एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिका २०७७ सालको अंक प्रकाशित भएको हो ।
नेपालको साहित्यिक पत्रकारितामा नै उत्कृष्ट मानिने ‘कलाश्री’को नयाँ अंक राजधानीको पानीपोखरीस्थित एनएलजीको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको थियो । उक्त अवसरमा एनएलजी कलाश्री सिर्जना पुरस्कार कवि तथा समालोचक सुरेश हाचेकालीलाई समर्पण गरिनुका साथै विशेष शान्ति कविता गोष्ठीसमेत आयोजना गरिएको थियो ।
‘कलाश्री’को नयाँ अंकमा प्रकाशित विशिष्ट सिर्जनाहरूमध्ये विशेष ठहरिएको हाचेकालीको समालोचनात्मक सिर्जनाले उक्त पुरस्कार प्राप्त गरेको हो ।
बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर आयोजित विशेष शान्ति कवि गोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौडेल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा सिर्जना गरिएका आआफ्ना कविता पाठ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवं कवि तथा गीतकार एस्पी कोइरालाले नेपाली साहित्यको समृद्धिमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको उल्लेखनीय योगदान रहेको बताए । समारोहमा विमल कोइराला र पन्तले पनि बोलेका थिए ।
प्रकाशित: १६ श्रावण २०७७ १२:५६ शुक्रबार