२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

सिमल भुवा

कथा

कृष्णश्री राई

सासू भन्छे बुहारी, बुहारी भन्छे ज्यू

हर्पेभित्र  राखेको कसले  खायो घ्यू

 

बुहारीः  देख्नु न जान्नु त्यसै  लाउँछिन् ठोस

चाहिंदैन तिम्रो घ्यू आफ्नै नाठो पोस

 

सासूः  सोध्न पनि नहुने लाज बोली ठाडै

यो घर नटेक् नखरमाउली हिँडिजा आजै

 

बुहारीः   कागको नाम आखिरीमा कागले नै काढ्ने

घ्यूको निहुँ झिकीझिकी जहिल्यै घर भाँड्ने

 

यो नै अन्तिम भनाभन भयो सिमली र बदामसराबीच । यसपटक सहन सकिन सिमलीले र त्यही पाइतोमा आफ्ना लुगाफाटा लगायतका सामानको पन्तरो च्यापी अनि रनाहामै पाइला निकाली त्यो घरबाट । त्यसबेला बदामसरा मझेरीमा थिई । सिमली हिँडेको चाल पाएर पनि ऊ सुनसान थिई । भर्खरैको त्यतिका आवेगमा पनि पैतालामा गडेको चस्स घोचिरहने नीलकाँडाको बिझाइबाट अनायास मुक्त भएझैं हुनसक्छ मीठो सञ्चमा थिई ऊ ।

माघको जाडो सकिन लाग्दा सिमल रातै भएर फुल्छ । यसपालि पनि घरको पश्चिममा प..र मूलबाटो छेउको जोरसिमल दुलही भएर फुल्यो । बाटो हिँड्ने बटुवाले ती सिमल फूलका भव्य शोभाको आनन्द लिन बिनासर्त हरेक साल पाइरहेका हुन्छन् । सुन्दर चिजमा जो कोहीको आँखा नजानिदो आफैं तानिन्छ र मनहरू सबै बेचैनी भुलेर केहीक्षण रमाउन थाल्छन् ।

अरू रूखहरू एकपछि अर्को ढले तर ढलेनन् ती जोरसिमल । कारण, ती अविन्तर ठाउँमा थिए । ती दाउरा र काठ नहुने जातका थिए । नत्र त बिहान उठ्दा आँखाको दर्शनमा पर्न नहुने अन्धविश्वासका अपशकुनी रूख थिए सिमल । यस्तो विश्वास रहनुको रहस्य अस्तित्व खतरामा परेको प्रकृतिको कुचीकार मानिने पन्छी गिद्धको प्रिय वनस्पति भनिएकाले पनि थियो होला ।

सिमली जन्मिएको महिना पनि माघ थियो । त्यसबेला उसको बाको बारी पुछारमा भएको झ्याम्म एक्ले सिमल पनि ठूल्ठूला थुँगामा रातै भएर फुलेको थियो । त्यही फूलबाट प्रभावित भएर न्वारानका दिन उसका बाले उसको नामै जुराइदिए ‘सिमलफूल’ । पछि सबैले आफ्नो सजिलोका लागि उसलाई ‘सिमली’ भनेर बोलाउन थाले ।

जीवनको दौडानमा खाँदैखेल्दै घुम्दैफिर्दै जाँदा पहिलो पटक पञ्चमीबजारमा चिनजान भएको सिमलीको मन काँडेगाउँको चैनकुमारसँग मिसियो । पछि चैनकुमारले उसलाई आफ्नी प्यारी बनाएर काँडेगाउँ ल्यायो । संयोगजस्तै यता पनि सिमलीले देखी झन् जोर सिमल घरपर्तिर मूलबाटोको आडैमा । त्यसबेला उसले सम्झिथी, ‘एउटा सिमल ऊ आफैं र अर्को चैनकुमार’ । घरी गुन्थी, ‘यी सिमलका बिउ उसैको माइतको हो । चैतको हुरीमा भुवाको सेतो गुजुल्टोभित्र उड्दैउड्दै चैनकुमारको गाउँमा आइपुग्यो ऊजस्तै र उम्रिए जोरसमल भएर ।’

हरेक साल सिमल ढकमक्क फुल्दा सिमलीको हृदय पनि एकक्षण त निस्फिक्री फुल्थ्यो । अर्को क्षण गाउँघर र आफ्नी प्रियतमालाई नसम्झने निष्ठुरी त्यो चैनकुमारलाई यादमा ल्याउँथी र भक्कानिन्थी । त्यसबेला उसको धड्कनमा गुञ्जन्थ्यो, ‘बाह्र वर्षमा खोलो त फर्कन्छ भन्छन्– यो निर्मोही फर्केन । भासियो मलेसियामा ।’

गाउँमा देवर पर्नेहरूले सिमलीको चित्तवृत्ति बिथोलिदिन्थे केके, केके भनेर उसको पोइको बारेमा ।

“चैनकुमारचैँ उहाँ चैनले बसिराछ, यहाँ भाउजू भने !”

