२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नाथु कथाकार

संस्मरण

सरण राई

 

अहिले म ७३ वर्षमा छु । मजस्तो सर्वसाधारणको संस्मरण कसले पो पढ्ला ? अनि संस्मरणमा चाखलाग्दो उल्लेखनीय के नै पो होला र  भनेर संस्मरण लेख्ने सोच कहिल्यै बनाइएन ।

तर यसपटक भने एक शुभेच्छुकको हौसलाले संस्मरण लेख्दै छु । सम्झेँ कृष्ण धरावासी ‘समस्टी’को सम्पादक हुँदा एउटा रचना दिन गएको थिएँ । सोध्नुभयो उमेर कति भयो ? मैले ६२ भनेपछि उहाँले संस्मरण लेख्नुहोस् भन्नुभयो । त्यतिबेला पनि सम्झेँ मजस्ताको संस्मरण माने न मतलब । लेखिएनँ । मन जितेर पटकपटक हौस्याएपछि लेख्नै प¥यो । सोचेँ केबारे लेख्ने ?

हुन त म नाम, दाम र पद प्रतिष्ठा केही नभएको इमानदार सोझो आम मान्छे भए पनि मैले ७३ वर्षको लामो समयमा कैयों उतारचढाव देखेको भोगेको छु । राणा शासन कालमा जन्मेर २००७ सालपछिको शिशु प्रजातन्त्र, पंञ्चायत व्यवस्था, संवैधानिक बहुदलीय व्यवस्था र गण्तन्त्र पनि चाखिसकेको छु ।  २०३७ सालको सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने जनमत संग्रह, २०४६ को जनआन्दोलन, २०६२÷६३को दोस्रो जनआन्दोलनमा त प्रत्यक्ष सहभागी नै भइएको थियो । त्यतिबेला एकजना प्रबुद्ध बुद्धिजीवी साथीले भनेका थिए— ‘आन्दोलन सफल भए पनि हामीले पाउने त लोकतन्त्र मात्रै हो ।’ अर्थ अहिले पो बुझ्दै छु ।

संस्मरण लेख्नै लागेपछि जेसुकै होस् लत्ता छाड्नै प¥यो । ‘अरूले तपाई भनून्, नभनून् आफै मपाई’ हुनै प¥यो । बाल्यकालदेखिको भोगाइ कनीकुथी लेख्नै प¥यो । संस्मरण भए ठीकै छ नभए संस्मरण लेख्दा यो लकडाउनको विरसिलो समय केहीबेर भए पनि काटिन्छ ।

मेरो बाल्यकाल  सुखद् रहेको थियो । गाउँकै पाठशालामा ७ कक्षासम्मको पढाइ गरियो । त्यो १३ वर्षको उमेरसम्मको अवधि नै मेरो जीवनको अनुभूति अनुभवको महत्वपूर्ण जग थियो ।

त्यतिबेलाको मोटामोटी परिवेश कस्तो थियो भने केटाकेटी कसैले पनि कपाल कोर्न जानेकै थिएनन् अर्थात कपाल कोर्नै पर्दैैनथ्यो । जुल्फी पाल्ने चलन गाउँघरमा थिएन ।  कक्षा आठमा भोजपुर बजार पढ्न गइसके पछि फुफू नरदेवीले पहिलोपल्ट कपाल कोरिदिनु भयो र कपाल अथवा जुल्फी कोर्न सिकियो । पोसाकको सम्बन्धमा पनि कमिज पाइजामा पिताले सिलाइदिनुभयो । पहिलोपल्ट ह्वार्लाङ्गे पाइजामा लगाएको र लगाउने बानी नभएकाले कुद्दा र हिँड्दा  पाइजामामा  खुट्टा पस्ने, पसेपछि कि लडिन्थ्यो नभए पाइजामा च्यातिन्थ्यो । सम्झदा रमाइलो लाग्छ ।

त्यो जमानामा ‘नानीको आमाले बाह्र धार्नी गुहु खान्छिन्’ भन्थे ।  आजभोलि जस्तो त्यतिबेला पेम्पर हुँदैनथ्यो । नानीलाई पुरानो कपडाको रोसी थाङ्नामा नै हुर्काइन्थ्यो । थाङ्ना धुँदा नानीलाई स्याहारिसकेपछि नङको चेपचापमा अड्केको गुहु खानासँग थाहै नपाई आमाले खाने हुँदा त्यसो भनिनु ठीक थियो । तर, आजभोलि त पेम्पर, न्यापीकन नानी हुक्र्याउनका लागि अनेक सामानहरू छन् । हुनेखाने घरमा त लुगा पनि वासिङ मेसिनले धुन्छ । आमाले बाह्र धार्नी गुहु खाने त  के गुहु छुन पनि पर्दैन । यो ७३ वर्षको अवधिमा हर क्षेत्रमा अनेकौं यस्ता परिवर्तनहरू भएका छन् । 

