१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

जात–गोत्र, जाबालि–शम्बूक र आमाको नाममा नागरिकता

‘जोगीको जात नसोध्नू’ हिन्दूहरूको चर्चित उखान हो यो, जुन भारतमा पनि प्रचलित छ– जाति न पुछो साधु कि ।  

अझ सन्त कबिरका प्रसिद्ध पंक्ति छन्:  

जाति न पुछो साधु की, पुछ लिजिये ज्ञान ।
मोल करो तरवार का, पडा रहन दो म्यान ।।  

अर्थात् सज्जनको जात नसोध, सोध त उसको ज्ञान । मोल गर तरबारको, छाडिदेऊ म्यान ।  

सामाजिक कुरूप अवस्थाको व्यंग्यस्वरूप भारतीय नाटककार विजय तेन्दुलकर (इस्वी १९२८–२००८) ले नाटक लेखेका छन्– ‘जात ही पुछो साधु कि’ ।

खैर, उपरोक्त उखानको स्पष्ट ध्येय यो देखिन्छ– जोगीबाहेक जोकोही जात ज्ञात नभएका अपरिचितको जात सोध्नू । किनकि, जात सोध्न जरुरी छ । प्रश्न उठ्छ– जातचाहिँ किन सोध्ने ? विभेद गर्न ! कि परम्परा अनुसार चल्न ? के जात थाहा नपाई सम्बन्ध बन्दैन, वा लोक–व्यवहार चल्दैन ?  

निश्चय नै हाम्रो समाजमा विभेदकारी जात–व्यवस्था छ, सोहीबमोजिमको समाजको रीतिरिवाज पनि छ । जात व्यवस्था प्र्राकृतिक अवस्था होइन, मानव निर्मित हो । हिजो सत्ताको आडमा शास्त्र, नियम–कानुन बनाएर जात–व्यवस्था स्थापित गरियो, आज फेरि कानुन नै बनाएर यस विभेदकारी व्यवस्थाभित्र सामाजिक न्याय खोजिँदै छ । यसो गर्दा धेरै मुद्दामाथि बहस चलिरहेका छन् ।  

हिन्दू समाजमा जात एक्लो छैन, योसँग कुल–गोत्र पनि जोडिएर आउँछ । र, कुल–गोत्र सोध्ने कथा रामायणकालदेखि नै सुरु भएको देखिन्छ ।  

वाल्मीकि रामायणमा एउटा सर्ग छ । रामराज्यमा एक ब्राह्मण बालकको मृत्यु हुन्छ । बालकका वृद्ध पिता राजद्वारमा गएर विलाप गर्छन् । रामको कुनै दुष्कर्मको फलका कारण रामराज्यमा आफ्नो छोराको मृत्यु भएको हुन सक्ने उनको जिकिर हुन्छ । यो देखेर रामले सल्लाह लिनका लागि आफ्ना भाइ–भारदार, मन्त्री तथा महाजनहरूलाई बोलाउँछन् । जसमा आठ ब्राह्मण (मार्कण्डेय, मौदगल्य, वामदेव, काश्यप, कात्यायन, जाबालि, गौतम तथा नारद) पनि हुन्छन् ।  

नारदको राय हुन्छ, कुनै शूद्रले तपस्या गरेका कारण बालकको मृत्यु भएको हो । शूद्रले तपस्या गर्नु अधर्म हो, यसले अनिष्ट निम्त्याउँछ ।  

आज आएर हामीकहाँ जसरी आमाको नाममा नागरिकताको अभ्यास गर्नुपरेको छ, के हामी आमाको गोत्र वा वंश परम्पराको नयाँ अभ्यास गर्न सक्दैनौँ ?

आफ्नो राज्यमा कुन शूद्रले कहाँ तपस्या ग-यो भनी पत्ता लगाउन रामले पुष्पक विमानबाट नियाल्छन् । उनले शैवल पर्वतमा एक तपस्वीले कठोर तपस्या गरिरहेको देख्छन् । ती तपस्वीको छेउ पुगेर रामले सोध्छन्, ‘हे उत्तम व्रतको पालन गर्ने तापस ! तिमी धन्य छौ । यो दशरथकुमार राम तिम्रो परिचय जान्न जिज्ञासु छ । भन, कुन वस्तु पाउने इच्छाले तिमी यति कठोर तपस्या गरिरहेका छौ ? तिमी कुन योनिमा जन्म लियौ ? यस तपस्याबाट सन्तुष्ट हुने इष्टदेवतासँग तिमी के वर चाहन्छौ ? यो पनि बताऊ कि तिमी चार वर्णमध्ये कुन वर्णका हौ ?’

