२३ फाल्गुन २०७७ आइतबार
कला

काठमाडौंको फूल बुस्वाँ जसले नेपाललाई चिनाएको छ विश्वमा

इन्द्रजात्राको आगमनसँगै उपत्यकावासीमा एक किसिमको उमंग छाउँछ। दिनरातनभनी खेती किसानीमा जुटेकाहात खेतकाआली–आलीमा हुर्कंदै गरेको नेपालको रैथाने मौलिक बिरुवा बुस्वाँको जोहो गर्छन्। ताकिइन्द्रजात्रामा ठडिने इन्द्रध्वजवा टोलटोलमा ठड्याइने इन्द्रको प्रतिमासिँगार्न सकियोस्। समयले कोल्टे फेरेको छ। अहिले इन्द्रजात्रामा इन्द्रध्वज र इन्द्रको प्रतिमा ठड्याउने क्रम रोकिएको छैन। तर, बुस्वाँको अभावमा ती इन्द्रध्वज खाँबोमा परिणत भएको छ। त्यसैले रैथाने दुःखेसो मनाउने गर्छन्– इन्द्रजात्रा छ, हुनुपर्ने जतिको रौनक छैन।

विगतमा खेती किसानी गर्दा लागेको घाउचोट निको पार्न बुस्वाँ प्रयोग गरिन्थ्यो। इन्द्रजात्रा आसपास धानखेतमा मौलाएको घाँस उखेल्ने क्रममा लागेको चोट पनि सोही फूलले निको पार्ने गरिन्थ्यो। यसरी औषधीय गुण भएकाकारण खेती–किसानीका देवता इन्द्रको पर्व इन्द्रजात्रा मनाइसकेपछि सम्भावित घाउचोटबाट जोगिनका लागि इन्द्रध्वजमा सिँगारिएको बुस्वाँलाई प्रसादको रूपमा घर–घरमा भित्र्याइन्थ्यो। तर, आजती सबै किंवदन्तीमा परिणत भएको छ।  

संसारभरमा चार सय १६ परिवार, करिब १३ हजार जाति र करिब तीन लाख प्रजातिका फूलफुल्ने वनस्पतिमध्ये बुस्वाँको विशेष महत्व छ। विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए। ह्यामिल्टनले सार्वजनिक गरेको बुँस्वालाई वनस्पतिविद् डाभिड डनले अन्तर्राष्ट्रियकरण गर्ने क्रममा समेत नेपालको रैथानीयतालाई सम्मान गरी ‘नाफालियम बुस्वाँ’नाम राखेकाथिए। यसरी विश्वमा दरिलोसँग नाम स्थापितगर्न सफल बुस्वाँलाई  सूर्यमूखी परिवारको ‘कम्पोजिटी’ परिवार र ‘एनाफलिस’जातिमा सूचीकृत गरिएको छ।

विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए।

अगुस्टिन पिरामस डी क्यानडोले सन् १८३७ मा प्रकाशित आफ्नो पुस्तक ‘प्रोडोमस सिस्टम्याटिस नेचुरालिज रेगिनी भेजेटाब्लिज’ छैटौँ भोलुममा जाति एनाफलिसको व्याख्या गरेका थिए। यस पुस्तक प्रकाशित हुनुअघि डाभिड डन (१८२५) ले आफ्नो पुस्तक ‘प्रोडोमस फ्लोरी नेपालेन्सिस’मा यस एनाफलिस जातिलाई नाफालियम जातिमा व्याख्या गरेका थिए। ‘ग्लोबल कम्पोजिटी डाटा बेस’ अनुसार संसारमा एनाफलिस जातिमा लगभग एक सय ८५ प्रजाति पाइन्छन्। यस जातिको फूल नेपालीमा बुकीफूलबाट चिनिन्छ।

नेपालको रैथाने वनस्पतिको अर्थ नेपालको भौगोलिक परिवेशबाहेक अन्य देशमा नपाइने प्रजाति बुझिन्छ। मौलिकतथा स्वदेशी वनस्पति (इन्डिजेनस÷नेटिभ) नेपालको भौगोलिक परिवेश र अन्य देशमा पनि पाइने वनस्पति हो।  

‘प्रेस इटी अल–२०००’ अनुसार बुकीफूलका करिब १२ प्रजाति र आठ उपप्रजाति नेपालको ५०० देखि ५,५०० मिटरसम्मको उचाइमा पाइन्छन्। यी प्रजाति नेपालको रैथाने, मौलिक तथा स्वदेशी बुकी फूल हुन्।

