२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राक्षसगण

कथा

यम बास्तोला

 

साँचो प्रेम गर्नेहरूलाई गुलावी रङले मात्र होइन, काँडाले पनि साथ दिन्छ । पूर्णिमाको जुनेलीले मात्र होइन, औसीको रातले पनि आलोक भरिदिन्छ । मायाको जलधिमा बिना कम्पासनै यात्राले गन्तब्य ठम्याउँछ र पु¥याउँछ निश्चित बिन्दुमा । तरकेवल मायाको नाटक गर्नेहरुलाई भने साथ दिन्न पूर्णिमाले, हात दिन्न प्रकृतिले र घोच्छन फुलहरुले पनि ।  

ताली बजाउने भनेको त केवल पर्दा उघारो रहुन्जेल मात्र हो । जब पर्दा बन्द हुन्छ सबै तित्तरवित्तर हुन्छन् । नायकहरू नालायक पनि बन्न सक्छन् । नाटक, नाटकमै सकिन्छ । जतिसुकै गहन भूमिका निर्वाह गरे पनि यथार्थमा पात्र, पात्र नै रहन्छ । पात्रको भोगाइ र वास्तविक जीवनको दुखाइ समकोण नहुन सक्छ ।  

जसलाई वास्तविक जीवनको आयाम थाहा हुन्छ, उसले अभिनय नगरेरै वाहवाही पाइरहन्छ । जीवनमा आइपर्ने जस्तासुकै कठोर मोडलाई पनि छिचोल्न सक्छ । भिरालोलाई समथर बनाउन सक्छ । समग्र जीवनलाई सफल र सार्थक बनाउन सक्षम हुन्छ ।  

– एकान्तमा कहिलेकाहीँ उर्माका केही अमिला कुराको उत्तरमा आशिष यसै भन्थ्यो ।  

उर्मा र आशिष दुवै एकअर्कालाई अगाध प्रेम गर्थे । उनीहरूको प्रेम गहिरो थियो, फराकिलो थियो । उनीहरू भरजन्म सँगै हुन चाहन्थे । उनीहरूलाई अलगिनु शब्दसँग विमति थियो । छुट्टिएर बस्ने कल्पना पनि गर्दैनथे । उनीहरू स्कुले जीवनदेखिकै मिल्ने साथी थिए । स्कुलको पढाइ सकेपछि केही वर्ष उनीहरूको भेट पातलो भयो । आक्कलझुक्कल भेट भए पनि त्यति नजिकिएर आपसमा मन साट्न पाएका थिएनन् तर दुवैले एक अर्काप्रति विश्वास र प्रेम भन ेकुनै प्यारो वस्तु रुमालमा पोको पारेर लुकाएझैं मनको कुनामा लुकाइरहेका थिए । संयोगले स्नातक तहमा फेरि उनीहरू एउटै कलेजका विद्यार्थी बन्न पुगे । त्यसपछि बल्ल उनीहरूको मन एकआसमा साटिन थाल्यो ।  

चारवर्षे स्नातक पढाइको क्रमसँगै उनीहरूले एक अर्कालाई मनैदेखि छिचोल्ने अवसर पाए ।  

चारवर्षको अन्तरालमा उर्माले घरपरिवारको ठूलो दबाब सहनु प¥यो । उनले विवाहको प्रस्ताव लिएर आउने कतिलाई त अनेक बहानामा आफैँले पन्साइन् । कति जागिरे केटाको प्रस्ताव स्वीकार गर्न घरपरिवारबाटै दबाब आयो । त्यस दबाबलाई पनि उनले डटेर सामना गरिन । मनमा आशिष थियो त्यसैले जस्तासुकै बलवान् महादेवहरू आए पनि उनलाई विलकुलै मंगल लाग्दैनथ्यो । आफ् नो पहिलोलक्ष्य पढाइ सक्ने, जागिर खाने अनि मात्र जागिरेसँग विवाह गर्ने कुरा सुनाएर उर्माले अभिभावकलाई विस्वस्त पारिन । आशिषले पनि उर्माकै सल्लाह बमोजिम आफ्नो पढाइलाई नै निरन्तरता दिई रहे । फलतः दूवैैले राम्रो अङ्कसहित स्नातक तहको अध्ययन पूरा गरे ।  

