२० असार २०८१ बिहीबार
image/svg+xml
कला

टेलिभिजनको चर्चा

 सूर्य लाकाजू

 

‘बस्न पायो भनेर  थ्याच्च नबस्नु, बोल्न पायो भनेर प्याच्च नबोल्नु’ भन्ने बूढापाकाहरूको दिव्यवाणीको अर्थ आज म बुदैछु । त्यस्तै बन्दुकबाट निस्केको गोली र मुखबाट निस्केको बोली फेरि फर्कंदैन भन्ने कुरा पनि सुन्दै आएका हौं । यसै विषयसँग मिल्ने एउटा बाल्यकालीन सन्दर्भ यहाँ मैले जोड्न चाहें ।

मेरा बा किसान हुनुहुन्थ्यो । हामी सानैदेखि घरबाट खेत, खेतबाट घर गर्दै रमाउँदै हुर्किएका हांै ।  असारमा रोपाइँ हुँदा हिलो छ्यापेर खेलेको हिजोजस्तै लाग्छ । खेतमा धान रोप्ने बेलामा हामी सानाहरूको काम धानको विउ ओसार्ने हुन्थ्यो । आलु रोप्ने सिजनमा आलुका विउ राख्ने काम हामी गर्दथ्यौं । बुबाहरूले कोदालोले आलु रोप्ने ब्याडमा खाल्टो बनाइदिनुहुन्थ्यो । हामी भने ती खाल्डोमा आलुको टुक्रा बिउ खसाल्दै हिंड्थ्यौं । आलु रोप्ने सिजनमा हिउँदे बिदा पथ्र्यो । धान रोप्ने सिजनमा वर्षे विदा । त्यसैले आमाबाको काममा सघाउन पाउँदा मलाई व्यक्तिगत रूपमा रमाइलो लाग्दथ्यो । सानो छँदा पढाइमाभन्दा यस्तै काममा रमाइलो लाग्थ्यो । तर पढाइ भएको बेलामा आफूहरूलाई जस्तो गारो पर ेपनि हामीलाई गर्छुभन्दा पनि कहिल्यै काम गराउनुभएन ।

आमाबाका हामी तीन भाइ मात्र । दिदीबहिनी थिएनन् । कहिलेकाही आमाबा बिहान पनि खेतमा जानुपर्ने हुन्थ्यो । भाइहरू साना थिए । त्यसैले घरमा बिहान बढार्ने, पूजा गर्ने काम आफैंले   गर्थें । त्यो बेलामा अहिलेजस्तो हाम्रोमा चिया खाने चलन थिएन । हामी बिहान बुलुः खान्थ्यौं । बुलुः एक प्रकारको चामलको पिठो हो । यस प्रकारको पिठोमा चामलका साथै विभिन्न गेडागुगुडीहरू मिसाइएका हुन्थे । त्यही पिठो घिउमा भुटेर केही क्षणपछि पानी हालेर उमाली खाने चलन थियो । हामी पनि बिहान त्यही बुलुः खान्थ्यौं । चिया खान थालेको पछि मात्रै हो । सानैदेखि खाना पकाउने सौख थियो मलाई । बिहानको खाना पकाएर राख्थें म । मेरो काम देखेर मेरा बा र आमा खुशी बन्नुहुन्थ्यो । खानाका परिकार बनाउने सोख अहिले पनि हराएको छैन । मेरो मइलो भाइ भने खाना बनाउने पालो तिम्रो भनेपछि तर्सन्थे । उनलाई अर्को कुनै काम गराउनुप¥यो भने तिमी आज खाना बनाउनु भन्नुहुन्थ्यो आमा । खाना बनाउने काम गर भन्नेबित्तिक्कै अरू जस्तोसुकै कठिन काम पनि गर्न मान्थ्यो भाइ । मेरो माइलालाई खाना बनाउन भनेपछि अहिले पनि ज्वरो आउँछ ।