तपस्वीले आफ्नो नाम शम्बूक भएको, स्वर्गलोक पाउने इच्छाले तपस्या गरेको र शूद्र योनिमा आफ्नो जन्म भएको बताउँछन् । शम्बूकले यति भन्दानभन्दै रामले म्यानबाट चम्किलो तरबार निकालेर उनको घाँटी छिनाइदिन्छन् । रामको यस कर्मबाट देवताहरू प्रशन्न भएर पुष्पवृष्टि गर्छन्, अनि वर माग्न भन्छन् । रामले मृत बालकलाई जीवित गराउने वर माग्छन् । देवताको वर पाएर ब्राह्मण बालकले पुनर्जीवन पाउँछन् ।  

माथि रामले राय लिएका आठ ब्राह्मणमध्येका जाबालि ऋषि, जो संस्कृत साहित्यमा नास्तिक भनेर परिचित छन्, उनले उपरोक्त प्रकरणमा कस्तो राय पेस गरे भन्ने वाल्मीकि रामायणमा उल्लेख छैन । तर, उनले रामलाई वनवास नजान सल्लाह दिएको प्रसंग भने आउँछ । लोकायतिक अर्थात् भौतिकवादी उनको मत हुन्छ कि यस लोकबाहेक अर्को दोस्रो लोक छैन, धर्मका नाममा सुखलाई परित्याग गर्नेहरू केवल दुःख भोगेर मृत्युपछि नष्ट हुन्छन् । पितृका नाममा दान गर्नु अन्नको नाश हो । मानिसलाई दान दिने बनाउन बुद्धिमान मानिसले यज्ञ, पूजापाठ, सन्न्यासी–जीवन आदिको चर्चा गरेका हुन् । त्यसैले पिताका वचन वा धर्मका कुरा मानेर वनवास जानु उचित होइन ।  

तर, रामले मानिस आस्तिक हुनुपर्ने तर्क पेस गर्दै जाबालिको सल्लाह मान्दैनन् । यिनै जाबालि ऋषिको पनि जात (कुल÷गोत्र) खोजिनिती भएको कथा छ ।  

छान्दोग्य उपनिषद् अनुसार, जाबालि अध्ययनका लागि गुरुकुल जानुअघि आमासँग आफ्ना पिताको नाम र गोत्र सोध्छन् । उनकी आमाले भन्छिन्, ‘पुत्र ! मलाई तिम्रो पिताको नाम ज्ञात छैन । तिमी गर्भमा आएका बेला मैले थुप्रै पुरुषकहाँ दासीको काम गरेँ । मेरो नाम जबाला हो, तिम्रो नाम सत्यकाम । आचार्यलाई यो भन्नु कि म जबालापुत्र सत्यकाम हुँ ।’

जाबालिले हारिद्रुमत (हरिद्रुमान्का पुत्र) गौतम (गोत्री) कहाँ गएर भने, ‘भगवन् ! म यहाँसँग ब्रह्मचर्य ज्ञान लिन चाहन्छु ।’  

आचार्यले गुरुकुलमा भर्ना गर्नुअघि जाबालिसँग पिताको नाम र गोत्र सोधे । जाबालिले आमाले जे भनेकी थिइन्, त्यही जस्ताको तस्तै बताए । आचार्यले भने, ‘यति सत्य कुरा ब्राह्मणबाहेक अर्कोले भन्न सक्दैन । त्यसैले म तिमीलाई उपनयन (यज्ञोपवीत संस्कार) गराउँछु ।’  

पुत्र ! मलाई तिम्रो पिताको नाम ज्ञात छैन । तिमी गर्भमा आएका बेला मैले थुप्रै पुरुषकहाँ दासीको काम गरेँ । मेरो नाम जबाला हो, तिम्रो नाम सत्यकाम । आचार्यलाई यो भन्नु कि म जबालापुत्र सत्यकाम हुँ ।

आफ्नो बारेमा सत्य बोलेकाले जाबालि ब्राह्मण ठहरिन्छन् । उनले गोत्र के पाए भन्नेबारे थप चर्चा त्यहाँ गरिएको छैन । उनले कुन गोत्र पाए वा उनी कसका पुत्र भए भन्ने प्रसंग अरू पौराणिक कथाहरूमा होला, तर यो पंक्तिकार जानकार छैन । यद्यपि, गोत्र ज्ञात नहुने वा निर्णय नहुनेलाई काश्यप गोत्रमा राख्ने, पुराण निर्णय नहुने धार्मिक कथालाई स्कन्दपुराणमा गाभ्ने चलन पाइन्छ । जाबालिको हकमा पनि यस्तै केही भयो कि ?  

