१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छानिएको तस्बिर प्रदर्शनीमा

काठमाडौं - नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।

‘यस्ता प्रतियोगिता र प्रदर्शनीले पुस्तौंसम्म इतिहासको अभिलेख सुरक्षित राख्छन्। अत्याधुनिक प्रविधिको विकासले यतिबेला मानिसको पढ्ने बानी घट्दै गएको अवस्थामा फोटो सशक्त माध्यम भएको छ,’ प्रदर्शनीको उद्घाटन गरेलगत्तै उनले भने, ‘फोटोलाई जीवन निर्वाह गर्न सक्ने माध्यमका रूपमा विकास गर्ने तर्फ आयोजक संस्थाले पहल गर्नुपर्छ। नेपाली फोटो पत्रकारहरू अन्तर्राष्ट्रियस्तरको यस्ता प्रतिस्पर्धामा समेत सहभागी हुन सक्नुपर्छ।’ फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको प्रतियोगितामा छानिएका कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, डेली लाइफ, न्युज फोटो, नेपाल स्माइल,स्पोर्ट्स र फोटो स्टोरी विधाका उत्कृष्ट एक सय ७५ फोटोहरू प्रदर्शनीमा राखिएको छ।

पिजे क्लबका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारले आफूले खिचेका फोटो बिक्रीका लागि दुई वटा प्लेटफर्म उपलब्ध रहेको जानकारी दिए। ‘नेपाली फोटो पत्रकारले अब आफूले खिचेका फोटोहरू नेपाल पर्यटन बोर्डको फोटो नेपाल डट ट्राभल र नेप्टोसको नेप्टोस डट आइओमार्फत बिक्री गर्नुसक्नेछन्,’ उनले भने, ‘फोटो पत्रकार मानवीय संवेदनारहित र निर्दयी रहेको गलत बुझाइलाई फोटो अफ द इयर उपाधि जितेका नभेष चित्रकारले पुरस्कारबापत पाएको रकम हाइड्रोसेफालुसबाट निधन भएका बजरंगी मिश्रको परिवारलाई प्रदान गरेर चिरेको छ।’

फोटो अफ द इयर विजेता नभेष चित्रकारले पुरस्कारबापत पाएको एक लाख १० हजार ५ सय रुपैयाँ (फोटो अफ द इयर र फोटो स्टोरी विधाको प्रथम पुरस्कारबापतको रकम) फूलकुमारी मिश्रलाई प्रदान गरेका थिए। फूलकुमारी मिश्र नभेष चित्रकारले खिचेको फोटोमा देखिएका हाइड्रोसेफालुसबाट अकालमा मृत्युवरण गरेका रौतहट बरियारपुरका दुई वर्षीय बालक बजरंगी मिश्रकी आमा हुन्। नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक एलबी बानियाँले यस्ता प्रदर्शनीले नेपालको परिचय दिने हुँदा बोर्डले यस किसिमका कार्यक्रममा हातेमालो गर्दै आएको बताए। ‘हामीले नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने।

नेपाल फोटो प्रतियोगितामा सात विधाअन्तर्गत सात सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरका गरेर ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो। एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटो पत्रकार जोअल सामदको नेतृत्वमा मणि लामा, विकास रौनियार, रम्यता लिम्बु, शेखर खरेल र प्रकाश माथेमासहितको निर्णायक टोलीले उत्कृष्ट एक सय ७५ फोटो छनोट गरेको थियो। यसलगत्तै नेपाल फोटो यात्राअन्तर्गत देशभरका ६ वटा सहरमा समेत प्रदर्शनी हुनेछ।

‘नेपाल फोटो प्रतियोगिताअन्तर्गत निर्णायकहरूको टोलीले छनोट गरेको उत्कृष्ट एक सय ७५ फोटोहरू प्रदर्शनीमा राखिएको छ। यसलगत्तै देशभरका विभिन्न ६ सहरमा समेत प्रदर्शनी हुनेछ,’पिजे क्ल्बका प्रवक्ता दिपेश श्रेष्ठले भने। प्रदर्शनी आगामी फागुन २० सम्म चल्नेछ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App