coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खेल

बालकथा

शेखरकुमार श्रेष्ठ

शनिबारको दिन थियो । रजनी र राजेशको विद्यालय छुट्टी थियो । उनीहरूका बुबा रमण अनि आमा उषाको पनि कार्यालय बन्द थियो । आज सबै जना घरमा नै थिए ।  

“ल, भन । आज के के खाने ?” आमाले सोध्नुभयो ।

“मम नखाएको धेरै दिन भयो । आज मम खाने हुन्न र दाजु ?”रजनीले सोधिन् ।

“कुन मम खाने ?” आमाले सोध्नुभयो ।  

बुबाले भन्नुभयो,  “आज आफ्नै बारीका तरकारी राखेर सब्जी मम खाने नि ।”

“अनि खानलाई त काम गर्नुपरयो नि । आज बिदाको दिन के काम गर्ने ? ल भन त ।” आमाले सोध्नुभयो ।  

“काम । अहँ, मलाई त काम गर्न मन छैन ।” रजनीले भनिन् ।

“ल, त्यसो भए आज हामी काम गर्ने होइन । घर सफा पार्ने खेल खेलौं ।”, आमाले बताउनुभयो ।  

“घर सफा गर्नु भनेको खेल होइन । यो त काम नै हो नि ।” छोरी रजनीले भनिन् ।  

“किन खेल नहुनु ? ल हामी सबैले एकएकओटा कोठा सफा गर्ने । जसले छिटो र सफासँग कोठा सफा गर्छ, उसैको जित हुन्छ ।” बुबाले खेलको बारेमा बताउनुभयो ।  

“ल, खेलौं न त ।” रजनी र राजेश दुवै राजी भए ।  

“ल, सबै जना खेल्न तयार भएको भए कोठा म छुट्याउँछु ।”आमाले भन्नुभयो ।  

“होइन, होइन । म छुट्याउँछु ।” बुबाले बताउनुभयो ।  

“ल आमाबुबा दुवै मिलेर छुट्याउनुस् न त ।” रजनीले भनिन् ।

“ल म भान्साकोठा सफा गर्छु । बुबाले चाहिँ भरयाङदेखि लिएर आँगनसम्म सफा पार्ने ।” आमाले सबैलाई एकएक हेर्दै भन्नथाल्नुभयो ।

“अनि ?” सबैले एकैस्वरमा सोधे ।  

“अनि रजनीले पाहुनाकोठा र किताब राखेको कोठा सफा गर्ने ।”  

“म नि आमा ?” राजेशले सोधे ।  

“तिमीले चाहिँ सुत्नेकोठा सफा गर्ने ।”  

“पूजाकोठाचाहिँ कसले सफा गर्ने नि ?” रजनीले सोधिन् ।  

“त्यो त मैले पूजा गर्नका लागि बिहान सफा गरिसकें ।” आमाले बताउनुभयो ।  

“ल त्यसो भए खेल सुरु गरौँ न त ।” बुबाले भन्नुभयो ।  

“सबैले हातमा कुचो र फोहोर उठाउने भाँडा लिएर भने, एक, दुई, तीन, सुरु  ....।”

सबै जना आआफ्ना काममा लागे । दुई घण्टापछि राजेश उफ्रँदै बरन्डामा आई भन्यो, “मैले मेरो काम सकँे । म पहिलो भएँ ।”  

रजनीले फोहोर मलको खाडलमा लगेर फाल्दै भनिन्, “होइन दाजु पहिलो होइन । उहाँले फोहोर बाहिर लगेर फाल्नुभएकै छैन । मैले त फालिसकेँ । त्यसैले म पहिला ।” रजनी कराइन् ।  

“आफूले त बल्ल भान्साकोठाको भाँडा माझिसकें । अझ बढारकुँडार गर्न बाँकी नै छ । त्यसैले म अन्तिम भएँ जस्तो छ ।” आमाले भन्नुभयो ।  

“मैले पनि भित्ताका फोहोरहरू झारी बरन्डा भर्खर बढारिसकें । अब पिँढी र आँगन सफा गर्नु छ । त्यसैले म त झन् अन्तिम पो भएछु ।” बुबाले सुनाउनुभयो ।  

