२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

अञ्जलीका पाँच गजल

  गजल १

  पुष्प अधिकारी अञ्जली

एकैछिनमा मेरो पनि आँखा लाग्यो।

केके देखें  सपना नमज्जा लाग्यो।

 

दिलमा बसुन्जेल मेरो वास्ता गरिनौ।

छुटेपछि   सम्बन्ध, सपना लाग्यो।

 

चियाउँदा जूनले झ्यालबाट सुटुक्क।

सर्माएथ्यौ तिमी जब पर्दा लाग्यो।

 

सुनेँ रातभर मेराे यादमा तिमी रोयौ।

यसकारण मलाई निकै माया लाग्यो।

 

तिम्रो बागमा सधैं फुलिरहोस् "पुष्प"!

कसैको यही कामना, आशा लाग्यो।


 

     २ गजल

ऊ गर्छ देखेर पनि नदेखेकोजस्तो।

भेटिएपछि मात्र गर्छ सम्झेकोजस्तो।

 

बस्ती बगाउँछ, मान्छे बगाउँछ बाढीले

राहत बाँड्छ सरकार चारा छरेकोजस्तो।

 

देश पढ्दैनन् अचेल सत्तामा बस्नेहरुले।

यसकारण लाग्छन् केही नपढेकोजस्तो।

 

बोल्नेहरु भने कति आए कति यहाँ।

कसैले त गरे पो हुन्थ्यो गरेकोजस्तो।

 

सायद तिम्रा यादहरु बल्झिएर पो हो कि?

मनभित्र हुन्छ अचेल केही चलेकोजस्तो।

 

झुण्डेको छ जो मेरो घरको भित्तामा तस्वीर।

गरिरहन्छन् जो  सधैं माया थपेकोजस्तो।

 

लेख्छु भन्दै तिमीले धेरै आश्वासन दियौ।

लेखे हुन्थ्यो अब त केही लेखेकोजस्तो।

 

यादहरुको बाडुल्की  सम्झी मन बुझाउँछु।

के हुन्थ्यो र त्यत्तिकै पनि भेटेकोजस्तो?

 

तैंले जसरी पनि अब फुल्नु छ "पुष्प"!

भूल नगर्नु केवल गरेर फुलेकोजस्तो।।

     

३  गजल

देखेर बहुत गम्भीर छु म यो मान्छेको जिन्दगी

 यस्तो लाग्दैछ आफ्नो पनि भत्केको जिन्दगी।

 

मैले पनि बल्ल बुझे मित्र यो दुनियाँको औकात

 हुँदैन रहेछ हुँदैन कसैले पनि सोचेको जिन्दगी।

 

कति छुटेका होलान् पैतालाबाट यी सफरहरु 

एक दिन सकिनेछ दुश्मनले टेकेको यो जिन्दगी।

 

यही सोचेर आँखामा तिम्रो याद राखेको थिएँ

 तर याद गरिनौ तिमीले मैले भोगेको जिन्दगी।

 

ओहोर-दोहोर गरिरह्यो यही बाटो पटक-पटक 

बोकेर एउटा मान्छे आफैले  बिर्सेको जिन्दगी।।

             

 ४ गजल

 

तिम्रो पनि मेरो पनि मनको इच्छा उही रहेछ 

संसार हेर्ने हाम्रो  आखिर आँखा उही रहेछ।

 

जे गर्यो त्यही गर्छ उसले पनि अभिनय जस्तो 

उभिएर हेर्छु यसरी गिज्याउने ऐना उही रहेछ।

 

तिमीलाई फूलले घोच्दा मलाई काँडाले डस्दा

स्पर्श बेग्लै भए पनि  हाम्रो पीड़ा उही रहेछ ।

 

धनीको पनि गरिबको पनि यहाँ प्रार्थना गर्ने 

भगवान् उही रहेछ आखिर पूजा  उही रहेछ।

 

बाँचुन्जेल दम्भ राखेर सँधैभरि शत्रुता बढाउने 

मरेपछि छातीमा चढाउने त्यो पैसा उही रहेछ।।

       ५ गजल

 

आँखाबाट यति धेरै आँसु खेर गएपछि

 जिन्दगी खोलाजस्तै लाग्छ बगेर गएपछि।

 

मन पनि मन जस्तो हुँदैन  बाआमालाई

 छोराछोरीले पनि परदेश छोडेर गएपछि।

 

यसकारण टाढा भएको हो त्यो चाँदनी पनि                    

 जुनकिरीले जूनलाई भन्दै नभनेर गएपछि।

 

कहिले देखिन्छ्यौ कहिले हराउँछ्यौ सफरबाट 

मौसम जस्तै पटकपटक ऋतु बदलेर गएपछि।

 

मेरो याद कहिल्यै आउँदैन भन्यौ मेहफिलमा

चित्त दुख्यो बहुत रोएं तिम्रो कुरा सुनेर गएपछि।

 

कसले भन्यो माया लाग्दै लाग्दैन यादै आउँदैन् 

हरपल दुखेको छु तिमी दिलमा बसेर गएपछि।    

प्रकाशित: १३ श्रावण २०७७ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App