१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन गर्दै आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई लगायत । तस्बिर : नागरिक

नाछिरिङ भाषाको कक्षा १ र कक्षा २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठन–पाठनका लागि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञ परिषदका कुलपति जयकुमार राई, परिषदका सदस्य सचिव एबं भाषाविद डा. तारामणी राई, लोहोरुङ राई समाज अध्यक्ष चित्रबहादुर लोहरुङ लगायतले पाठ्यापुस्तक विमोचन गरेका हुन् ।  

किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो । सोलुखुम्बु, खोटाङ, उदयपुर लगायतका जिल्लाका नाछिरिङको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषाबाट पठन–पाठन गर्नका लागि पाठ्यपुस्तक तयार पारिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताइन् । २०७६ साल जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यपुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यपुस्तकसँगै विमोचन गरिएको हो । 

२०७६ सालदेखि सोलुखुम्बूको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठन–पाठन सुरु गरिएको छ । २०६८ सालको जनगणना अनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ । उदयपुरमा पनि एउटा विद्यालयमा नाछिरिङ भाषामा पठन–पठनको तयारी भइरहेको साखाममा महासचिव गान्दीभ किरातीले बताए । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहास लगायतको संरक्षण एबं संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको साखामले जनाएको छ ।  

स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि समितिले पाठ्यक्रम तयार पारिसकेको छ । भाषाविद् डा. तारामणि राईको परामर्शमा पाठ्यक्रम निर्माण समिति र नाछिरिङ भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला/गोष्ठी पश्चात पाठ्यक्रमलाई अन्तिम रुप दिइएको हो । २०७५ साल मंसिर १४ गते ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित भाषाको पाठ्यक्रम निर्माण सुरु गरेको थियो ।  

नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यकासाथ पाठ्यक्रम निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिका संयोजक नाछिरिङले बताए । ‘पाठ्यपुस्तकमा विशेषगरी स्थानीय परिवेस अनुसार भाषाको सुनाई, बोलाई र लेखाई सम्बन्धी सीपलाई केन्द्रित गरिएको छ,’ उनले भने, ‘व्याकरण र शब्द भण्डार सम्बन्धी विषयवस्तु पनि पुस्तकमा समेटेका छौँ ।’

सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको छ । 

प्रकाशित: ३ श्रावण २०७७ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App