२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

गोम विक्रमका पाँच मुक्तक

मुक्तक

गोम विक्रम

 

               १

छोइ नसक्नु तरकारी भो, तोलातोलामा किन्नुपर्ला

पहिले  खल्ती  नछामे त,  आफै    उठेर   हिन्नुपर्ला

नून    नभई    निलिदैन,  भाउमा    फेरि    मिलिदैन

सबको  चित्त  बुझाउन,  खै  कस्तो  उधिन्नुपर्ला ।

 

                    २

 

आफै  जस्तो  बुझ्नू   तिम्लाई,  मेरै   रैछ  भुल  हजुर  

आफ्नै   ठानी  हातमै  दिनू,  पिरतीको   फूल   हजूर  

यो  मन जस्तै त्यो मन भए, त्यो मनजस्तै यो मन रहे  

किन   हुन्थ्यौं   र   वारिपारि   छुटाएर  पुल  हजूर  ।

 

                        ३

 

नजिक   थियौ    मिल्दासम्म,  अनायासै   बाटै   फेरयौ  

कसले कान फुक्यो कुन्नि , जिन्दगीको नि पाटै फेरयौ  

आफ्नै  स्रले  चल्छु  भन्थें, बेइमानीलाई  छल्छु  भन्थें  

हेर्नूसम्म  त  बाटो  हेरयौ कुन  रिसले  हो  साटै  फेरयौ।

 

                     ४

जति तिम्लाई  सम्झाए नि, मन  फेरेनौ रति पनि

लुकाइराख्न  सक्छौ दोष, भ्रम  छरेर जति पनि

सबै  कुरा  बिग्रिरहून, मतलब  छैन   जेसुकै हुन

माछा पार्न जाल त फेरयौ, बुद्धि फेरेनौ कति पनि ।

                     ५

तिम्रा कोसेली पनि अब, झुक्क्याउने त्यो पासो लाग्छ

दुनियाँ  उस्तै  शंका गर्छ, कान थाप्छन् र चासो लाग्छ

कतै   विश्वास    गर्नै   हुन्न,  निर्धक्क   भर   पर्नै  हुन्न

अमृतसित  विष साट्छौ, सत्यता खुल्दा हाँसो लाग्छ ।

प्रकाशित: २१ भाद्र २०७७ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App