२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

पाठकीय दृष्टिमा ‘ईश्वरको मृत्यु’

पुस्तक जगत

विमल अधिकारी  

 

१. विषय प्रवेश

 

नेपाली साहित्यको इतिहासमा आख्यान फाँटमा खासगरी लघुकथा उपविधामा निकै सक्रिय स्रष्टाको नाम हो –खेमराज पोखरेल । करीब तीन दशकभन्दा बढी समय त्रिविमा इतिहासको प्राध्यापकको भूमिका निर्वाह गरी शैक्षिक क्षेत्रमा योगदान पुरयाउने लघुकथाकार खेमराज पोखरेल साहित्यिक चिन्तन–मनन, जनजीवनको अध्ययनमा लागेका छन् । उनले कविता, निबन्ध, लघुकथा, कथा, संस्मरण, नियात्रा, समीक्षा विधामार्फत पनि आफ्नो परिचय बनाएका छन् । उनी लघुकथाकारका रूपमा वर्तमान अर्थात् उत्तर आधुनिक कालमा निकै चर्चित छन् । आफूलाई लघुकथाकार÷ कथाकार भन्न रुचाउने खेमराजले ‘ईश्वरको मृत्यु’ सम्म आइपुग्दा ५ वटा लघुकथासङ्ग्रह प्रकाशन गराएर आख्यान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुरयाएका छन् । ‘लघुकथा कुनो’का एकजना एडमिन भएर धेरैलाई लघुकथा लेख्न सिकाइ पनि रहेका छन् । लघुकथा लेख्ने सिक्न खोज्नेहरूका लागि उनले ‘लघुकथा कसरी लेख्ने ?’ भन्ने बारेमा युट्युबमा भिडियो बनाएर पोस्ट गरेका छन् ।  

बौद्धिक, स्वाभिमानी, इमानदार एवं मित्रवत् स्वभावका खेमराज पोखरेल स्रष्टा– द्रष्टा व्यक्तित्व हुन् । विशेष सिर्जन क्षमता र प्रतिभा– अभ्यासका कारणले नै उनी नेपाली साहित्याकाशका दह्रोसँग उदाएका हुन् । दर्जन हाराहारीका विविध विधाका पुस्तकाकार कृतिका धनी खेमराजले हालसम्म पछ्यौरीको आइसक्रिम (विसं २०७३), दह्रो लौरो(२०७३), राम शाहको चौतारो (२०७५), सिमानामा आमा (२०७५) र हाल आएर ईश्वरको मृत्यु नामक लघुकथासङ्ग्रह प्रकाशित गराइसकेका छन् । २०७३ सालमा ‘मोलुङ लघुकथा सङ्ग्रह’ र २०७६ सालमा ‘मदुस’ भन्ने लघुकथाहरूको संकलन ग्रन्थको सम्पादन गरी चर्चामा आएका छन् । उनी सशक्त कथाकार पनि हुन् । उनका ‘ऊनको डल्लो’ र ‘पगाहा’ कथासङ्ग्रह प्रकाशित भएका छन् । यसबाहेक उनको एउटा कवितासङ्ग्रह ‘सडक र बूढो सिमल’ र एक ‘सबैथोक छ केही छैन’ निबन्धसङ्ग्रह पनि प्रकाशित भएका छन् ।

यहाँ यो समीक्षाको शीर्षकअनुसार लघुकथाकार पोखरेलको पाँचौँ लघुकथाकृति ‘ईश्वरको मृत्यु’ मा लघुकथाकार खेमराज पोखरेलको लघुकथाकारितामा मिमांसा गर्ने प्रयत्न गरिएको छ ।

२. विषयवस्तुका आधारमा ‘ईश्वरको मृत्यु’

विस २०७४र०७५ अर्थात् सन २०१८ र २०१९ को समयावधिमा रचिएका ७१ लघुकथाको सङ्ग्रह ईश्वरको मृत्य’ नामक कृति स्वदेश प्रकाशन प्रालि बागबजारले प्रकाशन गराएको देखिन्छ । खेमराज पोखरेलको पछिल्लो लघुकथासङ्ग्रहका रूपमा बजारमा आएको उक्त कृति लघकथाका इतिहासमा उपलब्धिमूलक मानिन्छ । किनभने यसमा प्रयुक्त लघुकथा मात्र सशक्त छैनन् । उनले ‘ईश्वरको मृत्युसम्म आइपुग्दा मेरो लघुकथा यात्रा’ शीर्षकमा लेखेको लेखकीयमा लघुकथा लेख्न, पढ्न र विवेचन गर्न चाहने व्यक्तिलाई सुन्दर पाराले लघुकथाको सिद्धान्त नै सिकाएका छन् । नेपाली लघुकथावृत्तमा यो निकै महत्त्वपूर्ण छ ।  

