काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म र सभा हलहरू तत्काल बन्द नहुने भएका छन्। नेपाल चलचित्र संघले फिल्म हल बन्द गनुपर्ने अवस्था नभएको भन्दै सतर्कता अपनाउनेमा जोड दिएको छ।
‘फिल्म हल सञ्चालकहरूलाई बोलाएर सतर्कता अपनाएर हल सञ्चालन गर्न आग्रह गर्ने भएका हौं। नेपाल सरकारले फिल्म हल बन्द गर्नु भन्यो भनेमात्र बन्द होलान। तत्काल फिल्म हलहरूमा पनि सचेतना बढाएर सर्तकताको लागि दर्शकहरूलाई माक्स अनिवार्य लगाउन देशभरका हलहरूलाई आग्रह गरेका छौं,’संघका अध्यक्ष मधुसुदन प्रधानले भने, ‘तत्काल हल बन्द गरिहाल्नु पर्ने अवस्था छैन। हाल रिलिज भएका फिल्महरूले सोचेअनुसारको व्यापार नगरिरहेको अवस्थामा हल बन्द गर्नु उचित हुन्न।’ कोरोना भाइरसको प्रभाव बढ्दै गएको अवस्थामा हल सञ्चालकहरूले नेपाल सरकारलाई सहयोग गर्ने उनले बताए।
यता मल्टिप्लेक्स फिल्म हल क्युएफएक्सले फिल्म हेर्न आएका दर्शकलाई कोरोना भाइरसको संक्रमण हुन नदिन बुधबारबाट सतर्कता अपनाएको छ। हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले जानकारी दिए। ‘कोरोनाको संक्रमणको त्रास कम गर्न हामीले फिल्म हेर्न हल आएका दर्शकलाई सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘यो साता फिल्म हेर्न आउने दर्शकको संख्या कम भएको महसुस गरेका छौं।’
पछिल्लो समय फिल्महरूले व्यापार नगरिरहेको सन्दर्भमा तत्काल हल बन्द गर्नु नहुने निर्देशक अशोक शर्मा बताउँछन्। कोरोना भाइसरको संक्रमण रोकथामको निम्ति सावधानी अपनाएर हलहरू सञ्चालन गनुपर्न तर्क उनले गरेका छन्। ‘व्यापारभन्दा दर्शकको स्वास्थ्य महत्वपूर्ण हो। तत्काल हलहरू बन्द गरिहाल्नु पर्ने स्थिति नभएकाले सतर्कता अपनाएर सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘फिल्म हेर्न हल आउने दर्शकलाई सुरक्षित गराउन हल सञ्चालकले सावधानीमा ध्यान दिनु आवश्यक रहेको छ।’
केही दिनदेखि फिल्म हलहरूमा दर्शक हटेको उनले बताएका छन्। ‘नयाँ फिल्महरू रिलिज नभएर हो वा कोरोनाको संक्रमणको त्रासले हो। यस साता फिल्म हेर्न हलसम्म आउने दर्शकको संख्या घटेको छ,’ उनले भने।
यता नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामा विभिन्न फिल्ममा आवद्ध प्राविधिकहरूलाई सतर्क हुन आग्रह गरिरहेको बताउँछन्। ‘अहिले सुटिङ भइरहेको फिल्महरू कम छन्। हामीले सुटिङ सक्रिय भइरहेका प्राविधिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिरहेका छौं,’ उनले भने।
राजधानीको सर्वनाम नाटकघर कोरोना संक्रमणको त्रासका कारण प्रभावित भएको छ। गत शुक्रबारदेखि मञ्चन भइरहेको कृष्ण खड्काको ‘सब ठीक छ..!’ नाटक हेर्न आउने दर्शकको संख्या ह्वात्तै घटेको जानकारी सर्वनाम थिएटरका राज शाहले गराए। राजधानी वरपरका अधिकांश रंगमञ्चमा नाटकहरू मञ्चन नभइरहेको अवस्थामा सर्वनाममा दर्शक बढ्नुपर्ने तर्क उनी गर्छन्।
‘गत सातादेखि मञ्चन सुरु भएको नाटक हेर्न आउने दर्शकको संख्या ह्वात्तै घटेको छ। अधिकांश थिएटरमा नाटकहरू मञ्चन नभइरहेको अवस्थामा सर्वनाममा दर्शक धेरै हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘कोरोना संक्रमणको त्रासका कारण नाटक हेर्न आउने दर्शकको संख्या घट्दै गएको छ। स्थिति यस्तै भइरहेको खण्डमा मञ्चन भइरहेको नाटक रोकिने सम्भावना छ।’ उनका अनुसार अर्को साताबाट सर्वनाममा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको थिएटर कार्यशाला स्थगित हुने भएको छ। ‘विदेशी रंगकर्मीहरूको सहभागितामा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको थिएटर कार्यशाला कोरोना संक्रमणको त्रासले नहुने सम्भावना बढेको छ,’ उनले भने, ‘त्रासमा हामीपनि नाटक रिहर्सल गर्न सकिरहेका छैनौं।’
सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले तत्काल नेपाली कला र संस्कृति झल्कने केन्द्रका रूपमा विकसित हुँदै गएको राष्ट्रिय नाचघर बन्द नहुने जानकारी गराए। ‘कोरोनाको संक्रमणको त्रासका कारण कार्यक्रमहरू रोकिएका छन्। अधिकांश स्कुलहरूले कार्यक्रम नगर्ने भनेर धरौटी फिर्ता लागेक्रम जारी छ,’ उनले भने, ‘तुलनात्मक रूपमा कार्यक्रमहरू घटेपनि नाचघर तत्काल बन्द हुँदैन। नेपाल सरकारबाट निर्देशन आए स्वभाविक रूपमा बन्द गर्नुपर्छ।
अर्का रंगकर्मी केदार श्रेष्ठ कोरोना संक्रमणको त्रासका कारण बालबालिकालाई केन्द्रित गरेर विगत ६ वर्षदेखि आयोजना हुँदै थिएटर कार्यशाला सञ्चालन गर्ने नगर्नेमा अन्यौल भएको बताउँछन्। कोरोना भाइरस भनेर चिनिने ‘कोभिड–१९’ को संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रम तीव्र भइरहेका छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिइसकेको छ।
संसारभर फैलिरहेको कोरोना संक्रमणको अति जोखिमपूर्ण क्षेत्र अन्तर्गत नेपाल पनि रहेको हुँदा रोकथामका लागि नेपाल सरकारले विभिन्न प्रकारको तयारी गर्दै गरेको तथा संक्रमण भित्रिन र फैलन नदिन उच्च सतर्कता अपनाउनका लागि कुनै पनि प्रकारका सभा, समारोह, सम्मेलन लगायत कार्यक्रमहरू आयोजना नगर्न एड्भाइजरी जारी गरेको थियो।
प्रकाशित: २२ फाल्गुन २०७६ ०१:५७ बिहीबार