९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

नवदुर्गा जात्रा हेर्न जाँदा

बाल्यकाल

सूर्यप्रसाद लाकोजू

 

म नेवार कुलमा जन्मेको मान्छे । हरेक महिना कुनै न कुनै चाड हामी मनाइरहन्छौ । सामान्य चाडमा पनि समय्बजी खाने हाम्रो प्रचलन छ । सानैदेखि चाडवाडमा खूब रमाइलो लाग्थ्यो । त्यसमा पनि अझ ठूला चाडपर्व आउने समय भयो भने मनमा एक प्रकारको उत्सुकता, रमाइलोपन छाइरहन्थ्यो । हुन त अहिले जस्तो मनोरञ्जनका साधनहरू त्यसबेला नभएर पनि होला । हामी बालकै छँदा टेलिभिजन थिएन । मोबाइल हुने कुरै भएन । मोबाइल नभएपछि अहिलेको जस्तो सामाजिक संजाल पनि हुने कुरै भएन । रमाइलो गर्ने भनेकै साथीहरूसँग खेल्ने अनि चाडवाड मनाउने हुन्थ्यो । कुनै चाड आउन लाग्यो भने हामी बच्चाहरू औंला गनेर बस्थ्यौं । बाल्यकालमा अहिलेको तुलनामा साथीहरूसँग भेटघाट भने बाक्लो हुन्थ्यो । साथीभाइसँग खेल्दा कहिलेकाहीँ झगडा पनि पथ्र्यो । तर माया पनि गहिरै हुन्थ्यो । त्यसबेलाको माया देखावटी हुन्नथ्यो । यहाँ मेरो स्मरणमा ताजै रहेको सांस्कृतिक पर्वमा घटेको एउटा घटनाका बारेमा छोटो लेख्दैछु ।

हाम्रोमा वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुन्छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ डवलीहरूमा नृत्य देखाउने गरिन्छ । नवदुर्गाको आगमन हुँदा  नगरका वासिन्दाहरूले  आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्न जाने गर्दछन् । श्रद्धालु भक्तजनहरूले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुन्छ ।  

नवदुर्गा पर्वको मुख्य आकर्षण ङा लाकेगु अर्थात् माछा मार्ने जात्रा हुन्छ । योे माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजाको तालमा  नाच प्रस्तुत हुने गर्दछ । ङालाकेगु नाच प्रदर्शनका लागि सिम्बः, दुम्बः देखा पर्छन् । पहिलो चरणमा दुम्बःले मात्र ङालाकेगु गर्ने गर्दछ  । माछा मार्ने जात्रा सुरु हुनुअघि वरपर पैसा माग्ने पनि गर्दछ । त्यपछि  ङा लाकेगु अर्थात् माछा मार्ने जात्रा प्रारम्भ हुन्छ । यो जात्रामा पहिला दुम्बले ङा लाकेगु अर्थात् माछा मार्ने जात्रा गर्दछ । यो जात्रा हुँदा मान्छेहरूलाई देवताले लखेट्ने गर्दछ । यसरी लखेट्दा दुम्बदे समात्यो भने दशा लाग्छ भन्ने जनधारणा रहेको छ ।  

दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ । नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । सो नृत्यमा देवी महाकालीले श्वेतभैरवको ओढ्ने लिन्छन् । आफ्नो ओढ्ने पुन प्राप्तिका लागि श्वेतभैरवले नाचेर विभिन्न हाउभाउ देखाउँदै कुखुराको भाले दिएर फकाउँछन् अनि आफ्नो लुगा फिर्ता लिन्छन् । श्वेतभैरवले वरपर गएर पैसा मागेर भाले किनेर ल्याइदिएपछि बल्ल महाकालीको क्रोध शान्त हुन्छ । त्यसपछि श्वेतभैरवले आफ्नो ओढ्ने फिर्ता पाउँछ । त्यसपछि श्वेतभैरबको माछा मार्ने क्रम प्रारम्भ हुन्छ । ङा लाकेगु जात्राका क्रममा श्वेतभैरवे मान्छेरूपी माछा समात्न खोज्छन् । जात्रामा समावेश भएका व्यक्तिहरू  मुखमा हातले थपथपाएर “हावावा...हावावा..“ गर्दै   भाग्छन् । यसरी भागेकाहरूलाई श्वेतभैरवले पक्रन खोज्छन् । यसरी जात्राको क्रममा देवगणद्धारा पक्रियो भने अपसकुन हुने डरले मान्छेहरू कुलेलम  ठोक्छन् ।