यो सङ्ग्रहमा सङ्गृहीत भएका लघुकथाहरूका विषयवस्तुहरू विविध छन् । ती विषयवस्तुलाई मोटामोटी रूपमा निम्नानुसार वर्णन गरिन्छ ।

ईश्वरको मृत्यु

२.१ भ्रष्टाचार

 

‘गणेशको गद्दी’ लघुकथामा पूर्वीय मिथकको प्रयोग गदै समसामयिक नेपालको चाकरीचाप्लुसी एवं प्रोपोगान्डालाई कथ्य बनाएर व्यङ्ग्य प्रहार गरिएको छ । ढोँगी चटकेको विम्बबाट चटके राजनीतिकर्मीप्रति प्रहार गरिएको छ ‘बहुरूपिया’ लघुकथामा । ‘ढाँटको सत्य’ लघुकथामा देशप्रति चिन्ता गरिएको छ । ढाँटेर राजनीति गर्ने कर्मीलाई सजग गराइएको छ । ‘कमिसन’ लघुकथामा सरकारी कार्यालयमा हुने गरेका कमिसनतन्त्रलाई मूल कथ्य बनाइएको छ । ‘माग्नेहरू’ मा विकासका नाउँमा आएका बजेटको हिनामिना गर्ने उच्च पदस्थलाई माग्ने प्रतीकका माध्यमले व्यङ्ग्य गरिएको छ । ‘काकाकुल’ आत्मसंस्मरणात्मक लघुकथामा कर्णालीको पीडा, मेलम्चीको पानीको तिर्खा, र काकाकुल काठमाडाँै देखाइएको छ । ‘सुरक्षा’ लघुकथामा सरकारले आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै सुरक्षा संयन्त्रमाथि नै प्रश्न चिन्ह तेर्साइएको छ ।विदेशी प्रभुका कारण नेपालमा सङ्घीय संरचना आएको, नसोचिएको सङ्घीय व्यवस्था, दिनप्रतिदिन घाँडो भएको भन्ने सन्देश प्रवाह गरिएको छ ‘कायाकैरन’ लघुकथामा । ‘सिस्टम’ लघुकथामा सरकारी कार्यालयमा हुने बेथिति, विकृति तथा घुस सिस्टमलाई व्यङ्ग्य गरिएको छ । खरिदार पदको इमानदार कर्मचारीले आफन्तबाट भोगेका मानसिक यातनालाई प्रष्ट पारिएको लघुकथा हो ‘पराइ’ । ‘लादीको रोइला’ लघुकथामा पदलोलुप, लोभी, पापी, भाट राजनीतिक व्यक्तिप्रति व्यङ्ग्य गरिएको छ । ‘महामहिमको यात्रा’ लघुकथामा महामहिमहरूको भ्रमणमा रातारात सडक कालोपत्रे हुने गरेको र महामहिम नहिँड्ने सडकमा खाल्डाखुल्डी र डम्पिङ साइट भएको परिवेशप्रति व्यङ्ग्य गरिएको छ ।  