त्यतिबेला जुत्ता चप्पल कोही लगाउदैनथे । ९५ प्रतिशत मानिसहरू खाली खुट्टा नै हुन्थे । गाउँको स्कुले अवधिमा पोसाककै बारेमा पनि आफूखुसी, सिँगान पुच्दापुच्दा लेघ्रालेघ्रा परेको बाहुला दौराको, हातखुट्टाभरि पत्रैपत्रा मयल, खाली खुट्टा कुद््यो– हिँड््यो । पेन्टले प्रवेश गरेकै थिएन गाउँमा, आनन्दको रमणीय तडकझडकविहीन सरल ग्रामीण बालपन । छुट्टीका दिनमा गोठाला जानु, कुलो लाउनु र साथीसाथी मिलेर याङटाङ खोलामा पौडी खेल्नु केटाकेटी समयको अविस्मरणीय स्मृति बनेको छ । शुक्रबारको हाफ छुट्टीपछि याङटाङ खोलामा सबै स्कुले विद्यार्थीहरू लगेर दार्जिलिङका सरहरू प्रसाद सोताङ, वेदिप्रसाद र मणिकुमार तामाङले ढुंगाले घोटीघोटी हातखुट्टाका मयल माड्न लगाउनुहुन्थ्यो । सफासुग्घर हुन सिकाउने त्यस छेकाका उहाँहरू नै पहिलो गुरु हुनुहुन्थ्यो । सास मुखबाट होइन नाकबाट फेर्न सिकाउने पनि उहाँहरू नै हुनुहुन्थ्यो ।

केटाकेटीको त्यस्तो अवस्था रहे पनि स्कूलमा थुप्रै साहित्यिक पुस्तकहरू थिए । सायद कतैबाट उपहार आएको थियो । त्यही गाउँको स्कुलमा नै भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक र उहाँका कथा संग्रहहरूको ठाइलो भागसम्म, संक्षिप्त भारत, मुनामदन, बालकृष्ण समको चिसो चुलो आदि थुप्रै पुस्तकहरू पढियो, जसले साहित्यतर्फ लाग्न अभिप्रेरित ग¥यो । 

त्यति बेला पनि दार्जिलिङबाट आएका शिक्षकहरूले स्कूलमा महिनामहिनामा कविता गोष्ठी , खेलकुद, वादविवाद आदि प्रतियोगिता गराउनुहुन्थ्यो । एउटा  कविता प्रतियोगितामा  मैले पनि २ कक्षामा हुँदा भाग लिएको थिएँ । मलाई प्रथम हुन्छु भन्ने लागेको थियो तर दोस्रो भएपछि मलाई प्रतियोगिताप्रति अनार्कषण पैदा भयो । मेरो बालमस्तिष्कले अब कहिल्यै साहित्य प्रतियोगितामा भाग नलिने निर्णय लियो । त्यसपछि आजसम्म पनि मैले कुनै प्रतियोगितामा भाग लिएको छैन । रचना पुरस्कारको लागि नभएर जीवनप्रति आस्था जगाउनका लागि हो भन्ने मेरो विश्वास त्यतिबेलादेखि नै कायम रहेको छ ।

मेरा पिता मछिन्द्रबहादुर राई २०१५ सालको आमनिर्वाचनमा उम्मेदवार हुनुभएकोले ११वर्षकै उमेरमा बालप्रचारक भइयो । राजनीति नबुझी नै त्यतिबेलादेखि नै राजनीतिमा दलेझोले भइयो । दलेझोले भएर ५२ वर्ष बिताएपछि दिव्य ज्ञान प्राप्त भयो । भावना मान्छेहरूको मनमा पैदा ग¥यो अनि त्यही भावनामा उँधो बगाएर मास्तिर खोज्ने फोहोरी राजनीति मजस्ता झेल गर्न नजान्ने सोझाहरूले गर्ने खेल होइन रहेछ । तापनि राजनीति यस्तो रङ्ग हो जसले कसैलाई पनि छोड्दैन । सबैका रगत श्वासप्रश्वास क्षणक्षणको जीवनमा घुलित भई राजनैतिक रङ्गले प्रभाव पारिरहेको हुन्छ । साहित्यमा लागेपछि पनि लेख्दा राजनीतिले मलाई मार्ग निर्देशन गरिरहेकै हुँदो रहेछ ।  राजनीति असल भए जीवन सहज हुन्छ ।

