कोरोना संक्रमण निको भइसकेर पनि प्रख्यात् बंगाली अभिनेता सौमित्र चटर्जीको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको उपचारका क्रममा कोलकातास्थित एक अस्पतालमा आइतबार निधन भएको हो।
गत अक्टोबर ६ तारिख अस्पताल भर्ना गरिएका उनमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो। तर अक्टोबर १५ मा उनी कोरोनाबाट मुक्त भएका थिए।
तैपनि स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पतालमै उपचाररत थिए। यसै क्रममा आइतबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा अभिनय गरेका छन्। चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपुर संसारबाट अभिनय क्षेत्रमा प्रवेश गरेका सौमित्र धेरैपटक नेसनल अवार्ड पाउन सफल भएका थिए।
सन् २०१२ मा दादा साहेब फाल्के अवार्ड पाएका उनी सन् २००४ मा भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट पनि सम्मानित भएका थिए। उनले फ्रान्सको सर्वोच्च नागरिक सम्मान लिजन अफ अनर पनि प्राप्त गरेका थिए।
प्रकाशित: ३० कार्तिक २०७७ १३:५१ आइतबार