स्नातक तह सक्नेबित्तिकै उर्मा र आशिष दुवैले स्नातकोत्तर अध्ययनका लागि देश छोड्ने कि भन्ने विषयमा गहन छलफल गरे । आफ्नै जन्म भूगोलमा केही गर्न पाए हुन्थ्यो भन्ने दुवैकोे गुप्त आशय थियो तर यहाँको समाज अझै सुसंस्कृत नभइसकेको, सबैको रगत एकै हुन्छ भन्ने कुरामा विश्वास दिलाउन आफ्नै घाँटी छेदन गर्नुपर्ने तीतो यथार्थ रहेकोले आफ्नो प्रेमलाई फलिभूत बनाउन मात्रै भएपनि देश छोड्ने निर्णयमा पुगे र अमेरिकाका लागि निवेदन पेसे । 

दुर्भाग्य उनीहरू दुईमध्ये उर्माको भिषा स्वीकृत भयो । आशिषको अस्वीकृत ।  

आशिषले पटकपटक निवेदन पेस्यो तर पटकौँको प्रयास पनि विफल भयो । उसले त्यस असफलतालाई नै जीवनको सफलताको शुरुवात ठानेर चित्त बुझायो । उर्मा भने आशिषको प्रेमलाई मुटुको एक धमनीमा जीवित राखेर अमेरिकातिर उडिन ।  

भौगोलिक दूरी टाढा भए पनि उनीहरू वीचको आत्मीय सम्बन्धमा कुनै विचलन आएन । उनीहरू नियमित सम्पर्कमा रहे । एकअर्काप्रतिको अगाध विश्वास र भरोसामा कुनै आँच आउन दिएनन् । दुवैले सुमधुर सम्बन्ध र भविष्यको सुन्दर सपना सजाइरहे ।

समय मिल्नासाथ उनीहरू च्याटमा रमाउँथे । भिडियो कलमा दुखसुखका कुराकानी गर्थे । भौतिक शरीर टाढा भए पनि आत्मा निकट थियो । त्यसैले उनीहरूको प्रेम अझ प्रगाढ बन्दै गयो ।

उर्माको विदेश बसाइ त्यति सुखद् नभए पनि उनले आफ्नो लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गरिन् । पढाइको अलावा हप्ताको दुई दिन काम गरेर पढाइ खर्च जुटाइन । आफ्नो खर्च घटाएर होस् वा थप समय काम गरेर होस् उनले घरपरिवारलाई खर्च पठाइरहिन्। आशिषलाई खर्च पठाउनुपर्ने जरुरी नभए पनि प्रेमको निशानीस्वरूप केही रकम र पार्सलहरू भन नियमित पठाइन ।

आशिष पनि उनलाई मन पर्ने लप्सी लगायतका परम्परागत नेपाली अचार र सुक्खा तरकारीहरू बारम्बार पठाइरहन्थ्यो । समयसमयमामूक्त कण्ठले उर्माको प्रशंसा गरेर उनलाई उत्साहित र प्रसन्न बनाउँथ्यो । जस्तोसुकै स्रंकट आइपरे पनि पछि नहट्ने र जस्तोसुकै मूल्य चुकाएर भए पनि प्रेमको फूल फुलाएरै छोड्ने बाचा गथ्र्यो ।

यसरी टाढा रहेरै उनीहरुले एकअर्काप्रति समपर्णको भावलाई जीवित राखेका थिए।

दुई वर्षको समयावधि व्यथित हुन एक महिना मात्र बाँकी थियो । उर्माको परिवारले उनी नेपाल फकिर्ने समयको आंकलन गरी विवाहको कुरा कोट्याउन थालिसकेका थिए ।  

