काठमाडौं - नेपाली रंगमञ्च फराकिलो भइरहँदा यस क्षेत्रमा आवद्ध रंगकर्मीहरूको आर्थिक स्तरमा सुधार आउन सकेको छैन्। आर्थिक अभावका कारण उनीहरूले दैनिक रूपमा भोग्नु परेको पीडामाथि वकालत गर्दै राजधानीको रातोपुलस्थित शैली थिएटरमा ‘सेतो कपालु नाटक मञ्चन भइरहेको छ।
रंगकर्मी विजय विस्फोटले निर्देशन गरेको ‘सेतो कपाल’ नाटकमा कुमार अग्नि पात्रमार्फत रंगकर्मलाई जीवनको उपलब्धि मानेर नियमित रंगमञ्चमा व्यस्त देखिन्छन्। वास्तविक जीवनमा प्रवेश गर्दा नाटकले नयाँ मोड लिन पुग्छ। बिस्तारै कुमाले आफ्नो अतितलाई स्मरण गर्नेक्रममा बाल्य जीवनदेखि असफल प्रेमलाई तुलना गर्छन्। तनावयुक्त पारिवारिक सम्बन्धका कारण आर्थिक अभावग्रस्त जीवनमा सपनाहरू पूरा हुन नसक्दा उनी आक्रोशित हुन्छन्। साइकोप्याथ रोगबाट ग्रसित उनीले गरेको निर्णयमा नाटकको कथाअघि बढ्छ।
रंगकर्मी विस्फोटले १० अघि लेखेको ‘सेतो कपाल’ नाटक यसअघि गुरुकुलमा मञ्चन भएको थियो। शैली थिएटरले प्रस्तुत गरेको नाटक रंगकर्मीको जीवनमाथि आधारित रहेको उनले बताए। ‘रंगमञ्चमा सक्रिय रंगकर्मीको वास्तविक जीवनमा आधारित यस नाटकले उनीहरू फरक जीवन शैलीलाई प्रस्तुत गरेको छ। उनीहरू रंगकर्म र पारिवारिक जीवनबीच अड्किरहँदा दमित रहर, यौनकुण्ठा र आर्थिक अभावबाट ग्रसित हुन्छन्। यसमाथि केन्द्रित रहेर यो नाटक तयार गरेको हुँ,’ उनले भने। ४० वर्षपछि पुरुषहरूमा सेतो कपालले पारेको समस्यालाई नाटकमा व्यंग्यात्मक शैलीले प्रस्तुत गरेको उनले बताए।
शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार शैली थिएटरको नाटकघर निर्माण भएपनि तेस्रो नाटकका रुपमा ‘सेतो कपाल’ मञ्चन भएको हो।‘रंगकर्मी विजय विस्फोटसँग शैली थिएटरले सहकार्य गरेर नाटक मञ्चन गरिरहेका छौं। रंगकर्मी र नाट्य संस्थाहरूको साझा थलो बनाउन प्रयासरत हाम्रो यो पहिलो खुड्किलो हो। हामी अग्रज र नयाँ पुस्ताका रंगकर्मीहरूसँग सहकार्य गर्न इच्छुक छौं। आगामी दिनपनि हामी यसलाई निरन्तरता दिनेछौं,’ उनले भने। नाटकमा शेर शाही, पुष्कर दाहाल, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, निमा पाण्डे, रविन तामाङ, कुमार जोशी, रिया चौधरी, करिस्मा केसी र मिरा केसी लगायत कलाकारले अभिनय गरेका छन्। नाटक आगामी फागुन १७ सम्म मञ्चन हुनेछ।
प्रकाशित: ६ फाल्गुन २०७६ ०२:४८ मंगलबार