२०७७ को दशैँ भनेजस्तो मनाउन पाएनौँ, कोभिड–१९ को संक्रमणले गर्दा । दशैँ करकापले सकियो, अब तिहार पनि करकापमा मनाउनुपरेको छ । अरू बेला दशैँ–तिहारमा नेपाली धेरै रम्थे । शरद ऋतुको समशीतोष्ण मौसम, न धेरै जाडो न धेरै गर्मी, रंगीविरंगी फूलहरूको मौसम । अनि, पर्वको मौसम ।
नेपाल जैविक विविधता, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ प्रत्येक जातजातिमा आफ्नै धार्मिक, सामाजिक र सांस्कृतिक चाड मनाउने परम्परागत चलन छ । तिहारमा मौलिक वनस्पतिको प्रयोग हुन्छ । संस्कृतिमा धनी नेवाः जातिले तिहार चाड मनाउँदा प्रयोग गर्ने मौलिक वनस्पतिको अनिवार्यताबारे चर्चा गरिँदै छ ।
समष्टि रूपमा तिहार पाँच दिनसम्म मनाइन्छ र धार्मिक दृष्टिकोणले यसलाई यमपञ्चक भनिन्छ । यमपञ्चक अर्थात् दीपावली भनिने तिहार सौन्दर्यका दृष्टिकोणले विशिष्ट मान्न सकिन्छ । तिहारमा पन्छीमा काग, पशुमा कुकुर र गाई, देवीमा लक्ष्मी पुजिन्छ । नेवाः जातिले आत्मपूजा (म्हःपूजा) गर्छन् । समग्रमा दिदीबहिनीले दाइभाइकोे पूजा गरिने पर्व हो, तिहार । काठमाडौं उपत्यकाका रैथाने आदिवासी नेवाःहरूले नेपाल भाषामा तिहार पर्वलाई ‘स्वन्हुति’ वा ‘स्वन्ति’ भन्छन् । नेवाः समुदायले धार्मिक अनुष्ठानमा रहेर मनाउने यस पर्वमा प्राकृतिकताको पनि कदर गर्दै जैविक विविधतालाई प्रधान स्थान दिइएको छ ।
कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन प्राकृतिक रूपमा सिनो खाएर वातावरण स्वच्छ बनाउँदै आएको कागलाई सूचना संवाहकका रूपमा पूजेर तिहार प्रारम्भ हुन्छ । तिहारको दोस्रो दिन अर्थात् कृष्णपक्ष चतुर्दशीका दिन कुकुरपूजा गरिन्छ । समाजमा आपराधिक गतिविधि हुन नदिन चौबिसै घन्टा सुरक्षामा खटिने कुकुरको जिम्मेवारीलाई धन्यवाद ज्ञापन गर्दै पुजिएपछि औँसीको दिन पोसिलो दूध उत्पादन गर्ने गाईलाई पुजिन्छ ।
धार्मिक रूपमा वैतरणी नदी तर्न भूमिका खेल्ने गाईको गोबर र गहुँत मल लगायत औषधिजन्य पदार्थका रूपमा उपयोगी मानिन्छ । गाईपूजाका दिन बिहान घरको मूलढोकादेखि गोबर र रातो माटोले लिपपोत र सरसफाइ गरी बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गरिन्छ । त्यसको भोलिपल्ट कात्तिक शुक्ल प्रतिपदामा नेवाः समुदायले म्हःपूजा गर्छन् । यमपञ्चकको पाँचौँ दिन (कात्तिक शुक्ल पक्षको द्वितीया) अर्थात् भाइटीकामा दिदीबहिनीले दाइभाइकोे पूजा गर्छन् । पाँच दिनसम्म विविध किसिमले मनाइने तिहारमा प्रत्यक्ष रूपमा पूजा परम्परालाई निरन्तरता दिए पनि पाँचै दिन जैविक विविधताको संरक्षणका लागि प्रयास गरिएको पाइन्छ ।
तीर्थ स्नानमा वनस्पति र रैथाने ज्ञान