“मले केटीसँग घरजम गरी बस्या छन् दाइ, यता भाउजू हेरहेर... यत्रो वर्ष !”

“दाइ उताका मैयाँहरूसँग कहिले पेनाङ, कहिले मलाका, कहिले गेन्टिङ हाइल्याण्ड घुमिरहेको देख्न पाइन्छ फेसबुकमा ।

“बा मर्दा त आएन चैने दाइ, अब आउला र भाउजू !”

हुन पनि हृदयले छानेर, प्रेम गरेर आफ्नो घरमा ल्याएको थियो चैनकुमारले सिमलीलाई । अनि एक्ली आमा बदामसरालाई साथी छोडी सुहागरातको बाइस दिनपछि नै ऊ परदेसिएको थियो सम्पत्तिको अतृप्त सपना बोकेर । सिमलीले पनि ‘हुन्छ...’ भनेर साथ दिएकी थिई । तर सोचे जस्तो भएन जीवन । गएदेखि उसले एक कल फोनसम्म गरेन सिमलीलाई । सम्झदै सम्झेन । ‘छोरामान्छेको मन, हानेको ढुङ्गा’– पुर्खाको आहान गलत नभएको पाई उसले । सोची, ‘खै त प्रेम ? कहाँ गयो वाचा ? विश्वास नि त ?’ ऊ तीन छक्क पर्थी आफ्नो भनिएको एउटै मात्र मान्छेको चालढाल र बेखबर देखेर ।

अपुताली पनि हैन । भ’को एउटै भाइ नि अलि उटपट्याङे स्वभावको थियो । उसले आफ्नी जोईको कुरा मान्यो । भएको घरबारी पनि बेचेर सिक्किमतिर पस्यो र मुगलाने भयो । यति हो सिमलीले सुनेको । आजसम्म बेपत्ता । फर्किएन उसको भाइ । सिमली माइत जाँदा गाउँको काका पर्नेको घरमा बस्थी । यसपाला उसलाई ती काकाकोमा जान मन लागेन किनकि काकाको पनि गरीबीका कारण आफ्नै कन्तबिजोग थियो ।

हिँड्दाहिँड्दै वरपीपल चौतारी आयो । त्यो चौतारीलाई लोकजनले ‘ठाँटी’ भन्ने गर्थे । सिमली गन्तव्यहीन थिई । ढुङ्गाको बिसौनीमा थचक्क बसेर हावासँग हल्लिरहेका पिपलु पातहरू हेर्दै सुस्ताई । पातहरू दुवैतिर दिशाविहीन हल्लिदिन्थे ‘यता न उता’ को सङ्केतमा । सिमलीलाई ती पातहरूले गिज्याएझैं लाग्यो । ऊ साथमा बोकेको पन्तरो खोतल्न थाली । इन्टेक्स ब्राण्डको सादा सेलफोन रहेछ– झिकी । सम्पर्क नामावलीमा एउटा नाम खोज्दै गई । ‘कुमारी बहिनी’ नाममा रोकिई र कलिङ बटनमा औँला दाबी ।

“दर्शन भाउजू ! कसो गर्दा सम्झनुभो ?” उताबाट आवाज आयो ।

“दर्शन नानी ! हजुरलाई था’छँदैछ । आमाले बसिखान दिनुभएन । तपाईंले त्यत्रो सम्झाउँदा पनि भएन । रातदिन कचकच गरेर घरै छोड् भनिन् र म त हिँडे । यी तल ठाँटीमा आएर पो तपाईंलाई सम्झेको ।”

“आमाको आदत त्यस्तै हो । घरै फर्कनुस् भाउजू ! म फेरि सम्झाउँला । आमा भनेर के गर्ने बानीबेहोराको कुरा हुन्छ...।”

“बहिनी, अब म फर्किन्न । हजुरको दाइले पनि माया मार्नुभो । यतिका साल पर्खेर बसेँ ता नि ! धागो चुँडिएकै चङ्गा हुनुभो ।”

“दाइ पनि के भ’को ! त्यो मलेसिया कस्तो ठाउँ रहेछ कुन्नि ? त्यहाँ गा’को धेरैजसो मान्छे फर्केर आउँदैनन्– भन्दा रहेछन् । अनि भाउजू त्यो अजिरे मुर्दार अझैं त्यता आउँछ ?”

