२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

चूपचाप बस्दैनन् झन्डाका रङहरू

कविता

द्वारिका नेपाल  

 

आफ्नो अस्तित्व धरापमा परेपछि

आफ्नो परिचयमाथि छिमेकीहरूले प्रश्न उब्जाएपछि

नीलो रङको शालीनतामाथि धावा बोल्न थालेपछि

रातो रङको वीरतामाथि शंका गर्न थालेपछि

सेतो रङको शान्तिमाथि नै अपहेलना बढेपछि

राष्ट्रिय झन्डामा चूपचाप बसिरहेका

रङहरू अचेल सगबगाउन थालेका छन् ।

महाकालीको नीलो पानीमा

छिमेकी आएर माछा मार्न थालेपछि

कालापानीको पवित्र छातीमा

विदेशीको बुटले परेड खेल्न थालेपछि

लिपुलेकको जडीबुटीलाई

पडोसीका भेडाबाख्राले चरेर सिनित्त निखारेपछि

लिम्पियाधुराको चुचरामा

अर्कैले झन्डा गाडेपछि

मेरो झन्डाले फेरि एकपटक

अपमान महसुस गरेको छ,

झन्डाका रङहरूले फेरि एकपटक

स्वाभिमानको नारा बुलन्द गरेका छन्।

भीमसेनको तरबारले साँध कोरेको नेपाल

भक्तिको साहसले जोगाएको नेपाल

अमरसिंहको स्वाभिमानले सिर्जिएको नेपाल

बलभद्रको आँटले सिंगारेको नेपाल

कमजोर कहाँ छ र मोदी !

टिस्टामा पखालेर थन्क्याएको खुँडा

बेलाबेला बिउँझिन खोजिरहेछ

सतलजबाट फिर्ता ल्याएको ढाल

दक्षिणतिरै फर्केर प्रतिवादमा जाइलाग्न खोजिरहेछ

अबध र मगधका भूमिहरूले

नेपालीका विजयी पाइला अझै सम्झिरहेका छन् मोदी!

लिम्पियाको चुच्चे खुकुरीको धार

तिमीतिरै सोझिएर आदेश पर्खिरहेछ आक्रमणको।

खबरदार प्रिय छिमेकी !

आफ्नै मर्यादामा बसेका सोझालाई जिस्काएपछि

चूपचाप बस्दैनन् झन्डाका रङहरू,

सगरमाथाको हिउँले पखालेर चोख्याएको भूमिमा

तिम्रो विस्तारवादी बिटुलो पाइला

मेरो झन्डालाई स्वीकार्य छैन,

पशुपतिको नाममा सार्वभौमसत्ता हडप्न खोज्ने

तिम्रो रकमी संस्कार

मेरो वैदिक झन्डालाई स्वीकार्य छैन,

रोटी–बेटीको ललीपप बाँडेर

मुटुमा कटारी धस्ने तिम्रो ओठेप्रेम

मेरो स्वाभिमानी झन्डालाई पटक्कै स्वीकार्य छैन।

प्रकाशित: २२ भाद्र २०७७ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App