२.२ नारीवादी  

‘डेड इन्ड’ लघुकथामा आमाबुबाको चाहनामा बिहे गरिनुपर्ने नारीको पीडा व्यक्त भएको छ । ‘सुनको कोर्रा’ नारीवादी चिन्तन भएको लघुकथा हो । सुनको कोर्रा अथवा सम्पत्तिको मोहमा नारी माथि नियन्त्रण हुने परिवेशमाथि व्यङ्ग्य प्रहार गरिएको छ । ‘अचानोको चोट’ लघुकथामा संसारमा यौनका माध्यमले महिलामा हुने गरेको शोषण व्यक्त गरिएको छ । समाजशास्त्रीय विषय उठाएर ‘भ्यालेन्टाइन डे’ लघुकथामा नारी हक अधिकारका पक्षमा आवाज उठाइएको छ । ‘नवकन्या’ लघुकथामा छोराछोरी भनी छुट्याउने र छोरीप्रति विभेद गर्ने र छोरीको भू्रणमै हत्या गर्ने सामाजिक र मानवीय चरित्र एवं प्रवृत्तिप्रति घृणा प्रकट गरिएको छ । नारी समुद्र हो भन्ने भाव प्रकट भएको लघुकथा हो ‘सौतेनी माम्लो’ । ‘पीपलको सुस्केरा’ लघुकथा पीपलको बिम्ब–प्रतीकमार्फत समाजमा महिलाप्रति हुने विभेदको बारेमा छ । ‘बैसाखी’ लघुकथा महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने सन्देशका साथ लेखिएको छ । ‘वविताहरू’ लघुकथामा नारीका विविध रूपहरू अथवा सर्वशक्ति स्वरूपदेखि निरीह स्वरूपसम्म चित्रण गरिएको छ । ‘जन्मदाता’ लघुकथा आमालाई सुरक्षा गर्नुपर्छ भन्ने नारीवादी सोचका साथ लेखिएको छ । ‘काकीको पुनर्बिहे’ काकीको पुनर्बिहे दुराचार र नारीशोषणको कथ्य भएको लघुकथा हो । ‘भू्रण’ लघुकथामा समाजमा दिनप्रतिदिन छोरी भू्रणहत्याको घटना बढिरहेको छ । यो विकृति हो । समाजले छोराछोरीमा भेदभाव गर्व हुन्न भनी सुझाइएको छ । ‘कसको दोष ?’ लघुकथामा समाजमा पुरुष चरित्रहीन हुँदा केही नहुने र त्यही समाजमा स्त्रीलाई चरित्रहीन, पथभ्रष्ट वाइफाले भन्ने विभेदीय समाजप्रति व्यङ्ग्य गरिएको छ । महिला र पुरुषका बिचमा हुने विभेद ‘परमयात्रा’ लघुकथाले प्रष्ट पारेको छ । समाजमा महिलाले बढी परिश्रम गर्नुपर्ने वास्तविकताप्रति विद्रोह गरिएको लघुकथा हो ‘समानता’ । श्रीमतीले अलिकति मुण्टो उठाउन खोज्दा श्रीमान्लाई पत्नी पीडित भनी गरिने व्यवहारप्रति व्यङ्ग्य छ ‘पत्नी पीडित’ लघुकथामा । ‘खोजी’ लघुकथामा महिलाले समान समानताको लागि जीवनसाथी खोजेको प्रसङ्ग छ ।‘आमाको माया’ लघुकथामा आमाको माया निसर्त र मिठो हुन्छ भनी देखाइएको छ । ‘आमाको चिनो’ लघुकथामा आमाको नाक राख्न नै भए पनि समाजसेवा गर्नु पर्ने दृष्टान्त दिइएको छ ।

२.३ शैक्षिक विसङ्गति

घरेलु कामदार बालबालिकालाई शिक्षाको ज्योतिबाट वञ्चित गराउने समाजप्रति व्यङ्ग्य गरिएको लघुकथा हो–‘झरेका ताराहरू’ । ‘बौद्धिक खेती’ लघुकथामा बुद्धिजीवीहरूले स्वार्थ बोकिदिनाले देश धरातलमा पुगिरहेकोप्रति इंगित गरिएको छ । यसले बिकाउ बुद्धिजीवीमाथि व्यङ्ग्य प्रहार गरेको छ । निरीह मास्टर र पावरफुल विद्यार्थीको प्रसङ्ग झिकेर शैक्षिक विसङ्गति देखाइएको छ ‘पङ्गा’ लघुकथामा । ‘डल्लेको पढाइ’ लघुकथामा घरेलु कामदारलाई शिक्षाको ज्योतिबाट वञ्चित गराइएको विषयलाई कथ्य बनाइएको छ । समाजमा बालशोषण, अन्यायअत्याचार विभेद अहिले पनि विद्यमान रहेकोप्रति व्यङ्ग्य गरिएको छ ।  

