१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गोरे !

कथा

‘माधुरी पाहुँनालाई ‘च्या‘पानी’ ल्याउँ न ?,’ बुबाले बोलाउनुभयोे ।

बाहिर कोको आएका छन् भनेर थाहा थिएन उसलाई । प्लेटमाथि चारवटा गिलास अड्याएर पानी लिएर बाहिर निस्किई ऊ । पानीका गिलास टेबुलमा राखी । सबैलाई नमस्कार गर्दै पानीको गिलास टकारी उसले । त्यसलगत्तै उ भित्र छिरी । संघारभित्र पुग्दैगर्दा बुबाले मीठो चिया बनाउँ भन्दै अरयाउनुभयो । माधुरी भान्सा कोठामा छिरी । ग्याँसको बटन पिटिक्क पारी । चिया बनाउन स्टीलको ताप्केमा पानी बसाली । पानी उम्लिएपछि दूध र चियापत्ती राखी । कौतुहलता थियो उसलाई–बाहिर कुर्चीमा बसेका किन आए होलान् । चिया उम्लियो । स्टीलका गिलासमा छानी । चियाका गिलास थालमा अड्याई । पछयौरीले हल्का टाउको छोपी । निहुरिएर बिस्तारै बाहिर निस्किई । कुर्चीमा बुवासित पाहुनाहरू गफिँदै थिए । उसले बुवाको अगाडि चियाका गिलास टक्र्याई । पाहुनाले उसको मुखमा हेराहेर गरे ।  ऊ लाजले भुतुक्क हुँदै भुइँतिर  नियाली । पालैपालो सबैको अगाडि चियाका गिलास राख्दिई । ऊ  ढोकाबाट भित्र छिरी ।

माधुरी भित्र गएपछि बाहिर गफ जम्न थाले । चिया सेलाउँदै थियो । कसैले सुरुप्प पारेका थिएनन् । माधुरीका बुवाले चिया सेलाउला लिऊँ भन्दै सुरुप्प पारे । पहिलो घुड्की मुखमा हालेपछि उनले ओठ बंग्याए । कारण चियामा चिनी नै थिएन । चिनी छैन भनेर  पाहुनालाई भनेनन् उनले । घर आएका पाहुनालाई चिनी नभएको चिया खुवाउनुपरयो भन्दै मन अमिलो बनाए । मुखबाट शब्द भने निकालेनन् । त्यसपछि अरूले पनि चिया पिउन सुरु गरे । सबैलाई चिनीबिनाको चियाले खल्लो बनायो । यस्तो चियालाई गाउँघरमा ‘फिका चिया’ भन्छन् । चियाँ पिउँदै गर्दा एकले अर्कालाई चिनी छैन भनेर सुनाएनन् ।  

कुराकानी चल्दै गर्दा अलि चटपट स्वभाव अधबैंसेले ठटयौंली पारामा फ्याट्ट भनिहाले, ‘यहाँ सबै जना सुगरको विरामी त हुनुहुन्न ।’ 

एकैछिन सबैजना गलल हाँसे । माधुरीका बुवाले आशंका गरिहाले । घरमा आएका पाहुनालाई चिनी नभएको चिया पिलाउँदा उनी खिन्न भए । ‘आत्तिएर होला छोरीले चियामा चिनी राख्नै बिर्सिछन्,’ पाहुनासँग भने ।  त्यति भन्दाभन्दै चिनीबिना चियाका गिलास सबैले रित्याए ।

माधुरी भित्र भान्सामा बसिरहेकी थिई । चिया सकिएको अनुमान गर्दै गिलास उठाउन बाहिर आई । सबैको अगाडि बुबाले चियामा चिनी रैनछ भनिदिए । माधुरी झसंग भई । उनलाई अप्ठ्यारो लाग्यो । केहीबेर अनुहार रातो बनाई । नबोलीनबोली गिलास टिपेर ऊ भान्सामा लागी । भित्र गएर घोत्लिँदै थिई ऊ । केहीबेरमा फेरि माधुरीलाई बुबाले बाहिर बोलाए । ऊ बाहिर आई । बुवाले ती पाहुनाहरू विहे प्रस्ताव राख्न माग्न आएका भनेर माधुरीलाई सुनाए । ऊ केही बोलिन । निहुरिएर भुईतर्फ हेरिरही ।

ऊ फेरि कोठा छिरी । बाहिर पाँचजना थिए । केटा पक्षका एकजनाले एकैछिन दुईजनालाई सँगै बसेर कुरा गरादिऊँ भनेर प्रस्ताव राखे । माधुरी भित्र कोठामा थिई । बुबाले फेरि बाहिर बोलाए । उ खुरुक्क बाहिर आई । तिमीसँग विहे हुने भनेको केटा यही हो । जाऊ टिभी कोठामा केहीबेर गफ गर ।

