पूर्णिमा जी शाह
हेरिरहेछु म
आत्मा भएर मेरै अस्तु ।
हिजोसम्म भौतिक शरीरमा
भौतारिरहेकी
चल्न सक्ने, बोल्न सक्ने
तर, आज म हेर्दैछु
मेरै खरानी ।
मलाई के थाहा क्षणमै
भूकम्प आउला भनेर ।
मलाइ के थाहा क्षणमै
प्रलय आउला भनेर ।
हो मलाइ के थाहा
क्षणमै म विष्फोट हुँला भनेर ।
आखिर के रहेछ त जीवन ?
मैले अरूलाई जित्ने
के खेल हो जीवन ?
प्रत्येक दिन मृत्यलाई जित्नु
त्यही रहेछ जीवन सायद ।
लडिरहेछौँ हामी मात्र मृत्युसँग ।
हो, हामी मृत्युसँगै
युद्ध गरिरहेछौं।
जित भयो त हाँस्यौँ र हँसायौँ
हार भयो त रोयौँ र रूवायौ।
एक सुषुप्त प्राणमा
अड्किएको छ जीवन ।
जसलाई कृत्रिम दूरविनले
हेरे पनि दृश्यान्त हुँदैन ।
तर हामीसँगै हाम्रै
भौतिक शरीरमा समाहित छ ।
त्यही सर्वशक्तिशाली छ
त्यसैले सूक्ष्म रूपमा हामीलाई
दिएको छ जीवन ।
तर यही प्राण पनि
कति स्वार्थी ,
भौतिकरूपी शरीरका मांसपेशीहरू
कमजोर भए
अस्वस्थ भए
अपाङ्ग भए
वा
अचानक
विस्फोट भई टुक्रिए भने
रत्तिभर पनि नलगाई
फुत्तै थाहै नदिई
भौतिक शरीरलाई
चटक्क छोडी कुलेलम ढोक्छन् ।
हेर शरीरको बिजोक
आफन्त बौलाउँछन्
चिच्चाउँछन्
विचलित हुँदै
त्यो प्राण फर्कियोस् भनी
भगवान पुकार्छन् ।
तर खै कहाँ छन् भगवान ?
ईश्वर, अल्लाह, गड
सबै धर्मशास्त्रमा मात्रै सििमत त छन्
अर्तीउपदेश दिन
त्यसैले
प्राण छ र मात्र जीवन छ ।
यथार्थ यही हो ।
बाटो त्यही हो ।
कमजोर भौतिक शरीरमा प्राण रहँदैन
किनकि प्राणलाई थाहा छ
उसलाई बस्ने ठाउँ
सुन्दर र स्वस्थ चाहिन्छ ।
नत्र भौतिक शरीरलाई मात्र पीडा हुन्छ
त्यसैले प्राण जान्छ
आफ्नै बाटो
आफूले राज गरेको शरीरको अस्तुलाई हेरी
अर्को नयाँ भौतिक शरीर खोज्न ।
प्रकाशित: ११ आश्विन २०७७ ०७:२६ आइतबार