८ वैशाख २०८१ शनिबार
कला

‘बहुबि’को ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’

मूर्तिकार भुवन थापा ‘बहुबि’ ले स्थानीय परम्परागत सीप, ज्ञान र प्रविधिको प्रयोग गरेर बनाएका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । गुल्मी सत्यवती गाउँपालिका–२ ठूलो लुम्पेकस्थित सत्यवती लेकमा गरिएको उक्त प्रदर्शनीमा स्थानीय मौलिकतालाई चिनाउने कलाकृति समेटिएको छ । कलाकार थापाले ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ चिनाउने गरी कलाकृति प्रस्तुत गरेका हुन् । 

शुक्रबार एक समारोहबीच प्रदर्शनीको उद्घाटन गर्दै प्रकृति, कला र समुदायको सम्बन्धलाई जोडेर कलाकृति बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । उनले स्थानीय सामाग्रीको प्रयोग गरी बनाइएका कलाकृतिले गाउँपालिकाको पर्यटकीय स्थललाई चिनाउन मद्दत गरेको बताए । अध्यक्षले भने, ‘समाज रुपान्तरणमा कला र संस्कृतिको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’ अध्यक्ष ढकालले यही जन्मिएका प्रतिभाको कला आफ्नै ठाउँमा देख्न पाउँदा आफुलाई निकै खुसी लागेको बताए । 

विश्वव्यापी महामारीको रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संत्रासका बीच ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ लाई प्रस्तुत गरिएको कलाकार भुवन थापाले बताए । कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीमा कलाकार थापाले बाँस र स्थानीय सामाग्री प्रयोग गरी कला बनाएका हुन् । ‘कोरोना कहरका बीच एकान्तबासमा बसेर समुदायमा आधारित डोको बुन्ने स्थानीय परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयास गरेको छु ।’ कलाकार थापाले भने, मैले स्थानीय सामाग्रीबाट तयार पारिएका कामलाई प्रदर्शनीमा समेट्ने प्रयास गरेको छु, प्रकृतिसँग कला र कलासँग समुदायलाई जोडेर हेर्ने अभिलाषाका साथ कला मैले काम गरेको हुँ ।’ 

परिणाममा यस महामारीले पारेको शारीरिक तथा मानसिक तनावबाट मुक्ति दिने आत्मिक औषधि प्राप्त गर्न सकियोस् भन्ने कामनाका साथ कला रचना गरेको थापा बताउँछन् । उनले काठमाडौं विश्वविद्यालय कला विभाग, ललितकला क्याम्पस लगायतका कलासंस्था तथा कलाकारलाई गुल्मीको सत्यवती लेकबाट सम्झेको बताउँदै कलाको बिहंगमतालाई देशव्यापी बनाउन सबै एकजुट हुनुपर्ने बताए ।

उक्त प्रदर्शनीलाई शुभकामना सन्देश दिँदै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मी सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकस्थित सत्यवती क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानमा स्थानीय जनसमुदायको आफ्नै मौलिक कला र सीपले समेत विशिष्ट क्षेत्र रहेको बताए । 

उनले सत्यवती प्रवद्र्धनमा योगदान पुग्ने गरी डोको बुन्ने स्थानीय परम्परागत उपयोगी कलालाई परिष्कृत र परिमार्जन गर्दै स्थापित कलाकार भुवन थापा ‘बहुबि’ को विशेष प्रस्तुतिले मौलिकतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउँ पुग्ने जानकारी गराए । साथै सन्देशमा थापाको विशेष प्रस्तुति रहेको ‘प्रकृति र कला’ विषयक प्रदर्शनीले आफू हर्षित भएको उनको भनाई छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनीको शुभकामना दिँदै समुदायमा आधारित डोको बुन्ने परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयत्न गर्नु अति नै प्रशंसनीय कार्य भएको बताए ।

 उनले आधुनिक मूर्तिकलाका साधक, सिर्जनामा प्रयोगहरु गर्न पछि नहट्ने एक स्वभालम्बी मूर्तिकारको रुपमा परिचित चर्चित मूर्तिकार थापाले लकडाउनको समयको सदुपयोग गरेर कलाकृतिको सिर्जना गरेकोमा खुसी लागेको बताउँछन् । शुभकामना सन्देशमा कुलपति कर्माचार्यले अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरुमा शारीरिक तथा मानसिक रुपमा तनाब थपिएको बताएका छन् । 

उनले यस्तो अवस्थामा मूर्तिकार थापाले आयोजना गर्न लागेको ललितकला प्रदर्शनीले केही हदसम्म भए पनि स्थानीय जनसमुदायलाई मनोरञ्जन र मानसिक शान्ति मिल्ने आशा एवं विश्वास लिएको जनाएका छन् । कर्मचार्यले लेखेका छन्, ‘प्रकृति र कला विषयक प्रदर्शनीले प्रकृति, कला र समुदायको चुल्ठीबाटीको रुपमा एक साथ आनन्दको अनुभूति दिनेछ भन्ने पूर्ण विश्वास राख्दै प्रदर्शनीको सफलताको कामना गर्दछु ।’ 

सो प्रदर्शनीमा गाउँपालिकाका उपप्रमुख सुवर्णा शाहीले कला र संस्कृतिले मानवजातिलाई समृद्ध बनाएको बताइन् । उनले समुदायमा आधारित कला प्रदर्शनी स्थानीय रुपमा विकास भएका मौलिक र संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् ।

प्रकाशित: ५ श्रावण २०७७ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App