माधुरीले बुबाको कुरालाई नकार्न सकिन । ऊ कोठामा छिरी । उसको पछिपछि ती युवक छिरे । कोठाका दुईटा कुर्चीमा बसे । दायाँतर्फ माधुरी, बायाँतिर ती युवक थिए । कोठामा छिरेपछि केहीबेर दुवै मौन रहे । दुवैलाई के बोलौं के बोलौं भइरह्यो ।  

जवानीले भरिएको जीउ । बाटुलो अनुहार । छिनेको कम्मर । डिम्पल परेका गाला । मीठो बोली । चुलबुले स्वभाव । माधुरीलाई हेर्दाबित्तिकै युवकलाई कतिखेर कुरा गरौं भन्ने भइरहेको थियो । केहीबेर मुख हेराहेर चल्यो । सुरुमा युवकले मुख खोल्न सुरु गरे । उनले माधुरीको  पढाइ सोधे । माधुरीले सरसर्ती बताई । माधुरीले पनि प्रतिप्रश्न गरिन, ‘तपाइले कति पढ्नुभएको छ ?’

– मेरो पढाइ एसएलसी मात्रै हो, केही दिनअघि मात्रै कोरियाबाट फर्केकोे ।  

केटाले एसएलसी मात्रै गरेको सुनेपछि उसलाई ‘कम्फर्ट’ लागेन । केहीबेर बोलिने ऊ । माधुरी निशब्द भएपछि कुरा मिल्ला जस्तो अनुमान युवकले गरे । तर माधुरी मौन रहनको अर्थ त्यस्तो थिएन । उसको मनलाई केटा चित्त बुझेन ।  

नबोलिरहेकी माधुरीलाई फेरि युवकले सोधे, ‘तिम्रो विचार के छ ?’

माधुरीः अहिले त्यस्तो सोचेकी छैन ।  

युवकःआखिर एकपटक विहे गर्नैपर्छ, तर मैले फोर्सचाहिँ गर्दिनँ ।  

माधुरीलेः फोर्सभन्दा पनि मलाई अहिले विहे गर्ने मन छैन ।

‘हेर्नुस् हाम्रो पढाइ, उमेर, जात, पारिवारि अवस्था सबै मिल्छ,’ युवकले भने ।  

माधुरीः यी बाहिर देखिने र अरूलाई देखाउने कुरा मात्रै हुन् । खासमा हामी मिल्ने भनेको त मन र पढाइले हो ।

माधुरीको यो जवाफ युवक अलि झसंग भए । युवकः ‘त्यो बिस्तारै मिल्ने कुरा हो ।’

माधुरीः तर, मलाई विहे गर्ने मन छैन ।  

माधुरीको अन्तिम जवाफपछि ती युवक केही जवाफ फर्काएनन् । त्यसपछि उनीहरू बाहिर निस्किए । बाहिर केटा पक्ष र केटी पक्षको के कुरा भए होलान् भन्दै पर्खिरहेका थिए । केटा र केटी बाहिर उनीहरुले केटा र केटीकै कुरा अनुसार अघि बढौंला भन्ने सल्लाह गरे । केटा पक्षका त्यहाँबाट बाहिरिए । पाहुना निस्केपछि माधुरीलाई बुवाले सोधे, ‘के भन्सि ।’ माधुरीः ‘मैले त नाइँ भनेँ ।’

केटा त राम्रै रहेछ, कोरियामा पैसा कमाएर आएको,’ बुवाले भने । बुबा कराउँदै थिए, माधुरी खुरुक्क टिभी कोठा छिरी ।  

 

कोठाभित्र माधुरी केहीबेर कल्पिन्छे । एउटा राम्रो जागिर होस् । विहपछि श्रीमानलाई आर्थिक बोझ नहोस् । घरखर्च आफै टार्न सकूँ । श्रीमानको कमाई अरू केहीमा लगानी गर्न सकियोस् । विहे गर्नुअघि माधुरीले यही सोची । त्यसैले उसले परिवारको कुरालाई मान्न सकिरहेकी छैन । उस्ले विहेको बारेमा केही  पनि सोच्न भ्याएकी छैन । आत्मनिर्भरताको बाटो खोज्दै पढाइ र जागिरको अल्झनमा छे ऊ ।

