२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

प्रवेगता

निबन्ध

बोधराज पौडेल

अहो ! आस्थाको धरोहर पनि कति मीठो हुने रहेछ । उसले मलाई विदाइको बेलामा भनेको थियो, ‘यार साना नानीहरू छन् जहाँ जान्छस् आफ्नो ख्याल राखेस् ।’ मैले त्यो बेला कतिबेला यो अड्डा छोडौं भन्ने भएको हुनाले त्यो कुरामा खासै ध्यान दिइनँ । मेरो त्यो बेलाको समस्या भनेको ती स्वार्थी र नीचहरूबाट जति सक्यो त्यति छिटो टाढा हुनु थियो । तसर्थ त्यो कुरालाई त्यति महत्वपूर्ण ठानिन ।  

केही समयपछि उसलाई मैले दरबारमार्गको एउटा रेष्टुरेन्टमा झुम्दै गरेको देखें। मलाई पनि वर्षाको चिसोले निक्कै गालेको थियो । सोचें एक कप तातो कफी पिउन पाए त यो चिसोको असर केही कम होला कि । यस्तै सोचेर पसेको थिए रेष्टुरेन्टमा । उसले मलाई मैले भन्दा पहिला देखेछ । म बसेको टेबुलको नजिकै आएर बोलायो र सोध्यो ‘यार सञ्चै छस् ।’ मेरा आँखाबाट आँसुका खहरे झरे । मैले कुनै शब्द बोल्न सकिन मात्र उसले भनेको कुरालाई बारबार संझिएँ, ‘साना नानीहरु छन् जहाँ जान्छस् ख्याल राखे’ । कस्तो प्रेम हुन्छ साथीमा । आफन्त भएको भए कति कमाइस्, के गर्दै छस, केटाकेटी छन् तिनको बारेमा सोच्नु पर्दैन ? यस्तैयस्तै कुरा सुन्नुपथ्र्यो होला । तर, साथीले सधैं मलाई ऊर्जा दिएरह्यो । त्यो साहस म व्यक्त गर्नै सक्दिनँ ।

मेरो नाके स्वर सुनेर उसले मलाई चिसोले सताएको कुरा बुझेछ । यहाँ विदेशी रम पाइन्छ पिउछस् ? उसको प्रश्न थियो । मैले भनें, ‘आज नपिऊँ यार, फेरि कुनै दिन पिऊँला । आज एक एप कफी भए पुग्छ ।’

ऊ पनि आफ्नो गिलास र सितन बोकेर मसँगै बस्न आयो । केही समय छुट्टिए पनि वर्षैदेखि नभेटिए जस्तै भान भयो । उसले मलाई मेरो घर परिवारबारे केराकार गरयो र एउटा नयाँ काम गर्न गइरहेको कुरा सुनायो र भन्यो, ‘म एउटा काम गर्दैछु, त्यो कामको जिम्माचाहिँ तेरो बुझिस् ।’ के काम थियो । मैले के गर्नुपर्ने हो, त्योबारे उसले मलाई केही बताएन ।  

भेट भएको एक महिना पछाडि उसको फोन आयो । भन्यो, ‘यार मेरो काम भयो संझी तेरो काम भयो ।’

मेरो के काम थियो र हुनु आखिर मेरो काम त हरेक दिन खेतालामा नै बित्ने गरेको छ । मनमा कुरा खेल्न थाल्यो । उसले केही बताएन । भेटेर कुरा गर्ने मात्र भन्यो । उसको कुरा कानमा फुस्फुसाइरह्यो । त्यसका लागि समय र मिति तोकेन । प्रतीक्षारत हुनुभन्दा बाहेक मेरो कुनै विकल्प थिएन । मैले त्यसै गरे ।

मलाई एक दिन उसले आफूले पसल राख्न लागेको कुरा सुनायो । भन्यो,‘भाउजूले अब बाहिरको काममा नजानु भन्न थाली । म बूढो भएँ रे ।’  

यति कुरा भनेर ऊ बेस्सरी हाँस्यो र भन्यो, ‘मलाई त्यो कोरियन गोरीले बेलाबेलामा बोलाउने गरेको कुरा विचरीलाई के थाहा ?’

आफ्नो कमजोरी देखाउन ऊ डराउदैन र संकोच मान्दैन पनि । कस्तो हक्की छ ऊ । उसलाई थाहा छैन मैले बोलेको शब्द मेरो घरबारको दुस्मन हो भन्ने कुरा । हिंडिरहेको बाटो भत्केपछिको कष्टको बारेमा ऊ जानकारै नभएझैं गरेर बोल्छ । म भन्छु, ‘यार दुस्मन भित्तामा हुन्छ । साथीसँग नडराए पनि त्योसँग त डरा ।’

ऊ मेरो कुरालाई ख्याल गर्दैन हाँसिरहन्छ । सायद भन्दो हो मान्छेले केही गर्न सकेको छैन जाबो यो ढुंगा, माटोको भित्ताले मेरो के बिर्गान सक्छ ? ऊ गर्वका साथ यो कुरो पोख्छ । म भने यो कुरा कसैले सुन्यो भने उसको परिवारमा समस्या होला भनेर चिन्तामा छु ।