तिहारका पाँच दिन काठमाडौं उपत्यकामा वातावरण तथा वनस्पतिको रक्षाका लागि प्रत्येक दिन छुट्टाछुट्टै तीर्थस्थल पुगेर देवदेवी दर्शन गर्ने परम्परा छ । कागपूजामा विष्णुमति शोभाभगवती मन्दिर अगाडिको भचा खुसी र विष्णुमती खोलाको दोभानमा रहेको निर्मल तीर्थमा करबिरको फूल (कलिहःस्वां)ले स्नान गरी इन्द्रायणी देवी (लुति अजिमा)को पूजा गर्ने परम्परा छ ।
कुकुरपूजाका दिन टेकुदोभानमा रहेको चिन्तामणि तीर्थ (टेखुदुवा)मा पञ्च सुगन्ध (श्रीखण्ड, कस्तुरी, सुनपाती, कुमकुम र केशरी)ले स्नान गरी मैतीदेवी (मय्ति अजिमा) मा पूजा गर्ने चलन छ । यसरी धार्मिक रूपमा प्रयोग हुँदै आएका यी वनस्पति स्थानीय बासिन्दाले सौन्दर्य प्रशोधनको सामग्रीका रूपमा प्रयोग गर्छन् । हाम्रा पुर्खाले परम्परागत रूपमा प्रयोग गर्दै आएका श्रीखण्ड, कुमकुम, केशरी, कस्तुरीबाट अचेल साबुन, सेम्पु र फेसक्रिम बन्छ । लक्ष्मीपूजाको दिन मय्तिदेवीस्थित पञ्चकुमारी तीर्थमा जमानेमाद्रो (मिकुसि स्वा÷मिटसि)ले स्नान गरी मय्ति देवी (मय्ति अजिमा) लाई पूजा गरिन्छ ।
म्हःपूजाका दिन विष्णुमतिमा रहेको निधान तीर्थ (लखुतीर्थ)मा जाइफूलं (अजु स्वां) ले स्नान गरी भद्रकाली (कंगअजिमा) लाई पूजा गरिन्छ । भाइटीकाका दिन कालमोचन (इच्छामती तीर्थ)मा सर्वोषधि जटामसी (नस्वां), हर्रो (हलः), बोझो (लपालु), श्रीखण्ड, रक्तचन्दन, नरिवलले स्नान गरी थापाथलीस्थित दोलय् अजिमालाई पूजा गरिन्छ । धार्मिक रूपमा अर्पण गरिने यी वनस्पति विशेष गरी रैथाने महत्वका छन् ।
पञ्चकुमारी तीर्थमा स्नान गर्न प्रयोग गरिने जमानेमाद्रोे नेपालको रैथाने वनस्पति हो । नेपालको नामबाट नामाकरण भएको जमानेमाद्रोलाई वनस्पतिविद्ले ‘माहोनिया नापौलेन्सिस’ नामले चिनिँदै आएको छ, हेर्नुस् तस्बिर– १ । धार्मिक रूपमा पुजिँदै आएको यसको फूल सुगन्धित र पहेँलो हुन्छ । यसको काठ पानीमा एक रात भिजाएर स्नानका लागि प्रयोग गरिन्छ, जुन छालारोग, जिउ चिलाउने र आँखा रातो हुने रोगमा उपयोगी छ ।
वनस्पतीय ज्ञानलाई निरन्तरता दिने उद्देश्यले यस पर्वमा आशीर्वाद दिँदा समेत वनस्पतीय विशेषताको प्रयोग गरिन्छ । आशीर्वादमा मखमली फूल (ग्वय् स्वां) जस्तै कहिल्यै नसुकोस्, हाडेओखरझैँ बलियो होस्, बिमिरोझैँ पवित्र होस्, दुबोझैँ अजम्बरी होस् भनी स्थानीय वनस्पतिको उपयोगमा ल्याइन्छ ।
त्यस्तै, तीर्थमा नुहाउने बोझोलाई रुघाखोकीको अचुक औषधिका रूपमा लिइन्छ भने जाइफूल पिनासको र विभिन्न सुगन्धित पुष्पहरू सौन्दर्य प्रशोधनका रूपमा लिइन्छ । काठमाडौं उपत्यकामा पानी फोहोर र तीर्थस्थल पनि लोप भएसँगै स्नान संस्कृति हराउँदै गएको छ ।
तिहारमा प्रयोग गरिने वनस्पति
