१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

साढे २४ लाख आत्माको बास

नियात्रा

इचिगाया ट्रेन स्टेसनबाट बाहिर निस्कँदा उज्यालोमा मुस्कुराइरहेको थियो, टोकियो। माथि आकाशमा गन्तव्यविहीन बादलका स–साना टुक्रा यात्रारत देखिन्थे। हामी पनि यात्रामै थियौँ। गन्तव्य थियो– निप्पोनजान म्योहोजी’ र ‘यासुकुनी जिन्जा’।

निप्पोनजान म्योहोजी जापानी बुद्ध धर्मको एकदम लचिलो सम्प्रदाय मानिन्छ। यसले बुद्धको शान्ति सन्देश फैलाउन संसारभर शान्ति स्तूप निर्माण गरिरहेको छ। नेपालकै लुम्बिनी र पोखरामा यसले बनाएको विशाल शान्ति स्तूपको दर्शनार्थ बर्सेनि हजारौं मानिस जाने गर्छन्। यसका स्वयंसेवक विभिन्न देशमा सेवारत छन्। हाम्रो देशको बुद्धलाई शिरमा राखेर विश्वमा विस्तारित भइरहेको त्यस अभियानप्रति सम्मान जाग्ने गर्छ।  

टोकियो विश्वविद्यालयकी निवृत्त अध्यापक सुष्मा ओमाता, प्रा. रामकुमार पाँडे र म शान्त र हँसिला जापानीका भीडमा पाइला चालिरहेका थियौं, सेप्टेम्बरको दोस्रो साता सन् २०१९ मा। ती जापानीलाई देख्दा यस्तो लाग्थ्यो, जीवनको सातै रंग तिनकै अनुहारमा मात्र पोतिएका छन्। मैले भेटेका र संगत गरेका वर्तमान पुस्ताका जापानी एकदम शान्त र हँसिला लाग्छन्। हुन त दोस्रो विश्वयुद्धअगाडि र अहिलेका जापानीमा आकाश जमिनको फरक छ। दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाको क्रूरताले धमिल्याएको छवि अहिलेका पुस्ताले सुधारिसके।  

पैदलयात्रामा जापानी कला र संस्कृतिको कुरा गर्दै हिँडिरहेका हामी करिब दश मिनेटपछि गन्तव्यमा पुग्यौँ। शान्तसँग ध्यानमा बसेजस्तो निप्पोनजान म्योहोजी बौद्ध मन्दिरको ठीकअगाडि हामी उभिएका थियौं।  

पूरै कपाल खौरिएकी गेरुवा वस्त्रधारी उक्त बौद्ध मन्दिरकी नेपाली भिक्षुणी रमा खड्काले हाम्रो स्वागत गरिन्। उनको हार्दिकता र आत्मीयताले मन प्रफुल्लित भयो। नेपाली चेली जापानी बौद्ध मन्दिरमा हर्ताकर्ता भएको थाहा पाउँदा औधि खुसी लाग्यो।  

भिक्षुणी रमालाई टोकियोमा भेटेपछि अचानक मनमा एउटा विचार आयो। अरब, मलेसिया आदि देशमा कामदार पठाउने नेपालले जापानमा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न खालका जनशक्ति पठाउन सक्ने सम्भावनाको आकलन गरेँ। जापानको घट्दो जन्मदर र बुद्ध मन्दिर प्रशस्त भएर पनि पूजा लगायत कार्यमा नयाँ पुस्ताको अभिरुचि कम हुँदै गएको छ। बुद्ध जन्मेको देशबाट गएका बौद्ध धर्मका जनशक्तिले त्यहाँ विशेष महत्व र सम्मान पाउँदा हुन्। दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुग्दो हो। उसो त नेपालमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना भएर पढाइ समेत भइरहेको छ। त्यसैले बुद्ध धर्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्नु सान्दर्भिक र उपयोगी हुन सक्छ भन्ने लागेको छ।  