ताप्लेजुङ जिल्लाको फुगलिङ, सोलुखुम्बुको नाम्चे, दोलखाको कुरी, कालिञ्चोक, गोरखाको बारपाक, लाप्राक, मुस्ताङको जोमसोम, मार्फा आदि ठाउँमा बुकीफूल प्राकृतिक वासस्थानमा हुर्किरहेका हुन्छन्। मैले यस फूललाई मुठा बनाएर फूलदानीमा सजावटका लागि राखेको देखेकी थिएँ। फूलको मुठा बनाएर सजाउने भएकाले बुकीफूल नाम भएको बुझिन्छ। वैशाखदेखि कात्तिकसम्म लामो समय डाँडाकाँडा सेताम्य हुने गरी मोतीजस्तै फुलिरहने हुनाले बुकीफूललाई अंग्रेजीमा ‘पर्ली इभरलास्टिङ’ भनिन्छ।  

एनाफलिस बुँस्वाको महत्व
बुकीफूलको जातिनाफालियमहो भने प्रजाति बुस्वाँहो। नाफालियम बुस्वाँको विवरण सन् १८२५ माप्रकाशित ‘प्रोडोमस फ्लोरी नेपालेन्सिस’ पुस्तकमा छापिएको छ। अगुस्टिन पिरामुस डे क्यानडोले सन् १८३७मानाफालियम बुस्वाँलाई एनाफलिस बुस्वाँनामाकरण गरे। नेपालभाषामा ‘बु’को अर्थ खेत र ‘स्वाँ’को अर्थ फूल हुन्छ। ‘बुस्वाँ’को अर्थ खेतमाफुल्ने फूलभनी बुझिन्छ। यसको स्पेसियमको हर्बेरियम नाफालियम बुस्वाँको नामाकरणबाट लन्डनको ब्रिटिस म्युजियममा राखिएको छ। यसको मतलब नाफालियम बुस्वाँ विश्वमै सबैभन्दा पहिले नेपालबाट संकलनभएको देखिन्छ। अन्तर्राष्ट्रिय विज्ञले नेवाः नामबाट प्रजाति नामाकरण गरेर महत्व दिएको वनस्पतिलाई हामीले नै चिन्ननसक्नु दुःखदहो।

फरक भूगोल र समुदायमायसको फरक–फरक नाम छ, जस्तो कि शेर्पा भाषामा ‘रा, उजे’, तामाङ भाषामा ‘तापताप’ र नेपाली भाषामा ‘बुकीफूल’, अंग्रेजीमा ‘पर्ली इभरलास्टिङ’ र नेपालभाषामा ‘बुँस्वा’।

घाउचोटलाग्दा रगतबन्दगर्न बुँस्वाको पात निचोरेर निस्कने झोल लगाइन्थ्यो। बुकीफूललाई शोभनीय फूलको रूपमा बगैँचामा फुलाउन सकिन्छ। यसलाई गमलामा रोप्न पनि सकिन्छ। यो फूललामो समयसम्म फुल्छ र छिटै ओइलाउँदैन वा सुक्दैन। काठमाडौंमा नेवाः समुदायले चाडपर्वमापूजाकालागि यो फूलको प्रयोग गर्छन्। नेवाः समुदायले यसलाई ‘ब्याँचा स्वाँ’ पनि भन्ने गर्छ। नेपालभाषामा ‘ब्याँचा’को अर्थ भ्यागुता र ‘स्वाँ’को अर्थ फूल हुन्छ। भ्यागुतालाई चढाउन प्रयोग गरिने भएकाले ‘ब्याँचा स्वाँ’ र खेतमापाइने हुनाले ‘बुस्वाँ’ भनेको बुझिन्छ।

जनैपूर्णिमा नेपालका हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व हो। जनैपूर्णिलाई नेवाः समुदायले गुन्हुपुन्ही भन्ने गर्छ। ‘गुनु’को अर्थ नवौँ, ‘पुन्ही’को अर्थ पूर्णिमा अर्थात् नेपाल सम्वतकोे नवौँ महिनामा पर्ने पूर्णिमा भन्ने बुझिन्छ। नवौं महिनामा मनाउने पूर्णिमामानौ थरीका गेडागुडीबाट क्वाटी (क्वा अर्थात् तातो, टी अर्थात् रस) पकाएर खाने र भ्यागुतालाई पनि क्वाटी खुवाउने चलन छ। प्रकृतिपूजक नेवाःजातिले जनैपूर्णिमाको दिन भ्यागुतोलाई पनि पूजा गरी खाना खुवाउने चलन छ। वर्षायाममा बालीमा लाग्ने कीरा खाई कृषि उत्पादन वृद्धिमा सघाउने भएकाले भ्यागुताको गुण सम्झीसिमीको पातमा भात, क्वाटी, काँचोँ मुला, ब्याँचा स्वाँ (बुस्वाँको फूल) राखेर पूजागर्ने प्रचलन छ। कृषि क्षेत्रमा भ्यागुताले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्ने काममा नेवाः समुदायले र खासगरी कृषकले खेतको चार कुनामा ‘ब्याँचा ब्व (भ्यागुताको थाली) राख्दै आएका छन्।

