१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘स्मृतिलोकको यात्रा’ विमोचनसँगै अन्तर्किया

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नारी स्रष्टाहरूको समूहले प्राध्यापक अञ्जना वस्ती (भट्टराई) को कृति ‘स्मृतिलोकको यात्रा’ माथि अन्र्तक्रिया गरेका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी, ज्ञानु पाण्डे र साधना प्रतीक्षालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी शिक्षाकी प्राध्यापक भट्टराईका संस्मरणमा आधारित २० वटा रचना संकलित कृति ‘स्मृतिलोकको यात्रा’ मा टिप्पणी गर्दै साहित्यकार ज्ञानु पाण्डेले नारी हक अधिकारको पक्षमा नारा र कानुन लेखेर अर्थ नरहने बताइन्। ‘समानताको विषयलाई सतही भएर बुझेर अरूलाई बुझाउनुको अर्थ छैन। यसको उपादेयता व्यवहारमा देखिनुपर्छ,’ उनले भनिन्, ‘यो कृतिमा यही समानताको विषयलाई उदाहरणबाट बुझाउने प्रयत्न भएको छ। घरपरिवारका अग्रजहरुप्रति अनुग्रहित हुँदै सकारात्मक सोचमा लेखिएको यो कृति धेरैका निम्ति प्रेरणाजन्य पठन हुन सक्छ।’

कार्यक्रममा बोल्दै समीक्षक उषा थपलियाले नारी हक अधिकारका विषयमा ठूला कुरा गर्दै हिंडेर केही नहुने तर्क गरिन्। ‘नेपाली समाजमा एउटी बुहारीले सासु र ससुरा भन्नासाथै पूर्वाग्रहका दृष्टिकोणले हेरिन्छ। तर लेखक भट्टराईले उनीहरूको गुणग्राही स्वभावलाई समेत पुस्तकमा समावेश गरेकी छन्।’

अर्की समीक्षक ज्ञानु अधिकारीले ‘स्मृतिलोकको यात्रा’ मा एउटी महिलाको संघर्ष, धैर्य र सहनशिलताको कथा समावेश भएको बताइन्। त्यस्तै लेखक भट्टराईले आफूले भोगेका कुरालाई पुस्तकमार्फत प्रस्तुत गरेको तर्क गरिन्। ओरिएन्टल बुक्सले प्रकाशित गरेको यो कृतिअघि लेखक भट्टराईको ‘जीवनका घुम्ती र देउरालीहरू’ नियात्रा संग्रह प्रकाशित छ।

कार्यक्रममा अनुपमा रेग्मी, रेनुका ‘सोलु’, साधना प्रतीक्षा, कृष्णचन्द्र शर्मा, कुमार कोइराला, राजकुमार पोखरेल, दामोदर ज्ञवाली र विष्णुसिंह राईलगायतले अन्तक्र्रिया अनुकरणीय रहेको टिप्पणी गरेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App