आशिषलाई पनि ‘तैँले छानेकी केटी को हो ? कहिलेसम्म लुकाएर राख्छस् । आफूसँगका साथीहरूले घरजम गरेर आफ्ना बालबच्चालाई नैतिक शिक्षा पढाउन शुरू गरिसके’ । जस्ता कुराहरू गरेर विवाहका लागि दबाब दिन थालेका थिए ।  

आशिषका बुबाले त कसैलाई सुइँको नदिई जलस्रोत मन्त्रीकी छोरीलाई भित्र्याउने कसरतमा ठूलै धनराशि मन्त्रीको मकानमा बिच्छ्याइसकेका थिए र अमुक स्वीकृति पनि प्राप्त गरिसकेका थिए । त्यसबापत कहलिएका योजनाको ठेक्का आफ्नो पोल्टामा पारिसकेका पनि थिए ।

उर्मा र आशिष भने उर्माको छुट्टीको दिन पारेर दुवै परिवारलाई चिनाउन अनुकूल समयको पर्खाइमा थिए । कसरी चिनाउने, त्यसबेला केके कुरा गर्ने आदि सल्लाह गरेर टुंगोमा पुग्दै थिए ।  

आइतबार उर्माको छुट्टीको दिन पारेर सबै कुराको बन्दोबस्त मिलाए ।  

आशिषका परिवारले आफ्नी हुनेवाला बुहारी र उर्माको परिवारले आफ्ना हुनेवाला ज्वाइँको दर्शन पाए ।  

भविष्यका सम्धीसम्धिनीवीच पनि हेराहेर भयो । आशिषका बुबाले उर्माका बुबाको अनुहार देख्नासाथ बाँकी कुरा नसुनी बाहिरिए । उर्माका बुबा पनि मुख खुम्च्याएर अलप भए ।

त्यसै दिनदेखि दुवै परिवारमा खटपटी शुरू भयो ।  

कारण उर्मामध्यम वर्गीय, उपल्लो जातकी भएर होइन । आशिष कुलीन, सम्भ्रान्त तर तल्लो जातको भएर पनि होइन ।  

उनीहरुका पिता राजनीतिक प्रतिद्वन्द्वी थिए । दुवैको पाटी फरक थियो। सिद्धान्त र विचार भिन्न थियो । विगतमा उनीहरूबीच एउटै हाइड्रोपावरको ठेक्काको विषयमा भनाभन मात्र होइन, मुख छोडाछोड र हात हालाहालसमेत भएको थियो ।  

त्यसैबेला उनीहरूले आआफैले आफ्ना कर्तुत ओकलेका थिए । कतिपय ठेक्कामा त कामै नगरी बजेट सिनित्त पारेको प्रसंग आआफैंले फुत्काएका थिए । त्यसलाई स्पष्ट पार्न उनीहरूले पाटीमै स्पष्टीकरण दिनु परेको थियो भने त्यस विषयले केही समय राजनीतिक माहोल मात्र होइन जनताको रगत तताएको थियो । त्यसैकारण वषौँदेखि उनीहरूका बीच वाककर्म नै वर्जित थियो । त्यही  पिसाइमा घुन बन्यो उर्मा र आशिषको प्रेम । उनीहरूलाई एक अर्काबाट छुटाउन दुवै परिवारले भीमकाय प्रयत्न ग¥यो ।

आशिषका बुबाले उर्माबाट आशिषलाई छुटाउन र उर्माप्रति हीनभावना जगाउन थुप्रै जुक्ति र कुबुद्धिसमेत लगाए ।  

एकदिन घरमा कोही नभएको मौका पारी कहलिएको त्रिकालदर्शी ज्योतिषिलाई बोलाए । उसलाई राम्रै बिटो थमाए । अनेक प्रलोभनमा पारेर आफूले सिकाएझैँ भन्न बाचा गराए ।  