नवदुर्गाको पासुका ( एकप्रकारको धागोको माला) र मोहनी ( कालोटीका ) लगाउन पनि हामी रहर गथ्र्यौ । त्यसरी पासुका र मोहनी लगाउन पाउँदा हाम्रो खुशीले आकाशछुन्थ्यो ।

संक्षेपमा भन्दा यो जात्रा निकै रोचक र मनोरम खालको छ ।  माछा मार्ने जात्रामा हामी पनि “हावावा...हावावा..“ गर्दै   भाग्थ्यौं । त्यसरी भाग्दा  मनैदेखि रमाइलो लाग्थ्यो हामीलाई । 

नवदुर्गा पनौतीमा बाहेक काभ्रेको धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायतका स्थानहरूमा पनि लाग्ने प्रचलन छ । पनौतीमा ल्याउनुभन्दा अगाडि बनेपामा ल्याउने चलन थियो । त्यहीबाट यहाँ ल्याउने प्रचलन थियो । यहाँ ल्याएर जात्रा सकिएको लामो समयसम्म पनि हामी बच्चाहरू कपडाको थानमा आउने एक प्रकारको बाक्लो कागजमा मुकुट बनाएर नवदुर्गा देवगणको नक्कल पार्दै खेलेको स्मरण पनि वैलिएको छैन । 

एक पटकको कुरा हो । हामी साथीहरू खेल्दै गर्दा नवदुर्गा जात्राको प्रसङ्ग चल्यो ।  पनौतीमा नवदुर्गाको आगमन हुने दिन घट्दै थियो । केही दिनपछि बनेपामा ल्याउने कुरा एकजना साथीले आफ्नो अभिभावकबाट सुनेको रहेछ । त्यसपछि माछा मार्ने जात्राका दिन त्यहाँ जाने हाम्रो सल्लाह भयो । हुन त हरेक वर्षजस्तै हामीभन्दा ठूला दाइहरू त्यहाँ गएर जात्रा मनाएर आउँथे । अनि हामीलाई त्यहाँका कुरा सुनाउँथे । हामी बनेपासम्म जानसक्ने गरी ठूला भएका थिएनौ कि भन्ने लाग्छ अहिले । तर त्यो बेला गयौं । हामी फुच्चेहरूको कत्रो आँट ?  

त्यो सांस्कृतिक परम्पराले हाम्रो कलिलो मनमा ठूलो प्रभाव पारेको थियो । त्यहाँ जानुको हाम्रो एउटै धेय थियो नवदुर्गा भवानीको जात्रा हेर्ने चाहना र त्यो जात्राप्रतिको हाम्रो श्रद्धा । त्यसबेला हामी तीन जना गएका थियौ । म र मेरा दुईजना टोलका मिल्ने साथी ।  हामी तीन जनामध्ये उमेरमा म कान्छो थिएँ । दुईजना अलि ठूला थिए । पनौतीदेखि बनेपासम्म झन्डै ६ किलोमिटरको बाटो हामी हिंडेरै पुग्यौ । पैसा थिएन । घरमा भनेर गएका पनि थिएनौ । दिनभर घर बाहिर टोलमै साथीहरूसँग खेलेर बस्ने भएको हुनाले साँझसम्म घरभित्र छिर्न सकियो भने बनेपा गएर आएको कुरा थाहा हुने कुरा पनि भएन । यही सोचेर हामी गयौं । जाँदा त भोक पनि लागेन, हिंडियो ।  हामी बनेपा बजार पुग्दा त्यहाँ जात्रा चलिरहेको थियो । केही बेर जात्रा हेरेर रमायौं । नवदुर्गाको पूरै नाच हेर्न सक्ने अवस्थामा हामी थिएनौ । फर्केर बेलैमा घर पनि पुग्नु थियो । त्यसैले हामी केही समयपछि त्यहाँबाट फक्र्यौ ।  

जात्रा हेरेर फर्कने बेलामा भने मलाई हिंड्न गारो भयो । खुट्टा दुख्न थाल्यो । मैले साथीरूलाई भने, “मलाई त खुट्टा दुख्यो, हिंड्न सक्दिनँ ।”

“बिस्तारै हिंड न ।” एकजनाले जवाफ फर्कायो । ऊ अलिक चलाख पनि थियो । केही समय हिंडेपछि मैले भने, “ मलाई त गाह्रो भयो । एकछिनपछि अलि आराम भयो भने हिंडुँला । अहिले तिमीहरू दुईमध्ये एकजनाले परसम्म मलाई बोकेर लैजाऊ । त्यसपछि हिंड्न सकियो भने हिंड्छु ।”

