coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

संयुक्त कला प्रदर्शनीमा ‘फूल’

काठमाडौं – महाराजगन्जस्थित काठमाडौं आर्ट ग्यालरीमा ९ जना कलाकारको संयुक्त कला प्रदर्शनी चलिरहेको छ। फागुन ३ गतेदेखि सुरु ‘फूल’शिर्षकको कला प्रदर्शनीमा ९ जना कलाकारको ९ वटा चित्रलाई समावेश गरिएको छ। तुलिका कलाले आयोजना गरेको उक्त प्रदर्शनीमा सबै कलाकारले परम्परागत पौभा चित्रमा फूलको आकृती बनाएका छन्। ‘नेपालमा चित्रकलाको क्षेत्रमा पनि अरूको कला चोर्ने प्रचलन छ, त्यो धारणालाई तोड्नु हाम्रो प्रमुख उद्देश्य हो,’ ‘प्रदर्शनी संयोजक उजेन नोर्वु गुरुङ भने, ‘त्यही उद्देश्यअनुसार हामीले ९ जना कलाकारलाई फूल शिर्षकको धारणा दिएर स्वतन्त्र रूपमा काम गर्न दिएका छौँ। उनीहरूले स्वतन्त्र रूपमा आफ्नो कला प्रस्तुत गरेका छन्।’

युवापुस्तामा परम्परागत कलासम्बन्धि ज्ञान नभएकाले उनीहरूलाई यसको ज्ञान र महत्वबारे बुझाउने प्रयास तुलिका कलाले गरेको उनको भनाइ छ। चित्रकार नरेन्द्र मल्लले ‘बर्थस्टेप अफ बुद्ध’ शिर्षकको चित्र प्रदर्शनीमा राखेका छन्। बुद्ध जन्मने वित्तिकै हिडेंका सात पाइलालाई उनले कमलको फूल भित्र समेटेको देखिन्छ। एक्रेलिक कलरको प्रयोग गरेर उनको कला अन्य कलाकारकोभन्दा फरक शैलीमा प्रस्तुत भएको छ। ’मैले बुद्धले टेकेका पाइला र कमलको फूललाई विशेष महत्व दिएर चित्रमा उतारेको छु।’ उनले भने।

चित्रकार कृष्णभक्त डंगोलको ‘अप्टला’ शिर्षकको चित्र प्रदर्शनीमा छ। फूलले आफ्नो सौन्दर्य बाहिर ल्याउनका लागि घामपानी, हावा, हिलो केही नभनी गरेको संघर्षलाई उनको चित्रमा देख्न सकिन्छ। ‘जसरी एउटा फूल फुल्नका लागि संघर्ष गरेको हुन्छ, त्यसरी नै हामी कलाकारले पनि सफलता प्राप्त गर्नका थुप्रै संघर्ष गरेका हुन्छौं,’ डंगोल भन्छन्, ‘कलाकारको पृष्ठभूमी सानो होस् या ठूलो त्यो पृष्ठभूमी महत्वपूर्ण हुन्छ। त्यसैले चित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु।’

काठमा बनाइने परम्रागत फूललाई आफ्नो चित्रमा उतारेका छन् अर्का चित्रकार रवि श्रेष्ठले। ‘ट्रेडिसनल फ्लावर’ शीर्षकको उनको कलामा काठमा कलात्मक शैलीबाट बनाइएको फूलको आकृतिलाई देखाइएको छ। अर्का चित्रकार सुजित महर्जनले ‘मञ्जुश्री यीदम पुष्पम शीर्षकको चित्र प्रदर्शनीमा राखेका छन्। यी लगायत अन्य चित्रकारहरूले पनि आफ्नो कला चित्र मार्फत सार्वजनिक गर्ने प्रयास गरेका छन्। उक्त प्रदर्शनी फागुन १७ सम्म सञ्चालन हुनेछ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App