“नानी, त्यै अधमले गर्दा त हाम्रो घरमा भाँड भयो । जतिखेर नि झगडा । अस्ति नै त– ‘मुखिनीलाई फरिया किनेर पो लगिदिदैछु’ भन्थ्यो रे ! बजियाले आफ्नै उमेर र जात सुहाउँदो अरू नै केटी पाइहाल्थ्यो नि ! गाउँमा मैदान हल्ला छ नानी...।”

“आफ्नै माल उस्तो । आमाले टेरिनन् । बा बितेको तीन वर्ष त भयो । गुन्द्रुकको झोलमा जात फालिन् आमाले । कि त त्यै मोरासँग गैहालेको भए नि हुन्थ्यो ! तपाईं त आनन्दले घर थामेर बस्नुहुन्थ्यो...।”

“त्यै त नानी,  जाँदिनन् पनि ! सिनो गनाएको छ गाउँभरि । जिम्दार्नी बजैले पनि आफ्नै किस्सा सुनाएर सम्झाउनु भ’को रे ! बजैले भन्नुभयो रे– ‘आफूलाई मरिहत्ते गर्ने मान्छे लाहुरे भर्ती गएर उतै फोकलेनको लडाइँमा मरयो र उसैको यादमा आजसम्म एक्लै बाँचिरा’छु । तिमी त एक्ली छैनौ । अस्तिसम्म लोग्ने थियो । आज छोरा छ । बुहारी छे । छोरी–ज्वाइँ पनि छन् । के गति छाडेकी हौ बदामसरा...।’ आमाले त उल्टै भाखा हालेर पो जवाफ दिइन रे– ‘खानु र लाउनु त द्यौलतै थियो पोइबिना मरियो...’ काँडेगाउँमा सबैको हाँसो भएको छ नानी ।”

“जीउछाडाको दबाई हुँदैन भन्थे, हो रहेछ । ल भाउजू, माइती गाउँमा पनि तपाईंका कोही छैनन् । यता मेरोतिर एकदुई दिन बस्ने गरी आउनुस् र काँडे नै फर्कनुस् !”

“हुन्छ नानी...।”

केही दिनका लागि गन्तव्य तय भयो सिमलीको । उसले हल्लिरहेका पिपलु पातलाई हेरी । यसबेला उसलाई लाग्यो– ती पातहरूले एकै दिशा मात्र देखाइरहेका थिए । ‘उताउता’ भनेर सिक्रेगाउँतिरको बाटो बताइरहेका थिए ।

एकदुई दिन भनेर ठाँटीबाट सिक्रेगाउँ बेगिएकी सिमलीले दुई हप्ता नाघिसक्ता पनि कुमारीको घर छोड्ने कुरा गरिन । बरु ऊ त ढुक्क घरकै जस्तो भएर घाँसदाउरा गर्ने, बस्तुभाउ—खोले, मेलापात जाने, खानापिना पकाउने...आदि सबै पो गर्न थाली । ‘काम प्यारो हुन्छ’ भन्थे, सिमली निक्कै जाँगरिली देखिई । कुमारीलाई पनि उसको जाँगर मन परयो । अझ बढी उसको पोइ जयनसिंलाई मन परयो । तीन छोरीकी बाउ जयनसिंको मनले सिमलीको पुष्ट शरीरलाई पनि आक्कलझुक्कल नजानिदो मन पराउन थाल्यो । बत्तीस वर्षको उमेरले पनि सिमलीको तनलाई कुनै फरक पारेको थिएन । सन्तान नजन्माएकीले होला बिसेबाइसेजस्तै देखिन्थी । उसको जवानी मखमली फूलझैं जस्ताको तस्तै नै थियो, जुन मीठो वासना बनेर जयनसिंको काम वाटिकामा सुटुक्क सुवासित हुनु स्वभाविक घट्नाजस्तै लाग्थ्यो । फेरि फुर्तिली कायाकी धनी, बोल्दा त झन् ओठछेउ मुसुक्क खुलिदिने एक अनजान बानीले जो कोही मर्दानालाई केही सोच्न बाध्य पार्दथ्यो । यही कारण जयनसिंले कुमारीकी दाजु अर्थात् आफ्नै जेठानलाई एकदमै बेवकुफ ठान्यो र उसले आफ्नो कल्पनाको घोडालाई यथार्थको टुँडिखेलमा यति दौडायो कि घरीघरी त भुलिदियो जीवनसाथी भनिएकी कुमारीलाई ।