“हा..हा...। बुबा र आमा दुवै जना अन्तिम पो हुनुभएछ ।” दुवैले बूढी औँला ठाडो पारी गिज्याउन थाले ।  

“लल तिमीहरूले नै जित्यौ । हामी अन्तिम नै भयौं ।” बुबाले बताउनुभयो ।

“साँच्चि बहिनी र ममाचाहिँ को पहिलो भयौं त ?” राजेशले सोधे ।  

“घरको काम मिलेर गर्दा आज घर सफा भयो । काम गर्न कसैलाई गाह्रो पनि भएन । रमाइलो पनि भयो । काम गर्दा रमाइलो भएपछि खेल खेलेजस्तो भएन र ?” आमाले बताउनुभयो ।  

“हो त । हाम्रा किताब कति धेरै छरिएका थिए । आज त सबै मिलाएर राखियो । सबै मिलेर काम गर्दा खेल खेलेजस्तो रमाइलो पनि भयो । त्यसैले म पनि पहिलो हुन चाहँदिन । ल बहिनी नै प्रथम भइन् ।”  

“नाइँ, मलाई पनि दिएको पहिलो चाहिँदैन । सबैले मिलेर काम गरेपछि सबै जना पहिलो नि ।” रजनीले भनिन् ।  

“साँच्चै, बुबा किताब राखेको कोठामा त एउटा चरा भएको लौरो छ नि । त्यो पनि किराले प्वाल नै प्वाल पारेको छ । सेतो धूलो बर्र झर्दै छ । त्यसलाई फालिदिऊँ कि के हो ?” रजनीले सोधिन् ।

“नाइँ पर्दैन छोरी । त्यसलाई फाल्नु हुँदैन बरु अर्को हप्ता रङ ल्याएर लगाउने ।” बुबाले भन्नुभयो ।  

“किन र बुबा ? त्यो लौरोको सट्टा अर्को ल्याएर राखे भइ गो नि । धूलो झरिरहेको त्यो लौरो फाल्यो भने कोठा पनि सफा हुन्छ ।” राजेशले भन्यो ।

“अहँ, हुँदैन । त्यो त तिमीहरूको हजरबाको लट्ठी हो ।”  

“हजुरबा त हुनुहुन्न । लट्ठी किन राख्नुपरयो ?”

“लौ, त्यसो भए हजुरबा हुनुहुन्न भन्दैमा हजुरबाले बनाएको यो घर पनि भत्काउने । यो देशका पुराना मठमन्दिर, धारा, चौतारा अझ देश नै हाम्रा पुर्खाले बनाएका । आज उनीहरू मरेर गइसके । अब सबै फालिदिने ? हेर यो लौरो त हजुरबाको सम्झना हो । यसलाई जोगाउनुपर्छ । त्यसमा पनि यस लौरोमा मेरो कथा छ ।”

“के कथा बुबा ? सुनाउनुस् न ।”

– आज होइन । पछि सुनाउ“छु ।

– भनिदिनुस् न त । त्यतिबेलासम्म म खाजा पनि बनाइसक्छु ।  

“हो, भन्नुहोस् न बाबा ?” रजनी र राकेश दुवैले भने ।  

“आजभन्दा बाइस वर्ष पहिले म पनि तिमीहरूजस्तै सानो थिएँ । त्यतिबेला म दश वर्षको थिएँ र दाजुजस्तै पाँच कक्षामा पढ्थेँ ।”

“अनि ?”

