७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सरस्वती तिमिल्सिनाका तीन कविता

समकालीन आवाज

सरस्वती तिमिल्सिना

परिचित अनुहारहरू  

म आश्चर्यचकित छु

आँखा नझिम्क्याई हेरिरहेकी छु

म के देखिरहेकी छु भन्ने कुरामा

मलाई विश्वास लागिरहेको थिएन

कहिल्यै नदेखेको विशाल जुलुस  

मडारिदै अगाडि बढ्दै थियो

जुलसुमा सहभागीले जोडजोडले लगाएको

सशक्त नाराहरूले आकाश गुञ्जायमान थियो  

मैले जुन दृश्य देखिरहेको थिएँ

त्यसमाथि मलाई पत्यारै लागेन

मैले आँखा मिचेर पुनः नियालेर  

लहरै उभिएका स्त्री अनुहारमा हेरेँ

जुलुसको पहिलो पंत्तिमा  

जीवित देवी कुमारी थिइन्  

उनी जोडले नारा लगाउँदै थिइन्  

तर उनको आवाज मधुरो आइरहेको थियो

अनि बिस्तरै भीडमै कतै हरायो

उनलाई देखेर म झसंगै भएँ  

किनकि  

उनको अनुहार ठ्याक्कै निर्मला पन्तसँग मिलेको थियो।  

 

त्यही लहरमा भृकुटी थिइन्

उनको कपाल महिनौँदेखि नकोरेकाले होला  

जिङ्ग्रिङ्ग थियो  

टाउकोमा कफन अंकित रातो कपडाले बाँधेर

उनी... अधिकारको नाराको प्लेकार्ड उचाल्न खोज्थिन्

तर, उनको शरीर मुस्किलले साथ दिइरहेको थियो

छेउकी अधबैंसे महिलाले अँगालेर उनलाई उभ्याइरहेकी थिइन्  

मलाई लाग्छ कि महिला योगमाया नै हुन् कि ?  

म फेरि झस्कने पालो आयो

भृकुटीको अनुहार त काटीकुटी गंगामायासँग मिलेको थियो!

 

मेरो धड्कन बढिरहेको थियो

खुट्टा लगलग काम्न थालेका थिए  

म डराईडराई हेर्दै थिएँ

राम पत्नी सीता त्यही हारमा?

अहँ मलाई पत्यार लागेन,

म नजिकै गएर हेरें, विश्वस्त भएँ  

किनकि,

उनको शरीरबाट अग्निपरीक्षाको खरानीको गन्ध आइरहेको थियो

उनी आफ्नो आधा जलेको पाखुरामा  

कालो विरोध संकेत बाँधेर

अगाडि बढ्दै थिइन्  

उनलाई नियाल्ने क्रममा मैले सीताको अनुहारमा

तेजाव आक्रमणमा घाइते

मुस्कान खातुन, संगीता मगर, पवित्रा कार्की

अनि अरू धेरै छोरीहरूको अनुहार  

चलचित्रको पर्दामाझैं झलझली आइरहेको देखेँ।  

मलाई भाउन्न भएर वाक्न आउलाजस्तै भयो

जुलुसमा चिनेझैं लाग्ने अरू धेरै अनुहार थिए

मंगलादेवी, शैलजालाई सहाना पनि पच्छ्याइरहेकी थिइन्।  

 

म भीडबाट बाहिर निस्कन खोजेँ  

तर, ती अनुहारहरूले मलाई झन् भीडभित्र धकेलिदिए

मैले एउटा उपाय खोजेँ

जुलुससँगै अगाडि बढ्ने  

मैले नारा लगाउनेसँग लय मिलाउन खोजेँ  

तर एउटा कम्व्याक्ट पोशाकको अजंगको आकृति  

अगाडि आएर मेरो मुख थुनिदियो

मैले प्लेकार्ड उठाउन खोजेँ

आँखामा पट्टी बाँधेको आकृतिले  

प्लेकार्डको नारा मेटाइदियो

‘संविधान’ लेखेको मोटो किताब

फुत्त मेरो अगाडि खस्यो

हावाको झोक्काले फरर पाना पल्टियो

मेरा आँखाले झ्वाट्ट केही देख्यो  

‘महिला हक’  

प्रत्येक महिलालाई

१)....... हक हुनेछ

२).........हक हुनेछ

३).........हक हुनेछ

 

मलाई ती शब्दहरूले गिज्याएझैँ लाग्यो

भीड निरन्तर अगाडि बढ्दै थियो  

म पनि धकेलिएकी थिएँ अघिअघि

बिस्तारै म निस्सासिँदै गएँ

पसीनाले म निथ्रुक्क भिजेकी थिएँ

मेरा खुट्टा गलिसकेका थिए

म थाकिसकेको थिएँ।  

 

आकाशमा हेलिकप्टर आयो र टुँडिखेलमा झ-यो  

अनि कतै देखेको अनुहार कुशल अभिनेत्रीझैँ

सरक्क झरेर, भ-याङ उक्लिँदै गएर  

मखमली आसनमा विराजमान भयो।  

 

त्यति नै बेला

कसैले मलाई पछाडिबाट बोलायो

छोरी.. !! छोरी....!!