जाने कुरा नगरेकी र उसको घरमा सिमली दिलखुस जाँगरिली देखिएकीले कुमारीको मनमा शङ्काको ढोल–झ्याम्टा जोरसित घन्किन थाल्यो । भविष्यको धूमिल छायाँ अनेक आकृतिमा बान्की मिलाईमिलाई त्यही तालसँग छमछमी नाच्न थाल्यो । वक्रदृष्टि लगाउँदा– उसले आफ्नो लोग्ने जयनसिंको दिनचर्यामा पनि नयाँ र बदलिएका स्वभावहरू प्रकट भएको पाई । अलिकति झन्काहा खालको र कामकाजमा लोसे पतिको मुहारमा पनि कताकता शान्ति र सुखको आभामण्डल पोतिएको देखी कुमारीले । अनि त ऊ थर्कमान भई । उसले आफ्ना हिँड्नुपर्ने बाटाहरूमा बिस्तारै पहिरो गइरहेको देखी । वर्तमानमा अनागत समयको अशुभ सङ्केत स्पष्टै पाई । फलतः एकदिन जयनसिं नभएको मौका छोपेर कुमारीले अलिकति खर्चसहित बिदाबारी गरी भाउजूलाई ‘साप पनि मर्ने लठ्ठी पनि नभाँचिने’ उपायले ।

कुमारीले सिमलीलाई जसरी नि बिदा दिनु थियो दिई, तर ‘यता जानु’ भनेर सुझाव दिइन । सुझाउनै चाहिन । सिमली पनि ‘यता जान्छु’ भनेर गन्तव्य नबताई बिदा मागी । उसलाई नभएको गन्तव्य बताउनु पनि थिएन । पन्तरो च्यापेर हिँडने तरखर गरी उसले ।

“ज्वाइँ त हुनुहुन्न क्यार ! उहाँलाई म गएको सुनाइदिनु होला बहिनी !”

साना तीन नानीहरू घरमै थिए त्यसबेला । ढोकाछेउ दलानमा लहरै उभिएर परिस्थितिलाई नियाल्दै थिए तिनीहरू । सिमलीले उनीहरूसँग पनि बिदा मागी ।

“ल भाञ्जीहरू, राम्ररी बस्नु होला ! गएँ है म !”

साना नानीहरूले केही प्रतिक्रिया दिएनन् । सिमली हिँडी सँगै ल्याएको उही स पन्तरो काखीमा च्यापेर । ऊ त्यहाँबाट बाटो लागी । बाटामा सोची, ऊ त्यहाँ बस्नु उचित पनि त थिएन किनकि ऊ आफैं माइती थिई कुमारीको । सिमली दोस्रो पटक फेरि बिनागन्तव्यकी भई आकाशमा उडिरहेको सिमल भुवाझैं । खास गन्तव्य नहुँदाको घडीमा मानिसलाई गन्तव्यकै पीर हुँदोरहेछ । सिमलीलाई त्यस्तै भयो । छाडेर आएको काँडेगाउँ नै फर्कने कुरा उसले त्यसबेला पनि सोचिन । बरु उसले चैनकुमार र बदामसरा दुवैलाई धिक्कारी । यादबाट हटाइदिई  तर मर्ने कुरा मनमा ल्याउँदै ल्याइन । आफैंलाई सिध्याउने कायर भाव मस्तिष्कमा उब्जाउँदै उब्जाइन ।

मन दह्रो बनाएर सिमलीले दक्षिणतिरको बाटोलाई समाती । अलि प..र किरात बन्धुहरूले अग्लो ढुङ्गा ठड्याएर बनाएको बिसौनी आयो । सुस्ताउन ऊ केहीबेर त्यहाँ बसी । टाढामा आँखा डुलाई । क्षितिजहरू देखिए । त्यही क्षितिजभरि अनेक अनुहार तुलिकामा झैं टाँगिए । ती अनुहारको लहरमा एउटा आडलाग्दो मुहार पनि झुन्डियो । त्यो मुहार महिनाको कम्तीमा एकपटक जस्तो उसलाई फोन सम्पर्क गर्ने उसकी आफ्नै मितिनी जेनीको थियो । ‘अप्ठ्यारोमा मितलाई सम्झनु’ भन्ने आहान सिमलीमा लागू भयो । ‘मितिनी शहरमा पार्लर चलाएर बस्छु भन्थिन्,’ उसले सम्झी र हत्त न पत्त पन्तरोबाट इन्टेक्स सेलफोन झिकी । मितिनी भनेर दरिएको नाम खोजी र सम्पर्क गरी ।