सेतो रंगको दुईतले निप्पोनजान म्योहोजी बौद्ध मन्दिरलाई शिर निहु-याएर नमन गरेँ। वरिपरि नजर लगाउँदै थिएँ, मन्दिरको अगाडि सुनौलो रंगले जापानी अक्षरमा केही लेखिएको एउटा ठूलो शिलामा मेरा नयन अडिए। मैले पढ्न नसक्ने ती अक्षर प्रार्थना मन्त्र थिए कि मन्दिरको नाम ? केही अनुमान गर्न सकिनँ।

अहा, गणेश भगवान् !  
त्यस शिलाअगाडि राखिएको सानो आकारको गणेशको मूर्ति देख्नासाथ मुखबाट बोली निस्कियो। बुद्ध मन्दिरको मुख्य प्रवेशद्वार अगाडि हिन्दू धर्मका गणेश भगवान्को मूर्ति राख्नुको अर्थ बुझ्न सकिनँ। जापानमा पहिलोपटक देखेको गणेश भगवान्लाई दुई हात जोडेर नमन गरेँ। त्यसपछि बुद्ध मन्दिरभित्रको यात्राको श्रीगणेश भयो।

यासुकुनी जिन्जालाई जापानीहरू अति श्रद्धा गर्छन्। राष्ट्रको गौरवको रूपमा लिन्छन्। तर चीन, कोरिया, अमेरिका लगायत दोस्रो विश्वयुद्धका जापानविरोधी देशले यसको विरोध गरेका छन्। उनीहरूको भनाइ छ– एक हजार जापानी युद्ध अपराधीका आत्मालाई अरुसँगै राखेर पूजा गरियो। सोही कारण यासुकुनी जिन्जा अन्तर्राष्ट्रियस्तरमा विवादास्पद धार्मिक स्थलको रूपमा चित्रित छ।

भिक्षुणी रमाले हामीलाई पहिलो तलामा रहेको मन्दिरको मुख्य कक्षमा लगिन्। ठूलो हलमा झलमल बत्ती बल्यो। मेरो सामुन्ने सुनौलो मञ्चमा विराजमान दुईवटा बुद्धको मूर्ति बिजुली बत्तीको उज्यालोमा चम्किरहेको थियो। तीमध्ये एउटा शाक्यमुनि बुद्ध र अर्को प्रभुतरत्न बुद्धको मूर्ति रहेछ। बौद्ध धर्ममा धेरै प्रकारका बुद्धको अस्तित्व रहेको पाइन्छ। तिनका आ–आफ्नै विशेषता र कार्य हुन्छन्। ती बुद्ध मूर्तिसँगै त्यहाँ अरु चारवटा बोधिसत्व पनि थिए। संयुक्त रूपमा बुद्ध भगवान् र बोधिसत्वलाई नमन गरेँ। भिक्षुणीले पालैपालो हाम्रा लागि प्रार्थना गरिदिइन्। मनमा एक खालको शान्ति सञ्चार भयो। भिक्षुणी रमालाई नमन गर्दै धन्यवाद दिएँ। हामी सबै त्यहाँबाट उठ्यौँ।

हामी हतारमा रहेका यात्री थियौं। बौद्ध मन्दिरको दर्शनपछि विलम्ब नगरी सामुन्ने रहेको सिन्तो मन्दिरको दर्शनका लागि अघि बढ्यौँ।  

करिब पाँच मिनेट हिँडेपछि चल्तीको मूल सडकछेउ काठले बनेको ‘टोरी’ गेट देखियो। त्यही गेटबाट भित्र प्रवेश गरेपछि ‘यासुकुनी जिन्जा’ अर्थात् सिन्तो मन्दिरमा पुगिन्थ्यो। काठले बनेको टोरी गेटले सिन्तो धार्मिक स्थललाई चिनाउँछ। त्यस गेटभित्रको सम्पूर्ण स्थललाई पवित्र मानिन्छ।  