गाई र लक्ष्मीदेवीको विशेष पूजाका क्रममा रुकमणी पुष्प अनिवार्य मानिन्छ । लक्ष्मीपूजामा चढाउने भएकाले काठमाडाैंमा नेवाः समुदायले आफ्नो भाषामा यो फूललाई ‘लक्ष्मी स्वां’ भनेका हुन् । साथै, गाईलाई पनि उक्त वनस्पति खुवाउने गरिन्छ । यस फूलको वानस्पतिक नाम ‘सेसबानिया सेसबान’ हो । रुकमणी पुष्प पहेँलो हुन्छ भने यसका पात साना हुन्छन् र निकै पोसिलो मानिन्छ । वस्तुभाउलाई खुवाउनकै लागि अफ्रिका र एसियाली मुलुकमा यसको व्यावसायिक खेती गरेको पाइन्छ । तर, हालका दिनमा ‘लक्ष्मी स्वां’ भनी जाकारान्दा पात, छिनछिने पात र लज्जावती पात (मिमोसा पुडिका) जस्ता वनस्पतिले स्थान लिएको छ । यी वनस्पतिको पात रुकमणी पुष्पको पातसँग मिल्दोजुल्दो छ । जसले गर्दा एकातर्फ ‘लक्ष्मी स्वां’को प्रयोग लोप हुने क्रममा छ भने अर्कोतर्फ आयातीत र मिचाहा वनस्पतिले स्थानीय ज्ञानमाथि नकारात्मक प्रभाव पार्न थालेको छ । बिराला थुनेर श्राद्ध गर्नेजस्तै उपयोग के हो नबुझी प्रयोग गर्ने प्रवृत्तिको नतिजा हो यो ।
लक्ष्मीपूजामा पञ्चतत्वका रूपमा कलशमा पानी भरी त्यसमा कुन्दफूल ( दाफ्वः स्वां) को हाँगा र फूल राख्ने परम्परा छ । साथै, यस दिन वनस्पतिजन्य उत्पादनहरू बाँसको चोयाले बुनेको नाङ्लो, अम्रिसोको कुचोलाई पनि स्थान दिइन्छ । यसरी वनस्पतिजन्य उत्पादनको सुरक्षार्थ स्थान दिइसकेपछि थायभू (काँसको थाल)मा ‘ज्यःना लप्ते’ राखी विभिन्न खानाको परिकार राखेर लक्ष्मीमातासमक्ष अर्पण गर्ने परम्परा छ । देवीलाई चढाउन प्रयोग गरिने ‘ज्यःना लप्ते’लाई रैथाने ज्ञानका रूपमा लिन सकिन्छ । ‘फ्रिनियम पुबिनर्भे’को प्रजाति अन्तर्गत यो पात चिप्लो, चाँडै नसुक्ने, गाढा हरियो हुनुका साथै विभिन्न सूक्ष्म कीटाणुजस्तै ढुसी, ब्याक्टेरियाको प्रभाव समेत यसमा पर्दैन । साथै, यसको पातमा राखेको खाना स्वादिलो र चाँडै नकुहिने विशेषता रहेको छ । विभिन्न प्रकारका फूल (तास्वां) लालुपाते, मिखुसि स्वां, गोदावरी फूल, रातो कमल फूल र मौसम अनुसार पाइने विभिन्न किसिमको फूल पनि लक्ष्मीलाई चढाउने गरिन्छ ।
विभिन्न फूल प्रयोग हुने तिहारको अर्को विशेषतामा मौसम अनुसार पाइने स्थानीय फलहरूको उपयोगिता पनि एक मान्न सकिन्छ । विशेषगरी तिहारमा स्थानीय रूपमा उत्पादन भएका भोगटे, मौसम, सुन्तला, कालज्यामी, बिमिरो (तःसि), चाकुसि (सिट्रस लिमेटियोडस्), मेवा, स्याउ, केरा, हलुवाबेद, अम्बा (अमासि), अनार (धालेय्) को पनि प्रयोग गरिन्छ । साथै,
बयर (बय्सि÷बय्लि), ढालेकटुस÷कटुस (स्याँगुलि), सतिबयर (सतपासि), अमला, हाडेओखर (नं खोसिं) र मयल (पासिंचा÷धःपासि÷भ्वासा पासि) अनिवार्य रहेको छ, तस्बिर २ हेर्नुस् । यसरी तिहारमा अनिवार्य स्थान रहेका यी फल स्थानीय जंगलबाट संकलन गरिन्छ । जुन जैविक विविधताको संरक्षणका लागि धार्मिक र सांस्कृतिक प्रयास मान्न सकिन्छ ।
म्हःपूजा अर्थात् आत्म जागरण पूजा
