२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

लोकसंस्कृति जोगाउन नाटक

इलाम – देशभरको लोकसंस्कृति झल्काउन राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको सात दिने महोत्सवमा सातै प्रदेशका नाटक मञ्चन भइरहेका छन्।

राष्ट्रिय नाचघरले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले मौलिक पहिचान समृद्धिको आधार भएको बताए। ‘विकास र समृद्धिको लक्ष्य पूरा गर्न भौतिक पूर्वाधारमात्र पर्याप्त हुँदैन,’ उनले भने, ‘हाम्रो गीत, संगीत, कला र संस्कृतिलाई समृद्धिको मूल आधार बनाउनुपर्छ।’

महोत्सव उद्घाटनमा चेतना नाट्य समूहको 'थान’ नाटक मञ्चन गरिएको थियो। पतिको निधनपछि महिलाले जीवनयापनका लागि गर्नुपरेको संघर्ष नाटकमा झल्काइएको छ। स्थानीय लोकसंस्कृतिको पृष्ठभूमिमा तयार गरिएको नाटकमा समाजमा विद्यमान झाँक्रीप्रतिको विश्वास र घरमा चिन्ता राखेर मृतकको आत्मा बोलाउनेजस्ता सामाजिक वास्तविकता दर्साइएको छ। सुरेश पोर्तेलले निर्देशन गरेको नाटकमा भावना मगर, प्रसन्न घिमिरे, राम आचार्यलगायत कलाकारले अभिनय गरेका थिए।

महोत्सवमा १ नम्बर प्रदेशको प्रतिनिधि नाटकका रूपमा किशोर अनुरागको निर्देशनमा रहेको ‘सुम्निमा–पारूहाङ’, २ नम्बर प्रदेशबाट कुन्दन चौधरी निर्देशित नाटक ‘कनन हरलता’, ३ नम्बरबाट कृष्णभक्त महर्जनले निर्देशन गरेको ‘राजकुमारको मल्लयुद्ध’, ४ नम्बरबाट निशा पाख्रिनको निर्देशनमा रहेको ुनमोबुद्ध’, ५ नम्बरबाट सुदीप पटेल निर्देशित ‘कजरी’, ६ नम्बरबाट गणेश उपाध्याय निर्देशित ‘छैंटी’ र ७ नम्बर प्रदेशबाट झकेन्द्र बिसीले निर्देशन गरेको ‘लोली सज्जा’ नाटक मञ्चन हुनेछन्। कार्यक्रममा साहित्यकार गणेश रसिकलाई सम्मान गरिएको थियो।

इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले सबै नाटकको समीक्षा गर्दै इलामको नाटक इतिहासबारे चाहिँ चर्चा गरिने बताए। नाटकका माध्यमबाट लोकसंस्कृति झल्किनेमात्र नभई त्यसको प्रचारसमेत हुने नाचघरका अध्यक्ष प्रेम अधिकारीले बताए। ‘मैले कतै सुनेको थिएँ–इलाममा त आकाशमा पैसा उडिरहेको छ तर त्यसलाई टिप्न जानिएको छैन,’ उनले नाटक महोत्सवलाई पर्यटनसँग जोड्दै भने, ‘यो महोत्सवले चाहिँ इलामको मात्र होइन, देशकै लोक–संस्कृति र परम्परालाई नाटकका माध्यमबाट उजागर गरेको छ र पर्यटक आकर्षित गरेको छ।’

इलाम घर भएका १ नम्बर प्रदेशका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले देशभरको कला संस्कृति इलाममा ल्याएर झल्काउनुले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उद्घाटन अवसरमा सदरमुकामको टुँडिखेलदेखि गौतम बुद्ध सभागृहसम्म झाँकीसहितको -याली आयोजना गरिएको थियो। आगामी फागुन २ सम्म हरेक दिन नाटक मञ्चन हुनेछन्।

प्रकाशित: २७ माघ २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App