२.४ सामाजिक असङ्गति

‘जमिनमा भासिएको क्षण’ लघुकथामा सभ्रान्तका सन्तान विदेश पढी उतै सेटल हुने र उनीहरूका मातापिता वृद्धाश्रममा बस्नुपर्ने वर्तमान नेपालको विडम्वनापूर्ण अवस्थाप्रति व्यङ्ग्य गरिएको छ । ‘विवेकी कुकुर’ लघुकथामा मान्छेभन्दा कुकुर इमानदाार भएको विम्बमा मान्छेप्रति व्यङ्ग्य प्रस्तुत गरिएको छ । ‘धुन्धुकारी’ लघुकथामा पूर्वीय मिथक–विम्बको प्रयोग गदै भ्रष्टाचारीप्रति व्यङ्ग्य गरिएको छ । धुन्धुकारी एक बाँसलाई विम्बका रूपमा पापी मन्त्रीको घरमा पुरयाइएको प्रसङ्ग घतलाग्दो छ । ‘खोलको करामत’ मा मान्छेका बहुरूपी चरित्रप्रति र ढोँगी, आडम्बरी मानवीय चरित्रप्रति व्यङ्ग्य गरिएको छ । ‘बेडा पार’ लघुकथामा मानवीय जीवनका बाध्यताहरू र व्यस्त मान्छेको नियतिलाई उजागर गरिएको छ । ‘एम्बुलेन्सको साइरन’ पूर्वदीप्ति शैलीमा अभिव्यक्त मुख्य कथानक भएको लघुकथा हो । यसले नेपाल बन्दले पारेको दण्डहीनताका पराकाष्टाको चित्रण गरेको छ । ‘पर्चपखान’ मा सहरीया मानवीय जीवनमा हार्दिकताको कमी हुने भन्दै उनीहरूलाई निष्ठुरी एवं कृतघ्न भनी झटारो हानिएको छ । मांसाहारी लघुकथामा मांसाहारी व्यक्ति शाकाहारी बनेपछि ढोँगी हुने गर्छ भनी व्यङ्ग्य गरिएको छ । तीजमा हुने खानेले गरेका तडकभडक, ढोंग एवं फुर्तीफार्तीको प्रभावमा आएर नहुनेले पनि ऋण काढेर तीज मान्ने प्रवृतिमाथि विमति प्रकट गरिएको छ ‘तीजको घोडा’ लघुकथामा ।  ‘किचकिचे’ लघुकथामा एक्काइसौंैं शताब्दीमा पनि नेपाली समाजको कुरौटे र किचकिचे छ । सो प्रवृतिमाथि प्रहार गरिएको छ । ‘भातैको कुरा’ सामन्ती बुर्जुवा ढोँगप्रति व्यङ्ग्य गरिएको छ । ‘हिंसक जनावर’ पशु अधिकारको कुरा उठाइएको लघुकथा हो । ‘सभ्य वस्ती’ लघुकथामा सभ्य भनाउँदाहरूको परिवेशमा असभ्य दृश्य देखिने विन्दुबाट हेर्दा सभ्य मान्छे नै अमानवीय असभ्य हुँदै गएको कथानक छ । धर्तीमा मान्छेमान्छेका बिचमा अपहेलना, हेपाइ भएकोप्रति विरोध गरेर लेखिएको लघुकथा हो ‘चित्रगुप्तको डायरी’ ।

२.५ वृद्धावस्थाका पीडा

‘खोर्सानीको बुटो’ लघुकथामा खोर्सानीको बुटोलाई विम्ब बनाएर विदेशिएका सन्तान र स्वदेशमा रहेका आमाबाबुको पीडा देखाइएको छ । सन्तानले आमाबाबु बिर्सेकाप्रति व्यङ्ग्य छ । वृद्धावस्थामा मान्छे सुकुम्बासी जस्तै बन्छ भनी ‘ओत’ लघुकथामा बताइएको छ ।

