभरी

बालकथा

प्रकाशमणि दहाल

 

सडकबाहिर नै निकै ठाउँ खाली चउरी थियो । चउरीका पल्ला छेउमा टिमाई खोलाको डिल थियो । डिलबाट उता निकै अग्लो पैह्रो थियो । पैह्रामा बाक्लै रुखपात, घाँसका घारीले ढाकेको थियो । ज्यादै छेउमा पुगेर हिँड्दाहिँड्दै झुक्किएर कहीँबाट पनि लड्न सकिन्थ्यो । त्यसरी लडेर मरेका र कतिको चाहिँ मुस्किलले उद्धार भएको कथा नसुनेको थिएन ।  

म यसो छेलिएर पिसाब गर्ने ठाउँ हेर्दै थिएँ । कुनै ढिस्को, रुख, पोथ्रो वा डिलैमुनि भए पनि सजिलो र नजिकै भए झन् जाती हुने थियो । पिसाबले झन्झन् च्याप्तै थियो र मन हतारिनुका साथै ध्यान केन्द्रित भैरहेको थिएन । म सडकबाट निकै वर चउरीमा पुगिसकेको रहेँछु । पर हेर्ने हुँदा वर नजर परेनछ । मेरो टेकेको पाइलो त खरुकी घारीमा छ्वाङगै गएको गयै भयो । म पहिराबाट खस्तै थिएँ । तर घारीघारी र पोथ्रापोथ्री माथिमाथि नै पल्टयाङपुल्टुङ हुँदै झरिरहेको थिएँ । यस बीचमा भेटेका घाँस, सेउला हाँगाबिँगा जे पनि समात्न खोजिरहेँ तर गतिलो अडिलो कुनै भेटिरहेको थिइनँ । यसो गर्दागर्दै बाँसको टुप्पो समात्न भेट्टाएँछु । मेरो वजनले त्यो बाँस त कुँइक्क नुह्यो र म पनि त्यसैसँग सलललल्ल तल पुगेँ । तर म भुइँमा पुगेको थिइँन । पहिरामै थिएँ भुइँ भनेको टीमाईको बगर अभैm दुई–तीनबाँस तलै थियो होला । मसँग कुनै उपाय थिएन हात गलेर फत्रक्कै भैसकेको थियो । तर, बाँसको टुप्पो एउटा सिमालीको बोटमा पुगेको थियो । मैले त्यसका हाँगाहरू झुरुप्प भएको हेरेँ र बाँस छोडदिएँ । नभन्दै म सिमालीका हाँगाहरूमा अड्किएँ । तलतिर हेर्दा सिमालीका फेदैदेखि अलिक दम्स्याइलो –दम्स्याइलो हुँदै गएको रहेछ । म ओर्लिएर जराबुटा समाउँदै झरेँ ।  

बगरमा पुग्नासाथ पिसाब गरेँ, खोलाको पानी खाएँ । र झोला झिकेर एउटा ढुङ्गामा बसेर लामो सास फेरेँ । एउटा फालबाट बचिएको थियो तर अर्को झन् ठूलो समस्यामा परिएको थियो ।  

मैले घडी हेरेँ । पाँच बजेको थियो । चैतको दिन अभैm केही बाँकी थियो तर त्यो खोँचमा भने निकै अँध्यारो भैसकेको थियो ।  

मेरा पछाडि ठाडो भिर थियो जसको टुप्पो देखिँदैनथ्यो । अगाडि म झरेको भीर सारा घाँस र रुखपातले ढाकेको थियो । कहीँनेरबाट माथि चढ्न सकिने हो सम्भावनाको अनुमान गर्न सकिँदैनथ्यो । मान्छे वा जनावरै पनि आउजाउ गरेको कतै कुनै संकेत थिएन । खोलाको शिरतिर कल्पना गरिनसक्नु तलैतला परेका साना ठूला झरना परेका थिए । खोलाका दुवैपट्टि घारी बाक्ला र कहाँनेर टेक्ने, कहाँनेर समाउने र माथि गएर कहाँ पुग्ने कुनै अनुमान हुँदैनथ्यो । खोलैखोला तलतिर पनि उस्तै कुनै फरक थिएन ।

