सन्तोष बिग्रोल
पहिचान खोज्दै जाँदा झन्डा जलाइन्छ यहाँ
कसरी पो शान्ति होला आफ्नै अडान छ जहा
म त भन्छु बेरोजगारीको परिणती हो यो सबै,
यसैगरी देश नै जले हामी रहौला र खै कहाँ ।
परदेशीलाई फर्क भन्दै माटो रुन्छ अचेल
गाउँबेंसी नै शून्य हुँदा बाटो रुन्छ अचेल
युवा परदेश गाउँमा रह्यो अपांग र पाका,
मर्दा मलाम नभेटिदा घाटो रुन्छ अचेल ।
सरकार देश अचेल उपचारमा छ
अनि दिनदिनै आर्थिक भारमा छ
लुट्नसम्म नि लुट्यो यहाँ पराइले,
त्यसैले सधैं देश बलात्कारमा छ ।
सपनामा हिजोआज सधै हलोजुवा देख्छु
प्यासी बन्दा तिर्खा मेट्ने धाराकुवा देख्छु
गाउँमा कतै पैरो गो कि आफन्त केही भोकी
मनमा बादल मडारिदा धूवाँधूवाँ देख्छु ।
निदाउन दिएन तिम्रो यादले
भुतुक्कै भए जवानी उन्मादले
माया लाउ या नलाउ दोधार छु,
कतै छेकिदिन्छ कि त जातले ।
प्रकाशित: १० आश्विन २०७७ ०८:३१ शनिबार