अर्को दिन श्रीमती विभा र छोरा आशिषलाई एकैठाउँ बोलाएर उर्मा र आशिषको कुण्डली र ग्रहदसा मिलेमा दुवैको विवाह गरिदिने वचन दिए र आफूले रोजेको ज्योतिषीको नाम पनि बताए । ज्योतिषीको नाम सुनेर आशिषकी आमा मक्ख भइन् । किनकि उनले धेरै पटक उक्त त्रिकालदर्शीलाई भेटिसकेकी थिइन् र त्यस ज्यातिषीमाथि उनको भरपुर विश्वास पनि थियो ।  

अर्को दिन आफू नेपथ्यमै बसेर आशिष र विभालाई ज्योतिषिका अगाडि खडा गराए । ज्योतिषीले पनि आशिषका बुबासँगको मिलेमतोको छनक नदिई सकेसम्मको बढाइँचढाइँ गर्दै आशिषलाई केटीको जन्मस्थान, मिति र न्वारानको नाम समेत सोधे, आशिषले आफ्ना इष्ट देवतालाई सम्झँदै विशाल आकाशलाई साक्षी राखेर सबै कुरा सत्यसत्य बतायो ।  

आखिर जे नाम बताए पनि र जुन तिथिमिति टिपाए पनि ज्यातिषीले आफ्नो वचनअनुरूप बनिबनाउ कुरा फलाक्यो । सकेको र जानेको जति प्रमाण देखाउँदै नकारात्मक परिणामको बखान ग¥यो ।

केटा र केटीको गुणमा बाह्र अंक मात्र शेष आउने भएकोले यो दाम्पत्य जीवन कुनै पनि हालतमा सफल नहुने बतायो ।  अझ जोड दिएर केटीको कुण्डली ज्यादै नराम्रो भएको, केटी राक्षस गणकी र केटीका नराम्रा ग्रहदशा भर्खर मात्र शुरू भएकोले विवाहपश्चात दिनहुँ मनमुटाव हुने, कलहले झगडाको रूप लिने र बेमेलको अवस्था सिर्जना हुने बतायो । त्यस्तै केटी राक्षसी भएका कारण आफूले आत्महत्या जस्तो जघन्य कुकर्म गर्नुपर्नेसम्मको अवस्था सिर्जना हुने बताएर आशिषलाई रणभुल्ल बनायो । त्यति मात्र होइन त्यस केटीलाई घरमा भित्र्याए परिवारको मान मर्यादा र इज्जतसमेत माटोमा मिल्ने र अन्त्यमा परिवार नै समाप्त हुने पक्का भएकोले बेलैमा पन्सिनु राम्रो हुने सुझायो ।  

उता उर्मालाई पनि उसका बुबाले आशिषका विषयमा अनेक बनावटी र नकारात्मक कुराहरू सुनाए । आशिष खराब संगतमा लागेको, उसका पछि थुप्रै केटीहरू रहेको आदि कुरा दिनहुँ जसो बखानेर तनाव दिन थाले ।  

आशिषका बुबाले त छोराको फेसबुक आइडी नै ह्याक गर्न लगाए । उसकै नाममा गलत परिचयको फेसबुक खोलेर आफैले उर्मासँग सम्पर्क बढाए । थुप्रै नकारात्मक र अश्लील सन्देससमेत पठाए । उर्माका परिवारको विषयमा अनेक आक्षेप लगाएर गलत कुराहरूको बयान गर्दै थुप्रै असह्य सन्देश पोष्ट गरे । बाध्य भएर उर्माले आशिषसँगका सबै सम्पर्क माध्यमहरू विच्छेद गरिन् ।

यसरी उर्मा र आशिषको प्रेममा तघारो हाल्न दुवै परिवारले यथासम्भव प्रयत्न गरे ।  

सबै कुराकी मुकदर्शक आशिषकी बहिनी सभ्यताले ती सम्पूर्ण कुराको सूक्ष्म विश्लेषण गरिरहेकी थिइन् ।दाजुको प्रेमको गहिरो अध्ययन गरिन । सबै कुराको यथार्थ अवगत भएपछि उनले दाजुको साँचो र अमिट प्रेमका पक्षमा उभिने प्रण गरिन । उनीहरूको प्रेम सफल बनाउन दृढ संकल्प गरिन । यो विषालु हर्मन आफ्नो भागमा पनि पर्ने र आफू बलिको मेढो बन्नु नहुने निष्कर्षमा पुगेर उनले दाजुको प्रेमका अवरोधी काँडाहरू पन्साउन हरतरहले लाग्नुपर्ने र त्यस कोपिलालाई फुलाउन, सकेसम्म त्यसमा रंग र सुगन्ध भर्न लागि पर्नु श्रेयस्कर हुने ठम्याइन् ।  