फोहोरी राजनीतिमा असफल भएपछि मैले अर्को टेक्ने हाँगो सााहित्य बनाउन खोजेँ । ५९ वर्षको उमेर बित्न लागेपछि लाग्यो जीवन निस्सार बितेछ । पत्नीले जटिल प्रश्न सोधिन्, ‘वृद्धावस्थामा छोराबुहारीहरूले हेरेनन् भने के गर्ने ?’ त्यो प्रश्न मनमा खेल्न थाल्यो । वृद्धाआश्रम बनाउन सके त हुन्थ्यो । वृद्धाश्रम बनाउन असम्भव लागेपछि कागतमा नै वृद्धाश्रम बनाएर चित्त बुझाउन ‘मानव संसार’ उपन्यास लेखियो । आफ्नै खर्चले छापियो । यो उपन्यास छपाइको पनि आफ्नै कथा छ ।

पुस्तक छापिएपछि  हातहातै बेच्ने सपना बोकेर हामी दुई बूढाबूढी काठमाडौं जाने भयौँ । कोशी नदीले प्रवाह बदलेकोले  डुंगामा कोशी नदी तरेर गाडी फेर्दै दुःखसाथ काठमाडौ पुगियो । छापाखाना  खोजेर छाप्न दियौँ, हप्ता दिनमा नै पुस्तक छापेर छापाखानाले दिने भयो ।  त्यस बीचमा बौद्ध, पशुपति घुम्ने हुँदा पत्नीको डेढ तोलाको सिक्री मोटरसाइकलबाटै चोरले तानिदियो । बौद्धदेखि हिँडेर नै पशुपति जाने भएर बत्तिसपुतलीको सानो बाटामा हिँडिरहेका थियौँ । मोटरसाइकलमा दुईजना आए, पछाडि बस्नेले सिक्री तानेर लगिहाल्यो । करायौं । केही मान्छेहरू पनि जम्मा भए । तीव्र गतिको मोटर साइकलमा ती चोरहरू हुँइकिहाले । त्यतिबेला आफ्नै पार्टीका बामदेव गौतम गृहमन्त्री थिए । प्रहरी रिपोर्ट गरेमा चोर पत्ता लाग्छ कि सम्झेँ । बेकार झन्झट मात्र ।  सुन त्यतिबेला २२ हजार तोला थियो । डेढ तोलाको ३३ हजार पनि ‘मानव संसार’ छपाइकै खर्चमा जोडियो । त्यसपछि पो मैले पनि सुन र सिक्रीको याद गर्न थालेँ, बजारभरि आइमाईहरूका घाँटीमा सिक्री नै सिक्री देख्छु । राम्ररी नियालेर हेरेँ ‘सुनभन्दा कम छैन’ रहेछ । ‘सुनभन्दा कम छैन’को महत्व मैले पनि त्यतिबेला बुझेँ ।

साहित्यमा लागेको पहिलो अनुभव सुखकर नभए पनि साहित्यकारमा गनिने धुन दिमागमा सवार थियो । भूमिका आख्यानपुरुष ध्रुवचन्द्र गौतमलाई लेखाएको थिएँ । पुस्तक निकाल्नासाथ ‘हटकेक’झैं पुस्तक बिक्री हुने सपना त्यतिबेला तुहियो जब पुस्तक पसलेहरूले पुस्तक राखेर बेच्नै मानेनन् । ‘जसले गर्छ रहर उसको जान्छ गोठको बहर’ हो रहेछ सम्झें । साझा प्रकाशनबाट मेरो कथा संग्रह ‘अन्तिम स्वीकारोक्ति’ छापिएको थियो । कसो साझालाई दिएमा केही त बेचिदेला भनेर उपन्यास ‘मानव संसार’  र निबन्ध संग्रह ‘साथी’ एक एक सयप्रति दिएँ । बुझेको बिल आजसम्म राखेकै छु । न पुस्तकको पैसा न ‘अन्तिम स्वीकारोक्ति’को रोयल्टी पाइएको छ । भ्रष्टाचारी माहौलले सबै संघसंस्था यहाँसम्म कि मानिसको दिमागसम्म बिगारेको रहेछ ।

