नवराज हुँ म,
कुनै सपनाको राजकुमार होइन
कुनै दन्त्यकथाको पात्र होइन
न त म कुनै लावण्य देशको राजा हुँ
म त एउटा प्रेमको सारथि,
प्रेम पाउने लोभमा सहिद बनेको एक प्रेमी...
रुकुम !
मेरो निम्ति एउटा सपनाको देश थियो
सपना मात्रै थियो मेरो निम्ति...
रुकुम !
जहाँ मैले प्रेमको बीऊ छरेँ
तर घृणाको फूल फुल्यो
नदीमा
जहाँ अमृतजस्तो पानी बग्नुपर्ने
मान्छेको रगत र सास मिसेर रातभरि बग्यो
त्यो रात मेरो सपना पनि बग्यो पानीमा...
रुकुम !
अझै मेरो सपनामा आइरहन्छ
मलाई ब्युँझाउँछ...
मेरो सपनाको हत्या भएको दिन
त्यो ठाउँमा मेरो मुस्कान लुकाइएको छ...
मेरो मुस्कान अझै रहोस् , त्यही गाउँमा...
तर मेरो मुस्कानको हत्या नहोस्,
ऊ हाँस्दा म देखिऊँ त्यो सपनामा
मेरो सपना यति नै हो
फेरि त्यो देशमा प्रेम फूलोस्
प्रेमको बीऊ रोप्दा प्रेम नै फलोस्
सबै प्रेमीलाई मेरो अभिवादन छ,
रुकुम आजकाल खेती राम्रो छैन,
बाली राम्रो लाग्दैन
खोलाले बगाउँछ सबै गाउँको सपनामा
तर त्यो पानी,
त्यो हावा,
त्यो फूल,
सबै चीजमा मेरो प्रेम त फूलिरहेको छ
मेरो मुस्कान त झुलिरहेको छ
मलाई देख्दा सबैले मेरो मुस्कान सम्झोस्
मेरो मुस्कान त्यही ठाउँमा छ,
त्यही ठाउँमा...
मुस्कान !
तिमी सधैँ प्रेम बोकेर फुलिरहनू... ।
प्रकाशित: ६ असार २०७७ ०५:४० शनिबार