२.६ दार्शनिक जीवनवादी  

कर्म नै ईश्वर हो, मिहिनेत नै ईश्वर हो भन्ने सन्देश ‘ईश्वरको मृत्यु’ लघुकथामार्फत प्रकट गरिएको छ । यो दार्शनिक लघुकथा हो । ‘सागरजस्तो माया’ लघुकथामा विवाह भनेको जीवनको एक सम्झौता हो । माया भन्ने कुरा मतलबी हो भन्ने दर्शन प्रकट भएको छ । ‘नववर्षको शुभकामना’ जीवनवादी र सकारात्मक चिन्तन प्रकट गर्ने उद्देश्यले लेखिएको लघुकथा हो । ‘दोबाटाहरू’ जीवनमा आइपर्ने दोबाटाहरूका बारेमा धेरै कोणबाट हेरेर जीवनवादी बन्न पर्ने सन्देश दिएको लघुकथा हो । आफ्नै कलेजको सहकर्मी पियन पात्रको निधन हुँदा मलाम जान पनि नभ्याउने ट्युसने लेक्चररलाई विम्ब–प्रतीक बनाएर आजको असम्वेदनशील मान्छेप्रति व्यङ्ग्य गरिएको छ ‘सक्कली मलामी’ लघुकथामा । जीवन जटिल एवं कठिन छ तर पनि आशावादी चिन्तन ‘आशाको ज्योति’ लघुकथामा भेटिन्छ । ‘जन्मदिन’ लघुकथामा जीवनमा एकपल्ट मात्र कहाँ मर्न पाइन्छ र ? क्षणक्षणमा मान्छे मरिरहेको परिवेश देखाइएको छ । जीवनमा बाँचुञ्जेल केही न केही काम गरिरहने, यश, कीर्ति राख्न प्रयास गर्ने सन्देशको लघुकथा हो ‘बोझ’ । ‘तातो चिसो’ लघुकथामा यौन मनोविज्ञान र जीवनप्रतिका दृष्टिकोणहरू देखाउन खोजिएको छ । ‘ढिलो’ लघुकथामा ‘सधैं व्यस्त छु’ भन्ने मानवीय प्रवृतिमाथि व्यङ्ग्य गरिएको छ ।

 

२.७ साहित्यिक

‘भारा’ लघुकथामा मानवीय जीवनको जटिलता, बाध्यता–विवशता देखाइएको छ । कवि–कलाकारले भोग्ने जीवनको चित्र उतार गरिएको छ । ‘साहित्यको पनि दिन’ मा सही साहित्यकारहरूप्रति गरिने उपेक्षालाई देखाइएको छ ।  

२.८ प्रेम

‘परागका रागहरू’ प्रकृतिसँग मानवलाई तुलना गरिएको लघुकथा हो । यसमा भमराले गुलाबलाई चुसेर छोड्ने प्रवृत्तिमाथि कथानक बुनिएको छ ।निःसन्तान दम्पतीको प्रेमिल र दर्दनाक दुःखान्तको चित्रण गरिएको छ ‘चिसो जून’ लघुकथामा ।

 

२.९ डायस्पोरिक

‘डलरे’ लघुकथामा पहिले विदेश पठाउने र अनि डलरे भनेर होच्याउने प्रवृतिमाथि व्यङ्ग्य प्रहार गरिएको छ  । मानवीय चरित्रको पर्दाफास गरिएको छ । ‘डीएनए’ लघुकथामा विदेशिएर नेपाललाई विर्सने प्रवृतिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । डायस्पोरिक जीवनको पीडा र व्यथा प्रकट भएको लघुकथा हो –‘प्लेनको टिकट’ । डायस्पोराका नेपालीको मनोवैज्ञानिक पीडा ‘नेपाली’ लघुकथाले बोकेको छ । ‘कथाको कथन’ दन्त्यकथा भन्दै विदेशिएका नेपालीहरूलाई ‘आफ्नै माटोमा फर्की आऊ’ भनी आह्वान गरिएको छ । डायस्पोरामा देखिने वास्तविक जीवन ‘गाडीघर’ लघुकथामार्फत प्रस्ट पार्न खोजिएको छ ।

३. खेमराज पोखरेलको लघुकथाकारिताको विशेषता

 

लघुकथाकार खेमराज पोखरेलको लघुकथा लेखनमा धेरै खाले विशेषताहरू पाइन्छन् । उनका लघुकथाका कार्यपीठिकाहरू काठमाडौँ, पूर्वी तराई, अमेरिकाको टेक्सास आदितिर घुमिरहेकाझैँ लाग्छन् ।  

 

३.१ विचारप्रधान

खेमराज पोखरेल विचार प्रधान लेखक हुन् । उनका प्रायः आख्यानात्मक रचनाहरू विचारमा सशक्त सन्देशमूलक हुने गर्छन् । खेमराज आफ्नो पछिल्लो लघुकथासङ्ग्रह ईश्वरको मृत्य’ मार्फत विविध विचार प्रकट गर्न सफल छन् । समसामयिक विषय, डायस्पोरिक चिन्तन एवं नारीवाद पोखरेलका प्रायः लघुकथाहरूमा भेटिन्छ । प्रस्तुत सङ्ग्रह भित्रका ७१ लघुकथाको अध्ययनबाट खेमराज एक राम्रा चिन्तक, विचारकका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । मूलतः खेमराज पोखरेल, नेपालको समसामयिक, सामाजिक–राजनीतिमा विकृति– विसङ्गतिप्रति गम्भीर विमति राखेर व्यङ्ग्य प्रहार गर्छन् ।

