२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

महोत्सवमार्फत संस्कृति संरक्षण

नवलपुर – महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ। महोत्सवको यो आम सोचाइभन्दा यहाँको आकर्षण फरक पनि छ। महोत्सवममा विभिन्न जातजतिको सांस्कृतिक घर निर्माण गरेर नेपालको जातीय विविधिता र बहु–संस्कृतिको झलक दिन खोजिएको छ। जुन प्रयासलाई धेरैले राम्रो पनि मानेका छन्। यहाँका महोत्सवमा पुग्ने आम मानिसलाई फरक विषयवस्तुको जानकारी दिने प्रयास गरिएको छ।

गत माघ १५ दे नवलपुरको गैंडाकोट नगरपालिकास्थित नारायणी नदी किनारमा जारी तेस्रो गैंडाकोट महोत्सवमा विभिन्न जातजातिको लोपोन्मुख सांस्कृतिक घर निर्माण गरिएका छन्। महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्रीसमेत महोत्सवस्थलका साँस्कृतिक घरमा राखिएका छन्।

जिल्ला उद्योग वाणिज्य संघ नवलपुर गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले सो महोत्वसमा नौ वटा जातिको साँस्कृतिक घर निर्माण गरिएको बताए। महोत्सवस्थलको प्रवेश द्वारसँगै चेपाङ, दरै, कुमाल, भुजेल, मगर, थकाली, तामाङ, थारु र गुरुङ जातिका गरी नौ वटा साँस्कृतिक घर निर्माण गरिएको छ। नौवटै साँस्कृतिक घर परम्परागत छन् र उनीहरुको धर्म र संस्कृतिबारे जानकारीसमेत लिन सकिने व्यवस्था मिलाइएको छ। ‘थारूको सांस्कृतिक घरमा घोंङी, चिचर, माछाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिँकी, जाँतोलगायतका परम्परागत औजारसमेत राखिएका छन्,’ उनले भने।

गैंडाकोट महोत्सवको पहिलो संस्करणबाट जातजातिको घर निर्माणको कामलाई अगाडि बढाइएको महोत्सवको प्रचारप्रसार तथा सञ्चार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए। ‘तेस्रो महोत्सवसम्म आइपुग्दा नौ वटा जातिको घर निर्माण गरेका छौं। आगामी महोत्सव अन्य जातजातिको सांस्कृतिक घर निर्माणसँगै उनीहरुको संस्कृतिसमेत प्रदर्शन गर्ने तयारी गरेका छौं,’ उनले भने।

नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको छ। हिमालका थकाली, पहाडका गुरुङ तथा तराईका थारु समुदायसहितका अन्य जातिको कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षणसमेत बढाएको सापकोटाले बताए।

आदिवासी जनजाति महासंघ गैंडाकोटका नगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरसमेत मेला महोत्सवमा राख्नुपर्ने बताए। देशका विभिन्न भू–भागबाट आएर नवलपुरमा बसोबास गरिरहेका जातजतिको पहिचान र उनीहरूको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए।

गैंडाकोट महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरेको छ। निकै कलात्मक तरिकाले निर्माण गरिएका घरको छानो खरले छाएका छ। बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने कलात्मक आकृतिसमेत देख्न पाइन्छ। सांस्कृतिक घर निर्माणका लागि सोही जातिका कालीगढ प्रयोग गरिएको थियो।

जिल्लाको मध्यबिन्दु नगरपालिकाबाट गैंडाकोट महोत्सवमा पुगेकी आरती शर्माले जीवनमा कहिल्यै नदेखेको गिठा, भ्याकुर महोत्सवमा देख्न पाउँदा दंग परेको बताइन्। ‘हाम्रो मौलिकता झल्किने सामग्रीले हाम्रो इतिहास, कला र संस्कृति बुझ्न त मद्दत गरेकै हुन्छ। त्यसका साथै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पु¥याएको हुन्छ,’ उनले भनिन्।

नवलपुरमा मात्रै नभएर चितवनतर्फ नारायणी नदी किनारमा हरेक दुई वर्षमा हुने चितवन महोत्सव तथा टिकौली चौरमा हुने रत्ननगर महोत्सवमा समेत जनजातिका सांस्कृतिक घर राख्ने गरिएको छ। यसरी राखिएका घरबाट एकअर्काको संस्कृति बुझ्नमात्र नभएर नेपालको पुरानो समाजलाई पनि जीवन्तता दिने रत्ननगर उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजाराम रेग्मीले बताए। ‘समाज परिस्कृत हुँदै गएपछि उनीहरूले आफ्ना पुराना कला र संस्कृतिलाई बिर्सदै गएका छन्। त्यस्ता मौलिकता झल्किने विषयवस्तु हाम्रो अमूल्य गहना हुन्। तिनीहरुलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने।रासस

प्रकाशित: २७ माघ २०७६ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App