२२ मंसिर २०७९ बिहीबार
कला

प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशन गर्ने

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशित गर्ने भएको छ । आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनीमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीहरूको खोज–अन्वेषण गरी प्रज्ञा–प्रतिष्ठानले उक्त लोकगाथा प्रकाशन गर्न लागेको हो ।

अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा संकलित तथा सम्पादित ती दुर्लभ लोकगाथाहरू आफ्नो विभागको संयोजनमा प्रकाशनमा ल्याउन लागिएको प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले जानकारी दिए ।  

‘आजभन्दा एक सय वर्ष अगाडि अर्थात् सन् १९१४ देखि १९१८ का बिचमा जर्मनीको बर्लिनदेखि ४० किमी टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले कहेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा राखिएको रहेछ र त्यो आजसम्म पनि सुरक्षित रहेछ ।’ नेपालले भने,  ‘यो जानकारी प्राप्त हुनासाथ उक्त सामग्री नेपाल र नेपालीका लागि अत्यन्त दुर्लभ, अज्ञात र आश्चर्यलाग्दो सम्पत्ति भएको हुनाले संकलन गरी प्रकाशन गर्न लागिएको हो ।’

प्राज्ञ नेपालका अनुसार जर्मन शिक्षक विलहेल्म डोगेनको सल्लाहमा सन् १९१५ अक्टुबरमा स्थापना भएको ‘रोयल प्रसियन फोनेटिक्स कमिसन’ संस्थाले विश्वका भाषाहरूको ध्वनि, उच्चारण र गीतसङ्गीत आदिको ध्वन्यात्मक रेकर्ड राख्ने उद्देश्यअनुसार सङ्कलन गरिएका १६०० भन्दा बढी सामग्रीहरूमा १०० भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन् । गोर्खालीहरूको रेकर्डको जिम्मा प्रा. हाइनरिख लुडर्स ९१८६९—१९४३० लाई दिइएको रहेछ ।

संस्कृत, बङ्गाली, पास्तो भाषाका ज्ञाता र पछि गुरुङ भाषा पनि सिकेका उनले रेकर्ड गरेका सामग्रीहरूमा २६ लोककथा, ५० भन्दा बढी लोकगीत, लोकगाथा र लोककविता तथा केही गाउँखाने कथा गरी १०० भन्दा बढी सिर्जनाहरू रहेका छन् । यिनलाई ध्वनिबाट लिपिमा उतार्ने काम भइसकेको छ, अब चाँडै नै यसलाई प्रकाशनमा ल्याइने छ ।  

उक्त ऐतिहासिक महत्वको सामग्री संकलनको जिम्मा पाएकी डा। आत्रेयका अनुसार यी लोकसामग्रीहरूमा गोर्खाली सेनाका वेदना, परिवारको माया र गाउँको सम्झना जस्ता संवेदनशील  कुराहरू समेटिएको हुनाले एकातिर यसको भाषिक, साहित्यिक र सामाजिक महत्त्व छ भने अर्कातिर आजभन्दा एक सय वर्ष पुरानो रेकर्ड भएको हुनाले यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि रहेको छ ।

प्रकाशित: २२ श्रावण २०७७ १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App