“हजुर साथी, यो जेनीलाई कसो गर्दा याद गर्नुभो नि ?” सम्झेकोमा मितिनीले खुसी व्यक्त गरी ।

यताबाट सिमलीले भएको इतिवृत्तान्त बताई । उसको वृत्तान्तमा अनिश्चितता थियो । चिन्ता र बेचैनी थियो, तापनि आफ्नो परिस्थिति बताउँदा सिमली रोइन, आँसु झारिन । ऊभित्र पूर्ण निराशा पनि थिएन । मानिस आशाले बाँचेको हुन्छ । जीवन र आशा मानिसका आदर्श हुन् । सिमलीभित्रको आदर्श पनि त्यही थियो जुन शहरकी मितिनीलाई बुझ्न कुनै समय लागेन ।

“मितिनी ज्यू, म छु नि ! यतै आउनुस् । सँगै मिलेर पार्लर चलाउँला । खर्च छ कि छैन, आजै   गाडी चढिहाल्नुुुुस् ।”

गाउँगाउँबाट कच्चीबाटोले तराई र शहर जोडिएको निकै साल भयो । तराई झर्ने बाटो त..ल छ । सिमली फटाफट दक्षिणी भेग जोड्ने मुख्य सडकमा पुगेर यात्रुबसलाई प्रतीक्षा गर्न थाली ।

सिमली शहर पसेको पुग नपुग तीन साल भयो । मितिनीको पार्लरमा उसले डेढ वर्ष जति काम गरी । त्यससम्बन्धी आधारभूत ज्ञान लिई । छुट्टै पार्लर खोलेर सञ्चालन गर्ने सीप र कला सिकी । उसले पार्लर चलाउने कौशल मात्र हैन, थप केही युक्ति पनि हासिल गरी जसले सजिलैसँग उसलाई दाम र नाम दिन सक्थ्यो । नाम..., उसले पहिले आफ्नो असली नाम परिवर्तन गरी– सिमलीबाट ‘सिपोरा’ । त्यसपछि आफ्नै पार्लर खोली ‘एडल्ट कन्टेन्ट पार्लर’ नामले । त्यहाँ उसले आफूजस्तै  गाउँबाट आएका लक्ष्यहीन धेरै जवान वनिताहरूलाई काम र लक्ष्य दिई । उनीहरूलाई आफ्नै खुट्टामा उभिन सिकाई । आफूजस्तै बन्न प्रेरणा दिई । उसले तिनीहरूलाई वानपिससँग सजिएर फेसियल फेसमा गाँठवाल शान्त  प्रौढहरूको पछाडिपट्टि बाइकमा हुइँकिने सौभाग्य मिलाइदिई । तर आफू भने अक्सर कम्ब्याट पाइन्ट, टिसर्ट, आउटरमा क्लासिक जिन्स ज्याकेट, बिल्ट डिस्कभरी बुट्स र ब्राण्डेड डार्क गगल्जसँग ठाँटिएर रोज्जा युवालाई पछाडि राखी ३५० सिसिको बुलेट रोयल इन्फिल्ड चलाउँदै विशाल धरान शहरको चोक र हाइवेमा ‘सिपोरा’ बनेर सानले भुटुटु.. आवाजसँगै बत्तिन्छे । यो उसको आजको दिनचर्या हो ।

‘नेपालमा केही गर्न सकिदैन । यस्तो पनि देश हो र !’ भन्ने अनेपाली नेपालीलाई उसले यहीँ नै केही गरेर देखाइदिई । धेरैलाई चकित पारिदिई । एकै जन्ममा दुई चोला लिएजस्तै उसले अर्को नयाँ रूप धारण गरेर यो बाहिरी नजरको दुनियाँसँग मजाले अनुकूलन हुन सिकी । समायोजन हुन सकी आकाशमा बहकिने सिमल भुवाजस्तै, जो जिन्दगीको बताससँग सिमलकै बिउ बोकेर एक सेतो गुजुल्टो कावा खाइरहेकी छ ।

प्रकाशित: ११ श्रावण २०७७ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App