आचार्य प्रभा
सिमान्त आज भान्सामा व्यस्त छ । उसले साँझ डिनरमा साथी रुपेशको परिवारलाई बोलाएको छ।सिमान्त र रुपेश एउटै विचारको धारमा चल्ने मित्रहरू हुन् । जसको मूल आह्वान छ , "संसारभर शान्ति छाउनुपर्छ"।
उनीहरूले यही शान्तिको सन्देश छर्नलाई मिलेर अफिस पनि खोलेका छन्।
साँझ ठिक ७ बजे रुपेशको परिवारको आगमन भयो। सिमान्त र रुपाले डाइनिङ टेबलमा खानाका परिकार सजाएर राखेका थिए।
खाना अगाडि पिउने ड्रिंक्स र सितन पनि तयार थिए।
सब जना डाइनिङ टेबलमा बसे। रुपेशका छोराछोरी पनि आएका थिए। ड्रिंक्स र परेवाको भुटेको सितनबाट मेजमान शुरु हुनै लागेको थियो।
रुपेशले प्लेटको मासुको टुक्रा चलाउँदै सोध्यो , " योचाहिँ केको भुटन परयो ?"
सिमान्तले जवाफ दियो , "तिमीलाई परेवाको मासु मनपर्ने भएकाले घरको धुरीमा परेवाका बच्चाहरू खान ठिक्क भएका थिए । आज त्यसैलाई यो ह्विस्कीसँग ठिक पारियो।"
रुपेशले घुटुक्क थुक निलेर भन्यो , "वाउ यो हो नि साथीको खातिर गर्ने तरीका । थ्याङ्क्यु मेरो धोको पूरा भयो यार । मलाई कैलेदेखि खान मन लागेको परेवाको मासु।"
आफ्नो बाबाको कुरा सुनेर रुपेशका छोराले भन्यो , "बाबा तपाई र अङ्कल त संसारभर शान्ति फैलाउने अभिव्यक्ति दिनुहुन्छ। सबैलाई शान्तिको पाठ सिकाउनुहुन्छ अनि आफै शान्तिको प्रतीकको हत्या गरेर खान लाज लाग्दैन?"
छोराको कुरा सुनेर रुपेश निरुत्तर बन्यो र सोध्यो , "कस्ले भन्यो तँलाई परेवा शान्तिको प्रतीक भनेर?"
अझ बाउँठिदै छोराले भन्यो , "तपाईहरूको भित्ताको ब्यानरको लोगो हेर्नहोस् त!"
अलिक पर भित्तामा शान्तिको सन्देश भरिएको ब्यानर झुन्डिरहेको थियो। रुपेश र सिमान्त लाजले पानीपानी हुँदै भुइँतिर हेर्न बाध्य बने छोराको प्रश्नले। टेबलमा सजिएको खानाहरु निल्नु न ओकल्नुभयो ती दुई परिवारलाई।
प्रकाशित: २४ असार २०७७ ०९:५७ बुधबार