“मेरो चकचक गर्ने बानी थियो । एकदिन मेरा बुबा तिमीहरूको हजुरबा घरमा हुनुहुन्नथ्यो । म बुबाको कोठामा गएँ । बुबाले दराजमा केके राख्नुभएको होला भनी जान्न मन लाग्यो । बुबाले जहिले सिरानीमुनि साँचो राख्नुहुन्थ्यो । मैले साँचो झिकी दराज खोलें । दराजबाट बुबाले लगाउने दौरासुरुवाल, कोट, टोपी र जुत्ता झिकेर लगाएँ । अनि त म हजुरबाजस्तै देखिएँ । हजुरबाको दराजमा नक्कली जँुगा पनि रहेछ । त्यो पनि मैले ओठमा लगाएँ । ऐना हेर्दा म बाबुजस्तै थिएँ । त्यसपछि मलाई लुगा खोल्न मन लागेन । मलाई त्यही लुगा लगाई खेल्न मन लाग्यो । त्यसैबेला आमा माथि आउन लाग्नुभएको जस्तो लाग्यो । अनि मैले हजुरबाको स्वर निकाल्ने प्रयास गर्दै भनें, “कृपा ! जाऊ, सुन्दरको पसलबाट एक किलो मासु लेराऊ । आज मासु खान मन लाग्यो ।”

आमा बाहिर निस्केर आँगनमा पुग्नुभयो । उहाँले मलाई बुबा नै ठान्नुभयो । उहाँले आँगनबाटै कराएर भन्नुभयो, “मन्दिर गएर आउँछु भनेका बूढा त कति छिटो फर्केछन् ।”  

आमा झुक्किनुहुँदा मलाई खुसी लाग्यो । म रमाएँ । आमाले मासु ल्याइसक्नुभएको थियो । त्यसैबेला बुबा बाहिरबाट आई फलैँचामा बस्नुभयो र भन्नुभयो, “कृपा, पानी तिर्खा लाग्यो । खोई पानी लेऊ त ।”  

आमा डराउनुभयो । “होइन तपाईँ भर्खर आउनुभयो । अनि अघि माथि को थियो त ?”  

“किन ? के भयो र ?”  

“अघि चोटामा तपाईँ हुनुहुन्थ्यो । तपाईँले मलाई मासु किन्न पठाउनुभयो । म मासु पकाउन ठीक पार्दै छु ।”  

“होइन के भन्छे यो । म बिहान भात खाएर हिँडेको । अनि आज एकादशीको दिन । म कहाँ मासु पका भन्छु ।” बुबा आमासँग रिसाउनुभयो ।  

बुबाआमाको झगडा पर्दा मलाई डर लाग्यो । म लुसुक्क चौरतिर भागेँ ।

साँझ परेपछि मात्र म घर फर्किएँ र किताब समाती पढ्न बसें ।  बुबाले भन्नुभयो, “ रमण, आज घरमा को आएको थियो ?”  

“कोही आएको छैन । म गौरवसँग पल्लो घरको आँगनमा खेलिरहेको थिएँ ।”

“झूट नबोलीकन भन त । मलाई झूट बोलेको मन पर्दैन । साँचो बोलिस् भने म केही गर्दिनँ ।” बुबा रिसाउन थाल्नुभयो ।

“मलाई थाहा छैन । म घरमा थिइनँ ।” मैले झर्कँदै भनें ।

बुबाले यही लट्ठीले मेरो डँडालोमा हिर्काउँदै भन्नुभयो । “त्यसोभए घरमा मेरो भूत आयो त ? कि चोर आयो ? अनि दराज खोली मेरो जुत्ता कसले बाहिर राख्यो ?”  

मैले जवाफ दिन सकिनँ । “हेर बाबु, कहिलेकाहीँ जिस्केर खेल खेल्नु ठीकहो । तैँले मेरो लुगा लगाएर आमालाई झुक्याएको पनि ठीक होला तर यो झूट बोल्नु ठीक होइन । चोरेपछि मैले चोरेको हो भन्नु गल्ती होइन । तर आफूले चोरी अरूलाई चोर बनाउन बाध्य बनाउनु खराब हो ।”  

बाबुको कुरा सुनी मलाई दुःख लाग्यो । म रुन थालें । मैले आमा र बुबासँग माफी मागे । त्यसको एक महिनापछि बुबाले मलाई अभिनय सिक्न पठाउनुभयो ।  

“अनि बुबा ?”

“ल, बाँकी खेलको कुरा पछि । अब खाजा तयार भयो । बुबालाई पनि मन्डला घर जाने बेला हुन लाग्यो ।” आमाले भन्नुभयो ।  

प्रकाशित: १९ श्रावण २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App