जेहोस्, जाबालिको गोत्र प्रसंगले आज हामीबीच रहेको जातीय विभेद र ‘आमाको नाममा नागरिकता’ मुद्दामा केही जटिलतातर्फ संकेत गर्छ । तर, यसप्रति धेरै (अधिकारकर्मी नै) चनाखो भएका देखिँदैनन् ।  

हामीले जहाँसम्म पुगेर सोच्न छाडेका हुन्छौँ, त्यहाँबाट अरू कसैले सोचेको हुन्छ, त्यहाँभन्दा पर ठूला समस्या र सम्भावना पनि हुन सक्छन् । धेरैलाई लाग्न सक्ला, रामायण कालको मिथकलाई लिएर किन सोच्ने ? यस्तो प्रश्न वर्ण–व्यवस्था मान्ने र आफ्नो गोत्र कुनै ऋषिको नाम बताउनेले अवश्य गर्दैन । अन्यको प्रश्नको जवाफमा माथिका प्रसंगसँग मिल्ने वर्तमानका केही सन्दर्भको चर्चा गरौँ ।  

इलाम–५ वरबोटेका ११ वर्षीय विकास कार्कीढोली (दर्जी)लाई झापाको भद्रपुरस्थित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमले भर्ना लिन मानेन, दलित भएका कारण । र ०७५ जेठमा दलितहरूले आन्दोलन गर्नुप¥यो । त्यस्तै, गत भदौमा बाग्लुङ नगरपालिका–४ स्थित मुक्तिनाथ संस्कृत गुरुकुलमा दलित र जनजातिलाई पढ्न दिन नहुने भन्दै स्थानीय ब्राह्मण–क्षत्री समुदायले विरोध गरेको भिडियो आयो । यसको कारणमा आउँछ, गुरुकुलको शिक्षा ब्राह्मण–क्षत्रीका लागि मात्र हो, अन्य (कथित नीच) वर्णका लागि होइन ।  

अर्को तथ्य, राम वा शिव लगायत मन्दिरमा दलितहरू कुटिएका समाचार हाम्रा लागि नौला होइनन् । के यी घटना शास्त्रीय मान्यतासँग जोडिएका छैनन् ? समाज धर्म र कानुनले चल्छ । धर्मले विभिन्न संस्कार, परम्परा, आस्था–विश्वास, मूल्य–मान्यता निर्माण गरेको हुन्छ । धार्मिक परम्परा र मान्यताकै कारण हिन्दू समाजमा जात र गोत्रको उच्च स्थान छ । नितान्त व्यक्तिगत वा सामूहिक आस्था वा मानसिकता नै सही, हिन्दू समाजमा कथित उच्च जातको र नामुद ऋषि नामक गोत्रको हुनुलाई गर्वका रूपमा लिइन्छ । वर्ण व्यवस्थाको प्रमुख चरित्र भनेकै मानिस जातका आधारमा ठूलो–सानो हुनु, विवाह एउटा नियममा रहेर गर्नु र सन्तानले पिताको थर–गोत्र पाउनु हो । कुल–गोत्र स्पष्ट नभएको व्यक्तिलाई समाजमा कुनै स्थान हुँदैन ।  

आमाको नाममा नागरिकता लिनु भनेको आमाकै नाम–थर÷जात पाउनु हो, जसमा बाबुको नाम–थर÷जात आवश्यक नहोस् । थर त एउटा कुरा भयो, हिन्दू संस्कारमा विवाहका लागि जात–गोत्र मिल्नुपर्छ । कतै–कतै थर फरक तर गोत्र एउटै भएको अवस्थामा पनि विवाह चलाएको पाइन्छ । यद्यपि हिन्दू समाजमा सगोत्री विवाह वर्जित नै छ । अब भन्नुस्, आमाको नाममा नागरिकता लिएका र बाबुको थर–गोत्र नपाएका (बाबु अज्ञात भएका)ले आमाको थर लिएसँगै गोत्र के लिने भन्ने प्रश्न उठ्दैन ?  

कतिपय व्यक्ति विशेषको हकमा गोत्र आवश्यक छैन, नभए पनि चल्छ भन्ने हो भने यसमा कानुन बोल्नुपर्छ । नत्र कुनै व्यक्ति विशेषले समाजमा दोस्रो दर्जाको नागरिक बन्ने अवस्था आउन सक्छ । कसैले आमाको नाममा नागरिकता पाउनु धेरै सुन्दर कुरा हो । तर, आमाको नामको नागरिकता लिएको र बाबुको जात÷थर–गोत्र नपाएको कुनै व्यक्तिमाथि कुनै पनि प्रकारको विभेद हुनु न्यायसंगत होइन । विवाहका बेला वा समाजमा हुने कुनै संस्कारजन्य कर्मका बेला उसको जात–गोत्रको प्रश्न उठ्न सक्छ । गाउँ–ठाउँमा केही यस्ता प्रश्न उठेकोबारे यस पंक्तिकार जानकार छ, जुन यहाँ उल्लेख उपयुक्त हुँदैन ।  

