श्रीराम राई
मेरी सानी छोरीले बिहानको सेताम्मे हिमाल देखाउँदै सोध्थिन् ‘बाबा, कति राम्रो हिमाल !’
म भन्थें, ‘हो सानू, साँच्चिकै बिहानी हिमाल कति सुन्दर देखिन्छ होकि ।’
काखमा थैथै गर्दै हुर्काएँ छोरीलाई । उनी ठूली हुँदै गइन् । सम्झिन्छु कति रमाइला थिए ती दिनहरू ।
सपना छोरीको बारम्बार खातिर गर्थिन्, ‘मेरी यी छोरी कति कमजोर छे । कसरी गरिखाली उनले ?’
त्यतिबेला डेराको जीवन थियो । घर पेन्टिङ गरेर मुस्किलले धानिँदै थियोे । महँगी अकासिँदै थियो । फलफूल र हरियोपरियो खान पाए पो रसाउँथ्यो छाती । कहाँबाट आवस् दूध र खुवाऊन् उनले । त्यही बेलादेखि आमाछोरीको आँत छिनिएको थियो ।
– बाबा, म धेरै पढेर जागिर खान्छु । अनि ठूलो घर बनाएर तपाईहरूलाई राख्छु , हस् ।’ लिखुरे छोरीको यस्तो बोली सुनेर म छक्क पर्थेँ ।
‘ओ बिउटीफुल माउन्टेन !’ म झसङ्ग भएँ । मेरी छोरी रमाउँदै थिइन् । म एकनासले हिमालका रङ हेरिरहेथेँ । आफूले हिमालमा भारी बोक्दाका कहरहरू दिमागभरि आएर भावुक भएँछु । आँखाबाट अरुण उर्लिदै थियो । छोरीले भनिन्, ‘बाबा, तपाई सधैं भावुक हुनुहुन्छ ? भावुक भएर बाँच्न कति गारो हुन्छ ? माउन्टेनको रङ हेर्नु न ।’
झटपट रुमालले आँसु पुछेँ र बाहिर गएँ । मुस्कुराइरहेको हिमाललाई सोधें – ए हिमाल, तिम्रो रङ कस्तो छ ?
उसले मलाई जवाफ दिएथ्यो – मेरो रङ त एउटै हो नि । तर सुख र दुःखको रङ कहाँ कहाँ एउटै हुन्छ र ?
प्रकाशित: २६ असार २०७७ ०७:२२ शुक्रबार