राजु क्षत्री अपुरो
ऊ पुरानो एल्बम पल्टाउँदै थियो । समयसमयमा खिचिएका फोटाहरूले मानसपटलमा ताजा स्मृति दिलाइरहेको थियो । यसै क्रममा उसले आफ्नो बालापनको फोटो भेटाएपछि टक्क रोकियो । फोटोमा ऊ मुसुक्क मुस्कुराइरहेको थियो । मीठो मुस्कानमा अबोधपन झल्किएको प्रष्टै देखिन्थ्यो । उसलाई आज पनि आफ्नो होस खुलेदेखि सम्झना छ, त्यो मुस्कानले त्यतिबेला उसका थुप्रै आफन्त र छिमेकीहरूको मन जितेको थियो । मीठो मुस्कानस्वरूप उपहारमा कतिपयले म्वाइँ खाएका थिए भने कतिले गाला सुमसुम्याउँदै अँगालोमा लिएर छातीमा टाँस्दै माया गरेका थिए।
कतिपयले फलानाको छोराको मुस्कानले घर अझै उज्यालिएको छ भन्थे। यसको त हाँसै मीठो त्यै भएर पनि मन खिचिन्छ भन्ने छरछिमेकीहरू पनि थुप्रै थिए।
उसले बालापनको फोटो र हालको सेल्फी लिएको फोटो एकसाथ आफ्नो फेसबुकवालमा पोस्ट गरयो । क्याप्सनमा लेख्यो , ‘ पाँच वर्षको त्यो बालापनको मुस्कान र २५ बर्से युवाको मुस्कान !’
हेर्दाहेर्दै मीठामीठा र प्रशंसाले भरिएका प्रतिक्रियाहरू आउन थाले । सयौं मानिसको प्रतिक्रिया आयो – गजव , मीठो मुस्कान , सधै मुस्कुराइरहनु, आहा कति हँसिलो । अझ केहीले त यही मुस्कानले थुप्रै युवतीहरू पट्याएको हुनुपर्छ भनेर लेख्न समेत भ्याए । यस्तैयस्तै प्रशंसाले भरिभराउ थियो उसको कमेन्ट बक्स । धन्यवाद फर्काउन समेत भ्याईनभ्याई भएको थियो उसलाई तर अचम्म उसका आफन्त , छिमेकी र उसलाई नजिकैबाट चिन्नेहरूको प्रतिक्रिया एउटा पनि थिएन । सुत्नुपुर्व उसले पुनः मोबाइल खोल्यो । उसले अन्तिममा एउटा प्रतिक्रिया देख्यो। त्यो प्रतिक्रियामा थुप्रै निकट व्यक्तिहरूका लाइक थिए। प्रतिक्रियामा उल्लेख थियो , ‘रामकृष्णे , तँ जसरी मुस्कुराएको छस् त्यसैगरी तेरो परिवारलाई पनि मुस्कुराउन दिँदो होस् त हामी खुशी भएर कति मीठामीठा कमेन्ट लेख्थ्यौ होला !’
प्रकाशित: २६ असार २०७७ ०५:३७ शुक्रबार