पवित्र स्थलमा पाइला राखिसकेको थिएँ। मनमा बेग्लै खालको अनुभूति सञ्चार भयो। सायद पवित्र स्थलको प्रभाव मनमा प¥यो कि ? जे भए पनि शान्त मन लिएर हिँड्दै जाँदा आफ्नै पाइलाका पदचाप सुनिरहेको थिएँ।  

मेइजी राजतन्त्रको पुनस्र्थापनापछि सन् १८६९ मा बनाइएको सिन्तो धर्मको पवित्र स्थल हो, यासुकुनी जिन्जा। सिन्तो धर्मको धार्मिक स्थलमा मानिसको आत्माको बास हुने विश्वास गरिन्छ। मानिसको मृत्यपछि आत्मा मर्दैन भन्ने सिन्तो धर्मावलम्बीहरू आत्माको प्रार्थना र पूजा गर्छन्। जापानी भाषामा आत्मालाई ‘कामी’ भनिन्छ। आफ्ना प्रियजनको आत्मालाई परिवारका सदस्यले ‘पितृ कामी’को रूपमा घरघरमा पुज्छन्। विशिष्ट क्षमता भएका र राष्ट्रलाई योगदान दिएका विशेष व्यक्तिको आत्मालाई भने मन्दिर बनाएर सार्वजिनक रूपमा पुजिन्छ। नातेदारको आत्मालाई पूजा र प्रार्थना गर्नु ठीकै लाग्छ। तर, केही नाता नपर्नेको आत्मालाई पनि पुज्ने परम्पराचाहिँ अलिक अनौठो मानेको छु।

उक्त सिन्तो मन्दिर जापानी सेना र युद्धमा मारिएका अन्य व्यक्तिको आत्माप्रति समर्पित छ। हुन त त्यहाँ कसैलाई समाधिस्थ गरिएको छैन। न त्यो कुनै युद्ध भएको स्थल हो। युद्धमा मारिएका र युद्धमा संलग्न व्यक्तिको आत्माको सामूहिक वासस्थान मात्र हो। राष्ट्रका लागि योगदान गरेका व्यक्तिका आत्माका लागि प्रार्थना र पूजा गर्ने सार्वजनिक स्थल हो। तिनीहरूलाई सम्मान व्यक्त गर्ने ठाउँ हो। सम्झन्छु, त्यस्ता व्यक्तिलाई राष्ट्रले दिने त्योभन्दा ठूलो सम्मान अरु के हुन सक्ला र ?  

जापानी शैलीको मन्दिर बनाएर त्यहाँ आत्माको बास छ है भनेपछि दर्शन र प्रार्थना गर्न मानिस गएको देख्दा उदेक लाग्यो। त्यहाँ आत्मा छ भनेर भनिदिएपछि पत्याइहाल्ने कस्तो विश्वास ? तिनीहरूको विश्वासप्रति एक मनले शंका ग¥यो। अर्को मनले हिन्दूहरूको विश्वासप्रति झन् ठूलो प्रश्न उठायो। हिन्दूहरूले पनि एउटा अमुक ठाउँमा मन्दिर बनाएर भगवान् मूर्ति राखेपछि पूजाअर्चना गर्नेको भीड लाग्ने गर्छ। म आफैं पनि त्यसरी बनाइएका नयाँ मन्दिरमा दर्शन गर्न गएको छु। सम्झिल्याउँदा धर्म भनेको आखिरमा विश्वास मात्रै रहेछ जस्तो लाग्यो।

