२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

विद्यार्थी लक्षित राष्ट्रिय निबन्ध प्रतियोगिता हुँदै

लामो समय नाटक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको शैली थिएटरले लकडाउनका समयमा पनि बालबालिका केन्द्रित विभिन्न सिर्जनात्मक काम गरिरहेको छ । केही समय अघि विश्व बालकविता महोत्सव आयोजना गरेको शैलीले अहिले भने विद्यार्थी लक्षित निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल वातावरण पत्रकार समूह नेफेजसँगको सहकार्यमा आयोजना गरिएको उक्त निबन्ध प्रतियोगितामा ९ देखि ११ कक्षामा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने आयोजकको भनाई छ ।

देशमा जारी लकडाउन बिस्तारै खुकुलो गरेता पनि नाटकघर संचालन गर्ने अवस्था नरहेका बेला केही न केही काम गरिरहने आदत बसिसकेको चुप लागेर बस्न नसक्ने भएकाले अहिले निबन्धलाई प्राथमिकता दिएको शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले बताए ।

भौतिक दुरी कायम गरेर, अनलाइनमार्फत जे जति गर्न सकिन्छ त्यसैमा केन्द्रित हुने प्रयास स्वरूप नेपाल वातावरण पत्रकार समूह नेफेजको सहयोगमा निबन्ध प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

शैली थिएटरले आफ्नो स्थापना काल देखि नै बालबालिकामा केन्द्रित रहेर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । राष्ट्रिय बाल नाटक महोत्सव को ११ औं संस्करण पूरा गरिसकेको शैलीले यसपटक नाटक बाहेक साहित्यका अन्य पाटोलाई अघि बढाएको छ । शैली थिएटरको आधिकारिक युट्युब च्यानलमा अहिले विश्व बाल कविता महोत्सवमा सहभागी बाल कविहरूको कविता नियमित रुपमा प्रशारण भइरहेको छ ।

शैली थिएटरकी कार्यक्रम संयोजक सरस्वती अधिकारीले यस कार्यक्रमको आयोजना विद्यार्थीहरूको हितमा केन्द्रित भएर गरेको बताइन् । उनले प्रतियोगिताका नियम बताउँदै भनिन्, ‘भर्खरै ८ कक्षा पास भएर ९ कक्षामा गएका विद्यार्थीदेखि लिएर एसइई पास गरेका विद्यार्थी र अहिले कक्षा ११ को अन्तिम परीक्षाको पर्खाइमा रहेका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।’ 

उनका अनुसार ‘नेपालमा मिडिया लिटरेसी’ शीर्षकमा निबन्ध कम्तिमा पाँच सय शब्द देखि बढीमा १ हजार शब्दसम्म हुनुपर्ने छ । निबन्ध हस्तलिखित, कम्प्युटर टाइप, अडियो वा भिडियो रेकर्ड गरेर असार २० सम्ममा shailee.theatre1@gmail.com मा पठाउनु पर्नेछ ।

मिडिया लिटरेसी सम्बन्धमा अहिलेका बालबालिका लाई कत्तिको ज्ञान छ, उनीहले यसलाई कसरी बुझेका छन् भन्ने बुझ्न यो प्रतियोगिता आयोजना गरिएको नेपाल वातावरण पत्रकार समूह नेफेजका अडियो भिडियो डाइरेक्टर रबिन्द्र पाण्डेले बताए । यस अफ्ठ्यारो परिस्थितिमा घरमै बसेका भाईबहिनीले सिर्जनात्मक काम गर्न पाउने उनको भनाई छ । विद्यार्थीको आलोचनात्मक र बिश्लेशणात्मक खुबी बुझ्ने अवसर पनि प्रतियोगिताले दिने उनले बताए ।  

आयोजकका अनुसार उत्कृष्ट प्रथम, द्वतीय र तृतीयलाई हुने निबन्धलाई क्रमशः १५, १० र ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित: ३ असार २०७७ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App