खेतीकै सन्दर्भमा कुरा गर्दा  अन्य समयभन्दा धान काट्ने समय मलाई औधी मनपर्छ । शरद ऋतुको याममा फाँटभरि धानका बाला लहलह झुलेको देख्दा मनभरि आनन्दको सयपत्री फुल्ने गर्दछ । वरपर वास्ना छर्दै लहलहाएका धानका बाला देख्दा हृदय नै शीतल भएको अनुभूत गर्छु म । म असारमा जन्मेको । मानो रोपेर मुरी फलाउने सपना देख्ने बेलामा । किसानले आफ्नो दश नङ्ग्रा खियाएर माटोमा पसिना पोखेर मंसिर ल्याउने नौलो कल्पनाको सागरमा आफूलाई डुबाउने बेलामा जन्मेकाले हो वा किन धान काट्ने समय मलाई अन्य समयभन्दा भिन्न लाग्छ । त्यसैले  आफ्नो खेतमा धान काट्दा मात्र होइन आफन्तहरूकोमा धान काट्ने बेलामा पनि म जान्थे । सानोमा धान काट्न वा धानको अँगालो बोक्न सकिंदैनथ्यो तर खानका लागि पानी ल्याइदिन र हामी सुहाउँदो अरू कामा म सघाइदिन्थें । त्यो बेला स्कुलमा पनि दशैं–तिहारका बिदा हुन्थ्यो । त्यसैले स्कुलको टेन्सन पनि हुन्नथ्यो । 

धान काट्ने समयमा मलाई रमाइलो लाग्ने अर्को पक्ष भनेको परालको कुनिउमा बसेर खाजा खानु । यसरी खाजा खाँदा मनै हरर.. भएको अनुभव हुन्थ्यो मलाई । एकपल्टको कुरा हो । मेरो ठूलो फुपूको खेतमा धान काट्ने दिन थियो । उहाँको घर पनि पनौतीमै हो, हाम्रोभन्दा केही पर । आमाबा पनि धान काट्न सघाउन जानुभएको थियो । केही समयपछि मध्यान्हतिर म पनि गएँ । धान काटेर सकिएपछि खाजा खाने समय भयो । सबै जना खाजा खान थाले । म पनि कुनिउमा बसेर खाजा खान थालें । त्यसबेला भर्खर पनौतीमा टेलिभिजन भित्रिएको थियो, पनौतीका ठूला साहुको घरमा । अरू कसैले टेलिभिजन देखेकै थिएनन् तर टेलिभिजनको चर्चा पनौतीमा चुलिएको थियो । खाजा खाने क्रममा टेलिभिजनकै कुरा उठ्यो । म त सानै थिएँ । त्यो बेलामा म कक्षा पाँचमा पढ्थे होला सायद ।  कुरैकुरामा एकजना काकाले भन्नुभयो, “ साँच्चै टेलिभिजनमा केके हेर्न सकिन्छ?” एकजनाले जवाफ दिए राजारानी देखिन्छ । अरूले पनि थप्दै गए । कसैले टेलिभिजनको आकारका बारे जिज्ञासा राखे । कसले केके भने सबै याद भएन तर एकजना अलिक नेताजस्तो बन्नुपर्नेले ठालु पल्टँदै भने, “टेलिभिजनको आकारअनुसार फरकफरक कुरा प्रसारण हुन्छ । सानामा सानै कुरा आउँछ भने ठैलो टेलिभिजनमा ठूलै कुरा आउँछ । सबैभन्दा ठूलो टेलिभिजनमा राजारानीले खाना खाएकोसम्म हेर्न सकिन्छ ल ।” उनले आफ्नो ज्ञान ओकले  तर उनको कुरा मलाई हजम भएन । उनको कुराले मेरो सानो दिमागलाई चित्त  बुझाएन । मलाई अचम्म लाग्यो उनको कुरा सुनेर ।

 मलाई त्यो बेला लाग्यो कि टेलिभिजनको आकार जत्रो भए पनि कुरो त एउटै आउनुपर्ने हो । सानोमा सामान्य कुरा र ठूलामा मात्र विशेष कुरा आउने उनको कुरा हावा लाग्यो मलाई । सानामा सानै आकारको आउला अनि ठूलामा ठूलै । विषय नै फरक त नआउनुपर्ने  हो, मेरो मनले घरीघरी मसित भनिरहेको थियो । तर उमेरमा आफूले मान्नुपर्ने मान्छेले भनेको कुरा । वादविवाद गर्ने कुरा पनि भएन । तैपनि मेरो मनले उनको मत मान्न तयार भएन । मनमनै आफूले आफैलाई भनें, “यस्तो पनि हुन्छ?” 

उनी अहिले पनि जीवितै छन् । कहिलेकाहीँ उनीसँग अहिले पनि भेट हुँदा मेरो स्मृति भने दगुरेर त्यही बेला पुगिहाल्छ र म मनमनै हाँस्छु ।  

प्रकाशित: ५ कार्तिक २०७७ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App