बोक्न दुवैले आनाकानी गरे । मैले भने, “हेर मलाई जाऔ भनेर तिमीहरूले ल्याएको त हो नि । म यहीं बस्छु । घर पुगेर तिमीहरूले फकाएर लगेको कुरा मेरो बुबालाई भन्छु ।” यति भनेपछि साथीहरू अलि गम्भीर  भए । हामी तीनमध्ये पनि सबैभन्दा ठूलाले अर्कालाई अह्रायो, “लल पहिला तिमी बोक । त्यसपछि म बोक्छु ।”  

विचरा माहिलो साथीले मलाई बोके ।  हामी तीन साथीमध्ये निक्कै चलाख थियो जेठो । त्यो बेलामा अहिले जस्तो यातायातको राम्रो सुविधा थिएन । जर्मन मिनिबस चल्थ्यो काठमाडौदेखि पनौतीसम्म । तर आउने र जाने समय निश्चित थिएन । त्यही मिनिबसको पछिल्तिर बसको छतमा चढ्ने सानो भ¥याङ् हुन्थ्यो । आकलझुकल आउने जर्मन मिनिबसको भ¥याङ समातेर फुत्त चढ्थ्यो त्यो र केही परसम्म जान्थ्यो । खलाँसीले देखेपछि गाली गरेर ओराल्थ्यो । हामी लुखुरलुखुर त्यसरी हिंडेर आए पनि यात्राभरि भेटिएका कुनै गाडीले पनि न हामीलाई राखेर ल्याए न हामीले गाडी रोकेर चढ्ने प्रयास गर्दा गाडी नै रोकियो । बस् हामी हिंडिरह्यौ... हिंडिरह्यौ..... ।  

यता मलाई बोक्ने साथी थाकिसकेका थिए । अर्को उमेरले जेठो भने फेरि कुन बस आउला र झुन्डिएर केही परसम्म जाउँला भन्ने ध्याउन्नमा थियो । यता साथी मलाई मात्र बोकाउने हो भन्दै रिसाएर करायो । धन्न त्यति रिस उठे पनि उनले मलाई केही भनेन् । केही समयपछि हिंड्छु भनेको होइन ? अर्को साथी कड्कियो । हुन्छ म सके हिंड्छु भन्दै केही परसम्म हिंडें । मलाई मात्र बोकायो भनेर बोक्ने साथी रिसाइरहेको थियो । फेरि त्यो मेरो छट्टू साथीलाई तह पनि लगाउनु थियो । खुट्टा पनि अलिअलि दुखेकै थियो । केही पर पुगेपछि म थचक्क बसें र मैले भने, “ल अब तिम्रो पालो । म त हिंड्न सक्दिनँ । अघि उसले त्यत्रो बाटो बोक्यो । अब तिमीले बोकेर लैजानु ।” 

मुख निन्याउरो पार्दै उनले बोक्न थाल्यो । उनले बोकेर ल्याउँदा हामी सुब्बागाउँ कटिसकेका थियौं ।  

“अब त हिंड ।” साथीले भन्यो ।  

“होइन साथी मलाई एकदम खुट्टा दुख्यो । अब केही बेर बोक । त्यसपछि हिंड्छु ।” मैले भने ।

बोक्न त  उसले पनि धेरै बोक्यो । मैले उसलाई फकाएर भोलि म तिमीलाई बुबासँग पैसा मागेर नाङ्गा चकलेट खुवाउँछु नि भनेर फकाएँ । त्यो बेलामा पन्ध्र पैसा जाने नाङ्गा चकलेट खूब चल्तीको थियो । जति चलाख भए पनि साथी चकलेट खाने लोभमा फस्यो र मलाई बोक्न थाल्यो । पनौतीको बसपार्क आउनै लाग्दा  म हिंड्न थालें । हाम्रो घर बजारमै थियो । हामी घर पुग्दा साँझ पर्न लागेको थियो । बिदा भई आआफ्नो घर जाने बेलामा साथीले मलाई चकलेट खुवाउने बाचा सम्झाए ।  म हाँसेर घरतिर लागें ।

त्यसरी बोकेर ल्याउनुमा चकलेटको लोभ वा अभिभावकलाई भन्ला भन्ने डरभन्दा पनि साथीहरूको मप्रतिको स्नेह हो जस्तो लाग्छ मलाई अहिले ।

प्रकाशित: १८ कार्तिक २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App