हाम्रो संविधानको ‘छुवाछुत तथा भेदभावविरुद्धको हक’ (३) मा उल्लेख छ, ‘उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, ...जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार–प्रसार गर्न पाइने छैन ।’

यहाँनेर ‘उत्पत्ति’ भन्ने जुन शब्द छ, त्यसले व्यक्तिको जन्मलाई स्पष्ट संकेत गर्ने बुझिन्छ । यही शब्दलाई टेकेर व्यक्तिले आफ्नो इच्छाले (हुन सक्छ, एउटा नियममा रहेर) थर–गोत्र राख्न पाउने, कानुनबमोजिम आफ्नो इच्छाले जो–कोहीसँग कागजी बिहे गर्ने र बिहे खारेज गर्ने व्यवस्था हुने हो भने आमाको नामको नागरिकता लिएका वा बाबु अज्ञात भएका व्यक्तिलाई धेरै सहज हुनेछ ।

अहिले हाम्रो प्रशासनिक अभ्यासअनुसार व्यक्तिका परिचय खुल्ने कागजात (नागरिकता)मा थर मात्रै लेखिन्छ । व्यक्तिको जात वा गोत्र मुखले वा समाजले भनेका आधारमा मानिन्छ । जस्तोः बाहुन र क्षत्री दुवैले कोइराला थर लेखेको देखिन्छ । खस–आर्यमा जात फरक भए पनि गोत्र एउटै हुन सक्छ ।  

खैर, यस आलेखको ध्येय बाबु ज्ञात हुनुपर्छ, वा बाबुको थर–गोत्र पाउनुपर्छ भन्ने होइन, वास्तवमा नौ महिना गर्भमा राखेर जन्म दिने आमाले नै आफ्ना सन्तानलाई पुरुषले जस्तै गोत्र वा वंशको हक दिने प्रथा हुनुपथ्र्यो, जो खड्किएको महसुस मात्रै हो ।  

हिन्दू समाजमा मात्र होइन, विश्वका जुनसुकै समाज वा समुदायमा विवाहका आ–आफ्नै नियम हुन्छन् । आदिम समाज, जो समूहमा बस्थ्यो, जहाँ अव्यवस्थित यौनसम्बन्ध हुन्थ्यो, त्यतिबेला आमाको मात्रै पहिचान हुन्थ्यो, बाबु को हो भन्ने चिनिदैनथ्यो । जब विभिन्न समाज विकसित हुँदै गए, तिनले खुला यौन (विशेषतः हाडनाताभित्र)लाई प्रतिबन्ध लगाउँदै सबैभन्दा बढी यौन र विवाहसम्बन्धी नै नियम बनाए । आज आएर हामीकहाँ जसरी आमाको नाममा नागरिकताको अभ्यास गर्नुपरेको छ, के हामी आमाको गोत्र वा वंश परम्पराको नयाँ अभ्यास गर्न सक्दैनौँ ? संविधानको महिलाको हकमा उल्लेख छ, ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ ।’  

यहाँ उल्लिखित ‘वंशीय हक’ले आमालाई गोत्र वा वंश परम्परा चलाउने हक दिन्छ कि दिँदैन ? यो पनि बहसको विषय छ । जहाँसम्म विवाहमा हाडनाता वा रक्तसम्बन्ध छल्ने कुरा छ, यसमा गोत्र प्रथा कति वैज्ञानिक छ भन्ने प्रश्न पनि उठेको छ । खुला दृष्टिकोणले हेर्दा, फरक–फरक जाति वा समुदायमा विवाह गर्दा नै रक्तसम्बन्ध छल्न सकिएला । यस्तो विवाहका लागि हामीलाई कानुनले अधिकार दिएकै छ ।

अर्को कुरा, यो विज्ञानको युगमा ‘डिएनए’ पनि विवाहको एउटा आधार हुन सक्छ । यद्यपि, हाडनाता र रक्तसम्बन्ध हेर्न एक खालको वंशीय परम्परा आवश्यक देखिन्छ । जसरी रामायण कालकी जबालाले आफ्ना छोरालाई जाबालि बनाइन्, त्यसरी नै आज वंशीय परम्परामा आमालाई पनि हक दिने कुनै नयाँ व्यवस्था कायम गर्न सकिन्छ कि भन्ने यस आलेखको प्रयोजन हो । 

प्रकाशित: २२ कार्तिक २०७७ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App