रामबाबु घिमिरे
पैंतालिस वर्षीय कृष्णकान्त र पच्चिस वर्षीया शोभा गैरी गाउँ माविका मावि र प्रावि शिक्षक हुन् । उनीहरूको गाउँबाट एक घण्टाको पैदल बाटो हिंडेपछि विद्यालय पुगिन्छ । उनीहरू सँगसँगै विद्यालय आउनेजाने गर्थे । उनीहरूको हेराइ र कुरा गराइबाट कृष्णकान्तकी पत्नी, दुई सन्तानकी आमा विनिताको मनमा चिसो पस्यो । मनमा उब्जेको शंकालाई मनले नै थामथुम पारिन् तर उनलाई लक्षणहरू झन् बढेकोभान भयो। उनले धेरै दिन मन मोथेर नौनी निकालिन् ।
उनले शोभासँग हिमचिम बढाइन् र शोभाको रूपको गुणगान गर्न थालिन् । रूपको गुणगान गर्ने क्रममा अर्ती दिंदै भनिन् , ‘विवाह त उमेर छँदै गर्नुपर्छ।’
शोभाको मनमा पस्दै गए पछि एकदिन भनिन् , ‘शोभा, तिमीलाई दिपक कस्तो लाग्छ ?
शोभाले जिल्ल पर्दै सोधिन् , ‘किन र दिदी ?’
विनीताले मुस्कुराउँदै भनिन् , ‘बिचरो तिमीलाई उल्कै मन पराउँदो रहेछ । अहिलेसम्म तिम्रै बाटो हेरेर विवाह नगरी बसेको रहेछ । तिम्रो अरूसँग घरबार भयो भने त पागल हुन्छ होला ।’
शोभाले यति मात्र भनी, ‘दिदी पनि ।’
विनिताले कुरा थपिन् , ‘मैले त जोडी सारै मिल्ने देखेकी छु ।’
केही दिनपछि विनिताले आधिकारिक लवजमा शोभालाई फेरि भनिन् , ‘दोमन नगर । अहिले निर्णय नगर्दा पछि पछुताउनुपर्छ। उमेर ढल्केपछि त्यस्तो जवान लोग्ने कहाँ पाइन्छ । कि एकल पुरुष कि वा सौतामाथि जानुपर्छ।’
शोभाले भुइँतिर हेर्दै भनिन् , ‘खोई दिदी !’
विनिताले आदेशात्मक लवजमा भनिन् , ‘अब दोधारे कुरा नगर । पर्सि बिहानै चितवनतिर जाओ। केही दिन त्यतै बिताउनू र फर्कनू । हनिमुन हो कि क्या हो, भन्छन् नि। तिमी र तिम्रो लोग्ने दुवै उमेर पुगेका छौं कसले पो के भन्छन् र ।’
शोभाले भनी, ‘दिदीले त अहिले नै उसलाई मेरो लोग्ने भन्नुभयो ।’
विनिताले भनिन् , ‘आजैबाट भने पनि पर्सिबाट भने पनि तिमीहरू अब लोग्ने स्वास्नी ।’
तीन दिनपछि गाउँमा हल्ला चल्यो – हरिले शोभालाई भगाएछ।
प्रकाशित: १२ आश्विन २०७७ ०९:०६ सोमबार