 

३.२ सैद्धान्तिक रूपाधानमा केन्द्रित

प्रत्येक विधाका आआफ्ना तत्त्व हुने गर्छन् । तत्त्वमा केन्द्रित नभई लेखिएका कृतिलाई कृति नै मानिँदैन । लघुकथाको पनि आफ्नो सिद्धान्त छ । संक्षिप्ततामा प्रभावकारी, शब्दसीमा, च्वास्स अभिव्यक्ति, व्यङ्ग्य,  दृष्टिविन्दु, पात्र, परिवेश, कथ्य, सूक्ष्मता, शैली, एवं शीर्षक सार्थकता पर्छन् । कथातत्त्वझैं लागे पनि लघुकथामा सङ्क्षिप्तता व्यङ्ग्य एवं प्रभावकारी हुने गर्छन् । मूलतः अति छोटो आयाममा गहन कुरालाई सूक्ष्मतामा भन्नु नै लघुकथाको मूल उद्देश्य हुन्छ । खेमराज पोखरेल लघुकथाको सिद्धान्तमा केन्द्रित भएर लघुकथा लेख्ने स्रष्टा–सर्जक हुन् ।  

३.३ आत्मपरक

लघुकथाकार खेमराज पोखरेल आफ्ना कतिपय लघुकथाहरूमा आफ्नो कहानी बताएझैँ गर्छन् । उनी कतिपय लघुकथामा कथा पात्रझैं यताउति डुलेझैं लाग्छन् । खेमराजका केही लघुकथाहरू आत्मपरक संस्मरणात्मक छन् ।

३.४ संवादात्मक

संवाद भन्ने तत्त्व नाटक विधाका लागि अनिवार्य मानिन्छ । कथा विधामा पनि संवाद तत्त्व प्रयोग हुने गर्छ । खेमराजको प्रस्तुत लघुकथामा पनि संवादात्मक शैलीको प्रयोग गरी सशक्त र प्रभावकारी बनाएका छन् । संवादका कारण पनि पोखरेल लघुकथामा सशक्त देखिन्छन् ।

३.५ व्यङ्ग्यात्मकता  

लघुकथाको सैद्धान्तिक पक्षमा व्यङ्ग्यात्मकता पनि पर्छ । च्चास भनेर टुङ्ग्याउनी गर्ने काम गरिन्छ लघुकथामा । उनका लघुकथामा चारैतिर व्यङ्ग्यको झटारो पाइन्छ । समसामयिक सामाजिक–राजनीतिक व्यङ्ग्य, मानवीय चरित्रप्रति व्यङ्ग्य उनका लघुकथाहरूमा भेटिन्छन् ।  

३.६  चरित्रचित्रण

’ईश्वरको मृत्य’ लघुकथासङ्ग्रहमा थोरै पात्रको प्रयोग  छ । लघुकथाको सिद्धान्तमा एक–दुई–तीन पात्रको मात्र प्रयोग हुन्छ । तर पात्रको भूमिका लामो हुन्न । खेमराज पोखरेल लघुकथा सिद्धान्तका आधारमा पात्रविधान तयार गर्छन् । उनका पात्रहरू प्रायः निरीह– कमजोर –पीडित हुने गर्छन् ।

३.७ दृष्टिविन्दु

कथातत्त्वमा दृष्टिविन्दु अनिवार्य तत्त्व हो । लघुकथामा पनि यो आवश्यक तत्त्व हो । खेमराज पोखरेलले प्रस्तुत ईश्वरको मृत्य लघुकथामा प्रथम र तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरी आफूलाई क्षमतावान् लघुकथा–स्रष्टाको परिचय दिएका छन् ।  

३.८ भाषाशैली

भाषिक चातुर्य भएका खेमराज पोखरेलले प्रस्तुत लघुकथासङ्ग्रहमा छोटोमा गम्भीर कुरा गरेका छन् । कतैकतै त शब्दलाई नै वाव्यका रूपमा प्रयोग गरेर आफ्नो शब्दकला देखाउँछन् । आफ्ना लघुकथाहरूमा सरल, सरल वाक्य प्रयोग मात्र गर्दैनन् बरु अङ्ग्रेजी शब्द–वाक्य लेखनमा पनि रुचि देखाउँछन् ।  