बुस्वाँफूललाई घाममा पनि नसुक्ने र राम्रो देखिने, स्वर्गका राजाइन्द्र देवतालाई मनपर्ने फूलका रूपमा लिइन्छ। इन्द्रजात्रामा इन्द्रध्वज सजाउन पनि प्रयोग गरिन्छ। बुस्वाँ नेवाः समुदायको संस्कृितमा धेरै प्रयोग भइरहने वनस्पति हो। यसलाई निरन्तरता दिनु सबै नयाँ पिँढीको जिम्मेवारी तथा कर्तव्य हो।

संरक्षण अवस्था
रैथाने  र मौलिक थुप्रै महत्वपूर्ण वनस्पति हाम्रो मुलुकबाट लोपोन्मुख अवस्थामा छन्। यसको प्रमुख कारणमा प्राकृतिक प्रकोप, व्यापारिक प्रयोजनका लागि अव्यवस्थित असामयिक संकलन, विकासका नाममा प्रकृतिको विनाश, स्थानीय स्तरमा वनस्पतिबारे सही ज्ञानको अभाव, वनस्पति अध्ययन अनुसन्धानमा न्यून प्राथमिकता र आयातीत वनस्पतिलाई प्राथमिकता आदि हुन्।

आजभोलि निजी बगैंचा, सडकछेउ, मठ–मन्दिर आदिमा आयातीत फूल मात्र रोपिएको देखिन्छ। रैथाने र मौलिक वनस्पतिहरूको संरक्षणमा ध्यान दिएको देखिँदैन। एनाफलिसको एक प्रजाति एनाफलिस मार्जिटासी विकसित मुलुकमा सडकछेउ, वानस्पतिक उद्यान, सार्वजनिक बगैँचामा लगाएको पाइन्छ। तर विश्वले चिनेको हाम्रो रैथाने वनस्पति बुस्वाँले यहाँको सार्वजनिक ठाउँमा प्राथमिकता पाएको देखिँदैन।  

हाम्रो भूगोलभन्दा बाहिरकाअन्यत्र देशबाट आउने प्रजाति (जुन नेपालको रैथाने मौलिक वनस्पति होइनन्)को वृद्धिदर छिटो हुन्छ,  धेरै संख्यामा यत्रतत्र छिटो फैलिन्छन्। अझ रैथाने, मौलिक वनस्पतिलाई असर गरेर आफू स्थापित हुन्छन्, त्यस्ता खालको वनस्पतिलाई बाह्य मिचाहा वनस्पति भनिन्छ।  

पहिचानको अभावमा आयातीत वनस्पतिको प्रयोग बढेको र संस्कृति तथा रैथाने वनस्पतिको संरक्षणमा समस्या आएको छ। यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ।

यस वर्ष जनैपूर्णिमाको एक दिनअगाडि मैले बजारमा बुस्वाँको नाममा बाह्य मिचाहा वनस्पति फूलका बिरुवा बिक्री गरिरहेको पाएँ।

जनैपूर्णिमामा भ्यागुतालाई खुवाउने बुस्वाँको सट्टा पातीझार (जसको वैज्ञानिक नाम पारथेनियम हिस्टेरोफोरस, दक्षिण अमेरिकाको वनस्पति) बजारमा बिक्री गर्न राखेको देखियो। यो वनस्पति संसारमा पाइने २६ वटा अति मिचाहा वनस्पतिमा पर्छ। यो उपत्यकामा सहरी क्षेत्रभित्र सडकछेउमा अत्यधिक पाइने मिचाहा वनस्पतिको हो।

बुस्वाँको नाममा रैथाने वनस्पतिलाई नचिनेका कारण बाह्य मिचाहा प्रजातिको वनस्पतिको प्रयोगले रैथाने मौलिक वनस्पतिलाई विस्थापन गरेका छन्। संस्कृतिसँग नाता जोडेको वनस्पतिको स्थानमा बिरानो वनस्पतिको उपयोग ‘बिरालो थुनेर श्राद्ध गर्ने प्रचलन’जस्तै हो।  

समयमै रैथाने वनस्पतिको संरक्षण र महत्वमा ध्यान दिनु हामी सबैको कर्तव्य हो। अहिले दुई प्रकारको संरक्षण विधि अपनाइएको छ। वनस्पतिको प्राकृतिक वासस्थानमा संरक्षण गर्नेलाई स्व–स्थानीय संरक्षण भनिन्छ। वनस्पतिको प्राकृतिक वासस्थान भन्दाबाहिर गरिने संरक्षणका क्रियाकलापलाई पर–स्थानीय संरक्षण भनिन्छ। हाम्रो नेपाली संस्कृति र सभ्यतामा केही वनस्पति पूजाआजामा प्रयोग हुन्छ भने देवताका नाममा छुट्ट्याएर राख्ने चलन छ।  

रैथाने र मौलिक वनस्पतिको गौरव र इतिहास बोकेका वनस्पतिको सहीपहिचान, उपयोग र दिगो संरक्षणको लागीस्व–स्थानीय र पर–स्थानीय संरक्षण गर्नु सम्बन्धित निकाय र सम्पूर्ण नागरिकको दायित्वभित्र पर्छ।

प्रकाशित: २० भाद्र २०७७ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App