वसुश्री पाण्डे
मन्टु र बन्टु दुई दाजुभाइ थिए । मन्टुलाई कुकुरको एकदमै शौख थियो । त्यसैले घरमा उसले एउटा कुकुर पालेको थियो । बन्टुलाई चाहिँ बिरालोका सोख थियो । त्यसैले उसले सेतो र कालो रङ्गको एउटा टाटेपाटे बिरालो पालेको थियो । मन्टुको कुकुरले मासु नभई भात खाँदैनथ्यो ।
एकदिन मन्टुले उसको घरको कौसीमा कुकुरलाई दुई टुक्रा मासु मात्र खान दियो । कुकुरले मासु पाएपछि एकदम मन पराउँछ । उसलाई दिएको मासु खानुभन्दा अगाडि चारैतिर हाउहाउ गरी भुकेपछि मात्र खान थाल्यो । जब कुकुरले मासु खान लागेको थियो म्याउँम्याउँ गर्दै बिरालो पनि कुकुरको नजिकै टुप्लुक्क मासु खान गयो । कुकुरले बिरालालाई देखेपछि झम्टेर भगाउन खोज्यो तर बिरालो त्यहाँबाट हटेन । त्यसले पनि हातको नंग्राले कुकुरको मुखमा हिर्काएर तर्साउँथ्यो । कुकुर र बिरालो त्यहाँ ङ्यार्रङुर्र गरेर लटारो गर्न लागे । त्यस घरको नजिकैको ठूलो रूखमा बसिरहेको एउटा काग उडेर आयो । त्यसले मासुको टुक्रा चुच्चाले च्यापी लग्यो । अनि त्यसले रूखको हाँगामा लगेर खान थाल्यो । मन्टु र बन्टुको कुकुर बिरालो हेरेको हेरयै भए ।
प्रकाशित: १ भाद्र २०७७ १०:२४ सोमबार