३.९ राष्ट्रियता

ईश्वरको मृत्य’ लघुकथासङ्ग्रह भित्रका रचनाहरूमा माटो, नेपाल आमा, जन्मभूमि, नेपाली प्रकृतिका विषयक कथ्य छन् । राष्ट्रप्रति गम्भीर छन् । यसबाट यो पुष्टि हुन्छ कि खेमराज पोखरेल एक कटर राष्ट्रवादी लेखक हुन् ।  

३.१० वृद्धवृद्धाप्रति चिन्ता

प्रस्तुत लघु कथासङ्ग्रहमा रहेको जमिन भासिएको क्षण’ मा वृद्धवृद्धालाई सम्मान गर्ने भनिएको छ । अन्य केही लघुकथा पनि वृद्ध साहित्यसँग सम्बन्धित छन् ।

३.११ मानवीय जीवनका आडम्वर एवं ढोँगको चित्रण

प्रस्तुत ईश्वरको मत्यु लघुकथासङ्ग्रहका केही लघुकथाहरू मानवीय आडम्बर र ढोँगसँग सम्बन्धित छन् ।  

३.१२ बालशिक्षाको सन्देश

प्रस्तुत सङ्ग्रहका केही लघुकथाहरू बालवालिकाका शिक्षाका अधिकारका पक्षमा छन् । घरेलु कामदारलाई शिक्षाको ज्योतिबाट वञ्चित गर्न नहुने भन्ने सन्देश भएका लघुकथाहरू हुन् – झरेका ताराहरू र डल्लेको पढाइ ।  

३.१३  नारीवाद

प्रस्तत सङ्ग्रहका कतिपय कथाहरू नारीका पक्षमा बोलिएका छन् । नारी अस्तित्वका बारेमा छन् । नारीशोषण, विभेद एवं सशक्तीकरणका बारेमा खेमराज आवाज उठाइरहन्छन् । यस्ता लघुकथाहरू हुन् – समानता, भू्रण, भ्यालेन्टाइन डे, बबिताहरू, वैसाखी, डेड इन्ड र सुनको कोर्रा’ ।  

३.१४ डायस्पोरिक चिन्तन

खेमराज डायस्पोरामा बस्छन् । त्यहाँको पीडा भोगेका छन् । देखेका छन् । अतः उनले ईश्वरको मृत्यु लघुकथा सङ्ग्रहका केही लघुकथामा डायस्पोरिक जीवनको पीडा पोखेका छन् । ती लघुकथाहरू हुन् –प्लेनको टिकट, र गाडी घर ।  

३.१५ विभेद र शोषणको चित्रण

प्रस्तुत लघु कथासङ्ग्रहका केही लघुकथाहरूमा सामाजिक लैङ्गिक, श्रमशोषण एवं असमानतालाई देखाइएको छ । भू्रण र नवकन्या लघुकथामा छोराछोरी भनी लैङ्गिक विभेद गर्ने समाजलाई प्रहार गरिएको छ ।

३.१६ भ्रष्टाचारको विरोध

‘ईश्वरको मृत्यु’ लघुकथासङ्ग्रहका लघुकथामार्फत खेमराज पोखरेलले नेपालमा रहेको गम्भीर समस्या भष्टाचारप्रति प्रहार गरेका छन् । ‘सिस्टम’,‘कमिसन’ ‘माग्नेहरू’ भ्रष्टाचारविरुद्ध लेखिएका लघुकथा हुन् ।  

३.१७ समसामयिक सामाजिक–राजनीतिक विकृति–विसङ्गतिको चित्रण  

प्रस्तुत ईश्वरको मृत्यु लघुकथासङ्ग्रहका ‘काकाकुल’, ‘भू्रण’, ‘तीजको घोडा’ ‘बौद्धिक खेती’ आदि समसामयिक सामाजिक–राजनीतिक विकृति–विसङ्गतिसँग सम्बन्धित छन् ।  

३.१८ खस्कँदो मानवीय जीवन एवं मानवीय जीवनको जटिलता एवं निराशाको चित्रण

प्रस्तुत लघुकथासङ्ग्रह भित्रका लघुकथाहरूमा जीवनका जटिलता–निराशा भेटिन्छ । त्यस्तै मानवीय जीवनको चित्रण पनि पाइन्छ । खस्कँदो मानवीय जीवनको चित्रण भएको एक लघुकथाको रूपमा ‘विवेकी कुकुर’ लाई लिन सकिन्छ । ‘भारा’ लघुकथाचाहिँ जीवनको जटिलता निराशासँग समन्धित देखिन्छ ।