उता पेटमा मुसा कराउँदै थिए । दिउँसो टिफिनमा खाएको खाजा बेपत्ता भैसकेको थियो ।

अघि पाखामा उल्टिङपुल्टिङ हुँदै मोबाइल झरिसकेको थियो । निकै पल्ट ‘गुहारगुहार, बचाऊबचाऊ, कोही छ !’ भनेर कराइरहेँ । तर कसैले सुनेन । अब के गर्ने । समय जाँदै थियो । घरमा पनि बा हुनु हुन्न । हरगुहार गरेर आमाले खोज्न पठाउनुहोला तर पहिले त आफैं आउँछ भनेर बेला छउन्जेल पर्खिने होला । स्याल, चितुवाजस्ता जनावर आइलागे भने के गर्ने होला !  प्रश्नैप्रश्नले घेरे । उत्तर कतै थिएन ।

जस्तोसुकै ठाउँ र समयमा पनि बाँच्ने र निर्वाह गर्ने डिस्कभरी च्यानलको बेअर ग्रील्स एडवार्ड माइकल ग्रील्सलाई सम्झिएँ । ऊ त सरसामानसहित तयारीसाथ त्यसकै लागि गएको हुन्छ । म जस्तो अचानक फेला परेको भए पो त ! त्यतिबेलै याद भयो मसँग पनि दुईटा खुर्पा र दुई डल्ला प्लास्टिकका डोरी भने थिए । आमाले स्कुलबाट फर्किंदा आरनमा पसेर अर्जाप्न लगेका खुर्पा र पसलबाट डोरी किनेर ल्याउनु भन्नुभएको थियो । त्यही भएर साथीसँग छुट्टिएर एक्लै पछि परेको थिएँ । 

के गर्ने के गर्ने फिटफिटी भयो । उठेर यताउता नजर डुलाएँ । केही पर पहिरोले कहिलेदेखि सोहोरेर ल्याएको एउटा टीनको पातो आधा ढुङ्गामाटाले पुरिएको रहेछ । त्यसले के हुन्थ्यो ! टाउकामाथि पंखा लिएर उड्ने डोरेमनका केटाकेटीले जस्तै उडेर बाटासम्म पुग्न पाए त ! मन त्यसै कल्पियो । गएर निकाल्ने प्रयास गरेँ । धेरै गाडिएको रहेनछ । ढुङ्गामाटो पन्छाउन बेर लागेन । तर के एउटा टीन हुँदैमा पंखा बनाउन र उड्न सकिन्छ ! मनको लड्डू घिउसँग खाँदै आफैं हाँसेँ ।

एकछिन सोचेँ – के त्यो सम्भव हुन्छ !  नजर डुलाएँ अलिक पर खोलामा अलिकति गाडिएको चोरी औँलोजत्रो छड पनि देखेँ । निकालेको, खन्ती रहेछ । एकापट्टि थेप्च्याएको टाउको, अर्कापट्टि तिखो । मभन्दा एक बित्ता जति लामो । टिनको पंखा बनाएर त्यो छटमा हाल्ने र छटलाई डँडाल्नाबाट खुट्टासम्म ठड्याएर आफ्नै जिउसँग बाँध्ने । छटको टुप्पालाई एल पारेर बंग्याउने र त्यसमा टेकेर उभिने । तर छड मात्र अडिएला ! कुनै खोल वा पेरुङ्गोमा हाल्न पाए हुन्थ्यो । नजर सिधै बाँसघारीमा पुग्यो । दुईतीनवटै बाँस ढलेर सुकेका थिए । एउटा ठिक्कको टुक्य्राएर दुई फ्याक पारेँ र खुर्पाको चुच्चाले आँखा झारेँ । टिन ६ इन्च जति चौडा र ४ फिटजति लामो दुई वटा पाता मोडेर हल्लाउँदै– हल्लाउँदै भाँचेँ । निकै गारो भयो । मोडेर दोब्रिएको ठाउँ ढुङ्गामा राखेर खुर्पाको पासोपट्टिबाट कुटेर फेरि हल्लाएर निकै तालमा भाँचियो । छड भने दुईटा ठूला ढुङ्गाका चेपमा हालेर बंग्याउँदा एकै तालमा बंगियो । पंखाका पाताका बीचमा दुलो पारेर दुलोसमेत सोझै हुने गरी क्रस पारेर खप्टिएँ । क्रस रहिरहोस् भनेर छड्के पारेर डोरीले बाँधेँ । डोरी ल्याएको कामै लाग्यो । अब पंखाको दुलाबाट छट घुसारेर त्यसका दुईपट्टि बाँसका फग्लेटा जोडेर बाँधेँ । घुमेका बेला बाँसका टाउकामा पंखाका पाता नअडकियून् भनेर बाँसका मुखका टोड्कामा एउटा ठिक्कको लाम्चो ढुङ्गो हालिदिएँ जसमाथि पंखाले घुम्नु थियो ।