माधुरीको उमेर नपुगेको पनि होइन । मंसीर १ गते २३ पुगेर २४ मा टेकी उसले । ढुंगाको कापमा उमे्रको फूल त उमेर पुगेपछि आफै फक्रन्छ । उत झन् उमेर नपुग्दै धपक्कै बलेझै देखिन्थी । पोहोरको मंसीरमा बहाना बनाएर टारेकी उसले सोच्दै छे, यसपटक के वहाना बनाउँ ? यो माघलाई कसरी कटाऊँ ? दिनैपिच्छे घरमा आएका आफन्तलाई के भनूँ ? पात्रोमा दुईचार दिनको फरकमा समेटिएका विवाह मुहूर्तलाई कसरी पार लगाऊँ ? उसलाई यस्तैयस्तै प्रश्नको ताप छ अहिले ।  

०००

माधुरीले अहिले विएससी एग्रिकल्चर चौथो सेमेस्टर पढ्दै छ । उसको रहर कृषि विषेशज्ञ बनेर कृषकसँग सहकार्य गर्नु हो । तर उसको सोच र परिवारको सोच मिल्दैन यहाँ । उस्को चाहना र परिवारको चाहना अलग्गै भइदिन्छ । परिवारका सदस्यले उसको विवाहको प्रसंग उठाइरहेका छन् । वैशाख यता उसलाई विहेको प्रस्ताव घरीघरी ल्याएका छन् परिवारले । अहिले उ विहेको दबाबमा छे । विहेकै लागि भनेर आफन्तले देखाउन धेरै केटा घरमा ल्याए । आफन्तमार्फत आएका कति केटालाई त उसले प्रत्यक्ष ‘रिजेक्ट’ गरेकी छे । कहिले विहेको कुरा गर्दा वहाना बनाउछे । आफ्ना योजना र चाहनाहरू सुनाउँछे । अचेल दिक्क भएर होला, घरमा कोही पाहुना आउँदै छरे भन्ने सुनेपछि उ क्याम्पसबाट ढिलो आइपुग्छे माधुरी । उतैबाट कहिले साथीकोमा पुग्छे । कहिले क्याम्पसका काम प¥यो भनेर टार्छे । कहिले कोठामा चुुकुल लगाएर धुमधुमती बस्छे । यस्तैयस्तै वहाना बनाएरै पनि उसले सामाजिक बन्धन बिहेलाई पन्छाउँदै आएकी छे ।

 विहेको प्रस्ताव राख्दै आफन्तमार्फत २० जनाभन्दा बढी केटा आए होला्न उसलाई हेर्न । तर, उसले तीमध्ये धेरै केटालाई सीधा अनुहारले हेरेकी छैन । एकपटक भने उसले एकैठाउँ बसेर केटासँग कुराकानी गर्नुपर्ने भयो । मंसिरको कुरा हो । ऊ घरमै थिई । उसका बुवाआमा सँगै थिए । दिउँसो चारपाँच जना पाहुना आए घरमा । तीमध्ये केहीको अनुहार माधुरीले चिनेकी थिई केहीे अनुहार अपरिचित थिए । नयाँ पाहुना आएपछि माधुरीलाई शंका लाग्यो, पक्कै मलाई माग्न आए । आँगनमा पाहुनाको आगमन भयो । उ भान्सा कोठामा थिई । जुरुक्क उठेर बाहिर आई । पाहुनालाई पालैपालो नमस्कार गरी । त्यति गरेपछि उ हत्तपत्त टिभी कोठामा छिरी । रिमोर्ट थिची र टिभी अन गरी । हल्का ढोका बाहिर धकेली । खाटमा ढल्केर टिभी हेर्न थाली ।  

यो पटक आएको केटाको बानी व्यवहार र खुवाइचाहिँ परिवारले समेत याद गर्ने खालको छ । केटाको नाम गोरे । ज्याङगो शरीर । हेर्दा चिरिच्याँट्ट देखिन्छ । दारी फालेर गाला चिल्लो पारेको छ । कोट–पाइन्ट र टाई पहिरिएको छ । ढाका टोपी ढल्काएको छ । यसो हेर्दा आउट लुक्स ठीकै छ गोरेको  तर गोरेको अनुहार अलि छिप्पिएको देखिन्छ । गोरेको घर चरेपानी भन्ने ठाउँ रहेछ । त्यो ठाउँ अलि लेकमा पर्छ ।

केटीको घर पुग्नेबितिकै गोरेले नमस्कार गरेको थियो सबैलाई । माधुरीलाई पनि उसको नमस्कार फर्काएकी थिई । तर माग्न आएको यही केटो हो भनेर उसले सोचेकी थिइन् । गोरेसँग उसलाई केटी माग्न भन्दै आएका दुईजना बूढापाका उसका माइला बा र ठूलो बा छन् । त्यहाँ पुगेपछि अब विहेको कुरा अघि बढाउँछन् । गोरेका ठूलाबा कुरा अघि बढाउन खोजे । गोरे चूपचाप छ । उसले केही बोल्दैन । खूब शोभनीय र भलाद्मी पारामा खाटमा बसेको छ  उ । ठूलाबाले उसोको तर्फबाट बोल्न थाले । केटा गतिलो छ । इमानदार छ । जाड, रक्सी, चुरोट केहि खादैन । त्यति सुनेपछि केटी बुबा मुसुक्क हाँसे । अहिलेका जमानामा यी प्रवृत्ति सुन्न पनि राम्रै हो । तर, उनले छोरीको पक्का वचनचाहिँ दिन सकेनन् । गोरे पक्षकाले केटी हेरम भनेर प्रस्ताव राखे ।