धर्म मान्ने र नमान्ने स्वतन्त्रता सबैलाई छ। तर अरुको धर्म र विश्वासलाई घृणा गर्ने अधिकार कसैलाई छैन। अरुको धर्म र विश्वासलाई सम्मान गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने मलाई लाग्छ। म विभिन्न धर्म र जातिको धार्मिक तथा सांस्कृतिक स्थलमा पुगेर निरपेक्ष भई अध्ययन, अनुसन्धान, दर्शन र अवलोकन गर्न यात्रामा निस्कने गरेको छु। त्यहाँ पुग्दा मनमा आनन्द मिल्छ। केही अनुभव सँगाल्छु, केही सिकेर फर्कन्छु।

यस्तै कुरा मनमा खेलाउँदै गर्दा जापानी शैलीको एकतले मन्दिर यासुकुनी जिन्जाको पटांगिनीमा पुगिसकेको थिएँ। त्यस वरपर मानिस प्रशस्त देखिए। सर्सर्ती मेरा दृष्टि मानिसका हुलमा दौडिए। त्यस भीडमा सायद हामी चारजना मात्र विदेशी थियौं जस्तो लाग्यो। पितृ परम्परालाई निरन्तरता दिँदै त्यहाँ रहेका अदृश्य आत्माका लागि प्रार्थना गर्न आएका जापानीले मलाई प्रभावित पारे।  

इतिहासका पाना पल्टाउने हो भने मन्दिरभित्रका पूज्य आत्मामध्येका केही अन्तर्राष्ट्रिय युद्ध न्यायाधिकरणले दोषी ठहराएका, केहीले सजाय पाएका र केहीको जेलमै समेत मृत्यु भएको देखिन्छ। त्यसैले दोस्रो विश्वयुद्धमा जापानको ज्यादतीबाट पीडित देशले विरोध गर्ने गरेका छन्। उक्त घटनाक्रम थाहा पाउँदा धर्मभित्र राजनीति कि राजनीतिभित्र धर्म प्रवेश गराइएको हो, अलमलमा परेँ।  

सिन्तो धार्मिक स्थलको मुख्य मन्दिरभित्र सर्वसाधारणका लागि प्रवेश निषेध हुन्छ। भित्र पसेर दर्शन गर्ने कुरै हुँदैन। मन्दिरको अगाडि उभिएर प्रार्थना गरेपछि त्यहाँ रहेका आत्मा खुसी हुने र आफ्नो मनोकामना पुरा हुने कुरामा जापानीहरू विश्वास गर्छन्। मैले पनि बाहिरबाटै नमस्कार गरेँ। त्यस मन्दिरभित्र रहेका र मेरा आफ्नै पितृका आत्मालाई सम्झेँ। तिनको मोक्ष प्राप्ति होस् भनेर प्रार्थना गरेँ। मनले सन्तुष्टि मान्यो।

जापानी सिन्तो धर्मको आफ्नै मौलिक परम्परा छ। तिनीहरू जिउँदो हुँदा परिवारका सदस्यलाई दैनिक रूपमा जसरी व्यवहार गर्छन् उसैगरी मृत्युपछि पनि तिनको आत्मालाई सोही अनुसारको व्यवहार र सम्मान व्यक्त गर्छन्। दैनिक रूपमा ती आत्मालाई खाना दिइन्छ। पानी चढाइन्छ। तिनको लागि प्रार्थना गरिन्छ। प्रार्थनाबाट खुसी भएर पितृले आशिष दिन्छन् भन्नेमा जापानीहरू विश्वास गर्छन्। पितृको श्राद्ध गर्ने र तिनबाट आशिष प्राप्त हुने कुरामा हामी पनि विश्वास गर्छौं। हिन्दू र सिन्तो धर्ममा देखिएको समानता सायद यो मात्र होइन होला, यसको बारेमा बेग्लै अध्ययन गर्नुपर्ने देखेको छु।