अब म चाहन्थेँ–  हावा नलागेका बेलामा हातले तानेर पंखा घुमाउने कल पनि फिट गर्न पाए हुन्थ्यो । कसरी हुन्छ होला भनेर सोच्तै थिएँ ! खोलाको उँधोबाट हररर हावा लाग्यो । ठड्याइराखेको त्यो पंखा त फिरिरिरी घुम्न र माथि उठ्न पो खोज्यो । उडेर गैहाल्ने होकि मलाई नै छोडेर जस्तै भयो । मेरो पालि त्यसको एलमा टेकेर बाँसलाई पीठमा ठड्याएर टनटन आफूसँग बाँधेँ तर बाँधिसक्नै भ्याइनँ नि । यति ठूलो हावा आयो, पंखा त मलाई समेत लिएर उठिगयो ।

एक मिनेट नहुँदै म सडकको डिलमा आइपुगेँ । तर, हावा घटेन र त्यसले त जंगलतिर पो लान थाल्यो । त्यसो गर्दा त त्यसले जता पनि लान सक्ने भयो, फेरि टिमाईतिरै लान पनि सक्ने भयो । अब के गर्ने ! अहिलेसम्म नआत्तिएको मन आत्तियो  तर मैले आत्तिन दिइनँ । सरले भनेको ‘आत्तिएपछि मनले ठीकसँग काम गर्न सक्तैन,’ सम्झिरहेँ । अनि अर्को फस्ट एड सिकाउने सरले भनेको ‘उपाय कहिल्यै सकिँदैन’ पनि सम्झिएँ । साँच्चै मेरा मनमा उपाय आइहाल्यो । गाउँको  सोझी पुग्नेबित्तिकै खुर्पाको चुच्चाले एउटाचैँ पाता तान्नेबित्तिकै पंखा त अपांगजस्तै भैगयो र झर्न थालिहाल्यो । बस्, म बिस्तारै जेठा साहुको आँगनमा ओर्लिएँ ।

मान्छे अघि म आकाशमा हुँदादेखि नै बरम लागेर हाहाहोहो गर्दै थिए । सबले घेरेर मलाई त हिरो, नेपाली बेअर ग्रील्स भन्दाभन्दै हातहातै बोकेर नचाउन थालिहाले ।

मैले सबैलाई शान्त पारेर भनेँ, “यो हावालाई काम लगाएर तत्काल काम चलाउने एउटा कामचलाउ डिस्कभरी मात्रै हो । तर, यसलाई चाहेअनुसार तलमाथि वा अगिपछि र ढिलोछिटो पार्ने उपाय पनि खोज्नुपर्छ र बस्न वा सजिलोसँग उभिने ठाउँ पनि चाहिन्छ । मलाई त्यो पनि गर्न सकिने विश्वास ....।”

ताली, साइसाइसुईसुई र होहल्लाले केही सुनिएको होइन ।  

अब बल्ल पो घाम पनि रातो मुख पारेर क्षितिजमा पुगे र म पनि त्यो हुलसहित घरतिर लागेँ ।

प्रकाशित: २२ मंसिर २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App