१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मानसिक स्वास्थ्यसम्बन्धी बहस जरुरी छ’

बलिउड अभिनेता दीपिका पादुकोणले मानसिक स्वास्थ्यका बारे बहस आवश्यक रहेको अभिव्यक्ति दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै उनले वरपरका मानिसहरू निराश वा मानसिक रोगबाट ग्रस्त हुन सक्नेहरूसँग कुराकानी गरेर मद्दत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी थिइन ।  

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा आत्महत्या गरेपछि अभिनेत्री पादुकोणले अभिव्यक्ति दिएकी हुन् । उनले आफ्नै उदाहरण दिँदै निराश महसुस गरिरहेका मानिसहरूसँग पुग्नु आवश्यक रहेको उल्लेख गरेकी थिइन । ‘लामो समय डिप्रेसनको सिकार भएकी मैले मानसिक रोगको साथ बाँचिरहेका व्यक्तिहरूसम्म पुगेर एक्लो हुनुहुन्न भनेर पर्याप्त कुरा गर्न सक्दिन,’ उनले पोस्टमा लेखेकी थिइन, ‘कुराकानी गर्नुहोस् । सहयोग माग्नुहोस् । तपाईं एक्लै हुनुहुन्न् । आशावादी हुनुहोस् ।’ उनले मिडियालाई आत्महत्याका बारे रिपोर्ट गर्दा उचित शब्द प्रयोग गर्न आग्रह गरेकी थिइन ।  

‘हाम्रो शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि हाम्रो लागि प्राथमिकता हुनुपर्दछ,’ उनका फलोअरले प्रतिक्रिया दिएका थिए, ‘शारीरिक रूपमा म स्थिर देखिएपनि भित्रभित्रै आत्तिएको हुनसक्छु ।’ अभिनेता राजपुतको मृत्युले फेरि मानसिक स्वास्थ्यको महत्त्वलाई प्राथमिकता दिएको छ । अभिनेता अनिल कपुर, करण जोहर र अनुष्का शर्मालगायत कलाकारहरूले मानिसक रूपमा समस्याग्रस्त समयमा यसको सामना गर्नेहरूलाई सहयोग गर्नमा जोड दिएका थिए ।  

निर्माता करण जोहरले इन्स्टाग्राम पोस्टमार्फत अभिनेता राजपुतको सम्पर्कमा नरहेकोमा आफूलाई दोष दिएका थिए। ‘तपाईसँग आफ्नो जीवन बाँड्न मानिसहरू चाहिएको हुन सक्छ । तर मैले त्यसलाई पछ्याउन नसकेको महसुस हुन्छ,’ उनले पोस्टमा लेखेका थिए, ‘फेरि कहिल्यै त्यस्तो गल्ती गर्ने छैन् । हामी धेरै ऊर्जावान र हल्लाखल्लामा बाँचिरहेका छौं । तर हामीमध्ये धेरै पृथक समयमा शान्तिको अधिनमा बस्छौं र त्यहीभित्र बिलिन हुन्छौं । हामीले सम्बन्ध मात्र बनाएर हुन्न । उनीहरूको निरन्तर हेरचाह गर्नु पनि आवश्यक छ ।’

अभिनेता अनिल कपुरले लेखेका थिए, ‘म उसलाई व्यक्तिगत रूपमा चिन्दिन् । तर मैले उनका फिल्महरू हेरेको छु र उनी कत्ति प्रतिभाशाली थिए भन्ने कुरा स्पष्ट छ । हामीलाई वास्तवमा कसैलाई कस्तो महसुस हुन्छ भन्ने कुरा थाहा छैन भन्ने तथ्य हो । तपाईं निराश हुनुहुन्छ भने कृपया विश्वास गर्ने कसैलाई सम्पर्क गर्नुहोस् । चाहे त्यो साथी, परिवारका सदस्य वा सहकर्मी किन नहोस् ।’ अभिनेत्री अनुष्का शर्माले ‘पिके’ फिल्ममा सहकार्य गरेका अभिनेता राजपुतले निराश अवस्थामा चाहेको सहयोग नपाउनु डरलाग्दो कुरा भएको प्रतिक्रिया दिइन् । ‘सुशान्त तिमी चाँडै गएका छौ । हामी यस्तो वातावरणमा बस्छौं । जहाँ तपाईंलाई समस्या परेको बेला सहयोग गर्ने कोही हुन्न् भन्ने कुरा थाहा पाउँदा एकदम दुखित र निराश छु,’ उनले लेखेकी थिइन्, ‘तिम्रो आत्माले शान्ति पाओस् ।’

अभिनेता सबाना आजमीले अभिनेता राजपुतको मृत्युले दुखित भएको उल्लेख गर्दै मनोचिकित्सकहरूका अनुसार परामर्शले आत्महत्या रोक्न सकिने अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै अभिनेत्री बिपाशा बसुले मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यक रहेको उल्लेख गरेकी थिइन । ‘कसैलाई कहिले सहयोग चाहिन्छ र कसरी उनीहरूलाई सहयोग गर्ने भन्ने कुरा परिवार र समाजले बुझ्नुपर्छ,’ उनले लेखेकी थिइन । सोमबार मुम्बईको भिले पार्ले शवगृहमा अभिनेता राजपुतको अन्तिम संस्कार गरिएको थियो । यसअघि आइतबार उनी मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । मुम्बई प्रहरीले ३४ वर्षीय अभिनेता राजपुतले घरमा झुन्डिएर आत्महत्या गरेको पृष्टि गरेको थियो । गत हप्ता पूर्व म्यानेजर दिशा सालियनले आत्महत्या गरेको खबरले उनी निराश थिए ।  

अभिनेता राजपुतले दुई हप्ताअघि इन्स्टाग्राममार्फत आमाको फोटो सेयर पोस्ट गर्दै क्याप्सनमा लेखेका थिए, ‘धमिलो विगतले आँसुका थोपाहरू बनेर उडिरहेछ । अनन्त सपनाहरूले मुस्कान दिएरहेको छ र क्षणिक जीवन । दुई बीच कुराकानी भएरहेछ..’ सन् १९८६ जनवरी २१ मा पटनामा जन्मिएका अभिनेता राजपुतकी आमाको सन् २००२ मा निधन भएपछि उनको परिवार मुम्बई आएका थिए ।  

अभिनेता राजपुतको टोलीले उनका फ्यानहरूलाई लागि सन्देश दिएको थियो, ‘सुशान्त सिंह राजपुत अब हामीसँग छैनन् भन्ने कुरा बताउँदा हामी दुखित छौं । फ्यानहरूलाई सुशान्तको विचारहरू स्मरण गर्दै उनको जीवनको उत्सव मनाउन अनुरोध गर्दछौं । मिडियालाई शोकको यस घडीमा गोपनीयता कायम राख्न मद्दतको लागि अनुरोध गर्दछौं ।’

प्रकाशित: २ असार २०७७ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App