त्यसै दिनदेखि उनले आफ्नी हुनेवाला भाउजू उर्मासँग अनेक उपायले सम्पर्क बढाइन् र उर्मालाई सम्पूर्ण यथार्थको अवगत गराइन् । सभ्यतासँगको सम्पर्कले उर्मालाई केही हौसला मिल्यो । उर्माको मनमा आशिषप्रति टुसाएको हीन भावना स्वतः म¥यो । उनले आशिषसँग प्रायश्चित गर्न समय निकालिन तर आशिषसँगको सम्पर्क टुटेकोले चाँडै सम्भव भएन ।  

आशिष उर्माबाट अलग हुनुपर्ने भयले र ज्योतिषीको कुराले झन्डै पागल भएको थियो । सकेसम्म घरमा नबस्ने, बसे पनि कोहीसँग नबोल्ने एकोहोरो भईसकेको थियो । सबै नियालिरहेकी सभ्यताले चाँडोभन्दा चाँडो दाजुलाई गुमराहबाट उतार्न र सबै कुराको बेलिबिस्तार लगाउन चाहन्थिन तर समय मिल्दै मिलेको थिएन ।  

आशिष बिहानदेखि नै कता जाने, के गर्ने कुनै सुँईको नदिई घरबाहिर निस्कन्थ्यो र अबेर मात्र घरभित्र छिथ्र्यो । घर पस्ने बित्तिकै उसलाई आमाले नियाल्न थाल्थिन त्यसैले ऊ सरासर कोठामा छिथ्र्यो र बाहिरै निस्कँदैनथ्यो । प्रायः घरमा खाना पनि खाँदैनथ्यो । आमाको करले भान्सामा गए पनि नबोली दुईचार गाँस खाएर उठ्थ्यो । खाँदाखाँदै बुबा आइपुगे खाँदाखाँदैको गाँस पनि त्यतिकै छोडेर हिँड्थ्यो । यसरी आशिषको दिनचर्या बदलिएकोमा आमा पनि धेरै चिन्तित थिइन् । उनले श्रीमानलाई धेरै सम्झाइन् पनि । उनले पटकौँ भनिन,“छोराको खुसी खोसेर हामी कसरी खुसी बस्न सक्छौँ ? भोलिको दिन जे होलाहोला अहिले छोराको इच्छा नमारौँ ।”  तर आशिषका बुबा बीसको उन्नाइस हुँदैनथे । उनी भन्थे,“बरु आकाश खसोस र थिचोस, बरु धर्ती ज्यातियोस् र चेपोस, समुन्द्र उल्टियोस र डुबावस् तर म त्यो परिवारसँग सम्बन्ध गास्न सक्दिन ।  

एकदिन बिहानै आशिष घरबाहिर निस्कनेबित्तिकै सभ्यताले आँट गरेर आमालाई भनिन्, “मेरो पनि कलेजमा काम छ, एकछिन गएर आइहाल्छु है” आमाको नाइँनास्तिको वास्ता नगरी उनी दाजुका पछिपछि लागिन । हतारहतार दाजुलाई बाटामै भेटिन । शुरूमा आशिष बहिनीसँग पनि टेढिन खोज्यो तर सभ्यताले पाखुरामा समाएरै रोकिन र बिन्तीपूर्वक यो कुरा आमाबुबा कसैलाई नभन्न कसम खुवाइन् । उसले स्वीकारेपछि सडकपेटीमै आफूले देखेको र सुनेका सम्पूर्ण बेलिबिस्तार लगाइन् ।  