 माधुरी भित्र टिभी कोठा थिई । टिभीको भोलम सानो पारेर बाहिरको कुरा सुनिरहेकी थिई । बुबाले चिया ल्याउन आग्रह गरे । चिया बनाई । कुर्ता र चुन्नीले मुख छोप्दै थालमा गिलास अड्याएर ऊ बाहिर आई । चिया लिएर आएकी माधुरीलाई छड्के पारामा हेर्दैछ गोरे । चिया पिउँदा र सामान्य गफगाफ चल्दाचल्दै साँझ पर्छ । त्यसपछि माधुरीका बुवाले बसौ भन्छन् । रात परिसकेकाले उनीहरू बस्न तम्तयार हुन्छन् । माधुरीका बुबा र गोरेका आफन्तबीच खाटमा खूब गफ चलिरहेको छ । माधुरीका बुबाले लगभग छोरी दिने पक्कापक्की गरिसके । गोरेलाई र माधुरीलाई भोलि बिहान एकपटक सँगै राखेर कुरा गराउने सल्लाह भयो । कुराकानी गरिरहँदा राति भयो । माधुरीकी आमाले सुधारिएको चुलोमा खाना बनाउँदै छिन् । खाना तयार भएपछि सर्वप्रथम गोरेलाई खाना खान बोलाउँछिन् । गोरे मूलचौकामा बस्छ । मूलचौकाको अगाडि अगेनो (चुलो) छ । अगेनोमा आगोको भुग्रोमा माधुरीकी आमा रोटी सेक्दै छिन् । सातआठवटा रोटी पाकेपछि गोरेलाई भाग लगाइदिन्छिन् । गोरेले लोटामा पानी लिएर ताउलोमा हात धुन्छ । खान बस्छ । माधुरीकी आमाले रोटीको सेक्दै छिन् । केहीछिनमा आमालाई सघाउन माधुरी पनि भान्साकोठा छिर्छे । यता गोरको भाग रित्तियो । माधुरीकी आमाले सोध्छिन्– के राख्दिऊँ ? गोरे मुन्टो हल्लाएर रोटी थप्ने संकेत गर्छ । आमाले चारवटा रोटी थपिदिइन् । गोरेले खूब मीठो मान्दै खाइरहेको छ । माधुरी चूपचाप छे । गोरेले थपेको रोटी पाँच मिनेटमा सकाउँछ । माधुरी आमाले फेरि सोध्छिन्, ‘अझै खानुहुन्छ ?’

गोरेले नाई भन्दैन । उनले रोटी थपिदिइन् । गोरेले खाइरहेको छ । १२ वटा रोटी सक्दा गोरेको पेट अझै भरिएन । गोरेको थाल रितिएको बेलामा माधुरीका बुबा पनि भान्साभित्र छिरे । बुबाले रोटी खानुन्थ्यो कि भन्दै सोध्छन् । गोरे बोल्दैन । उनले खानुस् न भन्दै चारवटा रोटि फेरि थपिदिए । मुछेभरको पीठो सकिन लाग्यो । गोरे नअघाएको देख्दा आमा अचम्म मान्न थालिन् । मनमनै कति खाएको होला भन्दै सोच्न थालिन् । मुछेको पीठो सकिएपछि गोरे खाएर उठ्यो ।

माधुरीकी आमाले फेरि पीठो मुछिन् । अर्को टोलीलाई खाना खान बोलाइन् । गोर बाहिर खाटमा गएर बस्यो । त्यसपछि अरू पाहुनाले खाईवरी सुत्छन् । भोलिपल्ट बिहान हुन्छ । अघिल्लो रातिको गोरले १७ वटा रोटी खाएको देख्दा बाबुआमाले हन्तकाले ठान्छन् । यतिधेरै खानेलाई कसरी छोरी दिनु । अघिल्लो दिन आएर सुतेका पाहुनालाई धेरैबेर राख्दै खोज्दैनन् । केही दिनमा जवाफ दिन्छौं भन्दै पठाउँछन् । माधुरीलाई हेर्न आएको गोरे मन खिन्न पार्दै फर्कन्छ । माधुरीका परिवारले विहे नगरिदिने निधो गर्छन् ।  

प्रकाशित: २३ श्रावण २०७७ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App