अघि नै भनिसकेको छु अरूले तपाई भनून्नभनून् आफै मपाई हुनै प¥यो । अब कथाकार भएको दुखेसो पनि पोखिहालूँ । मलाई मैले लेखेका कथाहरूमध्ये ‘नाति’ अति मन पर्छ । किन मन पर्छ ? कारणहरू छन् । त्यो कथा लेखिसकेपछि पत्नी लक्ष्मीलाई पहिलो पल्ट पढेर सुनाएँ । पहिलो श्रोता तिनको प्रतिक्रिया थियो— ‘आँसु आउने खालको छ ।’ म प्रतिक्रिया सुनेर खुसी भएँ । तिनको देहावसान भएपछि पनि त्यो प्रतिक्रिया सम्झिरहन्छु । त्यो कथा प्रकाशनार्थ ‘गरिमा’ मा पठाएँ, पठाएको एक महिनाभित्रै छापियो । ‘गरिमा’का तात्कालीन सम्पादक अविनाश श्रेष्ठ र गणेश रसिकलाई  साझाकै कार्यालयमा केही समयपछि भेट हुँदा दुवैले सो कथाको प्रशंसा गरे । तर त्यो कथाको दुखी पात्र ‘कोपा’ म आफै भएको छु अहिले । नाथु कथाकार । मैले किन पत्नी मरेर दुःख पाएको बुद्धको कथा लेखेछु ?

म साहित्यमा लागेर हराएँ कि ? आफैलाई सोध्छु । साहित्यमा नलागेको भए अहिले म के गरिरहेको हुन्थे ? फेरि आफैलाई सोध्छु । म साहित्यमा नलागेको भए झन् कताकता थाहै नपाउने आफ्नै मनको पीडामा झन्झन् हराइरहेको हुन्थे ।  साहित्यमा लागेकोले मेरो वर्तमान एकल जीवन काट्न मलाई सजिलो भएको छ ।  

सांसारिक जीवनको सौन्दर्य

सक्रियता, सेवा, संयम र धैर्य !

यसैलाई बाँच्ने जीवन सूत्र बनाएको छु र बाँचिरहेको छु । सक्रियता, सेवा, संयम र धैर्यले बाँच्न अभिप्रेरित गरिरहेको छ ।

मेरो स्कूलमा मिल्ने साथीहरू गणेश रसिक, खम्बप्रसाद राई, कुलबहादुर राई, कृष्णकुमार राई, फुफू नरदेवी राई आदि थिए ।  ती साथीमध्ये गणेश रसिक भन्नुहुन्छ  ‘अन्तर्मुखी स्वाभावका कारण  तपार्इँका रचनाहरू ओझेलमा परिरहेका छन् ।’ हो नि म अन्तर्मुखी हुन मन पराउँछु । अब त यो उमेरमा झन् कहाँ कता तडकभडक फुर्तीफार्ती देखाउनु ?

साहित्यकारले आफ्नै खर्चले छापेको साहित्यिक पुस्तक त समाजको अमूल्य सम्पत्ति हुनुपर्ने हो । तर आफ्नै खर्चमा पुस्तक छाप्ने साहित्यकारलाई सबैले बेवकुफ सम्झन्छन् र बनाउँछन् । मैले पनि ‘मानव संसार’ उपन्यास नेपालका नाम चलेका  २ सय जना साहित्यकारहरूलाई भेटेर ‘उपहार’ टक्राएँ । कसैले पढेको थाहा पाइएन । ती २ सयप्रति पुस्तक खोलामा फालेको सिक्काजस्तै भयो । कसैले पढेनन् भन्दा नि एघार वर्षपछि त्यस पुस्तकको दोस्रो संस्करण निस्केको जानकारी फेसबुकमा राख्दा भैरहवाका साहित्यकार  कपिल लामिछानेले त्यो त्यतिबेलै पुस्तक पढेको टिप्पणी लेख्नुभएको देखेर मेरो प्रयत्न खेर गएको रहेनछ भन्ने सोच्न पुगेको छु ।

साहित्यकारले आफ्नै खर्चले छापेको पुस्तकको बिक्रीवितरणबारे मेरो अनुभव झन् नकारात्मक रहेको छ । मैले झोलामा ‘मानव संसार’ बोकेर साथीभाइ संघसंस्था क्याम्पसहरूलाई ‘पुससेल’ गरेर ५० हजारको पुस्तक बेचें । पुस्तकमा लेखिएको सर्तअनुसार सो रकमको १० प्रतिशत रकम ५ हजार  विश्रान्ति मन्दिरलाई दिएँ  । यसलाई मैले साहित्यमा लागेर प्राप्त गरेको उपलब्धि (आफ्नै लागि मात्र भए पनि) मानेको छु । तर त्यसपछि भने झोला बोकेर आइरहेको मलाई देख्दा साथीभाइहरू भाग्न थाल्छन् कि भन्ने डर भयो । मेरो ‘पुस सेल’को जाँगर पनि मरेर गयो ।