बहिनीका कुरा सुनेर आशिष रिसले आगो भयो । उसको मनमा क्रोधको ज्वालाग्नि दन्कियो । थर्रथर्र काम्दै थुचुक्क भुइँमा बस्यो । राक्षस बनेर बुबाको प्रतिबिम्ब अगाडि उभिएको आभाष भयो उसलाई । बुबा र आमाप्रति नै भयंकर घृणा पैदा भयो ।  

सभ्यताले यी सबै कुरा उर्मालाई पनि बताइसकेको भनेपछि आशिषको मनमा शीतल बतास चल्यो । उसले उर्मालाई प्राप्त गर्न बरु घरपरिवार नै त्यागिदिने तर जसरी पनि उनलाई आफ्नो बनाएरै छोड्ने कठोर निर्णय लियो ।  

बहिनी सभ्यताको कुराले घरपरिवारप्रति आक्रोशित आशिष उर्मासँग मिलन हुने कुराले भने फुरुङ्ङ भयो । उसको शरीरमा त्यसैत्यसै स्फुर्ति सञ्चार भयो । उसले नयाँ फेसबुक अकाउन्ट खोल्यो र उर्मासँग सम्पर्क बढायो ।  

यसअघि भएगरेका सम्पूर्ण कुराको माफी माग्दै आफ्नो अन्तिम निर्णयको सन्देश लेखेर पठायो । उर्माले पनि आशिषको निर्णयको कदर गर्दै उसको निर्णयमा सहमति जनाएर सन्देशको रिप्लाई पठाइन् र आफू पनि त्यस्तै परिआएको खण्डमा घर परिवार त्याग्न सक्ने बताए पछि आशिषको हिम्मतले मनास्लु नाघ्यो ।  

अर्को दिन नै उसले घरपरिवार कसैलाई सुईँको नदिई उर्मालाई भित्र्याउन र आफ्नो नयाँ जीवन सजाउने फ्ल्याटको बन्दोवस्त ग¥यो । अत्यावश्यक मात्र होइन । उर्मालाई मन पर्नै थुप्रै सामानसमेत किनेर सजायो र सम्पूर्ण सामानहरुको व्यवस्था मिलायो ।  

प्रायः सबै कुरा मिलाइसकेपछि एक दिन उसले कसैलाई न भन्नु है भनेर सुटुक्क बहिनी सभ्यतालाई आफ्नो योजना सुनायो र तेरी भाउजू भित्र्याउने घर यही हो । हाम्रो नयाँ जीवनको शुरूवातका लागि मैले भाडामा लिएको ल्याट यो हो,बैठक यो हो, किचन यो हो, यी दुई कोठा पाहुनका लागि हुन अनि यो हाम्रो बेडरुम भन्दै सबै कुरा देखायो ।

दाजुको कुराले सभ्यता बहुतै खुसी भइन् । तर दाजुले कसैलाई नभन्नु है भनेको कुरा उनले लुकाउनै सकिनन् । उनलाई खुसी बाँड्न एकदमै हतार लाग्यो । उनले बुबालाई नभन्नु है भन्दै आमालाई सबै बेलिबिस्तार लगाइन् । त्यो कुरा आमामा मात्र सीमित रहेन । उनले सम्पूर्ण कुरा पतिलाई भनिन् ।  

त्यसरी एकपछि अर्कोले कुरा खोल्दाखोल्दै आशिषको परिवारबाट उर्माको परिवारसम्म पनि कुरा पुग्यो । त्यतिमा मात्र सीमित रहेन छरछिमेक, नातागोता र गाउँटोलभरि नै कुराले जरा फिँजियो । दुवै परिवारलाई हुनसम्मको संकट आइप¥यो । दुवै परिवारले निरन्तर फलाकिरहेको इज्जत माटोमा मिल्ने भयले उनीहरूको निद्रा नै हराम भयो ।  

