coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

घुम्टोभन्दा मास्क जरुरी छ: मण्डल

कलामा कोरोना

कलाकार लक्ष्मण मण्डल

जनकपुरका लक्ष्मण मण्डलले मिथिला चित्र बनाउन थालेको ३ दशकभन्दा बढी भइसक्यो । डेढ दशकदेखि त उनी काठमाडौंमै बसेर कला बनाउँदै यसको प्रवद्र्धनमा लागेका छन् ।  

कला संरक्षण र यसैका माध्यमबाट रोजीरोटी समेत चलाउँदै आएका उनले कलाका माध्यमबाट सन्देश समेत प्रवाह गर्ने गर्छन् ।  

विगतमा मिथिला कला मार्फत तराई क्षेत्रमा हुने दाइजो, बालविवाह जस्ता बिकृतीमार्फत व्यंग्य गर्दै आएका  उनको कलामा पछिल्लो समय कोरोनाको प्रभाव समेत देखिन थालेको छ ।  

कोरोना भाइरसका कारण काममा मन्दी आएपछि उनले कलामार्फत कोरोनाबाट जोगिने सन्देश प्रवाह गर्ने सोच बनाएका छन् ।  

मिथिलाको दैनिक जीवन झल्कने चित्र बनाउँदै आएका मण्डलले  त्यस्तै चित्रमा कोरानाबाट जोगिने सन्देश दिएका छन् ।  

अनुहारमा मास्क लगाएर नमस्ते गर्दैै गरेका नरनारी, सामाजिक दूरी कायम गर्दे किनमेल गर्दे गरेका सर्वसाधरण, भान्सामा पाक्दै गरेको पोषिला  खानेकुरा लगायतका एकै फ्रेममा  राखिएका दृश्यले सवैलाई सहजै शिक्षा दिने उनले बताए ।  

‘विगतमा दाइजो, वालविवाह लगायतका सामाजिक महामारीका  विरुद्ध चित्र बनाउँथे,’ उनले भने, ‘अहिले साँच्चिकै महामारी आएको छ, त्यसैले  यस्तो चित्र बनाएँ  ।’  

उनका चित्रमा देखिएका प्रत्येक दृश्यले सन्देश दिन्छ । मिथिला  क्षेत्रमा देखिने नारीका चित्रमा प्रायः घुम्टो हुन्छ । घुम्टोले अनुहार ढाक्ने चलन तराईमा छँदैछ । उनले बनाएको एउटा चित्रमा भने नारीको टाउकोमा घुम्टो छैन तर अनुहारमा मास्क भने राखेका छन् ।  

‘समाजमा घुम्टो कहिले पनि जरुरी हैन,’ उनले भने, ‘तर अहिले मास्क सबैमा जरुरी छ ।’

प्रकाशित: २ जेष्ठ २०७७ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App