आफ्नो सुस्वास्थ्य, दीर्घायु, सफलताका लागि आफूलाई आफैँ पूजा गर्ने पद्धतिलाई म्हःपूजा भनिन्छ । नेवाः समुदायले गरिने म्हःपूजामा प्रत्येक व्यक्तिको अगाडि मण्डला लेखी त्यसमा पुज्ने गरिन्छ । भुइँमा लिपेर शुद्ध बनाइएको स्थानमा लेखिने मण्डला निर्माणमा वनस्पतिजन्य पदार्थको उपयोग गरिन्छ । मण्डलाको केन्द्रबिन्दुमा तेलले गोलाकार बनाइसकेपछि त्यसमाथि पानी र विभिन्न रंगयुक्त प्वताय् (चामलको पीठो)ले रेखी लेख्ने गरिन्छ । यसरी लेखिएको मण्डलामा वनस्पतिजन्य पदार्थ धान, मास, कालो भटमास, अक्षता, आखे (धानको बोक्रा केलाएर निकालेको चामल), लावा (ताय्), सयपत्री फूलले एकपछि अर्को गरी सजाई पूजा गरिन्छ । हाडे–ओखर (नं खोसिं), ढाले कटुस (स्यान्गुली), बिमिरो (तःसि) आसन राखेर लामो बत्ती (खेलु इता) बाल्ने परम्परा छ । म्हःपूजा र भाइटीकामा नेवाः संस्कृतिअनुरूप ‘धालेमू’ अनिवार्य खाने चलन छ । ‘धालेमू’मा अनार, अम्बा, दही, केरा, चाकुसि मिसाइएको हुन्छ ।
वनस्पतीय ज्ञानलाई निरन्तरता दिने उद्देश्यले यस पर्वमा आशीर्वाद दिँदा समेत वनस्पतीय विशेषताको प्रयोग गरिन्छ । आशीर्वादमा मखमली फूल (ग्वय् स्वां) जस्तै कहिल्यै नसुकोस्, हाडेओखरझैँ बलियो होस्, बिमिरोझैँ पवित्र होस्, दुबोझैँ अजम्बरी होस् भनी स्थानीय वनस्पतिको उपयोगमा ल्याइन्छ ।
संस्कृति, पोषण र स्वास्थ्य
मानव स्वास्थ्यमा ६ किसिमको स्वाद अनिवार्य छ । तिहारलाई षड्रसको उपयोगिताको चाडपर्वका रूपमा पनि लिइन्छ । यस पर्वमा अमिलो, स्वादिलो (माकु), गुलियो, टर्रो, तीतो, नुनिलो स्वादका खाद्य पदार्थको उपभोग गरिन्छ । स्थानीय वनस्पतिलाई संस्कृतिमा उपयोग गर्नु भनेको खाद्य, पोषण, स्वास्थ्यका लागि संरक्षण गर्नु हो । अध्ययन, अनुसन्धानमा आधारित लेखहरू अनुसार, विशेषगरी यस चाडमा खाइने बिमिरोमा फाइबर, भिटामिन–सी पर्याप्त मात्रामा हुन्छ, जुन एन्टिअक्सिडेन्ट फल पनि हो । यसमा भएको पौष्टिक तत्वले दुखाइ कम गर्ने, क्यान्सर प्रतिरोधी, अल्सर प्रतिरोधी तथा पेटमा कीरा हुन नदिन, कोलेस्ट्रोल कम गर्न, मधुमेह आदि रोगका लागि धेरै फाइदा गर्छ । ओखर, कटुसमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसले आँखाको दृष्टि राम्रो हुने, मुटुसम्बन्धी रोग नहुने, स्मरणशक्ति बढाउनेमा मद्दत गर्दछ । भोगटे पनि एन्टिअक्सिडेन्ट फल हो, एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यस चाडमा अनिवार्य रूपमा प्रयोग हुने अमला, बयर, सतिबयर भिटामिन–सीको भण्डार मानिन्छ । यसले खानामा रुचि बढाउँछ, पेटको रोग कम गर्छ, रुघाखोकी लाग्न दिँदैन । हाम्रा पुर्खाले संस्कृतिमा प्रयोग गर्ने खाद्यवस्तु स्वास्थ्यका दृष्टिकोणले धेरै उपयोगी हुन्छन् । तापनि संस्कृतमा प्रयोग गर्ने र खाने मौलिक फलहरू लोप हुँदै आयातीत वस्तुको विकास हुँदै छ । संस्कृतिको नाममा विकृति बढ्दै छ ।
हाम्रो संस्कृतिसम्बन्धी खानाको पोषण र स्वास्थ्यसँग अन्तर्सम्बन्ध छ । हाम्रो संस्कृतिमा मौसम अनुसार स्थानीय स्तरमा उपलब्ध हुने खाद्यवस्तु भगवान्लाई चढाई खाने गरिन्छ ।