उठ्ने होइन?

यो चिरपरिचित आवाज आमाको थियो

म विस्फारित आँखाले आमालाई हेर्दै थिएँ

सोँच्दै थिएँ मेरी आमाको अनुहारमा  

कस्को अनुहार मिल्छ?

 

एफएममा समाचार आइरहेको थियो  

.......वर्षीया बालिकाको बलात्कारपछि हत्या

..... किशोरीमाथि तेजाव आक्रमण!

 

लोग्नेमान्छे  

तिम्रो पुरुषत्व  

उति नै बेला ढलेको थियो

जतिबेला द्रौपदीको वस्त्र हरण भएको थियो  

र सीताको अपहरण भएको थियो

तिम्रो एक पित्को पुरुषत्व  

त्यतिबेला नै स्खलित भएको थियो

जतिबेला स्वस्थानीको कथा लेखियो  

र सात वर्षे गोमा ब्राम्हणीमाथि  

सत्तरी वर्षे वृद्धको गिद्धे नजर गडेको  

नजिर स्थापित भयो।  

 

कृष्णलीलाको  नाममा  

सैयौँ गोपिनीहरूलाई बन्धक बनाएर  

रोपिएको चरम शोषणको वीज

आज बाबु, दाइ र भाइले  

ब्याड जोगाएर बिँडो धानेको छ

कृष्णको, दुश्शासनको र शिव ब्राह्मणको !  

 

के तिमीलाई थाहा छैन  

रजस्वलाको एक शृङ्खलासँगै  

तिम्रो जीवन शुरू हुन्छ भनेर ?

त्यही रजस्वला प्रवाहित हुने द्वार नै  

तिम्रो धर्ती पर्दापणको मूलबाटो हो भनेर ?  

कसरी बिर्सियौ ?

तिमीले तिम्रो सभ्यताको उद्गम  

यही ढोकाबाट भएको हो र हुन्छ भन्ने ?

 

जब तिमी त्यो ढोकाको पल्ला भत्काउन खोज्छौ

भित्रै सम्म उदांगो देखिन्छ  

तिम्रो सभ्यता र तिम्रो संस्कार !  

एकपटक भत्किएको ढोकाले  

पुस्तौँसम्म ढाक्न सक्दैन तिम्रो पुरुषत्व !  

 

कलंक  

म मौन छु सीता !  

म दुःखी छु मिथिलेश !  

म स्तब्ध छु जानकी !  

हृदय छियाछिया परेको छ आज  

तिम्रो माइतीघरको आँगन

तिम्रै लागि परदेश भएको  

म कसरी हेरिरहूँ ?

तिम्रा दाजुभाइ

तिम्रो अग्निपरीक्षाको  

खिल्ली उडाइहेछन्  

रावण त लंकामा पो थियो

तर, आजभोलि  

रावण बसाई सरेको छ  

तिम्रो मिथिलामा

तिम्रो प्रिय लक्ष्मण  

तिमीलाई हिलो छ्यापिरहेछ

भरत तिमीलाई गन्दा गाली गरिरहेछ  

तिम्रो परमभक्त हनुमान  

तिमीलाई अश्लील इशारा गरिरहेछ

यहाँ विभीषण मन्दोदरीमाथि गिद्धे नजर हेरिरहेछ

म अलमलमा छु  

दशरथ पुत्र रामको अवसानले

तिमी किन अभिषप्त हुनु परिरहेछ !  

तिमीले हुर्काएका लवकुशलाई

वाल्मिकीले खै कस्तो विद्या सिकाए?

उनीहरू तिम्रै शिरको पछ्यौरी खसाली

तिमीलाई नंग्याउन उद्धत देखिन्छन् ।  

 

फेरि एक पटक धर्ती फाटोस्

र समाहित बनाओस्  

ती पापीहरूलाई

जो तिम्रो सेतो सारीमा

गाली, अपमान र तिरस्कारको छिटा उछाल्दैछन्।  

फेरि राखियोस् अग्निपरीक्षाको महामेला

र एकएक गर्दै खरानी पारियून्  

तिमीलाई र मिथिलालाई छुन खोज्नेहरू !  

 

प्रकाशित: १७ भाद्र २०७७ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App