उसले बताएन केको पसल हो र कहाँ छ ? तर यत्ति भन्यो मैले तेरो दुख बुझेको छु । ‘म जलाधारमा रेटिएको मान्छे, छालको बल कति हुन्छ मलाई थाहा छ यार ।’ मैले भोगेको जीवन र सोझोपनाको बारेमा बोलेको थियो उसले । मैले यो बेला आफ्न्त र साथीबीचको आत्मीयताको राम्रोसँग तुलना गरे । कहाँ हरेक पाइलामा खाडल खन्ने आफ्न्तहरू र कहाँ खाल्डोलाई छल्न सिकाउने साथी । मैले आत्मबल र सहयोग के कुरा हो, त्यो पनि जीवनमा पहिलोपल्ट बुझेंको महसुस गरे । मन भारी भयो । मानौं, यो कालो बादल अब केही क्षणमा बर्सिएर यो सुक्खा जमीनलाई भिजाउने छ । त्यसपछि यहाँ बिरुवा, झार वा अनाज जे पनि उम्रिन सक्छ । त्यसको फल पनि जातअनुसारकै होला । मैले मनमनै यस्तै कल्पना गरे । जुन कार्य गर्न मलाई कसैले रोक्न सक्दैन्थ्यो, न त खर्चको आवश्यकता नै पर्दथ्यो ।

मलाई तावामा पाक्नु र भुङ्ग्रोमा डढ्नुमा कुनै चिन्ता थिएन । कारण मैले जीवनका सबै मार्गहरू हिंडिसकेको थिएँ । यतिबेला मेरो जीवनको अन्तिम लक्ष्य भनेको जीवन धान्नु थियो । बाँकी केही थिएन । मैले यसका लागि बदनामी कमाउनु थिएन । स्यावासीको बाटो बन्द भएको बर्षौ भएको थियो । यो कुरालाई मैले कहाँ राखेर छोपौं ? किनभने लुगा लाएकाको भित्र के छ कौतुहलता हुन्छ । नाङ्गालाई देखेर त समाजले आफ्नै आँखा छोप्छ । यो कुराको मलाई राम्रोसँग ज्ञान छ ।  

साउन बित्यो । भदौको पहिलो शुक्रबार उसले मलाई असनको लस्सी पसलमा बोलायो । म उसको निम्तालाई स्वीकार गर्न गएँ । उसले त्यहाँ एउटा बन्द खाम दिएर भन्यो, ‘मैले सानो फूलको बोट रोपेको थिएँ । यो त्यसैको फल हो ।’

यति भन्दा त्यो खाम मेरो हातमा राखिसकेको थियो । मैले छामे केही साह्रो वस्तु थियो त्यसमा । के हो र के छ त्यसमा मलाई केही ज्ञात थिएन । मात्र उत्साह थियो । के होला यसमा ? किन दिएको होला । उसले त्यो खाम झोलामा राख्ने इशारा गर्यो मैले त्यसै गरे । असनको साँगुरो गल्लीमा त्यो खामले मलाई खलखली पसिना निकाल्यो । मन पनि ती साना गल्लीजस्तै भयो । तर पनि मैले धैर्य गुमाइनँ ।

बाटोमा खुलदुलीले सताइरह्यो । न मैले सोधेको जवाफ दियो उसले । न आफैले बतायो । उसको संकेतलाई पछ्याएको हुँदा अरू बोल्ने कुरै भएन । मीठो खाजाको व्यवस्था उसैले मिलाएको थियो । जुन चप्काएर म बाटो लागेको थिएँ । पन्ध्र मिनेटको बाटो घण्टौ लामोजस्तै लाग्यो । मनमा कतिबेला घर पुगौं र पोको खोलौ भएको थियो । घरमा आएर पोको खोल्दा मात्र मैले यसको संकेत बुझें ।

त्यसमा मैले जीवन सुधार गर्न नसक्नुका केही पक्षहरू लेखिएको कागज, एक काटी हजारका नयाँ नोट र केही यार्चागुम्बा राखिएको पाएँ । जनाउ दिइएको थियो यो यार्चागुम्बा लुटेर ल्याएको हो । जीवन पनि जीव र झार जस्तै हुन्छ । मैले सुरु गरेको यसैको पसल हो । तैले जीवन सुधार गर्नु नसक्नुको विवरण यस्तोे छ–भ्रष्टाचार गर्न नसक्नु, अरूलाई दुख दिन नजान्नु, ढाँट्ने र छल्ने कला नहुनु, अरूका कुरामा आफूले विश्वास गर्नु र आफू साधु भएर पाखण्डीको संगत गर्नु लेखिएको थियो । त्यो उपहार पाएर हरियाली बन्ने मेरो चाहना चैतको घाँसझैं सुकेर गयो । त्यहीबेला बल्ल मैले साथीको आत्मियता र प्रवेगताको अर्थलाई छर्लङ्ङ हुने गरी बुझें । 

प्रकाशित: १४ श्रावण २०७७ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App