१६ चैत्र २०८० शुक्रबार
कला

चित्रकलाकै काममा व्यस्त कलाकार

वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’

चित्रकार कपिलमणि दिक्षितले लकडाउनको समय परिवारसँग बिताएको बताए । दुई छोरीहरुलाई समय दिएर उनीहरुसँग टिकटकमा रमाइलो गर्ने, फिल्म हेर्ने र भान्साको काम गरेर मनोरञ्जनात्मक तरिकाले दिन बिताएको दिक्षित बताउँछन् । ‘स्टुडियो खोलेर पेन्टिङको काम गर्न लागेको त भर्खर एक महिना भयो,’ उनी भन्छन्, ‘बाँकी समय म मेरा छोरीसँग खर्चिए, यस अवधिमा मैले पेन्टिङलाई भन्दा छोरीहरुलाई बढी महत्व दिएँ, मेरा लागि यो समय कहिल्यै पनि पुनः फर्किएर आउँदैन ।’ उनले यस समयमा कोरेका चित्रमा लकडाउनका बेला आएका भावनालाई देखाउन खोजेका छन्।

चित्रकार अनामिका गौतमले पनि लकडाउनका समयमा अनलाइन क्लाससँगै चित्र कोर्ने कामलाई निरन्तरता दिएको बताइन् । चित्रकार नरेश शैजु र जीवनराज उपाध्याय पनि अहिलेको समयमा घरायसी काम र चित्रकलाको काम गरेर आफुलाई व्यस्त बनाइ रहेका छन् ।  

चित्रकलालाई साहित्यसँग जोडेर अघि बढाउन रुचाउने चित्रकार सुन्दर लामा आगामी दिनमा हुन लागेको दुई वटा अनलाइन प्रदर्शनीको तयारीमा जुटेका छन् । ‘मैले लकडाउनमा ड्रइङ र साहित्यसँगै अनलाइन क्लासलाई पनि निरन्तरता दिएँ,’ उनी भन्छन्, ‘अहिले भने म एक हप्तापछि हुन लागेको भर्चुअल कला प्रदर्शनी र भिडिओ अनलाइन प्रदर्शनीको तयारीमा छु ।’

साहित्य र चित्रकलालाई एकैपटक प्रस्तुत गर्न रुचाउने उनले लकडाउनमा ‘बगैँचा’ शीर्षकको कविता तयार गरेका छन् । साथै कविताअनुसारको स्केच पनि तयार पारेको बताउँछन्।

बरिष्ठ चित्रकार रमेश खनाल लकडाउनको समयमा आफुलाई चित्र कोर्नमै व्यस्त राखेर तनावबाट टाढा रहेको बताउँछन् । आफ्नै घरमा स्टुडियो भएका कारण काम गर्नलाई लकडाउनले त्यति असर नगरेको उनको भनाई छ । ‘लामो समयसम्म लकडाउन भयो, हामी घरभित्रै थुनिएर बस्यौं, लकडाउन भयो भन्दैमा हामीले काम गर्न छोड्नु हुँदैन,’ खनाल भन्छन्, ‘बिहानको समय योगा, दिउँसो चित्रकलाको काम र बेलुका आर्टिकलहरु लेखेर मैले लकडाउनका दिनहरु बिताए ।’

ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीका क्युरेटर मनिषलाल श्रेष्ठ पनि चित्रकलाको काममा व्यस्त भएको बताए । लकडाउनमा काम गर्न प्रसस्त समय भएको बताउँदै उनी अब भिडियोमार्फत अनलाइन प्रदर्शनी गर्ने तयारीमा रहेको बताए ।

देश लकडाउन भएसँगै चित्र कोर्नमै व्यस्त भए चित्रकार एरिना ताम्राकारका दम्पती । खाली समयको सदुपयोगसँगै आफ्नो कामले पनि निरन्तरता पाउने भएकाले घरलाई नै स्टुडियो बनाएर काम गरेको एरिना बताउँछिन् । ‘हामीले चाहेर पनि यस्तो आरामदायी तरिकाले काम गर्न पाएका थिएनौं,’ आगामी दिनमा पनि पाउने छैनौं, उनी भन्छिन्, ‘कामलाई निरन्तर रुपमा अघि बढाउन लकडाउन त हाम्रा लागि अवसर बनेको नै बन्यो’ लकडाउनका समयमा कलामा पनि लकडाउनकै विषयवस्तु आएको उनले बताइन् ।

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताइन् । क्लासिक आर्ट ग्यालरीको तर्फबाट उनले भर्चुअल कला प्रदर्शनीको आयोजना गर्दैछन् ।

प्रकाशित: २९ असार २०७७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App