यासुकुनी जिन्जा सैनिक, केही सामुराई योद्धा, नर्स, डाक्टर लगायत २४ लाख ६६ हजार पाँच सय ३२ आत्माप्रति समर्पित छ। त्यस मन्दिरमा बोसिन युद्ध, सेइनान युद्ध, चीन–जापान युद्ध, रसिया–जापान युद्ध, प्रथम र दोस्रो विश्व युद्ध लगायतमा दिवंगत भएका आत्मा रहेको मानिन्छ। तिनको पद र प्रतिष्ठाको प्रवाह नगरी समान रूपमा मन्दिरको तर्फबाट दैनिक रूपमा प्रार्थना र पूजा गरिन्छ। सबैलाई समान रूपमा व्यवहार गरिने सिन्तो धर्मको त्यस्तो कार्य अनुकरणीय लाग्यो।

यासुकुनी जिन्जाको राजपरिवारसँग गहिरो सम्बन्ध छ। मेइजी राजवंशको पुनस्र्थापना भएको दोस्रो वर्ष सन् १८६९ मा जापानी सम्राट मेइजीले उक्त मन्दिर निर्माण गराएका हुन्। सम्राट मेइजी आफैंमा राम्रा कवि थिए। उनले सन् १८७४ जनवरी २४ मा मन्दिरमा गएर एउटा कविता लेखे। कविताको भावानुवाद यस्तो छ, ‘आफ्नो देशका लागि लडेर सहादत प्राप्त गरेकालाई आश्वस्त पार्न चाहन्छु, तपाईंहरूको नाम यस स्थलमा सदाका लागि रहनेछ।’ 

युसुकान जापानमा अवस्थित दोस्रो विश्वयुद्धको मुख्य संग्रहालयमध्येको एक हो। हामीसँग समय थोरै भएकाले युसुकान म्युजियमभित्र प्रवेश गरेर युद्ध संग्रहालयको अवलोकन नसक्ने भयौं। तर, बाहिरी कक्षमा राखिएका युद्धसम्बन्धी विभिन्न सामग्री हेर्ने कुरा भयो। हुन त दोस्रो विश्वयुद्धको मुख्य संग्रहालय हिरोसिमामा हेरिसकेकाले युसुकान संग्रहालय छुटाउँदा खासै पछुतो लाग्ने केही थिएन।   

मेइजीले कवितामार्फत उक्त कुरा भने पनि त्यस मन्दिरको अस्तित्व मेटाउन चाहने शक्ति अहिले पनि सक्रिय रहेका छन्। वास्तवमा त्यस स्थललाई जापानीहरू अति श्रद्धा गर्छन्। राष्ट्रको गौरवको रूपमा लिन्छन्। तर चीन, कोरिया, अमेरिका लगायत दोस्रो विश्वयुद्धका जापानविरोधी देशले यसको विरोध गरेका छन्। उनीहरूको भनाइ छ– एक हजार जापानी युद्ध अपराधीका आत्मालाई अरुसँगै राखेर पूजा गरियो। सोही कारण यासुकुनी जिन्जा अन्तर्राष्ट्रियस्तरमा विवादास्पद धार्मिक स्थलको रूपमा चित्रित छ।  

इतिहासका पाना पल्टाउने हो भने मन्दिरभित्रका पूज्य आत्मामध्येका केही अन्तर्राष्ट्रिय युद्ध न्यायाधिकरणले दोषी ठहराएका, केहीले सजाय पाएका र केहीको जेलमै समेत मृत्यु भएको देखिन्छ। त्यसैले दोस्रो विश्वयुद्धमा जापानको ज्यादतीबाट पीडित देशले विरोध गर्ने गरेका छन्। उक्त घटनाक्रम थाहा पाउँदा धर्मभित्र राजनीति कि राजनीतिभित्र धर्म प्रवेश गराइएको हो, अलमलमा परेँ।  

त्यति मात्र होइन, केही ताइवानी र कोरियन, जसले जापानी सम्राटका लागि लडे तिनका आत्माको वासस्थान पनि यासुकुनी जिन्जा हो। त्यहाँबाट तिनको नाम हटाउन परिवारका सदस्यले लामो समयदेखि कोसिस गरिरहेका छन्। सिन्तो पुजारीले नाम हटाउन सम्भव नहुने कुरा बारम्बार बताउँदै आएका छन्। नाम हटाउन चाहने र हटाउन नमिल्ने बीचको विवाद अहिलेसम्म अन्त्य भएको छैन। उक्त कुरा थाहा पाएपछि मेरो मनमा ठूलो प्रश्न उठ्यो, ‘त्यो धार्मिक स्थल हो कि राजनीतिक स्थल ?’  