‘नौरङ्गी’ र ‘अन्तिम आयाम’ छापिएपछि पनि कैयौं साथीभाइहरूले घरमै आई पुस्तक बेचिदिन्छौं भनेर आफ्नै खर्चले छापेको ती पुस्तकहरू कसैले २० प्रति कसैले १० प्रति  लगे । म मक्ख थिएँ बेचेर पैसा देलान् । तर उनीहरूले पुस्तक बेचेर सहयोग गर्नुको सट्टा ती पुस्तक लैजाने साथीभाइहरूले न पैसा दिए न फेरि मलाई भेटे । ती त मसँग टाढाटाढा पो भए । पुस्तकले साथीभाइ चिनायो र चिढायो । आफ्नै खर्चले पुस्तक छाप्ने म हिन्दीको उखानझै  ‘गाठ भी गवाना, बेवकुफ भी बनना’झै  भएँ । धेरै साथीभाइहरूलाई पुस्तक उधारो दिएँ, न पढे न पैसा नै तिरे । पुस्तक पसलेलाई पुस्तक उधारो दिनै पर्ने नियमै रहेछ । पुस्तक राख्नै मान्दैनन् राखिहाले पनि बेच्ने चासो  राख्दैनन् । पुस्तक राखे भने पनि पैसा दिदैनन् । हरक्षेत्रको बेइमानीको रोग पुस्तक क्षेत्रमा झन् डरलाग्दो रूपमा फैलिएको तीतो अनुभव मैले गर्न पुगेको छु । 

साहित्यिक क्षेत्रको सबैभन्दा डरलाग्दो क्यान्सर दलेझोले साहित्य हो । दलेझोले साहित्य भनेको आफ्नो दलको तथाकथित साहित्यकार बाहेक अरुलाई साहित्यकार नै नमान्ने–नगन्ने, आफ्नै दलको दलेझोलेहरू मिलेर गुठउपगुठ बनाउने र साहित्यलाई पनि आम सर्वसाधारणको पक्षपोषण हुन नदिने  दलेझोले साहित्य हो । त्यो एक प्रकारले फोहोरी राजनीतिकै अङ्ग हुने भएकाले  असल साहित्य र असल राजनीतिको विरोधी हुन्छ । यस्तो दलेझोले साहित्यमा नलागेको हुँदा  मलाई दलेझोले साहित्यकारहरू साहित्यकार मान्दैनन् । 

म अन्तरमनले देखेको लेख्छु, अब त झन् मर्ने बेला आफू किन बेचिनू । अन्तरमन किन मार्नू । हुन त मपनि ११ वर्षकै उमेरदेखि दलेझोले भएकोले दलेझोले भएर नै साहित्यमा प्रवेश गरेको थिएँ । मेरो पहिलो कथा ‘बिहानको प्रतीक्षामा’ (जुन कथा ‘अन्तिम स्वीकारोक्ति’ कथा संग्रहमा पनि प्रकाशित छ ।) नक्सलवादी आन्दोलनले प्रभावित भएर जनमुक्तिको आवाज बुलन्द गर्न लेखेको थिएँ । जबसम्म म दलेझोले थिएँ लेख्न थाल्दा कतै मेरो लेखन दलको उद्देश्य विपरीत भएर  कार्वाहीमा परिने हो कि भनी  ‘कन्सस’ हुन्थे । दलेझोले हुँदा स्वतन्त्र लेखनमा कताकता थोरै बाधा परेको अनुभूति हुन्थ्यो । अहिले म कुनै बाधा व्यवधान लोभलालचविना  स्वतन्त्र भएर लेख्छु, लेख्नसक्छु ।

स्वतन्त्र ? त्यो हाम्रो दलको होइन । दलीय भागबन्डाले खाएको बिगारेको देश ! कसैले मेरो नाम लिएर  ‘त्यो पनि साहित्य लेख्छ’ भन्यो भने दलेझोले साहित्यकारहरू भन्ने गर्छन्— मुला नाथू कथाकार ! तर स्वतन्त्र लेखनमा लागिरहने मलाई नाथु कथाकार हुनमा आनन्दबोध हुन्छ । युवा तन्नेरी हुँदा आफूलाई अरूकै लहैलहैमा हिँडाइयो । अब मर्नै बेला स्वतन्त्र भई आफूलाई आनन्द आउने क्रियाकलापमा संग्लग्न हुन पाउनु अहोभाग्य हो । सबै वृद्धहरूले आफूलाई मन परेको काम गर्ने स्वतन्त्रता पाउनुपर्छ ।

प्रकाशित: १ आश्विन २०७७ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App