संस्कृतिका आधारमा वनस्पतिको संरक्षण गर्नुले अलग्गै महत्व राख्छ । संस्कृित, परम्परागत ज्ञान र जैविक विविधताबीच धेरै ठूलो अन्तरर्सम्बन्ध छ । जहाँ परम्परागत संस्कृतिमा वनस्पतिहरू प्रयोग हुन्छन्, त्यहाँ जैविक विविधताको पनि संरक्षण हुन्छ ।
कात्तिकमा लटरम्म फल्ने मयलको फल तिहारमा अनिवार्य रूपमा भित्र्याउनुपर्छ, हेर्नुस् तस्बिर–३ । काँचोमा टर्रो र पाकेपछि गुलियो स्वादको मयलमा हाम्रो शरीरलाई आवश्यक पौष्टिक तत्वहरू प्रोटिन, फाइबर, भिटामिन सी, पोटासियम, क्याल्सियम, माग्नेसियम, आइरनको मात्रा प्रशस्त हुन्छ । मयलले ग्यास्ट्रिक, श्वासप्रश्वास, मुटुसम्बन्धी रोग लाग्न दिँदैन । यसरी विशेष महत्व बोकेको मयललाई पहिलोपटक विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टनले ११ नोभेम्बर १८०२ मा काठमाडौंको नारायणहिटीबाट संकलन गरेका थिए ।
नासपतिभन्दा सानो आकारको मयललाई नेपाल भाषाबाट ‘पासिंचा’ भनिन्छ । पहिलोपटक वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टनले सार्वजनिक गरेको मयललाई वनस्पतिविद् डाभिड डनले अन्तर्राष्ट्रियकरण गर्ने क्रममा नेपालको रैथानीयतालाई सम्मान गरी यसको नाम स्थानीय नेपालभाषाको पासिचाबाट वानस्पतिक नाम ‘पाइरस पासिया’ राखेका थिए । पाइरस पासियाको विवरण सन् १८२५ मा प्रकाशित ‘प्रोडोमस फ्लोरी नेपालेन्सिस’ पुस्तकमा छापिएको छ । अन्तर्राष्ट्रिय विज्ञले नेवाः नामबाट प्रजाति नामाकरण गरेर महत्व दिएको वनस्पतिलाई हामीले नै चिन्न नसक्नु दुःखद हो ।
बहुउपयोगी मौलिक वनस्पतिहरू मुलुकमा लोपोन्मुख, संकटापन्न, दुर्लभ अवस्थामा छन् । यसको प्रमुख कारणमा वन विनाश, स्थानीय स्तरमा वनस्पतिबारे सही ज्ञानको अभाव, मौलिक फलफूलहरूको व्यासायीकरणमा न्यून महत्व, नयाँ पुस्तामा संस्कृतिका लागि वनस्पतिको प्रयोजन उपेक्षित हुनु, आयातीत वनस्पतिलाई प्राथमिकता, वनस्पति अध्ययन अनुसन्धानमा न्यून प्राथमिकता आदि हुन् ।
गौरव र इतिहास बोकेका रैथाने र मौलिक वनस्पतिको सही पहिचान, उपयोग र दिगो संरक्षणका लागि स्व–स्थानीय र पर–स्थानीय संरक्षण गर्नु सम्बन्धित निकाय र सम्पूर्ण नागरिकको दायित्वभित्र पर्छ ।
सांस्कृतिक एवं धार्मिक रूपमा तिहारको विशिष्ट महत्व छ । यो चाडलाई फलफूल र वानस्पतिक प्रयोग र उपयोगितामा आधारित भएको वनस्पतीय पर्वको रूपमा लिनुपर्ने आवश्यक देखिन्छ । वनस्पतीय अध्ययन अनुसन्धान एवं यसमा रहेको गुण र स्थानीय ज्ञानलाई दर्शाउन तिहार अझ महत्वपूर्ण मानिन्छ । त्यसैले जैविक विविधताको रक्षा, स्थानीय ज्ञानको उपयोगिताका लागि पनि आयातीत फूल एवं फललाई भन्दा स्थानीय फलफूललाई स्थान दिन आवश्यक छ ।
प्रकाशित: २९ कार्तिक २०७७ ०३:५१ शनिबार