 

 

४. निष्कर्ष

 

नेपाली साहित्यको इतिहासमा लघुकथाको आफ्नो इतिहास छ । पाठक वृद्धिका हिसाबले वर्तमानमा लघुकथाले पनि दिनप्रतिदिन राम्रो स्थान पाइरहेको छ । लघुकथामा सूक्ष्मतामार्फत नै सामाजिक चिन्तन, जनजीवनको अध्ययन, सचेतना एवं व्यङ्ग्य प्रहार हुने गर्छ । नेपाली लघुकथाकारको हारमा टेक्ससमा रही साहित्यसेवामा लागिरहेका लघुकथाका चिन्तक खेमराज पनि छन् । उनी निरन्तर रूपमा जनजीवनको अध्ययन, चिन्तन– मनन गर्दै लेखनमा सशक्त प्रस्तुति दिन्छन् । झन्डै आधा दर्जन लघुकथाका पुस्तकाकार कृति प्रकाशित गराई आफ्नो सिर्जन–क्षमता प्रदर्शन गराउन सफल खेमराजले नेपाली साहित्यको लघुकथाको इतिहासमा आफूलाई अवलमध्येका एक सावित गराइसकेका छन् । जीवन जगतका यावत पक्षलाई उनी प्लट बनाइरहेछन् । नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा निस्वार्थ लागिरहेका खेमराजले ढिलो भए पनि समयको सही सदुपयोग गरिरहेका छन् । खेमराज हरेक विधामा सशक्त रूपमा प्रस्तुत हुन्छन् । कथालेखनमा त उनी उत्तर आधुनिक कथाधाराका अब्बलमध्येका एक नै मानिन्छन् । छोटो आयाममा रोचक एवं विचारप्रधान ÷संदेशमूलक कथा पस्किन सफल भएका छन् । यस्ता आख्यानकारको उपन्यास कृतिको पनि प्रवल सम्भावना देखिन्छ । उनीसँग देश परदेशको अनुभव छ । त्यसैले ती अनुभवहरू साहित्यमा मुखरित भएका छन् ।

खेमराज पोखरेलको पछिल्लो लघुकथासङ्ग्रह ईश्वरको मृत्युको अध्ययन पछि उनी विचारप्रधान लेखक, सैद्धान्तिक लघुकथाकार, व्यङ्ग्यात्मक, नारीवादी, समसामयिक लघुकथाकार भनी टिप्पणी गर्न सकिन्छ । नेपालको काठमाडौँ पूर्वी तराई एवं अमेरिकाको टेक्सस वरिपरि उनका लघुकथाका कार्यपीठिका हुन् । शोषित–पीडित निरीह पात्रहरू उनका लघुकथाहरूमा घुमिरहेका हुन्छन् । प्रायः कथाहरू उद्देश्यमूलक हुने गर्छन । व्यङ्ग्यात्मक शैली अपनाउँदै समाजलाई सजग गराउनु खेमराजको लघुकथागत विशेषता मानिन्छ । कतै प्रथम पुरुष त कतै तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग, त कतै संस्मरणात्मक त कतै  आत्मपरक त कतै सम्वादात्मक शैलीको प्रयोग लघुकथाहरूमा भेटिन्छ । कुनै कुनै लघुकथाहरू दुरुह, निरस एवं व्यङ्ग्यहीन पनि लाग्छन् । एउटै सङ्ग्रहमा धेरै लघुकथा राखेर पाठकलाई लादिएकोझैं पनि लाग्छ । केही लघुकथाको प्लट दोहोरिएकाले पाठकले झिँजो पनि मान्न सक्छन् । समग्रमा अन्य लघुकथा स्रष्टाझैँ खेमराम पोखरेल पनि सङ्क्षिप्ततामा व्यङ्ग्य, सङ्क्षिप्ततामा समसामयिक गहन कुरो गर्दै लघुकथा तत्त्वमा केन्द्रित रहेर रचना सम्पन्न गर्छन् । लघुकथा लेखनका लानि खेमराज जन्मिएझैँ महसुस हुन्छ –बेलाबेलामा । साहित्यको लघुकथा÷कथा एवं समीक्षा विधामा कलम चलाउने खेमराज पोखरेल अन्य विधामा पनि देखियून । शुभकामना ।  

प्रकाशित: २८ कार्तिक २०७७ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App