मन्दिरको विरोध गर्ने देशलाई जापानले दिने जवाफ पनि कम्तीको छैन। जापानमाथि अमेरिकाले चलाएको ज्यादतीका बारेमा किन मौन ? दोस्रो विश्व युद्धमा औचित्य साबित गर्न नसकेको हिरोसिमा र नागासाकी आणविक बम प्रहार गरेर लाखौँ निहत्था नागरिकको ज्यान लिने र आदेश दिनेलाई खोइ कारबाही ? के तिनीहरू युद्ध अपराधी भएनन् ? जापानी मात्रै किन युद्ध अपराधी ? यसरी सम्झिल्याउँदा जापानीहरूको तर्क पनि एक हिसाबले जायज हो कि जस्तो लाग्छ। तर्क जे भए पनि मैले यस विषयमा आफूलाई मौन राखेँ।

यासुकुनी जिन्जालाई धित मरुन्जेल हेरिसकेका थियौं। त्यसपछि हामीले त्यसको छेउमै रहेको युसुकान युद्ध संग्रहालयतिर गोडा चाल्यौं।  

युसुकान जापानमा अवस्थित दोस्रो विश्वयुद्धको मुख्य संग्रहालयमध्येको एक हो। हामीसँग समय थोरै भएकाले युसुकान म्युजियमभित्र प्रवेश गरेर युद्ध संग्रहालयको अवलोकन नसक्ने भयौं। तर, बाहिरी कक्षमा राखिएका युद्धसम्बन्धी विभिन्न सामग्री हेर्ने कुरा भयो। हुन त दोस्रो विश्वयुद्धको मुख्य संग्रहालय हिरोसिमामा हेरिसकेकाले युसुकान संग्रहालय छुटाउँदा खासै पछुतो लाग्ने केही थिएन।  

युुुकान संग्रहालयको बाहिरी कक्षमा बर्मा युद्धमा प्रयोग गरिएको रेल इन्जिन, जापानी फाइटर प्लेन र विशाल तोप लगायत ऐतिहासिक सामाग्री सजाएर राखिएका थिए। तिनले युद्ध इतिहासको गाथा बताइरहेका थिए। सोकेसमा राखिएको ऐतिहासिक दस्ताबेज दोस्रो विश्वयुद्धको इतिहास साक्षीका रूपमा थिए।

विदेशी सञ्चारमाध्यमले यासुकुनी जिन्जालाई विवादस्पद धार्मिक स्थलको रूपमा चित्रित गर्ने गरेको कुरा धेरैपहिले नै पढेको थिएँ। टिभीमा देखेको थिएँ। विवादमा परिने डरले अरु देशका सरकार प्रमुख समेत त्यहाँ जान चाहँदैनन्। जापानकै प्रधानमन्त्रीले यासुकुनी जिन्जाको भ्रमण गरे भने पनि अन्तर्राष्ट्रिय रूपमा विरोधको स्वर उठ्ने गर्छ। म एउटा सामान्य बबुरोले निर्धक्क साथ त्यस मन्दिरको भ्रमण सम्पन्न गरेँ। सामान्य व्यक्ति हुनुको आनन्दमा एकछिन रमाएँ। त्यहाँ मेरा पितृका लागि प्रार्थना गरेँ। जापानी इतिहासका केही पाना पल्टाएँ। सन्तुष्ट भएर फर्कें।

प्रकाशित: २७ असार २०७७ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App