३ असार २०८१ सोमबार
image/svg+xml
कला

सर्‍याे अस्कर र बाफ्टा अवार्ड

कोरोना भाइरस महामारीको प्रभावले गर्दा ४० वर्षमा पहिलो पटक अस्कर अवार्डको मिति सारिएको छ । सोमबार एकेडेमी अफ मोसन पिक्चर आट्स एन्ड साइन्सेजले अर्को वर्षको फेब्रुअरी २८ मा हुने तय भएको अस्कर अवार्ड सारिएको जानकारी गराएको थियो ।  

एकेडेमी बोर्डका गभर्नरहरूले अस्कर अवार्ड आगामी अप्रिल २५ मा आयोजना गरिने जानकारी गराएका थिए । ‘एक शताब्दीभन्दा अघिदेखि फिल्महरूले हामीलाई सान्त्वना, प्रेरणादायक र अन्धकारमय समयमा मनोरन्जन गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ एकेडेमीका अध्यक्ष डेभिड रुबिनले विज्ञप्तिमार्फत भने, ‘फिल्म निर्माताहरूले आफ्नो फिल्महरू कसैको नियन्त्रणभन्दा बाहिर रहेर रिलिज गर्नु पर्छ । हामीले योग्यता अवधि र पुरस्कार मिति परिवर्तन गरेर लचिलोपन प्रदान गरेका छौं ।’

एकेडेमीले आगामी फेब्रुअरी २८ सम्म फिल्महरूको हेर्ने भएको छ । यसअघि डिसेम्बर ३१ भन्दाअघि फिल्म हलहरूमा प्रदर्शन भएका फिल्महरू प्रतिस्र्धाका लागि योग्य हुने नियम थियो । त्यस्तै आगामी डिसेम्बर १४ देखि खोल्ने भनिएको मोसन पिक्चर्स एकेडेमी संग्रहालयको मिति अर्को वर्षको अप्रिल ३० का लागि सारिएको छ । पछिल्लो पटक सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या भएपछि २४ घण्टाको लागि अस्कर स्थगित भएको थियो । ब्रिटिस एकेडेमी फिल्म पुरस्कार (बाफ्टा) ले पनि कोरोना भाइरस महामारीको जोखिले गर्दा अवार्ड समारोहको मिति आगामी अप्रिल ११ को लागि सारेको थियो । ‘कोरोना भाइरस महामारीको प्रभावलाई स्वीकार्दै आगामी फेब्रअरी १४ मा हुने भनिएको अवार्ड समारोह अप्रिल ११ को लागि सारिएको छ,’ बाफ्टाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘समारोहका बारेमा विस्तृत जानकारी यस वर्षको अन्तमा घोषणा गरिनेछ ।’

गत महिना ट्राइबेका इन्टरप्राइजेज र युट्युबले सहकार्य गरेर १० दिने ‘वि आर वान: अ ग्लोबल फिल्म महोत्सव’ को आयोजना गरेको थियो । तर यो महोत्सव फितलो भएको थियो । यसअघि एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने जानकारी गराएको थियो । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ । अर्को वर्षको अस्कर समारोहमा १० वटा राम्रा फिल्मका मनोनितहरूलाई समावेशी मापदण्डको ग्यारेन्टी गर्ने एकेडेमीले जनाएको छ । अस्करमा फिल्महरूको विविधतालाई प्राथमिकता दिन एकेडेमीको उच्च सम्मान प्रदान गर्ने भएको हो । त्यस्तै अस्करको लागि एकेडेमीले स्ट्रिमिङ साइटमार्फत ‘त्रैमासिक अवलोकन प्रक्रिया’ कार्यान्वयन गर्दैछ । सदस्यहरूलाई वर्षभरी रिलिज गरिएको फिल्महरू हेर्नका लागि एकेडेमीले प्रत्येक फिल्मको प्रदर्शनी फराकिलो पार्ने र योग्य फिल्महरूको मतदान सदस्यहरूले देख्न सक्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।  

कोरोना भाइरस महामारीको जोखिम कम गर्न फिल्मसम्बन्धी गतिविधिहरू प्रभावित भएपछि फिल्महरू अनलाइनमार्फत रिलिज हुने क्रम बढेसँगै अस्करको तालिकामा असर पार्ने भएको छ ।

प्रकाशित: ३ असार २०७७ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App