यसवीचमै आशिषका बुबाले आशिषलाई पार्टीको कार्यकर्ता बनाएर अमेरिकातिर उडाउने सेटिङ मिलाउँदै थिए । अमेरिका जान पाए आशिषले उर्मालाई भेट्न पाउँने थिएन भन्ने अनुमान उनले गरेका थिए । तर आशिषले बुबाको कुरामा असहमति जनायो र अन्तर्वार्ता दिनै गएन ।  

उर्मा अमेरिकाबाट फर्किनकेवल दुईहप्ता मात्र बाँकी थियो ।  

सबै कुरा अवगत भएपछि उर्माको परिवारले त मौनसमर्थन पनि गरिसकेको थियो । कसैले जातको कुरा उठाए उर्माकी आमा भन्थिन, “आऽऽऽ जात सानो भएर के भो त सम्पत्ति प्रशस्त छ । परिवारले न स्वीकारे पनि ज्वाँइले आँट गरेपछि दिने हो छोरी ।’  

आशिषका बुबा भने मानेकै थिएनन् । उनलाई मन्जुर गराउन सबै जना लागिपरेका थिए । तैपनि बेलाबेलामा उनी भन्थे, “ज्यान मार्नेे धम्की दिने मान्छेलाई पनि कसरी सम्धीबनाउनु !’ तर सबैको दबाबका कारण उनी निरीह साबित भए । बाध्य भएर उनले उर्मालाई बुहारी स्वीकार्ने तर सम्धीसँग भेट नगर्ने कुरामा मौन स्वीकृति दिए । त्यसै दिनदेखि आशिष र उर्माको विवाहको चहलपहल शुरू भयो ।  

विवाहको दिन के हुने होला ! सम्धीसम्धी भेट हुन्छन् कि हुन्नन् होला ! सम्धीसम्धी भेटै नभए कसरी विवाह सम्पन्न हुन्छ होला  जस्ता अनेक कुराले तल्लो तहदेखि नेता, कार्यकता र नेतृत्व तहसम्म चर्चा चलेको थियो ।  

विवाहको दिन एकाएक परिस्थितिले नयाँ मोड लियो । धेरैको कल्पना विपरीत कपाल मुन्डन गरेका उर्माका बुबा सेतो धोती पहिरेर बरनीको टपरी बोकेका मानिसको पछिपछि जम्लाहात गरेर निस्किए । आशिषका बुबा पनि खाँडीका दौरासुरुवाल र अल्लोको कोटमा ठाँटिएर खडा भए । उर्माका बुबाले आशिषका बुबालाई सम्धी फेटा बाँधिदिए । निकै गहकिलो सुटकेस हातमा थमाएर दुवैले अंकमाल गर्दा उपस्थित सबैले ताली बजाउँदाको दृश्य साँच्चै हेर्नलायक थियो ।  

पुख्र्यौली आडम्बर, जातीय भेदभाव, राजनीतिक द्वन्द्व र पारिवारिक बेमेलका कारण उर्मा र आशिषबीचको सम्बन्धमा झन्डै पूर्णविराम लागेको थियो । भाग्यवश बहिनी सभ्यताको सक्रियताले सबै कुरा खुलस्त भयो । जीवनको एक बिन्दुमा मरेतुल्य भएका प्रेम जोडीको प्रेमले सार्थकता पायो । देवगणकी शालिन उर्मालाई राक्षसगणकी र उदण्ड बनाउन खोज्ने ज्योतिषी पहिलोपल्ट फेल भयो । दशौँ वर्षको उनीहरुको प्रेम सम्बन्धमा थुप्रै तघाराहरू लागे पनि अन्त्यमा समूल निकास निस्कियो । उनीहरु दुवैै जीवनदेखि हारेनन् । बरु दम्भले जित्न खोज्नेहरूलाई सधैँका लागि हराए । परिणामतः उर्मा उपाध्याय र आशिष सुनारको लगनगाँठो कसिलो गरी बाँधियो । उनीहरूले चाहेजस्तै ।

प्रकाशित: २४ भाद्र २०७७ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App